साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २९ सम्पन्न

  • १ भाद्र २०८१, शनिबार ०९:५९ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    १,
    निब झिल्काले भरौँ
    सिधा शब्दमा नलेखेर
    बिम्बको प्रयोग गरौँ ।
    २,
    उडानमा उड्यो जहाज
    सास फर्केन मैदानमा
    विधाताले खेल्यो आज ।
    ३,
    कुर्सीको मैदानमा होलास्
    धम्कीको भाषामा खोकिरहन्छ
    मेरो बैँसमा छोलास् ।

    • म्यामराज राई, भोजपुर

      १,
      रोएर बिताएको जीवन
      हाँसेर भुल्दै जानेछु
      खुसी बनाई मन।
      २,
      बस्दिन हार मानेर
      बढाउँदै अघि पाइला
      सफलता पाउँछु ठानेर।
    • सङ्गीता खरेल, काठमाडौँ

      १,
      भएभरको मसी सकेर
      अचेल स्वघोषित कविको
      कलम बस्यो धकेर।
      २,
      अदम्य साहस बोकेर
      जन्म्यो विद्रोहको झिल्को
      कसले सक्छ रोकेर !
      ३,
      पक्कै ऊ हार्नेछ
      विकृति जलाउने झिल्को
      बलेर सखाप पार्नेछ।
    • श्रीकृष्ण शर्मा, पोखरा – ५, मालेपाटन

      १,
      झिल्काले दिन्छ ज्ञान
      सबैले एकाग्र भएर
      सधैँ गर्नुपर्दछ ध्यान ।
      २,
      बिचल्लीमा मान्छे परे
      पाइलटले ध्यान नदिँदा
      सबै जहानमै मरे ।
      ३,
      कुर्सीको खेलमा भेष
      एकदिन लाग्नेछ पक्कै
      ती दलालहरूलाई ठेस ।
    • केसर बोहरा ‘सङ्घर्ष’, सुदूरपश्चिम अछाम (हाल भारत)

      १,
      तराई पहाड हिमाल
      बुद्धको पवित्र भूमिलाई
      काँधमा बोकेर उचाल ।
      २,
      सुन्दर सानो नेपाल
      युवा युवती जुटौँला
      बनाउन देश विशाल ।
      ३,
      पूर्खाको अर्ती मानेर
      असल कुरा लिऊँला
      चाहिने जति छानेर ।
    • गुणनिधि घिमिरे, अमेरिका

      १,
      हार नमान्दा जीवनमा
      घुमिफिरी आउँछ सुख
      खुसी लिऔँ मनमा।
      २,
      साहसै ठुलो रहेछ
      जहाँसुकै नहट्दा फेरि
      खुसी छाउने भएछ।
      ३,
      नमानौँ हार कहिलै
      अभ्यास गर्दै बढ्दा
      खुसी भइन्छ जहिलै।
    • अर्जुन प्रसाद चौलागाई, सुनापति – १, रामेछाप
      (हाल – क्यानडा, क्यालगरी)

      १,
      ज्ञानले मस्तिष्क भर्दछ
      यथार्थ लाग्छ दुनियाँमा
      रोई विज्ञान मर्दछ ।
      २,
      आफ्नो कमजोरी हटाऔॅं
      छरेर ज्ञानका दल
      कालो बादल फटाऔॅं ।
      ३,
      छरौँ संस्कृतिका बीज
      मासेर सबै विकृति
      मनाऔॅं हर्षले तीज ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा

      १,
      सबै हो यात्रा
      किन हो विभेद
      देखाउॅंदै फेरि जात्रा ।
      २,
      लड या भिड
      आखिरमा यतिसम्म कि
      छोडनुपर्छ भौतिक गिॅंड !
    • दीपा समभाव, दुबेकोल खोटाङ

      १,
      दुःखमा रुन्छ मन
      हुन्छ झनै पीडा
      अस्वस्थ हुँदा तन ।
      २,
      सिमसिम पर्‍यो पानी
      चिप्लेर लड्छ है
      बाहिर नजाऊ नानी ।
      ३,
      आफूले नजानेका कूरा
      हाम्रा अग्रजसॅंग अब
      सिकाइ मागौँ पूरा |
    • सरिता सेढाई, धादिङ

