साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३७ सम्पन्न

  • १९ आश्विन २०८१, शनिबार २२:१२ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    आहा ! चाँदनी रात
    बन्दछ सपना सबको,
    सुनिरहूँ प्रेमिल बात ।
    २,
    विदेशी भाषामा अहङ्कार
    जबाफ हराउॅंछ उसको
    आफूलाई सोच्छ हिम्मतदार ।
    ३,
    नछोपी आफ्नो गल्ती
    बेकार चिच्याउनु साथीभाइमा
    देखाऊ, सबै खल्ती ।

    • म्यामराज राई, भोजपुर

      १,
      हेरेर जून, तारा
      मिलाएर झिल्का लेखौँ
      हातेमालो गरौँ सारा ।
      २,
      राजनितिक अत्याचार हुन्छ
      व्याप्त भष्टाचार किन ?
      बेथितिले मुटु छुन्छ ।
      ३,
      पानी परेर फेरि
      बाहिर निस्कन गाह्रो
      चित्त बुझाऔॅं हेरी ।
    • रवि पौडेल, दक्षिण भारत पाण्डेचरी

      १,
      आसुरी प्रवृत्ति हेर
      कुमान्छे बन्दैछन् ती
      अर्काको खुट्टा तानेर ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ

      १,
      रिमझिम वर्षा छायो
      प्रकृतिले गर्‍यो तमासा
      प्राणीले दु:ख पायो ।
      २,
      दसैँ आयो रमाउँदै
      दुखीको छाक छैन
      कमाई गयो हराउँदै ।
      ३,
      गरिब रुन्छन् मनमा
      दसैँ आयो नजिकै
      कपडा छैन तनमा ।
    • वेदु न्यौपाने

      १,
      ठुलो पानी आयो।
      प्राकृतिले के गर्‍यो।
      गरिबिको बासै उडायो।
      २,
      बाढी, पहिरो आयो
      दसैँको मुखैमा लौ !
      हजारौको ज्यान खायो।
    • वेल थोकर

      १,
      आनन्द जीवन मेलाले
      मिल्छ सधैँ क्षणिक
      कसैलाई पर्खिँदैन बेलाले ।
      २,
      अङ्गदान संसारमा महादान
      सार्थक हुन्छ जुनी
      गरौँ प्रभु गुणगान ।

      धिक्कार जीवन हेलाले
      गुरुको सधैँ मान
      गर्नु पर्दछ चेलाले ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी

      १,
      उठ्छु बिहान सबेर
      योग,प्राणायम,ध्यान
      गर्दै रहन्छु हेर।
      २,
      बिहानको समय महत्वपूर्ण
      यस्तो विचार गर्दा
      शरीर हुन्न अपूर्ण।
      ३,
      ध्यान पुर्याऊँ सबैले
      शरीरलाई प्राथमिकतामा राखौँ
      भन्छु सदा मैले।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।

      १,
      दिएको देख्दा हात,
      मन भयो चङ्गा
      लाग्दैछ नपरोस् रात ।
      २,
      किन जातका कुरा ?
      भाव मिल्यो भने,
      हुन्छन् ती बेसुरा।
      ३,
      नगरी हुन्न गल्ती,
      तिललाई पहाड बनाउने
      कस्तो बढ्यो चलनचल्ती !
    • दीपा समभाव, दुबेकोल खोटाङ

      १,
      लाग्यो वर्षे झरी
      काम छैन मानिसको
      मोबाइल हेर्छौँ दिनभरि ।
      २,
      छैन अब खेतबारी
      बजारको घर हाम्रो
      जानुपर्छ सिमा पारि ।

      दसैँ आयो धुमधाम
      घर रित्तो खल्ती
      भयो कता जाम ?
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८

      १,
      कृषि क्रान्तिका नारा
      गमलामा धान रोपेर
      बेईज्जत गरे सारा ।
      २,
      आर्थिक क्रान्तिको नारा
      अत्याचार भ्रष्टाचार ठगी
      भाषणका भरमा सारा ।
      ३,
      फुके कोरा ढ्वाङ
      पत्याउने हामी जनता
      सरकार जहिलेसुकै स्वाङ ।
    • गुणनिधि घिमिरे, अमेरिका

