झिल्का कविता

  • २८ असार २०८३, आईतवार ०६:२५ मा प्रकाशित
    • मिति २०८३/०३/१९ गतेको  त्रिवेणी साहित्य मञ्च हैरिस्वर्गपेन्सिल्भेनियामा अभ्यास गरिएका झिल्का कविताहरू

    ———-
    झिल्का कविता
    क)
    मुटुमा आफ्नो देश
    हुनुपर्छ सच्चा देशभक्तको
    तनमा राष्ट्रिय भेश।
    ख)
    फलाक्दैमा जोडले खाली
    भइँदैन हजुर खासमा
    नागरिकता बोकेर नेपाली।
    ग)
    चाहना अभिलाषा नव्य
    राखिरहँदा देशबाट हामीले
    नभुलौँ आफ्नो कर्तव्य।
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, घोराही दाङ
    ———
    झिल्का कविता

    मिठो झिल्का कविता
    झट्ट पढ्न सकिने
    सलल्ल बग्ने सरिता !
    ✍️नारदप्रसाद आचार्य ‘सुदामा’
    हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका
    ———–
    झिल्का कविता

    कलम रोयो आज
    देखेर कुकृत्य कागजको
    खुल्दै गर्दा राज।
    ✍️
    प्रेम घिमिरे
    अमेरिका
    ———–
    झिल्का कविता

    देशलाई माया गरौँ
    मिलेर सारा देशभक्त
    शान्तिको बिज छरौँ।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढाका कालेबुङ भारत
    ———–
    झिल्का कविता
    ******
    १)
    श्रमले लेख्छ कथा
    जीवनका तितामिठा सबै
    हाम्रा खुसी पिरव्यथा।
    २)
    बोलीमा भए मिठास
    जित्छ मन सबको
    दिन्छ सुगन्धको आभास!
    ३)
    रुख रोपेर आज
    भोलिको सास बचाऔँ
    बनाई हरियाली राज।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहुँ।
    ———–
    झिल्का कविता

    गुरुको महिमा अपार
    हमेसा साथ पाइरहूँ
    लेखनमा ल्याउनुछ निखार l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ———–
    झिल्का कविता
    १)
    असार मासको हिलो
    रोप्नुछ धान खेतमा
    रत्तिभर नगरी ढिलो।
    २)
    आकाश गर्जन्छ बेसरी
    कालो बादल भरिएर
    पर्दछ असारे झरी।
    ३)
    झिल्का कोपिला जति
    कताबाट आए यस्ता
    हलचल गर्लान् कति ?
    ✍️
    रामकृष्ण ढकाल
    चितवन
    ———–
    झिल्का कविता
    १)
    संस्कृति सभ्यता मानेर
    जिन्दगी गुजार्छन् मान्छे
    मानवीय हित ठानेर।
    २)
    प्रगति गर्नुपर्छ विश्वजित
    वैरभाव राखेमा कसैले
    हुनेछ भविष्य अनिश्चित।
    ३)
    अपेक्षा राख्दछु समानताको
    सदाचारी राष्ट्रसेवक कर्मचारी
    राजनीति तथा परम्पराको।
    ✍️
    वैँशालु महेन्द्र
    लेटाङ्ग नगरपालिका-८, जाँते, मोरङ
    ———–
    झिल्का कविता
    १)
    असार मासको झरी
    त्रास छ पहिरोको
    जोगिनु पो कसरी ?
    २)
    साउनमा मूल फुट्ने
    बाढीले थाहा छैन
    कतिबेला ज्यान लुट्ने।
    ३)
    असारमा धान रोप्न
    बाउसे हली खेतमा
    व्यस्त सिजन छोप्न।
    ✍️
    बिबा तामाङ, दार्जलिङ
    ———–
    झिल्का कविता
    १)
    तिमीलाई माया गर्छु
    धर्ती,आकाश रहुन्जेल
    तिम्रै शरणमा पर्छु।
    २)
    दार्जिलिङ छ घमाइलो
    सजिई रातो सारीमा
    हेरिरहूँ लाग्ने रमाइलो ।
    ३)
    प्रिया ! भेट्न आउँछु
    बोकी फूलको गुच्छा
    प्रेमिल गीत गाउँछु ।
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी “
           कालेबुङ
    ———–
    झिल्का कविता
    १)
    आयो बिहानी घाम
    बोकेर आशाको किरण
    पार्‍यो उज्यालो धाम।
    २)
    इमानदारको साथ गरे
    पर्दैन पछुताउन जीवनभर
    सत्कर्मीको विश्वास परे।
    ३)
    चौतारीको ठूलो पीपल
    हरेक थकित बटुवालाई
    दिनेगर्छ छाया शीतल।
    ✍️
    बिशन बडू “शिरीष”
    दशरथचन्द नगरपालिका–७, बैतडी
    ———–
    ‎झिल्का कविता
    ‎१)
    ‎जिन्दगीको महत्त्वपूर्ण कुरा
    ‎नबुझेर यहाँ आज
    ‎चलाउँछन् मुटुमा छुरा।
    ‎२)
    ‎प्यारा विद्यार्थी सुन
    ‎हुन् भगवान् शिक्षक
    ‎लगाउँछन् अमूल्य गुन।
    ✍️
    हिरा
    ———–
    झिल्का कविता
    १)
    आयो जुट्ने पालो
    भ्रष्टाचारी लखेट्न अब
    तोडौँ बन्द जालो।
    २)
    अचम्मका मान्छे भेटिन्छन्
    सामाजिक सञ्जालभित्र अनेक
    हुने नहुने देखिन्छन्।
    ३)
    सकिँदैन खुसी बनाउन
    आफू हारे पनि
    मूर्खलाई तह लगाउन।
    ४)
    मनलाई एकाग्र पार्नू
    लेख्नू दुईचार शब्द
    हिम्मत कहिल्यै नहार्नू।
    ५)
    घिनलाग्दो खेल नखेल्नू
    षड्यन्त्रकारी खेल खेलेर
    निर्दोषलाई कसैले नपेल्नू।
    ✍️
    कला ढकाल, झापा
    ———–

