रियाद साउदी अरब| नेपाली राजदुताबार रियादले ४ मे २०२० का दिन आफ्नो अफिसियल सामाजिक संजाल फेसबुक पेज मार्फत सुचना जारी गर्दै “कोरोना संक्रमणको महामारी शुरुहुनु भन्दा अगाडि नै ईकमाको म्याद सकिएका, नवीकरण नगरिएका वा ५ महिना भन्दा लामो समयसम्ममा ईकमा नबनाइएका, भगौडा भएका तर कुनै मुद्धा/केश नलागेका वा अन्य कुनै कारणले गैरकानूनी हैसियतमा पुगेका नेपालीहरुका संख्या दैनिक बढ्दै गएको जानकारी प्राप्त भएको छ । माथिको अवस्थामा रहेका नेपालीहरुले नेपाली राजदूतावास रियादको टेलिफोन नम्वरहरु ०५०००३१७०५, ०५०००३४७८६ मा प्राथमिकतासाथ आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्वर, पुरानो इकामा नम्वर, बोर्डर नम्वर, काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम जस्ता विवरणहरु टिपाउनुहुन अनुरोध छ ” भनिएको छ।
सोही सुचना मार्फत उक्त सूचनालाई टेलिफोन, सामाजिक संजाल लगायतका माध्यम बाट धेरै नेपालीहरुबीच पुर्याई सहयोग गरिदिन गैर आवासीय नेपाली संघ, साउदी अरबमा क्रियाशील नेपाली संघसंस्था, अनलाइन मिडियाका प्रवन्धक एवं प्रतिनिधिहरुलाई नेपाली राजदूतावासले अनुरोध गरेको छ।
साथै, महिला, अशक्त विरामी भई नियमित औषधी सेवन गरिरहेका, दुर्घटनामा परी घाइते भएको अवस्थामा रहेकाहरुले समेत प्राथमिकताका साथ आफ्नो विवरण राजदूतावासमा टिपाइदिनुहुन अनुरोध गरिएको छ।नेपाली राजदूतावास रियादमा माथी उल्लेखीत सम्पर्कः नंबरको अलावा निम्न सम्पर्क नंबरमा समेत सम्पर्क राख्न सकिने जनाईएको छ ।(०११४६१११०८ कार्यालय समयमा, ०५५९३८९६००(WhatsApp समेत), ०५०००३१७०५, ०५०००३४७८६, email: eonriyadh@mofa.gov.np
लण्डन | विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो । यस्तै, संयुक्त अरब इमिरेट्स् (युएइ) मा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिनुभयो । यस्तै, संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना संक्रमण मुक्त भएको अनुमान सो समितिले गरेको छ । सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढीरहेको देखिएको छ । कतारसहित केही मध्यपूर्वका देशले २ हजार ३ सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेको छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २७ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा १ सय २६, युएईमा १ सय, कुवेतमा ७८, नेपाल ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानाडामा ५, जर्मनीमा ४, साईप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ । संघले कोरोना भाइरसको महामारीबाट प्रभावित भएकाहरुको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिनुभयो । विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजार भन्दा बढी नेपालीहरुलाई राहत वितरण गरिएको छ । यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष तथा कोभिड १९ उच्चस्तरिय समितिका संयोजक कुमार पन्तले कोरोना भाइरसका कारण ठूलो संख्यामा गैरआवासीय नेपालीहरुको निधन भएको प्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष पन्तले कोरोना भाइरस संत्रमणका कारण ज्यान गुमाएकाको परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष पन्तले संघको स्वास्थ्य समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले आफूलाई अझ दुःखी बनाएको बताउँदै सबै गैरआवासीय नेपालीहरुलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्नुभएको छ । साथै, विभिन्न देशका सरकारी निकायहरुले जारी गरेका स्वास्थ्य नियमलाई कडाईका साथ पालना गर्न आव्हान गर्नुभएको छ । स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।
नोट : एनआरएनए स्वास्थ्य समितिले दिएको तथ्यांकको बारेमा थप जानकारी चाहिएमा समितिका संयोजक डा. संजिव सापकोटलाई +167 85578389 (भाइवर) मा सम्पर्क गर्न सक्नुहुने छ ।
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय बैठक सम्पन्न भएको छ । कोरोना महामारीले अमेरिका क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीको समस्याका बारेमा छलफल गर्न आयोजित बैठकमा सो क्षेत्रका करिब ४ दर्जनभन्दा बढी सहभागी थिए ।
हिजो बिहीवार टेलिफोन कन्फेसमार्फत् भएको बैठकलाई एनआरएनए अध्यक्ष कुमार पन्तले सम्बोधन गरेका थिए । ‘अहिले जति काम गरे पनि कम हुन्छ, यो सेवा गर्ने अवसर हो, त्यसको कुनै लिमिट नै छैन्,’ अध्यक्ष पन्तले भने, ‘संघले कोभिड–१९ उच्चस्तरीय समितिमार्फत् राहत कार्यक्रम लिएर बिभिन्न देशमा गतिविधिहरु भइरहेका छन् ।’
अध्यक्ष पन्तले सबैभन्दा ठूलो समस्या विद्यार्थी र श्रमिकमा रहेको बताए । उनले महामारीपछि आर्थिक तथा सामाजिक क्षेत्रमा पर्ने प्रभावका बारेमा संघले दीर्घकालीन रणनीति बनाउने तयारी गरेको जानकारी दिए ।
संक्रमणले ५० भन्दा बढी गैरआवासीय नेपालीको निधन भएको र २५ सयभन्दा बढी नेपाली कोरोना संक्रमित भएको जानकारी दिँदै अध्यक्ष पन्तले भने, ‘धेरै नेपाली संक्रमित भएपछि नेपाल सरकारको उपस्थिति नभएका देशमा समेत संघ सरकारसँग समन्वयन गरेर अगाडी बढेको छ ।’