      १,
      सहयोगी आफ्ना हातहरू
      पछाडि फर्केर हेर्दा
      छैनन् कोही साथहरू ,
      २,
      सबै अर्थका साथी
      जिन्दगी एक्लो रहेछ
      हेर्छन पुगेर माथि ।
      ३,
      आशा रहेन केही
      व्यर्थै दु:खी रहेछ
      मुटु रहेछ यही।
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा

      १,
      प्रकृतिको भर छैन
      आपद्विपद् कोही पर्दा
      हराउँछ मनको चैन l
      २,
      अविरल पानी पर्‍यो
      मजदुर किसान व्यापारी
      सबैको हानी गर्‍यो ।
      ३,
      धेरै पर्‍यो पानी
      शान्ति भएन मनमा
      नरमाइलो बन्यो जिन्दगानी ।
    • राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।

      १,
      फालेर हलो, कोदालो
      साहुको ऋण काढेर
      विदेशमा नबन्नू, गोठालो।
      २,
      पौरख सबैले गरौँ
      अपनाई वैज्ञानिक पद्धति
      अन्नको भण्डार भरौँ ।
      ३,
      सधैँ जाग्नु सबेर
      आलस्य गरेर बसे
      हुनेछ भाइ अबेर।
    • बिके मुखिया, दार्जिलिङ, भारत

      १,
      लाग्यो अब झरी
      पहिरोले बग्दैछ गाँउ
      यसरी हल्ला नगरी।
      २,
      रुझ्दैछ जमिन पानीले
      क्षति नगरी छोड्दैन
      झरीको यो बानीले।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ

      १,
      पानीले जलमग्न बनायो
      झरीको विवरण बुझ्दा
      दैवले रिसले खनायो।
      २,
      बोतलले नालाहरू थुन्यो
      सर्वत्र सड़क अवरोध
      मान्छेले तानाबाना बुन्यो।
    • चुडामणी देवकोटा, पुरानोनैकाप काठमाण्डौं

      १,
      हुन्न त्यसै खोजी
      गर मिहिनेत कडा
      तब पाइन्छ रोजी ।
      २,
      सुखदुःखमा साथ दिनु
      कुरा बुझी जनको
      आनन्दको महसुस लिनु।
      ३,
      गर देशको विकास
      खुशी हुन्छन् जनता
      तब मिल्छ निकास ।
    • अनुग्रह राना मगर ‘पुष्प”, पाँचखपन न.पा. ६ संखुवासभा

      १,
      यो असोजे झरी
      इन्द्र निदाए क्यारे
      पानी बन्द नगरी ।
      २,
      बढे फेरि खोला
      उहि बाटोको समस्या
      रक्षा गर भोला।
    • पुष्पा सुवेदी, नेपालगन्ज, बॅाके

      १,
      पहिले थाप्यौ हात
      आफूलाई भनेको पुगेपछि
      दियौ फेरि बज्रपात ।
    • प्रेम थापा “मन”बागलुङ

      १,
      मौकाको फायदा जानेर
      कुरा काट्न सिपालु
      हिॅंड्छन् खुट्टा तानेर !
      २,
      झरीले गर्यो मनपरी
      बेला नकुबेला झरेर
      क्षती नोक्सानी गरी !
      ३,
      चाडबाड नजिक आयो
      उमङ्गको पोको बोकेर
      मनमा खुसी पलायो !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान

      १,
      शहरमा वर्षा चाहिन्न
      कागजको काम हुन्छ
      खेतीपाती प्राय लाइन्न।
    • देवी पन्थी

      १,
      परेको भदौरे पानी
      खेतमा बाली बिनास
      के होला जिन्दगानी !
    • आर्त अकुलीन

      १,
      किन देखिॅंदैन चित्र ?
      छर्लङ्ग मनका भावको
      पर्‍यो दुस्मन मित्र ।
    • लोक वहादुर छेत्री लामिछाने, मोदी २ देउपुर पर्वत