    • मिति २०८३/०३/२६ गते त्रिवेणी साहित्य मञ्च हैरिस्वर्गपेन्सिल्भेनियामा अभ्यास गरिएका झिल्का कविताहरू


    ———–
    झिल्का कविता
    क)
    मुटुमा ठोकेर किलो
    बाँचेको छु आजसम्म
    सहेर पीडाकर पिलो।
    ख)
    हान्छ्यौ वचनको छुरा
    भेट हुँदा जहिल्यै
    नराखेर केही अधुरा।
    ग)
    छोडिदेऊ मेरै हालमा
    बस्न सक्दिनँ अब
    तिम्रो षड्यन्त्रको जालमा।
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार घोराही
    ****** ******
    झिल्का कविता
    १)
    मुखमा मीठो बोली
    मनमा नहोस् कपट
    व्यवहारमा नभन्नू भोलि।
    २)
    देशप्रतिको अगाध माया
    नाराले मात्र होइन
    कर्ममै देखियोस् छाया।
    ३)
    गरेर पदको घमण्ड
    जनतालाई बिर्सियो भने
    दिन्छन् तिनैले दण्ड।
    ४)
    आफ्नो देशको शान
    कर्मले दिन्छ सधैँ
    राष्ट्रको राम्रो पहिचान।
    ५)
    अपनाऔँ राम्रो कर्म
    हुँदैन बोलीले मात्रै
    जीवनको साँचो धर्म।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    हाल चनपा ६ मातातीर्थ
    ****** ******
    झिल्का कविताहरू
    १)
    मीठो कविता झिल्का
    जागृत गर्दै समाजबाट
    कुसंस्कार सबै मिल्का।
    २)
    कस्तो पानी आयो
    मन अमिलो पार्दै
    सारा संसार छायो।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढाका कालेबुङ भारत
    ****** ******
    झिल्का कविता
    १)
    पानी निकै दर्कियो
    असारमा आकाश रिसाउँदा
    धर्तीको आत्मा थर्कियो ।
    २)
    असार महिनाको झरी
    बोकेर बाढी, पहिरो
    गर्दैछ आफूखुसी मनपरी ।
      ✍️
    अम्बिका राणा
    खरसाङ, दार्जिलिङ ।
    ****** ******
    झिल्का कविता
    १)
    ​नेपाली हाम्रो मन
    जोगाउनु छ सीमा
    सजाई आफ्नै तन।
    ​२)
    ​सहर गाउँमा बाटो
    भित्र्याएर नयाँ प्रविधि
    बदलौँ देशको माटो।
    ​३)
    ​बाँडौँ सबैलाई ज्ञान
    अन्धकार हटाई देशको
    बढाऔँ हाम्रो शान।
    ४)
    ​सधैँ तिम्रै आस
    धड्किन्छ यो मुटु
    भयौ तिमी खास।
    ५)
    ​हटाऔँ यो भेद
    मिलेर बस्नुपर्छ यहाँ
    नराखौँ है खेद।
    ✍️
    भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ****** ******
    झिल्का कविता
    १)
    मलजल छैन बालीमा
    असार पन्ध्रमा कुर्लन्छ
    वरिष्ठ बनेर आलीमा।
    २)
    बोल्दा ठसठसी कन्छ
    भाँच्दैन काममा सिन्को
    उही नेतृत्व झम्टन्छ।
    ३)
    आफ्नै सहारा तोडिदिन्छ
    आफैँ चढेको भर्‍याङ
    टुप्पोमा पुगेपछि छोडिदिन्छ।
    ४)
    काममा झारो टार्छन्
    भाषणमा मात्र नेतृत्वले
    आकाशका तारा झार्छन्।
    ✍️
    ईश्वर लामिछाने, धरान
    ****** ******
    झिल्का कविता
    १)
    प्रेमको बन्दै आधार
    सकोस् पुछ्न आँसु
    गर्दै दयाको विस्तार।
    २)
    सङ्घर्षले दिन्छ आधार
    बनेर सफलताको सिँढी
    गराउँछ सपना साकार।
    ✍️
    बिशन बडू ‘शिरीष’
    दशरथचन्द नगरपालिका–७, बैतडी
    ****** ******
    झिल्का कविता
    १)
    असार मासको झरी
    परेर ठिकै भो
    खोलानाला रसाउने गरी।
    २)
    खेतीबारी पार्न राम्रो
    मनको चाहना सरकारले
    बुझिदिए हुन्थ्यो हाम्रो।
    ३)
    नरोकियोस् कसैको बाटो
    बाढी, पहिरो खसेर
    जिन्दगीको सुन्दर पाटो।
    ४)
    रोपाइँ सकियो राम्ररी
    फैलिओस् गाँज धानको
    उत्पादन होओस् बेसरी।
    ५)
    शीतल छ दिन
    छैन आज गर्मी
    पानी पर्दा एकछिन।
    ✍️
    रामकृष्ण ढकाल