      १,
      खर्चेर सबै बैँसा
      सङ्घर्ष विफल रह्यो
      कमाउन सकिन पैसा।
      २,
      यादहरू जिद्ध नगर
      तिमीलाई निषेध भन्न
      होइन मेरो रहर।
      ३,
      सुन कान खोलेर
      मेरो आत्मसम्मान भन्नु
      पिए सम्झौतामा घोलेर।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जिलिङ

      १,
      गर्छन् नेता विकास
      भाषण दिने बेलामा
      भएन कहिले निकास ।
      २,
      बाटोमा नदी पर्छ
      पुल छैन तर्नलाई
      तर्दा मान्छे मर्छ।
      ३,
      मान्छे विदेश जान्छन्
      खेत बाँझो भयो
      घरकाले के खान्छन् ?
    • नवराज भट्ट, कञ्चननपुर

      १,
      संस्कारीले सबैलाई माया
      साधक निरन्तर कर्ममा
      लक्ष्यबिना बन्छ छाया ।
      २,
      कृपा हामीले पाएका
      सुकर्म धर्म हाम्रो
      निमित्त धर्तीमा आएका ।
      ३,
      बाँडे कहिल्यै नघट्ने
      विचार सबैमा सधैँ
      दुष्ट संसारमा नअट्ने ।
    • कार्की डिबी माकुम, सुनवल – ४, नवलपरासी

      १,
      मुखले ठिक्क पार्ने
      हुन्छन् केही आफन्त
      भित्रबाट कैँची मार्ने ।
      २,
      सकेसम्म फाइदा लिन्छ
      मानिस स्वार्थी भएपछि
      आखिरमा धोका दिन्छ ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, सङ्गम कोलोनी राधे राधे, भक्तपुर

      १,
      आकाशमा बादलको घेरो
      जलिरहेको दुखित मन
      निको भएन मेरो ।
      २,
      दिल भयो पिरो
      कसैको नराम्रा वचनले
      परेको छ चिरो ।
      ३,
      सहयोग गर्छु भन्नेहरू
      दुःख परेको बेला
      हेरेनन् कोही अरू ।
    • डिल्लीराज ‘राजेन्द्र’ भुसाल, सन्धिखर्क – २, कुर, अर्घाखाँची

      १,
      जो छ नकारात्मक
      बानी परेर होला
      देख्दैन कहिल्यै सकारात्मक ।
    • प्रेम थापा “मन”, बागलुङ

      १,
      चारैतिर डुबानको भुमरी
      खसेनन् नजर कसैको
      बन्दैन मुलुक नसुमरी।
      २,
      ऋणको भारी बोकाएर
      छन् नकचरा शासक
      जन्मन नपाउँदै टोकाएर।
      ३,
      मुलुक जालमा फसेको
      शासक प्रशासकका घेरामा
      अहम्ताको बन्धनले कसेको।
    • घनश्याम पन्त, हरिवन सर्लाही

      १,
      परदेशमा पुग्यो तन
      खै किन हो ?
      यतैतिर अल्झ्यो मन !
    • सुरेश कार्की

      १,
      जान्न रमाइलो मेला
      विकृतिको जुहारी चल्छ
      जन्मभूमि रोएको बेला ।
      २,
      नराम्रा मात्र छानिन्छ
      सरकार कसका लागि ?
      राम्रालाई छेलो हानिन्छ ।
      ३,
      रहेन मेरो देश
      कुपात्रको रजाई भो
      सकियो भाषा, भेष ।
    • ऋजु दिल्पाली, इटहरी – १, सुनसरी

      १,
      घामको किरणले छुँदैन
      सम्बन्ध हिउँ भएपछि
      न्यानो कहिल्यै हुँदैन ।
      २,
      हिउँद अनि बर्खा
      सुखदुःख जस्तोसुकै होस्
      घुमिरहन्छ जिन्दगीको चर्खा ।
      ३,
      सीप कलाको चासो
      खासै गर्दैनन् मान्छेले
      लगाउने हुन्छन् आगो ।
    • पृथक प्रकृति, झापा

      १,
      मनको कुरा लेखेर
      कसले पो यहाँ
      आएको हुन्छ देखेर।
      २,
      नेताहरू कराउँछ अहिले
      देशको सान आउँदा
      हराउँछ यहाँ जहिले।
      ३,
      गरिबको रगत लिएर
      लाज पनि पचाएर
      आनन्द मनाउँछ पिएर।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत

      १,
      जीवन जात्रा देखिन्छ,
      सङ्घर्ष सधैँभरि गरे,
      आफैँ भाग्य लेखिन्छ ।
      २,
      ज्ञानको भण्डार पाउने ,
      सच्चा गरे कर्म
      सधैँ सुमार्ग धाउने।
    • दुर्गा आचार्य, मोरङ

      १,
      कतर्नो बोकेर गोजीमा
      निस्कन्छन् हाम्रा भनाउँदा
      आफ्नो बन्धुत्वका खोजीमा ।
      २,
      खाने बेलामा मिल्छन्
      आफूलाई ठानेर असल
      सिद्धान्त विचार निल्छन् ।
      ३,
      गोहीका बगाइ आँसु
      मानव सेवाको नाममा
      खान्छन् यिनले मासु ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ

      १,
      बर्सियो साउने झरी,
      चुहियो खरको छानो,
      ओत लाग्ने कसरी ?
      २,
      नराम्रो देखेँ सपना,
      बढ्दै गयो खुल्दुली
      कतै नहोस् घटना ।
    • भुपेन्द्र राना मगर, धादिङ

      १,
      नाङ्गो देश हाम्रो
      सबै मिलेर बनाऔॅं
      उर्वर स्वच्छ राम्रो।
    • बिके मुखिया, दार्जिलिङ, भारत

      १,
      बगेको खोला फर्किॅंदैन
      कुनै कुरा सिकाउन
      विद्वान् मान्छे झर्किॅंदैन ।
      २,
      संसारभर युद्ध चल्दैछ
      आफ्नै त्यो अहम्ताले
      साम्राज्यवाद अब ढल्दैछ ।
      ३,
      नमान्नु कहिले दुःख
      अप्ठ्यारा चुनौतीसँग लड्दै
      आउॅंछ एकदिन सुख ।
    • दीप गोले तामाङ, रौतहट

      १,
      नबोलौँ कसलाई घोचेर
      पीडा हुन सक्छ ,
      हेरौँ एकपटक सोचेर ।
      २,
      मेरो मनको भित्र
      छुट्टै प्यार दिन्छु ,
      तिमीलाई प्रिय मित्र ।
      ३,
      जोडेपछि हामीले घरबार
      हेर्दै जानु तिमी ,
      झुपडी बन्छ दरबार ।
    • अमृत कोइराला, पोखरा -१८, चङ्खपुर

      १,
      बाहिर वर्षे झरी
      पिरै पिरको भारी
      बोकेर मन खडेरी ।
      २,
      अब झुक्दैन शिर
      मन छ अस्थिर
      कुन खोज्नु भिर ?
    • इन्दिरा देवकोटा

      १,
      खोज्दै जाँदा कविता
      संयोग पनि कस्तो !
      अकस्मात् भेटियो सविता ।
      २,
      भोकले भोजन माग्छ
      त्यसले त बेरोजगारी
      काम गर्न जाग्छ ।
      ३,
      साउन महिना आएको
      भक्तजनले आरधाना गरी
      शिवजीबाट आशीर्वाद पाएको ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर

      १,
      परिष्कार ल्याएर सोचमा
      पुर्‍याऔॅं झिल्का काव्यलाई
      देश, विदेशको खोचमा l
      २,
      रोएर केही मिल्दैन
      अल्छी गरेर बस्नेको
      ओठमा मुस्कान खिल्दैन l
      ३,
      बाँडेपछि ज्ञान बढ्छ
      थपक्क बसेर भुइँमा
      कोही भर्‍याङ चढ्छ ?
    • बाबुराम गौतम, गुल्मी

      १,
      उकाली ओराली भनेको
      भिरालै भिरालो भेटाएर
      अविरल सङ्घर्ष गनेको ।
      २,
      हार मान्नेले हारे
      भविष्य खोज्दै जाँदा
      नमान्नेले उज्यालो पारे ।
      ३,
      समयले छानेर लान्छ
      जो चाहिँ सुरिलो
      उही छिटो तान्छ ।
    • अच्युत घिमिरे, सर्पाङ, भुटान