      १,
      शरदे झरी चम्कियो
      गरिखान दिएन किसानलाई
      भन्दै सबैजना बम्कियो ।
      २,
      चाडपर्वको मुखमा झरी
      निरन्तर बर्सेको कति ?
      आफन्त टार्नु कसरी ?
      ३,
      लगातार पानी परेको
      श्रद्धाभाव चढाउँदै श्राद्धमा
      पितृको आँशु झरेको ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ

      १,
      बुताभन्दा बाहिरको कुरा
      प्रकृतिदेवी पनि रिसाएर
      रोप्न थालिन् छुरा।
      २,
      गर्नुपर्छ भेटेर बात
      प्रस्ताव राखेँ मैले
      समाउन देऊ हात।
      ३,
      आँखा किन फरफरायो
      नजाती हुन्छ भन्छन्
      त्यसैले थुरथुर गरायो।
    • सतीश पण्डित, भानु -६, चुँदी, तनहुँ, (हाल चनपा ६ मातातीर्थ )

      १,
      राम्रो गर्नेहरू नसहने
      मनोमानी चलेमा खुसी
      आफूलाई अजीव रहने।
      २,
      देश रोइरहेछ पीडाले
      विधिको शासन कुल्चेका
      देशलाई सके अखडाले।
      ३,
      युवालाई पागल बनाउँदै
      बुढाहरू बम्केका सत्तामातले
      अडेका कसलाई समाउँदै।
    • घनश्याम पन्त, हरिवन सर्लाही

      १,
      प्रकृतिको छैन भर
      छिनभरमै देखाउॅंछ ताण्डव
      समयमै सुरक्षा गर ।
    • विष्णु पङ्गेनी पाण्डे , स्याङ्जा वालिङ

      १,
      तारन्तार पानी आयो
      केही नहुनेको पनि
      झुपडी, खेतबारी बगायो ।
      २,
      खेतीयोग्य जमिन भासिन्छ
      उब्जनीको नाम शून्य
      अनि मान्छे मासिन्छ ।
      ३,
      खेतबारी सबै बगायो
      भयो भयानक परिस्थिति
      भोक निन्द्रा हरायो ।
    • हिरामाया श्रेष्ठ

      १,
      स्वच्छ दिलमा बसेर
      आनन्द छ तिमीलाई
      मनसॅंग मन साटेर।
      २,
      भाषा विदेशको भन्छ
      बुझिॅंदैन कस्तो शब्द ?
      युवा के बन्छ ?
      ३,
      गल्ती छोपेर छोपिॅंदैन
      भित्ताको कान हुन्छ
      नबोलेको भए खोलिॅंदैन ।
    • एवाइ प्रभात, सहिदभूमि, धनकुटा

      १,
      देऊ सधैँभरि साथहरू
      तब हुन्छ ज्ञानी
      नपठाऊ खाली हातहरू।
      २,
      कस्तो पानी परेको ?
      संसार भिजाउने गरी
      जूनको आँसु झरेको।
      ३,
      कहाँ छ चित्र ?
      कालो कानुनको अघि
      प्रहरी हुँदैन मित्र।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत

      १,
      झरीले दिनरात जोड्यो
      पहाड पहिरोले सखाप
      तराई डुबाएरै छोड्यो!
    • मन्दिरा सेढाई, मलेखु, धादिङ

      १,
      विश्वास बाटोको गाडी
      स्वार्थ पूरा नभएसम्म
      हिॅंड्छ अगाडि पछाडि ।
      २,
      खहरेखोला उर्लेर आयो,
      बालुवाले थुनेको किनारा
      मनको बाँध बगायो।
    • होमप्रसाद नेउपाने, धरान, सुनसरी

      १,
      पुर्वमा डुबान भएको
      वर्षे झरी लागेर
      काममा पनि नगएको ।
      २,
      साहित्यमा राजनीति पसेको
      अर्काको खुट्टा तान्दै
      हेर कसरी बसेको।
    • कला ढकाल, झापा

      १,
      असत्यमाथि सत्यको विजय
      भगवती माताको कृपाले
      असुरहरूको विनास तय।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत

