कपिलवस्तु, असार २७ । कपिलवस्तुको चाकरचौडा सीमा नाकामा पछिल्लो समय चोरी निकासी (तस्करी) बढेको भन्ने स्थानीयस्तरबाट गुनासो बढेपछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अन्जनी कुमार पोखरेलसहितको उच्च सुरक्षा अधिकारीको टोलीले सीमा क्षेत्रको स्थलगत आज निरीक्षण गरेको छ ।
एआईजी पोखरेल, लुम्बिनी प्रदेश प्रहरी नायब महानिरीक्षक दीपक अधिकारी तथा सशस्त्र प्रहरी बल नेपाल कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक गोपाल अधिकारीसहितको टोली चाकरचौडा सीमा नाकामा पुगेको थियो ।
निरीक्षणका क्रममा टोलीले सीमा क्षेत्रको सुरक्षा अवस्था, नाकाबाट हुने आवतजावत, चोरी निकासी नियन्त्रणका लागि भइरहेका प्रयास तथा सुरक्षाकर्मीको परिचालन अवस्थाबारे जानकारी लिएको थियो ।
सो क्रममा एआईजी पोखरेलले भारततर्फको अलिगढवा सीमा क्षेत्रमा रहेको सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीसँग समेत भेट गरी सीमा क्षेत्रको अवस्था, सुरक्षा समन्वय तथा आपसी सहकार्यका विषयमा छलफल गरेका थिए ।
यसैबीच, मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन खानसहितको टोलीले एआईजी पोखरेलसँग भेटवार्ता गरेको थियो । भेटका क्रममा सीमा क्षेत्रमा देखिएका समस्या, स्थानीयले भोग्दै आएका कठिनाइ तथा सुरक्षा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
अध्यक्ष खानसहितको टोली प्रस्तावित सीमा सुरक्षा गुल्म चाकरचौडा बेस क्याम्पमा समेत पुगेको थियो । त्यहाँ सुरक्षाकर्मीसँग सीमा क्षेत्रको सुरक्षा अवस्था, स्थानीयसँगको समन्वय तथा आवश्यक सहकार्यका विषयमा छलफल गरेको थियो ।
पछिल्लो समय सीमा क्षेत्रमा चोरी निकासी नियन्त्रण प्रभावकारी नभएको भन्दै स्थानीयस्तरबाट गुनासो आएपछि निरीक्षणमा पुगेको टोलीले वस्तुस्थितिबारे जानकारी लिएको थियो ।
निरीक्षणपछि एआईजी पोखरेलले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयसँग समन्वय र सहकार्य कायम गर्दै चोरी निकासी नियन्त्रण तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए ।
सीमा सुरक्षा व्यवस्थापनमा स्थानीयको सहयोग महत्वपूर्ण हुने भएकाले सुरक्षाकर्मी र स्थानीयबीच विश्वासको वातावरण कायम गर्दै काम गर्न समेत जोड दिएका थिए ।


