साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४५ सम्पन्न

  • १९ मंसिर २०८१, बुधबार ०८:०६ मा प्रकाशित


  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    तिमीले बनाउने दूरीमा
    गन्ध आउॅंछ स्वार्थको
    सुहाएन धानसारको मुरीमा ।
    २,
    बलियो तिम्रो पाखुरी
    खटाए पाखाभरि रातोदिन
    भाग्दछ अभावको हुरी ।
    ३,
    प्रयोगशालामा गरिरहन्छु अभ्यास
    ध्याउन्नमा भविष्यको सुरुङ
    शेष नि:शेष खास ।
    ✍️म्यामराज राई

    १,
    ढुङ्गा पुज्छन् समाजमा
    मानवता हरायो भन्दै
    रूढिवादी भित्र्याउँछन् आपसमा।
    २,
    विज्ञानको युग पाएर
    कुसंस्कारभित्र हामी रहन्छौँ
    भलाद्मीको गीत गाएर।
    ३,
    जीवन बगेको खोली
    खेर नफालौँ व्यर्थैमा
    आउँदैन फेरि भोलि।
    ✍️ विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ

    १,
    तिमी बनाऊ दूरी,
    मलाई मतलब भएन
    म बस्छु कुरी ।
    २,
    म असाध्यै लुरी
    तापनि खोज्दैछु चढ्न,
    साहित्यको चुचो धुरी ।
    ३,
    दुई दिनको चुरिफुरी
    देखाएर नबढाऊन् कसैले
    एक आपसमा दूरी ।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ

    १,
    बनेर कुशल पात्र
    देश बिगार्न लागे
    खुट्टा तान्नेले अहोरात्र ।
    २,
    सधैँ चिन्ता, दु:ख
    कहिले होला खोइ ?
    यो मनमा हाइसुख।
    ३,
    म केही गरूँ
    यो देशको निम्ति
    नाम राखेर मरूँ ।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट

    १,
    थरीथरीका माया देखियो
    घामजूनको जस्तो खेल
    अनौठो कहानी लेखियो ।
    ✍️ ताराप्रसाद चापागाईँ

    १,
    बनाउॅंदा अरूसॅंग दूरी
    फाइदा हुन्न त्यसमा
    गरेर हुन्छ चुरीफुरी?
    २,
    बनाऔॅं बलियो पाखुरी
    भगाउन नि सक्छ
    आएमा पनि हुरी।
    ३,
    साहित्यको चढौँ धुरी
    तागत निकाल्दा मात्र
    आउॅंछ भित्रैबाट फुरी।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ (हालः-अमेरिका,बोस्टन)

    १,
    भ्रममा मान्छे परेर
    भरोसा सबैमा गरिन्छ
    विश्वास जान्छ मरेर ।
    २,
    आइपर्ने सबै कुरा
    भोग्ने आफैले रहेछ
    विश्व बह्माण्ड पूरा ।
    ३,
    हुँदा सबै साथी
    आफैले ख्याल राख्नु
    स्वास्थ्य सबैभन्दा माथि ।
    ✍️पुष्पा राई
    बादेल, खोटाङ

    १,
    देखियो स्वार्थको खानी
    क्रमशः बग्दैछ आँखाबाट
    पीडाको नुनिलो पानी ।
    २,
    छलकपटले धेरै जिएर
    पापी भए दुनियाँ
    अरूकै पसिना पिएर।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ

    १,
    मानिसमा अभिमान चुल्यो
    काम सफल भएपछि
    सफलताको श्रोत भुल्यो।
    २,
    बखान राम्रो नराम्रो
    सबैको हुन्छ यहाँ
    समयमा तिम्रो हाम्रो।
    ३,
    पुग्छ साहित्यकारको विचार
    एउटा कुनाबाट अर्को
    डुल्छ दृष्टिकोण संसार।
    ✍️सुरेशकुमार पाण्डे
    घोराही – १८, दाङ

    १,
    अचम्मका मायालु भेटिए
    निरन्तरता भएन भन्दै
    अनौठा कहानी लेखिए ।
    २,
    मुसोको नदेखाऊ चुरिफुरी
    हेर्दाहेर्दै भयो बेहोस
    फेरि बोलाउनुपर्ला सुरी ।
    ३,
    विचार गरेर बोल
    कसैसँग नबुझी नबोल्नु
    तिर्नुपर्ला भारी मोल ।
    ✍️बेदु न्यौपाने