      १,
      काम गरेर सिद्ध
      देखाऊ प्रमाण हामीले
      सम्बन्ध तब मिल्छ ।
      २,
      दिएर हुकुम राजाको
      भित्री आत्मा खुकुलो
      झिंगा हुनहुनाउने बाजाको ।
      ३,
      फेरेर छिनछिनमा बोली
      के गर्न खोजिरहेछौ ?
      टाटे पाटे रङ्गोली ।
    • ईश्वर साउद (भिक्षु), रामारोशन – ६, सुदुरपश्चिम अछाम

      १,
      गरेको थिइन् कसुर
      सम्पति बगाई दियो
      ईश्वर बनेर असुर l
      २,
      खोस्यो मनको चैन
      ओभाना छैनन् हिजोदेखि
      परिवार जनका नैन l
      ३,
      परिरहेछ अविरल झरी
      बाँधिदियो ईश्वरले कठै!
      शिरमा त्रासको पगरी l
    • बाबुराम गौतम, गुल्मी

      १,
      चाडपर्वको बिचमा झरी
      लाएको बालीमा नोक्सान
      मनमा चिन्ता सधैँभरि ।
      २,
      असोजमा भदौरे पानी
      बाढीले विचलित बनायो
      कस्तो होला जिन्दगानी !
      ३,
      अविरल झरी पर्‍यो
      चाडबाडको मुखमा यसले
      किसानलाई गर्नसम्म गर्‍यो ।
    • दुर्गा भट्टराई, मोरङ

      १,
      बेमौसमी वर्षा आयो
      सबै देशबासीको मन
      पानीले गर्दा डरायो।
      २,
      सयपत्री मखमली रमायो
      फूलको हरेक डालिले
      मेरो मन समायो ।
      ३,
      एकान्त मनमा मेरो
      कसैले ढुङ्गा हान्यो
      त्यसैले लाएँ घेरो ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं

      १,
      विछोडमा मिलनको आस
      जीवन यस्तै हो
      मिलनमा विछोडको त्रास ।
    • लक्ष्मी रिजाल, कञ्चनरूप १२, रूपनगर, सप्तरी

      १,
      तिम्रो माया मुटुभित्र
      छैनन् कोही बसेको
      राखेको छु पवित्र।
    • सुनगाभा पोखरेल, हाल: नेपालगन्ज

      १,
      शरदमा आकाश रूँदा
      बाढी पहिरोको डर
      एकनास झरी हुँदा।
      २,
      झारेर धानका फूल
      किसानी पसिना व्यर्थ
      आकाश अब खुल।
    • सरस्वती श्रेष्ठ रुपन्देही बुटवल

      १,
      ओझेलमा परेको ज्यान
      बेखबर भएपछि साथी
      हुँदैन कहिले ध्यान ।
      २,
      तनावग्रस्त अवस्था साथी
      जिन्दगीमा परेपछि चट्याङ
      गरियो शङ्का नियतिमाथि ।
      ३,
      नेताको छैन विश्वास
      हामी जनता अँध्यारोमा
      कहिले होला निकास ?
    • पृथक प्रकृति ,झापा

      १,
      लगातार पानी परेर
      देश विपदमा भासियो
      बाँच्नु पर्‍यो मरेर ।
      २,
      व्यवस्थित छैन शहर
      जताततै डुबान भयो
      पीडामा थपियो जहर ।
      ३.
      चाड भित्रिएको बेला
      दोहोरो मारमा जनता
      महॅंगीको परे फेला ।
    • पुष्पा राई, बादेल, खोटाङ

      १,
      दशैं भयो हिले
      गर्नु हुन्न देखासिकी
      सम्बन्ध बन्छ मिले ।
      २,
      घरको भकारी रित्तियो
      मुखमा माड छैन
      विदेशी खाद्य भित्रियो ।
      ३,
      झरीले किसानलाई मार्‍यो
      दैवले अन्याय गरेछन्
      धान खेतमै झार्‍यो ।
    • धनमाया चौधरी कैलाली

      १,
      नाता पनि जोडियो
      पानी परेको बेला
      सॅंगसगैँ छाता ओढियो ।
      २,
      अनवरत यो झरी
      परेको छ हजुर
      दिन अनि रातैभरि ।
      ३,
      परेर अनवरत पानी
      नबिगारोस् कसैको घरबार
      नहोस् कसैलाई हानी ।
    • अमृत कोइराला, पोखरा

