
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (६२औँ) शृङ्खलाका लागि लघुकथाकार बाबुकाजी सुवाल ‘विकेश निराशी’को लघुकथा ‘बुढो हड्डी’, लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘विवश’ र लघुकथाकार प्रतिज्ञा प्रतिज्ञाको लघुकथा ‘झोला’ उत्कृष्ट तीनभित्र परेका छन् ।
——————-<•>——————
[१]
लघुकथा: बुढो हड्डी
✍️ बाबुकाजी सुवाल ‘विकेश निराशी’
एक महिनाअघि विदेशबाट फर्केको नाति सहनीलाल चार पाँच जना मान्छे जम्मा पारेर आएको देखेर खरको छाप्रोबाहिर आँगनमा राखेको मेचमा घाम तापेर बसेकी नथुनी बज्यै अचम्ममा परिन् ।
-“बाबु माइला, किन मान्छे ल्याएको ? के गर्न लाग्यौ ?” नथुनीले नातिलाई सोधिन् ।
-“परको त्यो बारीको आँपका बोटहरू काट्न लागेको । अब त्यहाँ घर बनाउनु पर्छ, हजुरआमा ।” सँगै आएका मान्छेहरूलाई बन्चराहरू र डोरी सुम्पिँदै सहनीलालले भन्यो ।
-“त्यो आँपबारी हाम्रा बाआमा समान छन् बाबू ! नमास्नू, त्यसलाई । हाम्रा बाजेबराजुदेखि हामी सबैलाई पालेको छ, त्यसले । त्यही बारीको आँप तिमीहरूले खायौ, बढ्यौ, पढ्यौ र आज पुगिसरी भयौ । अब मास्यौ भने पाप लाग्छ, बा ! नमास ।”
नथुनी बज्यैले गहभरि आँसु पारेर गला अवरुद्ध गर्दै भनिन् ।
-“अब ती आँपका रुखहरू बुढा भइसके । फल पनि राम्रो दिँदैन, तिनको के काम, हजुरआमा ?” सहनीलालले बज्यैलाई सम्झायो ।
-“हो त नि है ! यो बुढो हड्डीको के काम ?” नथुनी बज्यैले आँखाबाट बर्र आँसु झारिन् र बर्बराउँदै मेचबाट भुइँमा ढलिन् अनि पर्लक्क आँखा पल्टाइन् ।
२०८१ भाद्र १० गते श्रीकृष्ण जन्माष्टमी
——————-<•>——————
२)
लघुकथा: विवश
✍️ सुरेशकुमार पाण्डे
-“साहुजी ! मेरो छोरी बिमार छिन् । कृपया मलाई पाँच हजार ऋण दिनुहोस्; मेरो तलबबाट चुक्ता गरुँला ।” सेरुले साहु मुरलीधरसँग बिन्ती बिसायो ।
-“हेर सेरु ! मसँग एउटा फुटेको कौडी छैन यो वेला । तँलाई कसरी दिउँ ? अरू यता सुन् तँ काम नसकिकन नजानू नि ।” मुरलीधरले सहयोग दिनुको सट्टा उल्टै रोक्यो ।
-“तर साहुजी मेरो छोरीको जिन्दगी दाउमा छ । उनलाई एक सय चार डिग्री जरो छ । अस्तिदेखि पैसा नभएर सदरमुकाम ठूलो अस्पतालमा लैजान सकेका छैनौँ । कृपया मलाई सके त थोरै रुपियाँ ऋण दिनु, नसके मलाई नरोक्नु । दुई दिनको बिदा दिनुहोस् ।” सेरुले फेरि दुवै हात जोड्यो ।
-“तीन दिनदेखि नमरेकी तेरी छोरी आजै मर्छे ? काम नसक्दै तँलाई म छुट्टी दिन सक्दैनँ । काम सकेर जा, अनि फेरि भोलि कामको बेला आइपुग नि । नत्र काममा नआए पनि हुन्छ बुझिस् ।” मुरलीले आफ्नो अडान छाडेन ।
उता सेरु अत्यन्तै चिन्तित थियो । पाँच वर्षकी छोरी बिरामी भएकोले ‘कहाँ लिएर जाने’ भन्ने चिन्ता थियो । साहुले पैसा दिन पनि मानेन ।
ऊ आँगनीमा व्याकुल अवस्थामा उभिएको थियो । साहु मुरलीधर कुर्सीमा विराजमान थियो ।
-“साहुजी नमस्ते !” प्रदिप टुप्लुक्कै आइपुग्यो ।
-“सेरु ! अर्को कुर्सी ले त भित्रबाट ।” साहुले आदेश गर्यो । सेरुले कुर्सी ल्याइदियो ।
-“पर्दन सर ! म बस्न लाग्दैन । बरु यो दशहजार रकम राख्नुस्, अरू पछि हिसाब गरौँला ।” प्रदिपले दशहजार रुपैयाँ मुरलीधरलाई थमायो र फर्कियो ।
सेरु मनैमन खुसी भयो । साहुसँग रुपैयाँ आयो । ‘अब मेरो छोरीको उपचार हुन्छ ।’
-“साहुजी ! पैसा आइहाल्यो । अब मलाई मेरो तलब दिनुहोस् ।” फेरि हात जोड्दै ऊ मुरलीधरको अगाडि उभियो ।
-“सेरु ! यो पैसा अर्कै कामको लागि हो, दिन मिल्दैन । अरू पैसा सुको छैन ।” मुरलीधरले फेरि पनि बहाना बनायो ।
सेरुको सहनशिलताको बाँध टुट्यो । उसले मुरलीधरको हात मरक्क मर्क्याइदियो र सबै पैसा खोस्यो । घरमा अरू कोही पनि थिएनन् । त्यसपछि सेरु फटाफट घर गयो र छोरीलाई अस्पताल लगेर भर्ना गर्यो । केहीबेरमै प्रहरी लिएर मुरलीधर अस्पताल पुग्यो ।
-“सर ! सेरुले मसँग एकपल्ट छोरी बिमार छ भनेको भए म आफैँ अस्पताल पुराइदिन्थेँ । तर यो डाँकाले मलाई मार्नै खोज्यो । यसलाई छोड्नु हुँदैन ।” मुरलीधरले छाती चौडा गराउँदै भन्यो । उता सेरुले प्रहरीलाई मोबाइलमा रिकार्ड गरेको सुनाउँदै थियोे ।
दाङ घोराही १८
२८-०८-२०२४(१२-०५-२०८१)
——————-<•>—————–
३)
लघुकथा: झोला
✍️ प्रतिज्ञा प्रतिज्ञा
-“जाने बेलामा हाँसेर बिदा गर्नु है ” उनले भने तर उनको आँखाहरू भरिएका थिए । आँसु खस्नलाई हतार गरिरहेका थिए ।
बुढी आमाले सकी नसकी छोराको निधारमा रातो टीका टाँस्दै आशिर्वाद दिइन् ।
-“भगवानले तेरो सधैँ रक्षा गरुन् !”
उनलेे श्रीमती र आमासँग बिदा मागेर जान आँटेका थिए, आमाले प्रश्न गरिन् ।
“बाबु ! झोला गरुङ्गो छ, कसरी लग्छस् ?”
उनले दुखी हुँदै भने ।
-“योभन्दा त पीरको झोला बोक्न गाह्राे हुँदोरहेछ, आमा !”
मेहेलकुना सुर्खेत
२०८१/५/१३
——————-<•>——————-
Nutra Gears Nice post. I learn something totally new and challenging on websites
Simply Sseven I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.