‘कोरोना महामारीको प्रकोप कहिलेसम्म रहने हो अहिल्यै भन्न सक्ने अवस्था छैन् विज्ञहरुले समेत भन्न सकेका छैनन् । यसले ल्याएका प्रभावको व्यवस्थापन गर्न ठूला चुनौति छन्’ अध्यक्ष पन्तले भने, ‘त्यसको लागि सबै जना मिलेर जान र सबै संयन्त्र परिचालन गर्नसमेत आग्रह गर्दछु ।’
क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले कोभिड–१९ सुरु भएदेखि नै नेपाली राजदूतावासले स्वास्थ्यसम्वन्धी गतिविधि सुरु गरेको जानकारी दिए । उनले महामारीको अवस्थामा पनि दुतावासले सेवाग्राहीलाई दिने सेवालाई थप प्रभावकारी बनाइएको बताए । नेपाली समुदायको हितका लागि २४ सै घन्टा टेलिफोन तथा इमेल सेवा सुचारु गरिएको जानकारी दिँदै राजदूत ढुंगानाले भने, ‘एनआरएनए क्यानाडा र स्थानीय संघसंस्थाले दूतावासलाई ठूलो मद्दत गरेका छन् ।’
संयुक्त राज्य अमेरिकका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले महामारीपछि अमेरिकामा रहेका नेपालीप्रति दूतावास चिन्तित रहेको बताए । उनले अमेरिमा रहेका नेपालको समस्याका बारेमा अमेरिकी सरकारलाई जानकारी दिइएको बताए ।
महामारीपछि अमेरिकामा रहेका विद्यार्थीलगायत नेपाली समुदायमा मुख्य समस्या रहेको जानकारी दिँदै राजदूत कार्कीले कोरोना संक्रमण सुरु भएदेखि नै गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अगाडि बढेको बताए ।
म्यारील्यान्ड क्षेत्रका विधायक ह्यारी भण्डारीले कोरोना भाइरसका कारण निधन भएका नेपालीलाई आफूले सक्दो सहयोग गरेको बताए । उनले गैरआवासीय नेपाली संघ मुनाफा मुलक संस्था भएर पनि विदेशमा रहेका नेपालीलाई निकै ठूलो सहयोग गर्दै आएकोमा खुशी व्यक्त गरे ।
संघका महासचिव डा. हेमराज शर्माले महामारीबिरुद्ध लड्न एकजनाको प्रयासले मात्र सम्भव हुने भएकाले बिभिन्न संघसंस्था, नेपाली दूतावास र गैरआवासीय नेपालीबीच संयुक्त कार्यदलमार्फत काम थाल्न जोड दिए । उनले विदेशस्थित नेपाली दूतावाससँग समन्वयन गरेर अगाडि बढ्न सबै पक्षलाई आग्रह गरे ।
महासचिव डा. शर्माले संघले कोरोना भाइरस प्रभावित ४५ देशमा ९ सयभन्दा बढी स्वयंसेवक खटाएर ३० हजारभन्दा बढीले राहत पाएको बताए । उनले संघले नेपाल सरकारसँग छलफल गरिएको जानकारी दिँदै अन्तराष्ट्रिय लकडाउन खुलेपछि नेपाल फिर्तीका लागि प्रकृया सुरु हुने बताए । उनले कोभिड–१९ को महमारीलाई समाजमा योगदान दिने अवसरका रुपमा लिएर अगाडी बढ्न जोड दिए ।
संघकी उपाध्यक्ष रविना थापाले महामारीको बेला अमेरिकामा रहेका संघसंस्थालाई समेटर लैजना एनसीसीलाई सुझाव दिइन् । उनले कोरोना पीडितका लागि संकलित रकम वितरणको लागि गाइडलाइन आवश्यक हुने बताइन् । रकम संकलन गर्नभन्दा वितरण गर्न चुनौति भएको अनुभव उनले सुनाइन्
संघका सचिव गौरीराज जोशीले कोभिड–१९ पीडितका लागि संकलित रकम आपसी समन्वयनबाट खर्च गर्न सुझाव दिए । उनले एक अर्काबीच सहकार्य गरेर महामारीबिरुद्ध लड्न जोड दिएका थिए ।
आइसीसी सल्लाहकार हरिबोल भण्डारीले बैठकमा आएका सुझावलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले क्षेत्रीय च्याप्टरदेखि केन्द्रसम्म समन्वयन गरेर अगाडी बढेमा मात्र एनआरएनएले काम गरेको देखिने बताए । अमेरिकास्थित नेपाली दूतावासले कोभिड–१९ पीडितका लागि सहयोग नगरेको भन्दै उनले रोष प्रकट गरे ।
अनरी काउन्सिलर तथा चर्चित गायक प्रेमराजा महतले कोरोना महामारीमा अमेरिकामा रहेका नेपालीको एउटै मन भएको बताउँदै सबै पक्षसँग मिलेर राहत वितरणमा लाग्न जोड दिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अध्यक्ष सुनिल शाहले एनआरएनए अमेरिकाले कोभिड–१९ सुरु भएको दिनदेखि नै सक्रिय रुपमा काम गरेको बताए ।
बैठकलाई सम्वोधन गर्दै एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले कोभिड–१९ बिरुद्ध लड्न नेपाली दूतावास क्यानडा र संघबीच एक्यबद्ध भएर अघि बढेको बताए ।
उनले कोरोना प्रभावित क्यानाडाका बिभिन्न क्षेत्रका स्वास्थ्यसम्वन्धी सामग्री वितरण गरिएको बताए । उनले अध्यक्ष कुमार पन्तको नेतृत्वले सबै राष्ट्रिय समिति एक बनाएर अघि बढेको र संसारभरका एनआरएनमा सकरात्मक सन्देश दिएको भन्दै प्रशन्नता प्रकट गरे ।
डा. श्याम कार्कीले कोराना पीडित गैरआवासीय नेपालीको लागि योजनाबद्ध राहत वितरणमा जोड दिए ।
एनआरएनए हेल्थ समितिका संयोजक सञ्जीव सापकोटाले कोभिड–१९ पछि अमेरिकामा ७ सय ५० र क्यानडामा १ सय ६० जना गैरआवासीय नेपालीलाई स्वास्थ्यसम्वन्धी सल्लाह दिएको जानकारी दिए । उनले कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा नआएकाले अझ थप ४ हप्ता लकडाउन आवश्यक हुने बताए ।
नेपाली अमेरिकन कम्युनिटीका प्रतिनिधि सुमन तिमल्सिनाले कोरोना पीडितका लागि तीनवटा हटलाइन सञ्चालन गरेको जनाए । उनले स्थानीय र एनसीसीले समन्यकारी भूमिकामा काम भइरहेको जनाए ।