      १,
      मुगलानको सहेर दुख
      गन्तव्य खोज्छ प्रदेशी
      देख्दैन जीवनमा सुख ।
      २,
      ठगिन्छ सिमा वारीपारी
      कसले देख्छ यहाँ ?
      प्रदेशीको ऋणको भारी।
      ३,
      बेरोजगारी हाम्रो अभिशाप
      निर्धोले पाउछ सजाय
      पहुँचवाला पाउॅंछ माफ ।
    • हिरालाल न्यौपाने, बागचौर नगरपालिका ८, कोटमौला सल्यान

      १,
      अहोरात्र बर्सियो झरी
      धनजनको क्षति भयो
      बचाऊ लौ ! हरि ।
      २,
      दु:ख निम्छरोले पाउने
      गाँसबासको भयो समस्या
      अब कता धाउने ।
      ३,
      दैव पार लगाऊ
      हाम्रो छैन आधार
      जनतालाई देशबाट नभगाऊ ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे

      १,
      बर्सादले विपत्ति आइलाग्यो
      धनजनको भयो हानिनोक्सानी
      महाविनाशले भुसुक दाग्यो ।
      २,
      दिनरात झरझरी वर्षाकाल
      भइगयो बन्दाबन्दी कामधन्दा
      भोकप्यासले बनाए बेहाल ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे

      १,
      वर्षाले सत्यानास पार्‍यो
      अतिले क्षति गरेर
      जीवनलाई अन्यत्रै सार्‍यो ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा )

      १,
      नेपालमा चाडपर्व आयो
      भेल बाढी त्रासमा
      जनताले दु:ख आयो ।
      २,
      घर फर्किए परदेशी
      दसैँ तिहार मनाउन,
      उमङ्ग छायो गाउँबेसी ।
    • भुपेन्द्र राना मगर, धादिङ

      १,
      रिमझिम परेको झरी
      बागमती कोशी उर्लेर
      बाढी आयो गाउँभरि ।
    • बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी

      १,
      देशभर पानी पर्‍यो
      प्रभावित बन्यो गाउँ
      बाटाघाटा पैरो झर्‍यो ।
      २,
      पानी आयो गाउँभरि
      खोला नालामा बाढी
      उर्लेर परेको झरी।
      ३,
      गरिबको बगायो बास
      बेमौसमी पानीले गर्दा
      मुखमा छैन गाँस ।
    • दुर्गा आचार्य, मोरङ

      १,
      अविरल पानी बर्सियो
      घरखेत सारा बगाएपछि
      जनताको मन तर्सियो ।
      २,
      जिन्दगीमा साँचेर आशा
      मजबुत भएर बढ्नुपर्छ
      हुनुहुन्न कहिल्यै निराशा ।
      ३,
      खहरेखोला बढेको आयो
      बाढीले खेतबारी बगाएर
      जनतामा सन्नाटा छायो ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा

      १,
      निरन्तर पानी परिरहेछ
      सुरक्षित भइ बसौँ
      सबैतिर क्षति गरिरहेछ !
      २,
      बाढी आउँछ होला
      अशुभ सुन्न नपरोस्
      शिव शङ्कर भोला ।
    • उर्मिला के.शी., धनकुटा

      १,
      परे झरी अविरल
      डुब्यो बस्ती सबै
      भयो अति जल ।
      २,
      यहाँबाट भाग्ने कसरी ?
      सङ्कट पार गरेर
      भयो धरती तलाउसरि ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार

      १,
      असोजमा ठूलो झरी
      रक्षा गर इन्द्र
      पानी बन्द गरी ।
    • शोभा आचार्य गौतम, काठमाडौँ

      १,
      सुनेका कुराको पछि
      आएका कोही छैनन्
      किन लागेका अघि ?
      २,
      सुन्दर महिमा हेर
      जलाजल पानीको वर्षा
      जाँदैन समय खेर ।
      ३,
      जताततै बाढी पैरो
      कतै डुबान भरिभण्ड
      खन्नेछन् नेताको खैरो ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड

      १,
      प्राकृतिक प्रकोप वृष्टिपातले
      दसैँको आगमनको रमझममा
      आशङ्कित बनाउॅंदैछ प्रतिघातले।
      २,
      रमाइलो मनाउने चाडबाडमा
      बाढले खोसियो उत्साहहरू
      संस्कृति रमाउने पहाडमा ।
      ३,
      बोनस मिल्दैन प्रतिशतमा
      मालिकसित नेताको मिलीभगत
      श्रमिकहरू पर्दैछन् आघातमा।
    • दिल ठकुरी, दार्जिलिङ

      १,
      बाढी, पहिरो आएछ
      सरकार मुकदर्शक बन्यो
      कयौँ जनता खाएछ ।
      २,
      राहत कसले दिने ?
      विपतमा परे जनता
      सरकारलाई बल्ल चिने ।
      ३,
      वर्षातले धेरै रुवायो
      मौका छोप्यो सरकारले
      राहत नेतालाई खुवायो ।
    • राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ

      १,
      हेर हेर हरी
      बल्ल पर्‍यो अब
      पानी बर्षे झरी।
      २,
      उर्लॅंदो छ खोला
      हिॅंड्न पर्‍यो गाह्रो
      कसो गर्नु होला !
      ३,
      दशैँ तिहार आयो
      यो चाडबाडको बेला
      मेघ बादल छायो।
    • विवश पारदर्शी, झापा

      १,
      प्रकृतिले निम्ताएर त्रास
      मानिसको चाहना विपरित
      यत्रतत्र भयो सर्वनाश ।
      २,
      खोलाले लिन्छ बाटो
      बसाऔॅं सुरक्षित बस्ती
      नदी किनारको साटो ।

      जोगाऔॅं हरियो बन
      यही हो हाम्रो
      भविष्यको सुरक्षित धन ।
    • जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक २, बालकोट भक्तपुर

      १,
      अविरल वर्षियो पानी
      गरिब दु:खी बेसहाराको
      स्वाहा भयो जिन्दगानी ।
      २,
      बगाउँदा मान्छेका झोला
      उद्दारको पहल नगर्ने
      कस्तो सरकार होला ?
      ३,
      कसैलाई छैन दरकार
      आँगनबाट मान्छे बग्दा
      मौन बस्छ सरकार ‌।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ

      १,
      उद्देश्यमा अघि बढ्न
      मन चाहिन्छ बलियो
      लक्ष्यको सिँढी चढ्न।
      २,
      विवाद झगडा मिलाउन
      मेलमिलाप गर्नु सधैँ
      फाटेको मन सिलाउन ।
      ३,
      बेरोजगारी बढी भए
      सरकारले दिएन काम
      युवा परदेश गए ।
    • कृष्ण बजगाई भक्तपुर

      १,
      वर्षा पानीको निरन्तर
      बढ्दैछ रूप बाढीको
      रोक्ने छैन मन्तर ।
      २,
      कतै बाटो अवरुद्ध
      जताततै बाढीको तमासा
      नदी झनै क्रुद्ध ।
    • देव मगर, तिनाउ-१, कचल,पाल्पा

      १,
      नदीमा बग्छ ढल
      खोलामा बसायो बस्ती
      बस्तीमै पस्यो भल।
      २,
      बेमौसमी पर्‍यो झरी
      रिसाइन् प्रकृति माता
      देखेर मान्छेको मनपरी ।
      ३,
      मनले विवेक खोजौँ
      योजना दीर्घकालीन चुनेर
      दिगो विकास रोजौँ ।
    • पशपती राई, खोटाङ

      १,
      एक बाट दुई
      हे ! मेरी कान्छी
      नलगाऊ तिमी फुइँ ।
      २,
      नजाउ तिमी टाढा
      एक्लै म हुन्छु
      माया छ गाढा ।
    • बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा

      १,
      मन कहाँ घुम्छ ?
      स्थिर यो तनलाई
      जब बतासले छुन्छ।
    • नन्दा धामी, नौगाड दार्चुला