    चितवन
    ****** ******
    झिल्का कविता
    १)
    मकै खायो घुनले
    जोगाउन अनेक गरियो
    गरेन काम चुनले।
    २)
    नबोल्नू सम्झिएर लाटो
    छु चलाख भित्रभित्रै
    आफैँले कोर्दछु बाटो।
    ३)
    गर्छन् मीठा कुरा
    सधैँ चिप्लो घसेर
    लिई बोलीमा छुरा ।
    ४)
    कुरा गर्छन् ठूला
    नियालेर हेर्दा देख्छु
    उही ड्याङका मूला
    ✍️
    बिबा तामाङ
    दार्जलिङ
    ****** ******
    झिल्का कविता
    १)
    फूल जस्तै राम्री
    घुम्दै छिन् सहरमा
    प्यारी छोरी हाम्री!
    २)
    गोर्खे सन्तान हामी
    हुन्छौँ सिमानामा तैनाथ
    सीमा रक्षार्थ दामी।
    ३)
    देशमा रोजगार छैन
    विदेसिए सारा युवा
    समस्या बुझ्ने हैन।
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी “
    कालेबुङ दार्जिलिङ
    ****** ******
    झिल्का कविता
    १)
    जिन्दगी भयो बेकार
    पागल सम्झी मलाई
    गर्दछौ छुराले प्रहार।
    २)
    आयौ कताकता डुलेर
    तैपनि राखेँ हृदयमा
    विगतका गल्ती भुलेर ।
    ३)
    सधैँ रुन्छ कर्णाली
    विकास हुँदै नभएर
    भाषण हुन्छ खाली।
    ✍️
    क्षितिज बिरु राना
    वनगाड कुपिण्डे नगरपालिका ३ बडापोखरा सल्यान
    ****** ******
    झिल्का कविता
    मनको लड्डु फोडेर
    आएकी छु त्रिवेणीमा
    अरू अभ्यास छोडेर।
    ✍️
    मेनुका शर्मा
    ****** ******
    झिल्का कविता
    १)
    बर्सातको समय लाग्दैछ
    डर धनजन क्षतिको
    मनमा निराशा जाग्दैछ।
    २)
    खेलबाड नगर्नू खोलामा
    सकिँदैन पुर्वानुमान् गर्न
    ओढ्नी बोक्नुपर्छ झोलामा।
    ३)
    भगवानको भर परौँ
    पर्नसक्छ दैवी विपत्ति
    आफ्नो ख्याल गरौँ।
    ✍️
    शोभाकान्त रेग्मी
    स्याङ्जा ।
    ****** ******
    झिल्का कविता
    १)
    विश्वास कसैको नगर्नू
    हुन्न कसैको भरोसा
    अगाडि कहिल्यै नपर्नू।
    २)
    जति भनौँ मान्दैनन्
    हिजोआज हाम्रा छोराछोरी
    केही कुरा जान्दैनन्।
    ✍️
    कला ढकाल
    झापा
    ****** ******
    झिल्का कविता
    १)
    छैनन् देश चलाउने
    हुन्छ भलाे कसरी ?
    छन् घर जलाउने।
    २)
    चाहिन्छ अब सुशासन
    नत्र परिन्छ कालाेसुचीमा
    जान्छ नेताकाे आसन।
    ३)
    पानी धेरै पर्‍याे
    बाढीकाे डर छ
    ठाउँठाउँमा पहिराे झर्‍याे।
    ४)
    नगरौँ धेरै यात्रा
    बर्खाकाे समय छ
    बाटाेमा हुन्छ जात्रा ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    ****** ******
    झिल्का कविता
    १)
    टक बसिहाल्यो फूलमा
    कहिलेसम्म राख्छ कुन्नि ?
    मलाई आफ्नो चङ्गुलमा।
    २)
    मायाभन्दा राजनीति ठिक
    मत लिएपछि विश्वासको
    बस्न पाइने नजिक l
    ३)
    हेयको बाछिटाले छेप्दा
    कसको मन धर्किन्न
    कसैले नियतवश हेप्दा l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ****** ******
    झिल्का कविता
    १)
    आगोको तातो राप
    हुँदा कटकटाउँदो जाडोमा
    शरीरले पाउँछ ताप।
    २)
    सफलता सजिलै पाइँदैन
    नचुहाएसम्म सङ्घर्षमा पसिना
    सुख विरासतमा पाइँदैन।
    ३)
    मदिरा सेवन नगरौँ
    हुन्छ स्वास्थ्यमा हानी
    खराब लतमा नपरौँ।
    ✍️
    नम्रत प्रधान
    तकदाह, दार्जिलिङ
    ****** ******
    झिल्का कविता
    १)
    रहौँ कर्ममा लगनशील
    नसोचौँ कसैको कुभलो
    छौँ प्राणी मरणशील।
    २)           
    मानौँ प्रभु ऐन                                  