नेपाली जनसम्पर्क समितिका नेता डा. यादव पण्डितले अमेरिकामा रहेका विद्यार्थीमा सुरुमा देखिएजस्तो अहिले समस्या नभएको जानकारी दिए । उनले नेपाली दूतावास अमेरिकाले संमन्वय नगरेको र कोरोना पीडित विद्यार्थीसँग दूतावासले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले गैरआवासीय नेपाली संघ परोपकारी संस्था भएर पनि निकै ठूलो काम गरेको भन्दै संघले सबै पक्षसँग समन्वय र संवाद गरेर अघि बढ्न सुझाव दिए ।
संघका अनरी काउन्सिलर रविन बज्राचार्यले कोभिड–१९ को प्रभावित क्षेत्र न्यूयोर्क क्षेत्रमा सकृय हुन एनआरएन अमेरिकालाई आग्रह गरे । उनले संघले राहत वितरणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना गरे ।
कोभिड–१९ को महामारीबिरुद्ध लड्न संघले फेसबुकमार्फत् जनचेतनालगायत स्वास्थ्य, विद्यार्थी, हेल्पडेक्सको कार्यदल बनाएर काम भइरहेको जानकारी दिँदै काउन्सिल बज्राचार्यले गैरआवासीय नेपाली संघ र नेपाल सरकारसँग समन्वयन गरेर काम गर्ने प्रतिवद्धता जनाए । उनले नेपाल फिर्तीको लागि तथ्यांक संकलन भइरहेको जानकारी दिए ।
एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले कोभिड–१९ ले त्यस क्षेत्रमा ठूलो संख्यामा नेपाली प्रभावित भएको जानकारी दिए । उनले एनआरएनए क्षेत्रीय समिति न्युयोर्कले कोरोना पीडितका लागि राहत वितरण गरिरहेको बताए । उनले क्षेत्रीय समितिलाई केन्द्रबाटै नीति सुझावको अपेक्षा गरे ।
राजन त्रिपाठीको संयोजनमा भएको कार्यक्रमको सञ्चालन प्रमोद सिटौलाले गरेका थिए भने स्वागत मन्तव्य अमेरिका क्षेत्रीय महिला संयोजक उमा आरके थापाले गरेकी थिइन् ।
बैठकमा डिआरसी रामसी पोखरेल, आइसीसी सल्लाकार एसी शेर्पा, संजय थापा, पुरुसोत्तम ढकाल, एची भण्डारी, विष्णुहरि घिमिरे, कृष्ण लामिछाने, प्रेम अधिकारी, शैलेश श्रेष्ठ, एनआरएनए अमेरिकाका उपाध्यक्षद्वय कृष्ण विजी पन्त, डिआर लामा, एनआरएनए कोभिड–१९ उच्चस्तीय समितिका प्रेस संयोजक चिरन शर्मा, अर्जुन बञ्जाडे, विष्णुमाया परियार, शंखर खड्का, डा. राजन पन्त, मञ्जु संग्रौला, शरद अर्याल (चिल्ली), अभिमन्यु बस्नेत (क्यानडा), कृष्ण लामिछाने, प्रकाश सापकोटा, प्रतिक रेग्मी, पुरुसोत्तम बोहोरा, सूर्य लम्साल र नारायण घिमिरेले आ–आफ्नो भनाइ राखेका थिए ।
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी गरेको छ । इपिएस प्रणालीमार्फत् रोजगारीका लागि कोरिया जान अनुमति पाएर पनि नेपालमै अलपत्र परेकालाई गन्तव्यमा पु-याउन संघले जहाज चार्टर गर्न लागेको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार भिषासहित सम्पूर्ण कागजी प्रकृया पूरा गरेर नेपालमा रोकिएका १ हजार ३ जनालाई दक्षिण कोरियाको श्रम गन्तव्यमा पु-याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चाटर्ड गर्ने प्रकृया संघले अघि बढाएको हो । वाइडबडी जहाज कोरिया पठाउन नेपाल वायु सेवा निगमसँग आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको छ । संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार संघले पहिलो चरणमा १० लाख रुपैयाँ धरौटीसहित आज (मंगलबार) प्रारम्भिक सम्झौता गरेको छ । विमान चार्टर गर्न २ करोड रुपैयाँको संघ ग्यारेन्टी बस्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय उडानसम्वन्धी सम्पूर्ण प्रकृया र श्रमिकहरुको स्वास्थ्य चेकअपको काम पूरा भए अर्को साताभित्रै नेपाल वायु सेवा निगमको वाइडबडी जहाज नेपाली श्रमिक बोकेर दक्षिण कोरिया उड्ने श्रेष्ठले जनाए ।
गत आइतबार मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएका नेपाली श्रमिकलाई कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो ।
अध्यक्ष पन्तले कोरियामा रहेका नेपालीलाई नेपाल फर्काउनका लागि वातावरण बनाउ नेपाल सरकारसँग आग्रह गरिएको बताए । उनीहरुलाई नेपाल ल्याउन नेपाल सरकारसँग छलफल भइरहेको उनले बताए ।
यसैबीच विदेशमा कोभिड–१९ ले प्रभावित नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गैरआवासीय नेपाली संघ र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच हिजो (सोमबार) व्यापक छलफल भएको थियो ।
बैठकमा संघका तर्फबाट उपाध्यक्ष डा. बद्री केसीले विदेशमा अलपत्र परेका ४ लाखभन्दा बढी नेपाली तत्काल स्वदेश फर्कन चाहेको जानकारी दिदै फर्किने वातावारण तयार गर्न मन्त्री ज्ञवालीसमक्ष आग्रह गरेका थिए ।
संघको १५ देशका राष्ट्रिय अध्यक्ष सम्मिलित छलफलमा अधिकांशले नेपाल फर्किन र राहतका बारेमा आ–आफ्ना धारण राखेको संघले जनाएको छ ।
बैठकमा परराष्ट्रमन्त्री ज्ञावालीले नेपाल सरकार विदेशमा रहेका नेपाली फर्काउन सकरात्मक रहेको बताएका थिए । मन्त्री ज्ञावालीले भने, ‘अहिले अन्तर्राष्ट्रिय स्तरमै लकडाउन छ, त्यो खुले भएपछि सरकारले प्राथमिकताको आधारमा नेपालीलाई फिर्ता ल्याउने छ ।’