    १,
    आकाशमा छ जून
    चाहेर पनि कसैले
    सकिन्न कहिल्यै छुन ।
    २,
    सङ्गीत भरेर गाएपछि
    राम्रो सुनिन्छ गीत
    सबैबाट प्रशंसा आएपछि ।
    ३,
    धानको बाला झुलेर
    रमाएको छ मन
    खुसीले सारा भुलेर ।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।

    १,
    खै कसरी कमाए ?
    हेर ! मुसा बिराला
    उत्सव गरी रमाए !
    ✍️आर्त अकुलीन

    १,
    गरौँ कसको भर
    सबै उस्तै छन्
    लाग्छ शङ्काको डर।
    २,
    भयो हालत खराब
    दुई गिलास पिएँ
    नखाने चिज सराब।
    ✍️चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाडौँ

    १,
    देखाउँदै अरूको गल्ती
    भ्रष्टहरू अहिले देशमा
    भर्दैछन् आफ्नै खल्ती |
    ✍️सरिता सेढाई
    धादिङ

    १,
    कस्ती छिन बुहारी ?
    छोरो लाटो बाठो
    सधैँ खेल्छिन् जुहारी ।
    २,
    काम, दाम उही
    समय कुरी कार्यालयमा
    हेर्दै घडीको सुई ।
    ३,
    मान्छेमा मायालु छाएँ
    नौलो कविता लेख्छु
    साधनामा काम पाएँ ।
    ✍️निर्मल कुमार लामिछाने

    १,
    कसम खाइखाइ फसायो
    पापी राक्षस दुष्टले
    यसरी कतिलाई रुवायो?
    २,
    खोज्छ खुनीले खुन
    नसकेपछि तिर्न उसले
    कसैले लगाएको गुन।
    ३,
    छुचो मान्छेको मतिले
    गर्दैन कसैको भलाइ
    उसको यस्तै गतिले।
    ✍️सतीश पण्डित
    भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)

    १,
    अराजक भीडको झुण्ड
    मार्गचित्रबिना नै त्यो
    बनाए विषको कुण्ड ।
    ✍️प्रेम थापा “मन”बागलुङ

    १,
    कमान त कमाएँ
    जम्मा गर्न सकिन
    साना कुरामा रमाएँ !
    २,
    मुसो भयो हात्ती
    कसरी भयो बुझिनॅं ?
    निर्धोक‍ो छातीमा लात्ती !
    ✍️धनमाया चौधरी
    कैलाली

    १,
    सायद मन बुझेन,
    टाढियो उनी यसै,
    मेरो साथमा बसेन ।
    २,
    पार्नेछु तिमीलाई सखाप,
    भाग चाहियो सत्ताको
    म बस्नेछु चुपचाप ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ

    १,
    माया पनि देखियो
    दुःख, सुखको बाटोमा
    यसैले कथा लेखियो।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    १,
    ढुकुटी बाँडेर खाए
    त्यागी इमानदार नेता
    देश कङ्गाल बनाए ।
    २,
    खिचलो उही भागबन्डाको
    व्यस्त छन् नेताज्यूहरू
    व्यापारमा कमाउ धन्दाको !
    ३,
    बनाई झुन्ड लावालस्कर
    नेताज्यू विदेश भ्रमणमा
    बोकेर भ्रष्टाचारी तस्कर !
    ✍️वसन्त अनुभव
    घोराही, दाङ

    १,
    चिसो मौसम आयो
    पुराना थोत्रा कपडाको
    पालो अब आयो ।
    २,
    अब जुट्ने पालो
    भ्रष्टाचारी लखेट्न हामीले
    फाल्नुपर्छ अब जालो ।
    ३,
    अचम्मका मान्छे भेटिन्छन्
    सामाजिक सञ्जालभित्र नै,
    हुने नहुने देखिन्छन् ।
    ✍️कला ढकाल
    झापा

    १,
    झिल्कामा बामे सर्दैछु,
    पुग्नु छ सागरमा
    भर्खर खोला तर्दैछु।
    ✍️रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ

    १,
    किन हान्दैछन् जनले
    आफ्नै खुट्टामा बन्चरो,
    पैसामा बिक्ने मनले ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ

    १,
    जनताहरू सडकमा उत्रिन्छन्
    किन प्रजातन्त्रले सुन्दैन?
    संविधान टेकेरै खटिन्छन् ।
    ✍️लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा २ देउपु, पर्वत जिल्ला

