
कार्तिक १०, चितवन ।
पूर्वी चितवनको राप्ती नगरपालिका-८, खुरखुरेमा यही कार्तिक १० गते राष्ट्रिय विशिष्ट अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण समारोह-२०८२ भएको छ।
वरिष्ठ साहित्यकार प्रा.डा. चूडामणि बन्धुकाे प्रमुख आतिथ्यमा प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. कपिल लामिछाने र भागीरथी श्रेष्ठ, वरिष्ठ गायिका तथा सङ्गीतकार लोचन भट्टराईलाई रथारोहण गराई भव्य सार्वजनिक अभिनन्दन गरियो । राप्ती नगरपालिकाका विभिन्न मार्ग हुँदै विभिन्न सांस्कृतिक समूहबाट बाजागाजा, नाचगान सहित नगर परिक्रमा गरी जनसमुदायबाट अभिनन्दन तथा सम्मान गरिएको हाे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष कृष्णजी शर्माकाे अध्यक्षता तथा आयुष बडाल र इन्दिरा पाैडेल प्रतीक्षाद्वारा सञ्चालित कार्यक्रममा मञ्चद्वारा पूर्व घोषित ‘आख्यान अनुसन्धान तथा समालोचना शीर्ष पुरुष-२०८२’ बाट वरिष्ठ साहित्यकार एवम् आख्यानकार प्रा.डा. दयाराम श्रेष्ठलाई अभिनन्दन गरिएको थियोे । त्यस्तै ‘लघुकथाश्री समालोचक सम्मान- २०८२’ बाट वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. कपिल लामिछानेलाई’ विशिष्ट संगीतश्री सम्मान- २०८२’ बाट वरिष्ठ गायक एवम् संगीतकार लोचन भट्टराईलाई र ‘विजय स्मृति अग्रज लघुकथा सम्मान-२०८२’ बाट वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठलाई सम्मान अर्पण गरिएको थियोे ।
साथै ‘लघुकथालय पुरस्कार- २०८२’ बाट ‘दुर्बिन’ लघुकथासङ्ग्रह कृतिका कृतिकार एवम् वरिष्ठ साहित्यकार लक्ष्मण अर्याल (चितवन)लाई,
‘वर्ष लघुकथा स्रष्टा सम्मान- २०८२’ बाट लघुकथाकार खगेन्द्र बस्याल (रुपन्देही)लाई, ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८२ बाट लघुकथाकारद्वय हिमा रोका ‘प्रतिज्ञा’ (सुर्खेत) र हेमराज अधिकारी (सिक्किम)लाई पुरस्कार एवम् सम्मान अर्पण गरिएको थियोे ।
साथै उक्त अवसरमा ‘लघुकथा विशिष्ट प्रतियोगिता- २०८१’ विजयी लघुकथाकारहरूलाई पुरस्कार, सम्मान एवम् प्रमाणपत्र समर्पण गरिएको थियो । पुरस्कृत हुनुहुनेमा लोकनाथ पुडासैनी (प्रथम), मित्र ‘उराठी’ गौतम (द्वितीय), तारानाथ पराजुली (तृतीय), लक्ष्मी रेग्मी खनाल (सान्त्वना) र कुमार काफ्ले (सान्त्वना) हुनुहुन्छ । साथै सोही अवसरमा प्रदेशगत प्रतियोगितामा विजयी हुनुहुने लघुकथाकारहरूलाई पनि पुरस्कार तथा सम्मान अर्पण गरिएको थियोे ।
मञ्चीय कार्यक्रम स्थानीय नन्दिनी स्टार पार्टी प्यालेसको सभाहलमा गरिएको हाे । साेही कार्यक्रमका बिचमा लघुकथा र यसको सौन्दर्य विषयमा प्रा.डा. कपिल लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभयो भने कार्यपत्रउपर प्रा.डा. विदुर चालिसे र डा. शङ्करप्रसाद गैरेले टिप्पणी प्रस्तुत गर्नुभयो । गाेष्ठीमा लघुकथाकाे स्वरूप र साैन्दर्यमा जाेड दिइयो ।
कार्यक्रमकाे तेस्रो चरणमा आयाेजित साङ्गीतिक साँझमा वरिष्ठ गायिका तथा सङ्गीतकार लोचन भट्टराईले दर्जनभन्दा बढी गीत प्रस्तुत गर्नुभयो ।