‘कागजी प्रकृया पूरा नगरेका, अस्थायी भिषा भएका, गर्भवती महिला र कुवेतलगायतका देशमा आममाफी पाएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर नेपाल ल्याइने छ’ मन्त्री ज्ञावलीले भने, ‘अहिले धैर्य गर्नुहोस् सरकार विदेशमा बस्ने नेपालीको समस्यामा चिन्तित छ । लकडाउन खुल्नेवित्तिकै गैरआवासीय नेपाली संघसँग समन्वय गरेर विदेशमा रहेका नेपाली फिर्तालाई प्राथामिकता राखेर सरकारले योजना बनाउने छ ।’
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले राहत वितरण, स्वदेश फिर्ता र पुनस्र्थापनाको कार्यक्रमलाई युद्धस्तरमा अघि सारेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माका अनुसार ४१ देशमा १ सय ५० भन्दा बढी शहरमा ९ सयभन्दा बढी स्वयम सेवक राहतका लागि खटिएका छन् भने २४ हजारभन्दा बढी गैरआवासीय नेपालीले राहत सामाग्री प्राप्त गरेका छन् ।
संघका राष्ट्रिय समिति र अन्तराष्ट्रिय परिषदले स्थापना गरेको २४ औं घण्टे हटलाइनबाट ७ हजार भन्दा बढी नेपालीले परामर्श लिएको डा. शर्माले जानकारी दिएका छन् । ७० जनाभन्दा बढी मेडिकल डाक्टरले १ हजार २ सयभन्दा बढी नेपालीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएका छन् ।
यस्तै राष्ट्रिय समन्वय परिषद्ले पौने ३ करोड रुपैंयाँको राहत कोष स्थापना गरिसकेको छ । कोषको रकम बढ्दो छ । एनआरएनए कोरिया, चीन, मकाउ, हङकङ र युएईले २ करोड रुपैयाँभन्दा बढीको स्वास्थ सामाग्री नेपाल पठाएका छन् ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदले ५ करोड रुपैयाँको राहत कोष लक्ष्यसहित फन्ड रेजिङ क्याम्पेन अगाडी बढाएको संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठले जनाए । यसको लागि संघले क्राउड फन्डिङ क्याम्पनिङ (धेरै जनाबाट थोरै थोरै रकम उठाउने व्यवस्था) गरेको छ । डेविट वा क्रेडिट कार्डबाट अनलाइन (www.nrna.org) वा मोबाइल फोनको रेस्पेक्ट एन्ड राइज एप्स प्रयोग गरी डोनेसन गर्न सकिने व्यवस्था गरेको संघको कोभिड १९ उच्चस्तरीय समितिले जनाएको छ ।
संघले स्थानीयरुपमा सहयोग जुटाउन अफ्ठेरो परेका देशहरुमा आईसीसीले राहत रकम वितरण सुरु भइसकेको जनाएको छ । हालसम्म मध्यपूर्वका कुबेत, युएई, सउदी अरबलाई ५–५ हजार युएस डलर र युरोपको साइप्रसलाई ३ हजार युएस डलर रकम उपलब्ध गराएको छ ।
आवश्यकता अनुसार अन्य देशहरुलाई पनि उपलब्ध गराउने योजना रहेको संघका अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले जानकारी दिए । यसैगरी नियन्त्रित र सुरक्षित स्वदेश फिर्ताको रणनीतिक योजना बनाई सरकारलाई उच्चस्तरीय समितिले बुझाएको छ । यो योजना जनस्वास्थ्य विज्ञ र मेडिकल डाक्टरहरुको टिमले तयार पारेको हो ।
पुनसस्र्थापना र स्वदेश फिर्ता भएका नेपालीमा कसरी पुनस्र्थापन गर्न सकिन्छ, उनीहरुले बाहिर सिकेको ज्ञान र सिपलाई कसरी देश विकासमा सदुपयोग गर्न सकिन्छ भन्नेबारे योजना बन्दै गरेको उच्चस्तरीय समितिले जनाएको छ ।
स्वास्थ्य समितिले महामारीको सुरुदेखि नै स्वास्थ्य शिक्षामूलक सामाग्रीहरु तयार गरी विद्युतीय माध्यम र सोसिएल मेडियाबाट सचेतना, रोकथाम र प्रवद्र्धनको कार्यक्रमलाई जारी राखेको संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए ।
स्वास्थ्य समितिले साप्ताहिक रुपमा संक्रमित र मृत्यु हुनेको तथ्याङ्क तयार पार्ने गरेको छ । २५ अप्रिल २०२० साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ, जसमा बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो । करिब २ हजार जना संक्रमित भएका छन् ।
राहत, उद्दार र पुस्र्थापना कार्यक्रमका लागि नेपाल सरकार, सरोकारवाला निकाय, विदेशस्थित नेपाली कूटनीतिक नियोगहरु र अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग निरन्तर सम्पर्क र सहकार्यमा काम गर्दै उच्चस्तरीय समितिले जनाएको छ ।
रियाद साउदी अरब/CoViD-19 कोरोनाको महामारी विश्वभरी व्याप्त रहेको अवस्थामा साउदी अरब अछुत्तो नरहेको र संक्रमितको संख्या दिनानुदिन बढ्दो रहेको छ।वैदेशिक रोजगारका लागी नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यको रूपमा रहेको साउदी अरबमा अहिले ३ लाख ५ हजार भन्दा बढी नेपाली श्रमिकहरू कार्यरत छन्।उक्त सन्दर्भमा कोरोना संक्रमण बाट प्रभावित नेपाली नागरिकले मुख्यतः मानविय आधारभूत आवश्यकता सम्बन्धि समस्याहरू झेल्दै आएका छन्। उक्त समस्यामा परेका नेपाली श्रमिकको सहयोगार्थ के कस्तो सहयोग र रणनिती बनाउन सकिन्छ भनि नेपाली दुताबास रियादले २६ अप्रिल २०२० का दिन भिडियो कन्फरेन्स मार्फत साउदी अरबमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरू संग सुझावहरू संकलन् गर्दै छलफल गरेका छन्।
उक्त छलफलमा एनआरएनए साउदी अरब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले वर्तमान स्थितिमा देखिएको समस्याहरू राख्दै दुताबासको अग्रसरतामा एक द्वार प्रणाली बनाई वास्तविक पिडितको पहिचान गरी राहत वितरण गरिनु पर्ने सुझाब दिएका छन् भने त्यसका लागी व्यक्तिगत र संस्थागत रूपमा मानविय सहयोग गर्न तयार रहेको बताएका छन्।यसै क्रममा साउदी अरबको पूर्वी क्षेत्रका लागी दुताबासका स्थानिय कर्मचारी हरी घिमीरेले लकडाउन र दुरीको हिसाबले सबै पिडितलाई राहत वितरण गर्न निक्कै खर्चिलो हुने भएकाले स्थानिय तहमा संयन्त्र बनाई सहयोग गर्न सुझाएका छन् ।
छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नेपाली दुताबास रियादका लागी श्रम सहचारीले नेपाली संक्रमितहरूको तथ्यांक सार्वजनिक गर्न निरन्तर साउदी सरकारलाई अनुरोध गरिरहेको र जिम्मेवार निकाय बाट प्राप्त जानकारी दुताबासले सार्वजनिक गर्दै आएको र अगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए। यसै शिलशिलामा नेपाली दुताबास रियादका नियोग उपप्रमुख दिलिप पौडेलले मिडीया कर्मीहरूलाई कोरोना सम्बन्धि उचित र यथार्थ सुचनाहरू मात्र संप्रेषण गर्न आग्रह गरेका छन्। पछिल्लो एक महिना देखी दैनिक रूपमा दुताबास संग भएको जानकारीहरू सामाजिक संजाल मार्फत नेपाली समुदायलाई जानकारी गराउँदै आएको र यसैलाई निरन्तरता दिने पनि बताएका छन्। उनले CoViD-19 सम्बन्धि वास्तविकता नबुझी नेपाली श्रमिकहरू त्रसित रहेकाले वास्तविक सुचना प्रवाह गर्न सबैलाई आग्रह गरेका छन् भने यस महामारीको अवधिभरी कोरोना सम्बन्धि समस्याको लागी डा. अनुरूद्र पाठकको ह्वाट्स एप नंबर ०५४६३५६०२३ र रोजगारी सम्बन्धि समस्याको लागी दुताबासको हटलाईन नंबर ०५५९३८९६०० मा वास्तविक पिडितहरूले मात्र सम्पर्क गर्न आग्रह गरेका छन् । उनले यस विषम अवस्थामा पिडितहरूको सहयोगार्थ हात बढाएकोमा क्रियाशील सबै संघ संस्थालाई धन्यवाद दिँदै अगामी दिनमा भईपरी आएमा दुताबासले सहयोगका लागी आह्वान गर्ने बताएका छन् भने वास्तविक पिडितको लागी कर्फ्यूको समयमा दुताबास प्रहरीको गाडी/एम्बुलेंस कै सहयोग लिएर भए पनि मानविय राहत पुर्याउन तयार रहेको बताए।
आफ्नो भनाई राख्ने क्रममा राजदुत डा.प्रा. महेन्द्र सिंह राजपूतले साउदी अरबमा रहेको नेपाली नागरिक प्रति नेपाल सरकार र नेपाली राजदुताबास रियाद सचेत र संवेदनशील रहेको बताउँदै संक्रमित नेपाली नागरिकले उचित स्वास्थ्य सेवा लिईरहेको बताए। विश्व नै कोरोना बाट ग्रसित भएको अवस्थामा एकले अर्कोलाई मदत गर्नु पर्ने र सबै एक भएर कोरोना संग लड्नु पर्ने बताउँदै नेपालीको एकता प्रति आफू विश्वस्त रहेको बताए ।उनले यस महामारीको अवस्थामा म्यानपावर व्यवसायीहरूलाई आफूले साउदी पठाएको श्रमिकहरूको उद्धार गर्न विशेष आग्रह गरेका छन् भने वर्तमान विषम परिस्थिति बारे कुटनितिक तवरमा आ-आफ्नो क्षेत्रबाट नेपाल सरकार र नेपाली राजदुबासले सम्बन्धित निकाय संग कुरा गरिरहेको जानकारी पनि गराएका छन्।राजदुत राजपूतले नेपाल सरकार र साउदी सरकारले जारी गरेको नितीनियमको पूर्ण रूपले पालना गर्न सबैलाई आग्रह गरेको छ।
नेपाली राजदुतावासले आज उक्त छलफल पश्चात पूर्व तयारी अनुरूप कोरोना संक्रमण बाट प्रभावित नेपाली श्रमिकहरू संग समन्वय गर्नका लागी निम्न सम्पर्क फोन नम्वरहरु सार्वजनिक गरेको छ ।(आइतवार देखि शुक्रवारसम्म)
क. फोन नम्वर ०५०००३१७०५ समयः बिहान ९ बजेबाट १२ बजेसम्म र दिनको १ बजेबाट ४ बजेसम्म ख. फोन नम्वर ०५०००३४७८६, समयः बिहान ९ बजेबाट १२ बजेसम्म र दिनको १ बजेबाट ४ बजेसम्म
लन्डन। गैरआवासीय नेपाली संघ द्वारा गठित कोडिभ १९, उच्चस्तरी समितिका प्रेस संयोजक चिरण शर्माले दिएको जानकारी अनुसार विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिवार (२५ अप्रील २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो ।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार ९ सय ८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।
नेपालमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना कोरोना मुक्तको भएको समितिले जनाएको छ ।
यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपाली मध्य ४ सय ३४ जना कोरोना मुक्त भएको सो समितिले जनाएको छ ।
संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ ।
समितिले विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।
यसै बीच कोरोना भाइरसको महमारीबाट प्रभावित भएका नेपालीहरुको सहयोगार्थ लागि गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ ।
गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माका अनुसार कोरोना महामारी पछि ४१ देशमा रहेका संघका शाखाहरु मार्फत ९ सय जना स्वयसेवक परिचालन गरेको छ ।
कोरोना संक्रमण पछि विश्वभर छरिएका करिब ३० हजार गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको संघले जनाएको छ ।
डा शर्माका अनुसार ७० जना भन्दा गैर आवासीय नेपाली चिकित्सक समेतले समेत कोरोना संक्रमित भएका देशमा गैरआवासीय नेपालीहरुलाई सघाई रहेका छन् । यसअघि चीनबाट कोरोना भाइरस संक्रमण शुरु भए लगत्तै संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोविडा १९ उच्चस्तरीय समिति गठन गरि काम अघि बढाएको थियो ।