    रहौँ लिप्त सुकर्ममा
    मिल्छ नित्य चैन।
    ३)
    परोपकारी कर्महरू गरौँ              
    छैनौँ अमर कोही
    प्रभुमा चित्त धरौँ।
    ४)
    सुकर्मले जीवन झिलमिल
    साथमा भए प्रभु
    पार लाग्नेछ मुश्किल।
    ५)
    जगमा यहाँ माया
    भुलाउने छन् सबथोक
    चाहिन्छ प्रभुको छाया।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४,न.प.
    ****** ******
    झिल्का कविता
    १)
    नेपालीको हो सान
    कहिल्यै पनि नझुक्ने
    आफ्नै छ पहिचान।
    २)
    जताततै खोला नदी
    पूर्वपश्चिमसम्म नै फैलिएका
    छौँ सम्पदाका धनी।
    ✍️
    आर के भण्डारी
    ****** ******
    झिल्का कविता
    १)
    घातक हुन्छ चिन्तापिर
    पार्दछ आयु छोटो
    छोड्छ प्राणघातक तिर।
    २)
    किन्ने सुनको चुरा
    कहिले पुग्छ धोको ?
    भए रहर अधुरा।
    ३)
    मुटुमा सजाएर राखे
    जाँदैन नजर अन्त
    घोचेरै भन्छिन् पाखे ।
    ४)
    हुन्छ कम्मर भाँंचौँ
    आउँदा तीज पर्व
    नथाकी दिनभर नाचौँ।
    ✍️
    ध्रुव खड्का
    फेदीखोला १ स्याङ्जा
    ****** ******
    झिल्का कविता

    बलियोले निर्धो पेल्छौँ
    स्वार्थ पूरा गर्न
    रगतको होली खेल्छौँ।
    ✍️
    रिमेन आलोक,अष्ट्रेलिया
    ****** ******
    झिल्का कविता
    १)
    माया गर्छु जहिल्यै 
    मेरी प्राणप्यारी मातालाई 
    दु:ख दिन्नँ कहिल्यै।
    २)
    जुनीभरको नाता हाम्रो 
    तिमी मेरी जन्मदाता 
    नमासिने माया राम्रो ।
    ✍️
    सुनिता निरौला पौडेल 
    राधे राधे भक्तपुर
    ****** ******
    ‎झिल्का कविता

    ‎विगतका यादहरू बल्झाउन
    ‎समयले सम्बन्ध तोड्याे
    ‎नआउनू निष्ठुरी अल्झाउन ।
    ‎✍️
    हिरा बुढा मगर ‘अमृत’
    ‎शारदा नगरपालिका–१४, सल्यान
    ****** ******