कृतिकार: वसन्त अनुभव
समीक्षक: लक्ष्मण अर्याल
वसन्त अनुभव रेडियो नेपालबाट प्रसारित हुने बाल कार्यक्रम सुनेर हुर्किएका अनि त्यसैको प्रभावले साहित्यतिर आकर्षित भएका स्रष्टा हुन् । विष्णुबहादुर र भीमाकुमारी खत्रीका कान्छा सुपुत्र हुन् उनी । उनको जन्म वि. सं. २०३५ साल वैशाख १० गते दाङ जिल्लाको साविक हापुर २ मा भएको हो । हाल उनी जन्मिएको त्यो ठाउँ दाङको घोराही उपमहानगरपालिका १२ गुर्जेमा पर्छ । स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर गरेका अनुभव हाल सरकारी सेवामा कार्यरत छन् ।
वसन्त अनुभवको दुई व्यक्तित्व छ, सम्पादक र लेखक । व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कवितासङ्ग्रह), लघुकथाको सुगन्ध स्मारिका (अङ्क ४ र ५) अनि ऐतिहासिक यात्रा (संयुक्त टुक्का कवितासङ्ग्रह) मा उनको सम्पादन क्षमता देख्न सकिन्छ भने लघुकथाको सुगन्ध १२ फूल १०८ सुगन्ध (२०७९ संयुक्त लघुकथा सङ्ग्रह) र नेपाली नस्ल (लघुकथा सङ्ग्रह)मा उनको लेखनकौशल झल्कन्छ । २०५४ सालबाट लघुकथा यात्रामा लागेका उनको पहिलो लिखित लघुकथा ‘महिला स्वतन्त्रता’ हो । यस विषयमा उनी आफैँले यो लघुकथा डायरीमा सुरक्षित छ भनेकाले उनको पहिलो लिखित लघुकथा कतै प्रकाशित नगरिएको भन्ने बुभिन्छ ।
बीचमा निकै लामो समय लघुकथा नलेखी मौन बसेका उनले २०७८ सालदेखि लघुकथा लेखमा रफ्तार बढाएर त्यो मौनता तोडेका छन् । २०८० चैतमा ‘नेपाली नस्ल’ लघुकथा सङ्ग्रह प्रकाशित गराएर आफू लघुकथामा सक्रिय भएको उनले पुुष्टि गरेका छन् ।
वसन्त अनुभवको नेपाली नस्ल सङ्ग्रहभित्र ५४ वटा लघुकथाहरू सङ्ग्रहित छन् । ३४ वटा लघुकथाका शीर्षकहरू एकपदीय छन् भने बाँकी २० वटा लघुकथाका शीर्षकहरू द्विपदीय छन् ।
उनका लघुकथाहरूमा नेपाली समाज मुखरित भएका छन् । पात्र स्थापनामा विविधता र लेखनमा प्रगतिशीलता छ । सङ्ग्रहमा भुइँमान्छेहरूका समस्याहरू असरल्ल छन् । कतिपय लघुकथाले अभिधेयार्थको बाटो हिँडेका छन् भने कतिपय लघुकथाले प्रतीकात्मक र ध्वन्यात्मक अर्थको फेरो समाएका छन् । मानव र मानवेतर दुबै खाले पात्रहरूको उपयोग गरिएको छ । कतिपय लघुकथामा मान्छेका शारीरिक अवयव (पेट, मुख, हात, टाउको) पनि पात्र बनेर आएका छन् भने कतिपय लघुकथामा त मानवीय भावनाहरू (वेदना)ले पनि पात्ररूप धारण गरेका छन् । जसले गर्दा लघुकथालाई रोचक र पठनीय पनि बनाएको छ ।
यस सङ्ग्रहका लघुकथाहरू रैखिक ढाँचाका नै छन् । उद्देश्य र आशय प्रष्ट छन् । सामाजिक, राजनैतिक, शैक्षिक बेथितिमाथि गरिएका प्रहारहरू निकै बलिया छन् । लघुकथाहरू भाषागत रूपमा सरल भएर पनि अर्थगत रूपमा गहन छन् । सम्वादमा मिठास छ । सम्पादनमा भने केही थोरबहुत कमीकमजोरी देखिएका छन् । लघुकथाको एकाध ठाउँमा एउटै आशय दिने वाक्यहरूको पुनरावृत्ति भएको छ । प्रकाशनमा हतारो नगरी यी पक्षहरू माथि सामान्य दृष्टि पुर्याउन सकेको भए यो लघुकथा सङ्ग्रहको ओज अझै बढ्ने थियो । यद्यपि, व्यङ्ग्यधर्मिता प्रखर रूपमा प्रकट भएको यो सङ्ग्रह आजकल प्रकाशित भएका लघुकथा सङ्ग्रहहरूमध्ये उम्दा सङ्ग्रह हो भन्न सकिने ठाउँ भने यथेष्ट छ ।