उपप्रधान तथा परराष्ट्रमन्त्रि प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) ले बढी प्रभावित देशका गैरआवासीय नेपाली संघ अध्यक्षहरुसँग प्रत्यक्ष संवाद गरेका छन् । मन्त्री ज्ञवालीले सोमबार मन्त्रालयबाट विदेशस्थित ११ देशका राष्ट्रीय परिषदका अध्यक्षसँग भिडियो कन्फ्रेन्स मार्फत् नेपाली समुदायमा कोरोना भाइरसका कारणले बिचल्लीमा परेका नेपालीको आवाजलाई संबोधनार्थ छलफल भएको हो ।
‘नेपालमा लकडाउनको अवस्था लम्बिदै गएका कारणले विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काउन नसकिएको जानकारी दिए । विदेशमा अलपत्र परेका नेपालीप्रति सरकार पूर्णरुपले जानकार र सचेत छ, हामी अवस्था अनुकूल हुने वित्तिकै नेपाल फर्काउने प्रकृया सुरु गछौं, मन्त्री ज्ञवालीले भने, ‘सरकार वैदेशिक रोजगारीमा रहेका नेपाली मुख्यतयः खाडी क्षेत्रका श्रमिकका समस्यालाई तत्काल सम्वोधन गर्ने बिषयमा सकरात्मक छ ।’
सरकारका कूटनीतिक नियोग र गैरआवासीय नेपाली संघसँगको छलफलबाटै समस्याको समाधान निकालिने जानकारी दिँदै मन्त्री ज्ञवालीले विदेशमा रहेका नेपालीलाई धैर्य गर्न आग्रह गरे । उनले अप्ठ्यारो अवस्थामा विदेशमा रहेका नेपालीले खेलेको भूमिकाको प्रशंसा गर्दै कोरोना भाइसरबिरुद्ध जनचेतना, पीडितका लागि राहत वितरण लगायतका काममा गैरआवासीय नेपाली संघका शाखाले खेलेको भूमिकाप्रति खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे । मन्त्री ज्ञवालीले कोरोनाबाट प्रभावित देश सँग समेत सरकारले छलफल गरिरहेको जानकारी दिँदै विदेश स्थित संघसंस्था र सरकारी नियोग नभएका देशमा गैरआवासीय नेपाली संघसँग मिलेर काम गर्न नेपाली दूतावासहरुलाई सक्रिय पारिएको जनाए । बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमणलाई रोक्न नेपाल सरकारले चालेका कदम प्रभावकारी रहेको बताए । अध्यक्ष पन्तले भने, ‘विदेशको अनुभवले पनि नेपाल सरकारका निर्णय निकै प्रभावकारी देखिएका छन् । धेरै देशले लकडाउनको निर्णय समयमा गर्न नसक्दा संक्रमण बढेको छ, लकडाउनको लागि नेपाल सरकारले गरेको निर्णय ऐतिहासिक हो ।’
अध्यक्ष पन्तले कोरोना भाइरसले प्रभावित पारेका वैदेशिक रोजगारीमा रहेका नेपाली प्रति राहत कार्यक्रममा सरकारसंग मिलेर काम गर्न संघ तयार रहेको बताए ।
उनले युरोप अमेरीकाका गैरआवासीय नेपाली भन्दा मध्यपूर्वका देशममा वैदेशिक रोजगारीमा रहेका नेपाली ठूलो समस्यामा रहेको बताए । पन्तले भने ‘सरकारसँग युरोपीय र अमेरिकाको धेरै अपेक्षा छैन तर श्रमिकका लागि सरकारले पहल कदमी चाल्नु पर्छ ।’
संघका महासचिव डा हेमराज शर्माले नेपाल सरकारले विदेशमा रहेका नेपाली चिकित्सकहरुको विज्ञतालाई अहिलेको कोरोना महामारीमा सदुपयोग गर्न सुझाव दिए । उनले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीचको एक संयुक्त कार्यदलमार्फत कोरोना पीडितका लागि राहत वितरण गर्नुपर्ने विचार व्यक्त गरे ।
वैदेशिक रोजगारमा रहेका नेपालीको संख्या ठूलो भएकाले संघको साधनस्रोतले मात्र नपुग्ने हुँदा सरकारको तर्फबाट राहत कार्यक्रममा सहकार्यको लागि आग्रह गरेको गैरआवासीय नेपाली संघको नीति तथा प्रोसिडर समितिका संयोजक रामशरण सिमखडाले बताए । बैठकमा सहभागी अध्यक्षहरुले विद्यार्थीहरु, भूपूगोर्खा, वैदेशिक रोजगारीमा रहेका श्रमिकको समस्या, राहत तथा स्वास्थ्यसम्वन्धी सामग्री वितरण, नेपाल तत्काल फर्कने चाहनेको व्यवस्थापनलगायतका विषयमा मन्त्री समक्ष आ–आफ्ना भनाइ राखेका थिए ।
उनीहरुले कोभिड–१९ ले अर्थतन्त्रमा ठूलो प्रभाव पार्दा देश आर्थिक मन्दीमा जान सक्ने भन्दै दीर्घकालीन तथा अल्पकालीन आर्थिक नीति तय गर्न सरकारलाई सुझाव दिएका थिए ।
बैठकमा युके, जर्मनी, अमेरिका, इटाली, स्पेन, जापान, युएई, फ्रान्स, दक्षिण कोरिया, साउदी अरब लगायतका देशका एनआरएनए अध्यक्षको सहभागिता रहेको थियो । बैठकमा परराष्ट्र सचिव शंखर बैरागी लगायत परराष्ट्रमन्त्रालयका उच्च अधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।
लन्डन- ‘कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन एनआरएनएले पहल थाल्ने भएको छ। खाडीमा श्रम गरिरहेका नेपालीहरु बिचिल्लीमा परेका खबरहरु आईरहेको बेला संघले घर फर्काउने रणनीति तय गर्दै पहल थालेको हो। संघको ‘कोभिड–१९ ‘उच्चस्तरीय समितिको बैठकमा संघका अभियन्ताहरुले बिद्यार्थी, श्रमिक तथा बिबिध कारणले अबैधानिक रुपमा बस्दै आएका नेपालीहरुको अबस्थाबारे चिन्ता प्रकट गरेका छन्। परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले अप्रिल महिनाको अन्त्य सम्म गैर आबासीय नेपालीहरुलाई यथास्थानमा रहन अनुरोध गरिरहेका बेला एनआरएनए ‘कोभिड–१९ ‘उच्चस्तरीय समितिको बैठकमा उक्त बिषय माथी गहन छलफल भएको हो । आइतवार कन्फ्रेन्स कलमार्फत सम्पन्न बैठकमा एनआरएनए अध्यक्ष कुमार पन्तले बैठकमा जानकारी गराउँदै पहिलो चरणको स्वास्थ्य सामग्री हस्तान्तर भइसकेको र दोस्रो चरणका सामान सोमबारसम्ममा हस्तान्तरण गरिने बताए । नेपाल सरकारले थप स्वास्थ्य सामग्री आवश्यक ठाने