    १,
    प्रमाणहरू बिस्तारै जुट्दैछन्
    लुटेराहरूको समूह डगमगाउँदै
    दलालहरू नसाबाट फुट्दैछन् ।
    २,
    अबलाई बेर्नु फर्कन्छ
    छुटकारा दिलाउन सक्दैनन्
    बाटो भएर तर्कन्छ।
    ३,
    अल्सरले पेटमा सताएपछि
    क्यान्सर देखियो खतरनाक
    राष्ट्रधन खोलासरी बगाएपछि।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही

    १,
    शङ्काले लङ्का जलाउँछ
    नभए मायामा विश्वास
    आफ्नै देह गलाउँछ।
    ✍️मन्दिरा सेढाई    
    मलेखु, धादिङ

    १,
    नजानेर भुल भयो
    कसैलाई बनेछ शूल
    सधैँलाई बिर्सिएर गयो ।
    २,
    भएपनि नकारात्मक सोच्छ
    जिद्दीपन घरिघरि ल्याएर
    एकार्कामा च्वास्स घोच्छ ।
    ३,
    निरासा बोध भएपछि
    एकान्तहरू मन पर्छ
    लामो सम्बन्ध तुहेपछि।
    ✍️दिल ठकुरी
    दार्जिलिङ

    १,
    सुनेथेँ मायाले हसाउँछ
    थाहै भएन मलाई
    यसैले नयन रसाउँछ।
    २,
    पहिले कसम खुवायो
    स्वार्थसिद्ध हुनासाथ दुष्टले
    अश्रु दहमा डुबायो।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।

    १,
    के गर्छौ कुरा ?
    अघिपछि नहेरी तिमी
    भित्रभित्रै रोप्छौ छुरा ।
    २,
    छ सजिलो भन्न
    व्यवहारमा हुन्छ अप्ठ्यारो
    राम्रा कामहरू गन्न ।
    ३,
    लेख्दै अघि बढौँ
    इतिहास साक्षी छ
    पाना फर्काएर पढौँ ।
    ✍️रबि पौडेल
    दक्षिण भारत पाण्डेचरी

    १,
    जनता सडकमा आउँदैछन्,
    नारा जुलुस लगाउँदै
    राज्यको कन्सिरी तताउॅंदैछन्।
    २,
    साँढेले मकै खायो
    किसानको हातमा डन्डा
    बालीनालीले दु:ख पायो ।
    ✍️होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    १,
    अनौठो कहानी बोकेर
    कति बन्छौँ नजान्ने
    दिनहुँ सोमरस धोकेर !
    २,
    इमान्दारीता देखाउन खोज्छन्
    सङ्गतको दोष गर्दै
    नराम्रो बाटो रोज्छन् !
    ३,
    को हो सही ?
    हुन्डी फोरी श्रीकृष्ण
    चोरी गर्थे दही !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान

    १,
    सभ्य कर्म गरौँ
    अरुको देखासिकी नगरी
    आफ्नै भरमा परौँ ।
    २,
    सकिन्छ भनेर चेप्न
    महान् आफै ठानी
    निमुखालाई हुन्न हेप्न।
    ३,
    कहिल्यै नगरौँ अलमल
    अल्छी बानी त्यागे
    भइन्छ पक्कै सफल।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व

    १,
    अनौठो देखे चालमा
    बित्थामा विश्वास गरेर
    फसेको पाइन जालमा ।
    २,
    टुङ्गोमा पुग्न पाइन
    आधा बाटोमा होला
    भिरमा समाउन आइन ।
    ३,
    आधार केही हुँदैन
    गरिब भनेर हेला
    जातीय भेदभावले छुदैन ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड

    १,
    भ्रष्ट नक्कली भेषमा
    हाम्रा देशका नेताहरू
    सम्पत्ति थुपार्छन् विदेशमा ।
    २,
    अर्कैको हातामा साँचो
    तर हामीलाई पर्‍यो
    राष्ट्र राष्ट्रियताको खाँचो ।
    ३,
    कहिले भरिन्छ गागर
    जाली भ्रष्टहरूको विरुद्धमा
    अब उर्लिन्छ जनसागर ।
    ✍️डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा

    १,
    भरिएपछि चाहेको खल्ती
    आफू राम्रो बनेर
    देखाउॅंछन् अरूको गल्ती ।
    २,
    नगर बोली चर्को
    हिजो एउटा कुरा
    आज गर्छौ अर्को ।
    ३,
    माफी माग्दै आउँछौ
    हुन्छ गल्तीको महसुस
    अनि आफै पछुताउँछौ ।
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ

    १,
    फूलझैँ मुहार सजियो
    मन्दिरको शिखर भएर
    मनमा मन कजियो ।
    २,
    खुसीको भाका आयो
    मायाको नजर देखेर
    बाँच्न पिरती लायो ।
    ३,
    थाकेको बाटो फर्कियो
    सागरको छाल भई
    सपना फेरि सर्कियो ।
    ✍️ लक्ष्मी रिजाल, रूपनगर, सप्तरी

    १,
    थालेछु झिल्कासँग रमाउन
    आदतै बनाइदियो मलाई
    आजभोलि कलम समाउन
    ✍️विष्णु पंगेनी(पाण्डे )
    वालिङ् -स्याङ्जा

    १,
    काण्डैकाण्ड बनाए देशमा
    जनताका विश्वासिला पात्रले
    लगानी काम्बोडिया केसमा ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा

    १,
    जाडोमा मायालु घाम
    गर्मीमा भन्ने गरिन्छ
    पोल्छ पुकार्दैमा नाम ।
    २,
    तातोपानी पानीको जरुरी
    नत्र चिसोले खान्छ
    चल्छ रुघाखोकीको हुरी ।
    ३,
    एउटा सपना देखेर
    बलबहादुर सहर पस्यो
    पेवा बख्रा बेचेर ।
    ✍️पृथक प्रकृति
    झापा

    १,
    नथाप्नु पाप शिरमा
    क्षणिक लाभ भएपनि
    भलो हुँदैन चिरमा ।
    २,
    उघ्रन्छ झुटको पर्दा
    अनिष्ट होला भविष्य
    पापको भाँडो भर्दा।
    ✍️कृष्णकुमार वैद्य
           बनेपा ९, काभ्रे

    १,
    व्याप्त जताततै भ्रष्टाचार
    छानबिन निकाय स्वयं
    समाउछ गोप्य उपहार ।
    २,
    रोजगार न भाइचारा
    खाडीमा ज्यावल हान्दैछन
    पौरखी नेपाली तारा ।
    ३,
    आँखामा गाजलु लगाई
    नहिड मायालु त्यसरी
    मनमा आगो सल्काई ।
    ✍️बिमल पोखरेल
    धरान -१७,पटनाली

    १,
    महॅंगो भए चाखिदिऊॅं
    सुन जस्तो सुन्तला
    तिम्रो मन राखिदिऊॅं ।
    २,
    प्रकृतिले दिएको वरदान
    मङ्सिरको घाममा बसेर
    गरौँला सुन्तलाको रसपान ।
    ३,
    केस्रा केस्राहरू बाँडिएको
    सुन्तलाको  प्रकृति अद्वितीय
    छैन एकार्कामा टाढिएको ।
    ✍️मोती योन्जन सुब्बा 
    दार्जिलिङ

    १,
    नराम्रो सुन्नु नपरोस्
    आफूले राम्रो गरौँ
    अर्काले सपना नहरोस् ।
    २,
    जिन्दगीमा के पाउनु ?
    गुमाउनु धेरै छ
    गुण के लाउनु ?
    ३,
    समाज फरक भयो
    बुझ्नै गाह्रो हुने
    पुरानो चलन गयो ।
    ✍️राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ

    १,
    खान जान्यौ अन्न
    धन्न ढाकछोप गरी
    नमिल्ने घुस भन्न !
    २,
    तिमी पनि साले
    खायौँ सबै मिली
    गर्छौ आले जाले ?
    ३,
    बोली होला गोली
    सोच्ने घडी आयो
    आज होकि भोलि !
    ✍️विवश पारदर्शी
    झापा,

    १,
    अराजकता मौलायो देशमा
    भाषण गर्छन् ठुलो
    छदम भेषी भेषमा ।
    २,
    नहुनु कोही टाढा
    मायाको अनुभूति दिलाउँदै
    सम्बन्ध बनोस् गाढा ।
    ३,
    कामले काम सिकाउँछ
    परिश्रमी दक्ष व्यक्तिलाई
    सेवाको लागि झिकाउँछ।
    ✍️राज कुमार राजभण्डारी खोटाङे
    मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।