      १,
      तनक्क जीउ तन्काएको
      किन होला मायाले
      गाजलु आँखा सन्काएको ?
      २,
      ओइ ! ह्यान्डसम हिरो
      भन्दै उनले बोलाउँदा
      भएँ लाजले रातोपिरो ।
      ३,
      बिस्तारै बिस्तारै सरी
      जब पुगेँ सामु
      दाइ भनेर मरी !
    • वसन्त अनुभव

      १,
      मनभित्र रहेको हाँसो
      छैन ममाथि खास
      पिरतीको कुनै पासो ।
      २,
      सताएको छ झरी
      बाढी पहिरो आउँछ
      देशमा घरी घरी ।
    • श्रीकृष्ण धामी, बझाङ

      १,
      पानी धेरै परेर
      गर्‍यो धेरै क्षति
      नदीको सतह बढेर।
      २,
      प्रकृतिको संरक्षण गरौँ
      सुरक्षित स्थान रोजेर
      जीवनलाई खुसीले भरौँ ।
      ३,
      सक्दो सहयोगमा लागौँ
      स्वार्थी भावना मनबाट
      सधैंका लागि त्यागौँ ।
    • सुस्मिता अधिकारी, काठमाडौँ

      १,
      जरैबाट देखियो भ्रष्टाचार ,
      हेर्दै माथि मुलुकको,
      कसैले सिकेन सदाचार।
      २,
      पाइला गनेर चन्दा,
      विकासको ढोंग रच्दै,
      देखियो लुटको धन्दा।।
      ३:
      लुटेरै दरबार ठड्यायो,
      के रमाउला बसेर?
      दुनियाँ रुवायो चिढ्यायो।
    • मनोहरी पौडेल, गैडाकोट १

      १,
      अधेरी औँसीको रात
      जवानी यस्तै होला
      चढेपछि बैँसको मात ।
      २,
      सभ्य समाज बनाऔॅं
      कसैलाई भेदभाव नगरी
      सबैले आफ्नोपन जनाऔॅं।
      ३,
      गल्तीबाट खुलेको होस
      बढ्दै जाओस् सबैमा
      जाँगर अनि जोस ।
    • लक्ष्मण देउवा, डोटी

      १,
      पूर्णिमाको रात जस्तो
      मुहार झल्काएर पनि
      आभास नपाउने कस्तो ?
      २,
      आफ्नै संस्कृति भुलेर
      विदेशी संस्कारको कुरा
      यहाँ बोल्छन् खुलेर ।
      ३,
      आफ्नो गल्ती लुकाएर
      समाजमा हिॅंड्नु नपरोस्
      मानिसले शिर झुकाएर ।
    • ललिता गिरी, सिन्धुली

      १,
      बाढीले सबै बगायो
      हेर्‍यौँ टुलुटुलु बसेर
      मनमा भय जगायो |
    • सरिता सेढाई, धादिङ

      १,
      जीवन अस्त बनायो
      वर्षाले नै देशभरि
      त्यसैले मन डरायो ।
      २,
      सपनाहरू बाढीले बगायो
      उद्धार गर्न भनेर
      बल्ल हेलिकप्टर मगायो ।
      ३,
      दुःख, पीडा देखेर
      जन्म लिएँ कि !
      कर्महारा जीवनमा लेखेर ।
    • सानु जोशी, सुदुर पश्चिम दार्चुला

      १,
      अकर्मण्यताले भरिएछ सिंहदरबार
      भाषण चाँहिदैन नेताजीको
      ब्रह्मलुटमा बनाउॅंछन् घरबार ।
    • तिर्थराज जोशी

      १,
      रिसराग सारा मासेर
      निभाउँछ आफ्नै ठानी
      फूल जसरी हाँसेर ।
      २,
      हृदयको माया देखाई
      प्रेमको साङ्लोमा बाँधिन्छ ,
      मितव्ययिताको डोर समाई ।
      ३,
      ज्यानलाई धारमा राखेर
      चोरलाई गर्छ खबरदारी
      रातभर आफैँ जागेर ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    3 thoughts on “साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३७ सम्पन्न

    1. I do trust all the ideas youve presented in your post They are really convincing and will definitely work Nonetheless the posts are too short for newbies May just you please lengthen them a bit from next time Thank you for the post

    Leave a Reply