गैरआवासीय नेपाली संघका शाखाहरु दिन तयार रहेको पनि जानकारी गराए साथै उनले साइप्रस, अष्ट्रेलिया, अमेरिकालगायत विदेशका विद्यार्थी र श्रमिक कोरोना भाइरसले प्रभावित भएको बैठकलाई जानकारी गराए । अध्यक्ष पन्तले पहिलो चरणमा जनचेतना, राहत, दीर्घकालीन नीति निर्माणको काम भइरहेको, र विदेशबाट फर्कन चाहनेको संख्या हजारौं जनाउँदै कुवेतमा ३ हजारभन्दा बढी कागजी प्रकृया पूरा नगरेका नेपालीको संख्या रहेको बताए । कयौं नेपालीलाई स्थानीय सरकारले सहयोग नगरेपछि नेपाली विभिन्न देशमा अलपत्र परेकालाई नेपाल फर्काउने बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवारीसँग छलफल भइरहेको र परराष्ट्रमन्त्री उक्त विषयमा सकरात्मक रहेको पनि जानकारी गराएका छन् ।
बैठकमा पूर्वशिक्षामन्त्री गंगाधर तुलाधारले मुलुक भोलि संकटमा जान सक्नेतर्फ औंल्याए । ‘मातृभूमिमा पर्न लागेको संकटमा गैरआवासीय नेपालीले खेलेको भूमिकाको सरहना गर्न चाहन्छु, पूर्वमन्त्री तुलाधरले भने, ‘यस्ता महामारीले भविष्यका लागि पाठ सिक्ने अवसर हो । यसले स्वास्थ्य क्षेत्रमा जोखिम न्युनीकरण गर्न सहयोग पुग्छ । स्वास्थ्य क्षेत्रमा अहिले प्रयोग भइरहेका नयाँ अनुभवले आगामी पुस्ताको लागि उपयोगी हुनेछ ।’ अहिलेको अवस्थामा गैरआवासीय नेपाली समुदायले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दा देशको लागि अतुलनीय योगदान हुने तुलाधरले बताए ।
एनआरएनए स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाले कोरोना भाइरसको संक्रमण अहिले पनि बढ्दै गइरहेकाले जनचेतनाको अभियानलाई अझै तिब्रता दिनुपर्ने बताए । विदेश यात्रा गर्दा संक्रमणको १० गुणा खतरा हुने भएकाले सबैजना चनाखो हुन उनले सुझाए । उनले भने, ‘६ वटै क्षेत्रमा स्वास्थ्यसम्बन्धी जनचेतना कार्य सञ्चालन भइरहेको छ ।
संघका उपाध्यक्ष डा बद्री केसीले पहिलो चरणमा ४ हजार टेस्ट किट नेपालमा हस्तान्तरण भइसकेको र बाँकि चीनमा भन्सारसम्बन्धी नियम परिवर्तन हुँदा खरिद गरेको सामान आउन ढिलाइ भएको बताए । उनले विदेशमा अलपत्र नेपालीको सहयोगका लागि बैदेशिक सामाजिक कोषमा रहेको रकम परिचालन गर्न सरकारसँग छलफल भइरहेको जानकारी दिए ।
एनआरएनए उपाध्यक्ष सोनाम लामाले एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतोसहित श्रममन्त्रीसँग छलफल भएको बारेमा बैठकमा जानकारी दिए । उनले सामाजिक सेवा कोष परिचालन गर्न मन्त्री सहमत भएको जानकारी दिँदै उनले मन्त्रीले विदेशस्थित नेपाली दूतावाससँग र गैरआवासीय नेपाली संघबीच सहकार्य गरेर तत्काल राहतको कार्य सुरु गर्ने बताएको पनि बताए ।
संघका अध्यक्ष पन्तको सभापतित्वमा सम्पन्न बैठकमा महासचिव डा हेमराज शर्माले कोरोना पीडितको लागि एनसिसिमा भएको राहतको विवरण पेश गरेका थिए । संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले कोरोना भाइरस संक्रमणबाट प्रभावितका लागि आर्थिक सहयोग संकलन भइरहेको जानकारी बैठकलाई गराए । उनले सा–सानो डोनेशन, व्यवसायी, सरकार र अन्तराष्ट्रिय समुदायबाट आर्थिक संकलन गर्ने नीति लिइएको बताए । संघले आर्थिक संकलन तथा वितरणको लागि निर्देशिका तयार पारेर संघका राष्ट्रिय समितिमा छलफलको लागि पठाएको बताए । यस्तै डा देवी बस्नेतले दक्षिण कोरियामा रहेका नेपालीलाई नेपाल फर्काउनको लागि पहल गर्न आग्रह गरे भने डा शक्ति चौरसियाले स्वास्थ्य सम्वन्धी सामग्री वितरण पारदर्शी बनाएको बताए । विदेशबाट आएको सबै सामग्री सरकारी अस्पतालमा वितरण भइसकेको जानकारी दिँदै उनले भने, ‘पिपिइ अभाव भएका अस्पतालमा सबै सामग्री गत विहीवारसम्ममा पुगिसकेको र ती सामग्रीले अस्पतालमा फ्रन्टलाइनमा काम गर्ने चिकित्सकलाई सहयोग पुगेको छ ।’ उनले प्रि फन्डको व्यवस्था गर्न सके आगामी दिनमा काम गर्न सकिने सुझाव दिए ।
डा पुरु श्रेष्ठले कोरोना भाइरसबाट समाजिक तथा आर्थिक असर, डिजास्टर म्यानेजमेन्टको लागि अल्पकालीन तथा दीर्घकालीन संयन्त्र तयार गर्नुपर्ने बताए । उनले समस्या देखाएर मात्र हुँदैन, समधानतर्फ समेत संघले ध्यान दिनुपर्नेमा जोड दिए । उनले विश्वभर छरिएका विज्ञहरुसँग मिलेर काम अघि बढाउन आग्रह गरे । अस्ट्रेलियाबाट डा कुश श्रेष्ठले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपमा कोरोना बिरुद्धको गतिविधि अघि बढाउनु पर्नेमा जोड दिए ।
सार्वजनिक स्वास्थ्य विज्ञ प्रोफेशर डा पदम सिम्खडाले नेपालमा पिसीआर टेष्टमा ध्यानदिन जरुरी रहेको बताए । उनले अहिले भइरहेको टेष्टले विगतमा कसैलाई कोरोना थियो की थिएन भनेर टेष्ट गर्ने गरिएको छ तर अहिलेको आवश्यकता कोरोना एक्टिभ छ की छैन भनेर टेष्ट हुनुपर्ने बताए।उनले भने, ‘कोरोना भाइरस संक्रमणमा कोरियाको टेष्ट सिस्टम र जर्मनको हेल्थ प्रणाली विश्वकै उत्कृष्ट छ ।’ डा सिम्खडाले काठमाडौंका मानिसलाई गाउँतिर जान दिँदा संक्रमण कम हुने बताए । उनले शहरमा मानिस बस्दा बिभिन्न कारणले मानसिक स्वास्थ्यमा समस्या आउन सक्छ त्यसैले सबैलाई आ–आफ्नो घर जान दिनुपर्ने सुझाव दिए । यस्तै डा द्रोणप्रसाद रसाइलीले कोरोना भाइरसको -यापिट टेष्टलाई अफ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । बैठकमा एनआरएनए सचिव गौरी जोशी, रञ्जित महतो, प्रोफेसर सत्यन राजभण्डारी (युके) र डा अनिली पोखरेल सुबेदी (पोल्याण्ड) को पनि सहभागिता थियो ।