    १,
    दिलभित्र सजायो उनलाई
    मन बुझाऊ कसरी
    हेरेर त्यो जुनलाई ।
    २,
    के अर्थ खालीको ?
    रहर विवश बाध्यताले
    जलायो सपना नेपालीको ।
    ३,
    उठौँ कम्मर कसेर
    ए ! नेपाली हो
    हुन्न अब बसेर ।
    ✍️दीप गोले  तामाङ
    रौतहट

    १,
    देशले भ्रष्ट देखेन
    गल्ती कस्को भनौँ
    कानुनले नाम लेखेन।
    २,
    जनता आन्दोलन गर्ने
    देशको सम्पति बेचेर
    नेताले गोजी भर्ने।
    ✍️दुर्गा आचार्य
    मोरङ

    १,
    भिएनाको भ्रमण गरी
    निहाले पुष्पनाथले दृश्य ,
    मनमा उमङ्ग छरी !
    २,
    मचाउँछन् हर्षका नजर
    झुम्छन् प्रत्येक मानव ,
    हेरेर प्रेमिल टावर ।
    ३,
    आफ्नै शैली दिएर
    कोरेर चार शब्द ,
    भमण डायरी पढेर ।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा

    १,
    यहीँ नेपालमा रहेछ
    धनीको जताततै पहुँच
    कष्ट गरिबलाई भएछ।
    ✍️सुशीला शिखा
    कागेश्वरी काठमाडौं

    १,
    आउँदैछ कठ्याङ्ग्रिॅंदो जाडो
    कथा होला छेपाराको
    जाडोले टुप्पी ठाडो ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ

    १,
    भोट माग्न घरमा
    जितेपछि नचिन्ने जनता
    कसको पर्नु भरमा ?
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला

    १,
    उज्यालो धर्ती सारा
    जननी ममताकी खानी
    सन्तानलाई देख्ने जुनतारा।
    २,
    ओढाउने मायाको बर्को
    सन्तानको खुसी बाहेक
    नचाहने केही अर्को ।
    ३,
    गर्नुहुन्छ माया धेरै
    संसारमा सबैभन्दा राम्री
    लाग्छ आमा मेरै ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन

    १,
    बेथिति देखेपछि लेखिन्छ
    सेता बिरालाका कर्तुत
    बादल फाटेपछि देखिन्छ ।
    २,
    ख्यालैमा साम्राज्य लियो
    कुखुरा चोर्‍यो गाउँलेको
    स्यालले दु:ख दियो ।
    ३,
    ढाँट्न जान्यो काइदा
    नाउँ राख्यो राजनीति
    लुट्यो जनताबाट फाइदा ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ

    १,
    चिसोमा बच्नु पर्दछ
    जतिसुकै बेलामा हामीले
    तातोले सर्दी हर्दछ ।
    २,
    तराई पनि सेलायो
    पहाडी चिसो झरेछ
    साँच्चै लुकामारी खेलायो ।
    ३,
    भ्रमण राम्रो भयो
    नानीहरू खुसी रहेका
    समय छिट्टै गयो ।
    ✍️भगवती दवाडी

    १,
    अति गर तर
    नचिताऊ कुनै खति
    आऊ होऔॅं सरोबर।
    २,
    नहटौँ पछि कहिल्यै
    आँट गरौँ जब्बर
    पुगौँ गन्तव्य पहिल्यै।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४

    १,
    दिनुपर्छ यसपालि चोट
    चुनाव आएकै बेला
    छानीछानी दिऔँ भोट ।
    ✍️कमल थापा

    १,
    गर्छन् सबैले जयकार
    धन हुनेको लागि
    गरिब पो अन्धकार ।
    ✍️नन्दा धामी
    नौगड, दार्चुला

    १,
    अडेको विश्वासमा संसार
    सधैँ खेलाची नगरौँ
    घट्दैन प्रेमको आकार ।
    २,
    बोलेको देखाऊ गरेर,
    नसके बोल्दै नबोल,
    नबस नालीमा परेर।
    ३,
    तिम्रा खेतालाहरू सर्दैमा,
    सत्यको बिज मासिन्न,
    तिमीले गद्दारी गर्दैमा ।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १

    १,
    सुधार आफ्नो बानी
    काटेर दुनियाँको कुरा
    के पाउँछ्यौ नानी ?
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::