विश्वभर महामारिको रूपमा फैलिंदै गरेको प्राणघातक रोग कोरोना भाईरस (NOVEL CORONA VIRUS-COVID19) ले नेपाल लगायत संसार भर छरिएर रहेका सम्पूर्ण नेपाली हरुमा डर त्रासको वातावरण सृजना गरिरहेको परिपेक्षमा साउदी अरबमा रहेका नेपाली श्रमिकहरु प्रति भैपरी आउने आपतकालिन परिस्थितीलाई मध्यानजर गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबको सचिवालयले २३-मार्च-२०२० का दिन बिशेष आकस्मिक बैठक आह्वान गरी १० सदस्यीय समिती गठन गरेको थियो जसलाई पूर्णता दिएर कार्यन्वयन गर्न गत १०-अप्रिल-२०२० का दिन छैठौं पूर्ण बैठक द्वारा कार्य समितिलाई थप फराकिलो पार्नको निम्ती राजु सैयद, जोन अर्याल, नारायण पासवान, ओम घले, डमर यादव, रमेश भण्डारी, राजकुमार श्रेष्ठ, बिरेन्द्र कुमार चौधरी, शुक्र मोक्तान, हेम सुबेदी, नरेन्द्र कार्की, रमजानदिन मियाँ, अर्जुन थापा, रविन तमाङ, राजकुमार गिरी सहितको कार्यदलको निर्माण गर्दै तपसिलका बिषयमा गम्भिर छलफल गरेको छ।
साउदी अरबमा कोरोनाको चपेटामा परी १०-अप्रिल सम्म संक्रमित संख्या ३६५१ पुगेको छ जसमा ४७ जनाले ज्यान गुमाइसकेका छन भने ५ जना नेपाली समेत कोरोनाको चपेटामा परे लगत्तै गैर आवासिय नेपाली संघ साउदी अरबले उक्त कार्यदललाई साउदी अरबका बिभिन्न शहरमा कुनै पनि नेपाली श्रमिकलाई आइपर्ने बिपत्ती उपर सहयोग गर्नको निम्ती संघको आपतकालिन कोष बाट न्युनतम ५ लाख बराबरको कोष निकासा गर्ने निर्णय गरेको छ। राहतका लागि थप रकम आवश्यक परेको खण्डमा पुन: अर्को बैठक द्वारा आवश्यक कदम चाल्ने भएको छ जसको लागी मध्यपुर्बका सम्पूर्ण एनसिसी र अन्तरराष्ट्रिय समन्वय परिषद संग समेत परामर्श लिने निर्णय गरेको छ।
कार्यदलले कोरोना प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्न बिशेष फारमको तयारी गरी कोरोना संक्रमित तथा बन्दको कारण अफठ्यारोमा परेकाहरू जस अन्तर्गत कम्पनी बन्द भएको, कम्पनीले तलव सेवासुबिधा नदिएको, खानेपानीको अभाव भएको र नेपाली दूतावास र महावाणिज्यदूतावासको समेत रुजु वा अनुरोध/अनुमोदन भएको आदिको पहिचान गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ। कार्यदलले बिशेष कार्यदिशा निर्माण गरी यथा शिघ्र साउदीमा रहेका नेपाली राजदुताबास र महावाणिज्य दुतावास संग समन्वय र परामर्श लिएर राहत तथा उद्धार अभियानको शुरुवात गर्नेभएकोछ। यो बिषम परिस्थितिमा कुनैपनी नेपालीलाई अचानक ज्वरो आउने, सुख्खा लहरे खोकी, टाउको दुख्ने, झाडा बान्ता हुने जस्ता लक्षण देखिएमा तुरुन्त साउदी सरकारले उपलब्ध गराएको एम्बुलेन्स सेवाको ९३७ नम्बरमा संपर्क गर्नुको साथै गैर आवासिय नेपाली संघ साउदी अरबका प्रतिनिधिहरूकके संपर्कमा आउनको लागि उक्त कार्यदलले तपसिलका नम्बरहरुमा संपर्क गर्न अनुरोध गरेको छ।
जसमा नेपाली राजादुताबास रियाद:(0114611108) र हटलाइन (0559389600), नेपाली महाबाणिज्य दुताबास जेध्दा:(012-6226665) र (012-6226683) साथै कार्यदलले NRNA NCC साउदी अरबका प्रतिनिधिहरु:( कोरोना भाईरस उध्दार समिती साउदि अरब )को नामावली क्षेत्र र सार्वजनिक गरेको संपर्क नंबरहरू यस प्रकारको रहेको छ।तेज बहादुर थापा-अध्यक्ष दमाम 0504438377 ICC मा प्रतिनिधित्व, ध्रुव कुमार रिजाल- बरिष्ठ उपाध्यक्ष जेध्दा 0505910744 ICC मा प्रतिनिधित्व, भोलानाथ पौडेल उपाध्यक्ष दमाम 0598334109, रोशन कुमार श्रेष्ठ- उपाध्यक्ष दमाम 0545226844, बिशाल श्रेष्ठ- उपाध्यक्ष अल-कासिम 0535470253, लाल बहादुर मगर-का.बा महासचिब जिजान 0561541062, सन्तोष लुइंटेल-कोषाध्यक्ष जेध्दा 0567289521, बिष्णु न्यौपाने-प्रवक्ता जेध्दा 0590887222, भक्त हमाल-सल्लाहकार ताबुक 0555347025, मेनुका सिटौला ओडारी- क्षेत्रिय उपाध्यक्ष रियाद 0572921153,राजु सैयद-संरक्षक दमाम 0509211996, जोन अर्याल-मध्यपूर्ब सह संयोजक दमाम 0500490398, नारायण पासवान-ICC सदस्य रियाद 0558517861, ओम घले-संरक्षक दमाम 0534510942, डमर यादव-प्रमुख सल्लाहकार दमाम 0596563050, रमेश भण्डारी-ICC मानार्थ सदस्य रियाद 0543312837, बिरेन्द्र कुमार चौधरी-संरक्षक दमाम 0540547829, राजकुमार श्रेष्ठ-युवा संयोजक अल-कासिम 0535544688, मनिष कोइराला-सदस्य अल-कासिम 0581605697, रमजानदिन मियाँ-क्षेत्रिय अध्यक्ष अल-कासिम 0590401695, अर्जुन थापा-क्षेत्रिय अध्यक्ष ताबुक 0544994328, रविन तमाङ-क्षेत्रिय अध्यक्ष जिजान 0564540286, राजकुमार गिरी- क्षेत्रिय अध्यक्ष जेध्दा 0541596759, हेम सुवेदी-क्षेत्रिय अध्यक्ष रियाद 0530288127, शुक्र मोक्तान-सदस्य दमाम 0550748154 र नरेन्द्र कार्की-सदस्य दमाम 0569736026