      १,
      निकै चिन्ता भयो
      सरकार छ लाचारी
      धेरैको ज्यान गयो ।
      २,
      सन्तोषजनक छैन क्षतिपूर्ति
      दलाल राज्यसत्ताका नाइकेहरू
      लगाउँछन् अझै फुर्ती ।
      ३,
      चौबिस खर्ब भएको
      आर्थिक सङ्कट बढ्दै
      ओरालो हुँदै गएको ।
    • रवि पौडेल, दक्षिण भारत पाण्डेचरी

      १,
      पीडाको पोको मनमा
      बोकेर कति डुलौँ ?
      बुझेँ सधैँको नियतमा ।
      २,
      आउॅंछु भन्छ जहिल्यै
      परै भागेर जान्छ
      बोल्दैन सत्य कहिल्यै।
      ३,
      मुन्टो लुकाएर हिॅंड्छ
      चाल उसको टेढो
      झुठको झोला भिड्छ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगाबजार

      १,
      सिनो खान्छन् गिद्धहरू,
      द्वन्द देखिन्न उनीहरुमा ,
      खान मिलेका सिद्धहरू ।
      २,
      जिउँदो मार्न तागत
      छैन कौवा, गिद्धको
      सिनो गर्छ स्वागत ।
    • जी.वि.घोराही, दाङ

      १,
      काग कराउॅंदा आँगनमा
      पर्खाइमा हुन्छु कसैको
      ढुकढुकी बढ्छ मनमा ।
      २,
      एक्कासी जोडिएको नाता
      पार्‍यो विचल्लीमा मलाई
      जीवनभरि भयो व्यथा ।
    • नन्दा धामी, नौगाड दार्चुला

      १,
      दया भाव रहोस्
      सबको आँखामा बसूँ,
      जुगजुग नाम लियोस्।
      २,
      सपना तिम्रा देखूँ
      आजभोलि कुरा मिल्दैन
      तिम्रो लागि लेखूँ ?
      ३,
      पानीका थोपा टल्किरहेछ
      सिमसिम झरी सावनमा
      मनमा आगो सल्किरहेछ।
    • सुनगाभा पोखरेल, हाल : नेपालगन्ज

      १,
      पल्टिन्छन् आफैँ जान्ने
      अर्काको सफलतामा आरिसेहरू
      छन् खुट्टा तान्ने ।
      २,
      अब बर्खा गयो
      अब यही नागपञ्चमीदेखि
      हिउँद सुरु भयो ।
      ३,
      देश भयो बेहाल
      विकासमा भने देशमा
      भयो कछुवाको चाल ।
    • अनिता भण्डारी, ताप्लेजुङ

      १,
      मनमा नराख्नु विकार
      कसैको कुभलो नचिताउनु
      पर्लान् स्वयम् सिकार ।
      २,
      कसैमाथि नहोस् खेलबाड
      अरूलाई नङ्ग्याउन खोज्दा
      फुत्किएला आफ्नो कछाड ।
    • कृष्णकुमार वैद्य, बनेपा – ९, काभ्रे

      १,
      हामी हौ मूलबासी।
      स्वतन्त्र भइ जिउनु।
      नबन्नु कसैको दासी।।
      २,
      शान्तिको अग्रदूत बुद्ध।
      मूलबासीको आधिकार पाउन
      लड्नेछौँ वैचारिक युद्ध ।
    • वेल थोकर तामाङ, बकैया _ ८, बस्तिपुर, मकवानपुर

      १,
      परिचय दियौ दानवताको
      अरूको घर उजाडियो
      मुखौटा मात्र मानवताको ।
      २,
      चोट लाग्दैछ गहिरो
      कतै पहाड धस्कॅंदैछ
      कतै अतिक्रमणको पहिरो ।
      ३,
      चपरी चलाउनु माटोमा
      उठीबास लगायो नेताले
      चुहिॅंदो झरीमा बाटोमा ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा, भारत

      १,
      डुबान चारैतिर भयो
      बाढी पहिरो आउँदा
      कयौँको ज्यान गयो।
      २,
      लामो दूरी नजाऔॅं
      मौसम संवेदनशील भयो
      जोखिम त नउठाऔॅं ।
      ३,
      कसैको छैन भर
      न छ प्रकृतिको
      लाग्नुपर्छ अब डर।
    • सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ

      १,
      मनमा पिर पर्‍यो
      किसानको जीवन यस्तै
      बारीको कान्लो झर्‍यो ।
      २,
      सुस्तरी पवन आयो
      मेरो मनको पीडा
      सारा वायुमण्डलमा छायो ।
      ३,
      सम्पतिको के घमण्ड ?
      समय आएपछि जानुपर्छ
      पाइन्छ अवश्य मृत्युदण्ड।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ

      १,
      सूर्य उदायो पोल्यो,
      छहारी अति चिसिएर ,
      विलीन भएर बोल्यो ।
      २,
      काँध थापेर बोक्दा,
      थाकेर लखतरान पर्‍यो
      झल्यास्स गोली ठोक्दा ।
      ३,
      कहिले वजन थाम्नु ?
      थामिन्थ्यो सोझो गरे ,
      पर्‍यो गलतमा काम्नु।।
    • मनोहरी पौडेल, गैँडाकोट – १, मिलन टोल

      १,
      गाउँको सम्झना आयो
      परदेशी हुनुको पीडाले
      अनयासै आँखा रसायो।
      २,
      छोडेर आउँदा गाउँघर
      यादले दिनहु सताउँदा
      लाग्दैछ फर्किने रहर।
    • पुरुषोत्तम फुयाल, खोटाङ

      १,
      नदी तटमा घर
      बनाएर आफ्नै पेवा
      लाग्दैन भन्छन् डर।
      २,
      नियम बनाउने ठुलाठालु
      कालोलाई सेतो बनाउन
      हुन्छन् अति सिपालु।
      ३,
      नसोच्नु झिल्का झिल्किन्छ
      त्यस्तै परिस्थिति आए
      विराट रूप लिन्छ।
    • सतीश पण्डित ‘सिकारु’, भानु – ६, चुँदी, तनहूँ
      (हाल – चनपा – ६, मातातीर्थ काठमाडौँ)

      १,
      दोषी म मात्र
      जुन कुरामा पनि
      नाटकको जस्तो पात्र।
      २,
      कस्तो संसारमा छु
      स्वार्थी, पापी सबै
      धर्तीको भारमा छु।
    • सावित्री प्याकुरेल, धादिङ

      १,
      साहित्य झिल्लीले भरौँ
      हामी सबै मिलेर ,
      अघि अघि सरौँ ।
      २,
      मनमा सहयोगी हात
      हजुरबाट सुन्न पाइयोस् ,
      मिठो मिठो बात ।
      ३,
      पिपलसँग छ माया
      यो दिल दिएपछि,
      निष्ठुरीसँग बन्यो छाया ।
    • श्रीकृष्ण धामी, बझाङ

      १,
      मुखले ठिक्क पार्छन्
      बाहिर बाहिर मान्छे
      कुरा अन्तै सार्छन् ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई -४, झापा

      १,
      गल्काउनु पर्छ पकाउँदा
      वृद्धले खाने आहार
      खान्छन् बिस्तारै फकाउँदा।
      २,
      पर्दैन शीर झुकाउनु
      सत्कर्म गर्दै हिँडेमा
      मिल्छ छाती फुलाउनु।
      ३,
      हुँदैन कसैलाई उल्काउन
      बेफाइदा हुन्छ आफैँलाई
      थालियो भने सुल्काउन।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत

      १,
      सुटुक्क आएर बस
      अभिनय गर्छु निदाएको
      खसाऊ प्रेमको रस।
      २,
      रहरको ओखती खोज्दै
      जिन्दगी अझै भौँतारिरहेछ
      असल खराब रोज्दै।
    • होमप्रसाद नेउपाने, धरान, सुनसरी

      १,
      अश्रुको सागर ढाकेर
      हाँस्दैछु म दुनियाँमा
      मुटुमा ढुङ्गा राखेर ।
      २,
      सुखले याद गर्दैनन्
      कसरी पार गर्नु ?
      दु:खका पहाडहरू छन् ।
      ३,
      गर्दैछन् आत्महत्या रहरहरू
      गरिबीको उखरमाउलो खडेरी
      प्यासी छन् खाडलहरू !
    • वसन्त अनुभव, घोराही, दाङ

      १,
      माइती छ‍ोरीको लाख
      जस्तो भए पनि
      न्यानो आमाको काख !
      २,
      तिज तिहारको बेला
      रमाइलो हुन्छ माइती
      दिदीबहिनी जमघटको भेला !
      ३,
      चाम्रीक‍ो तलतली लाउँद‍ोरहेछ
      समुन्द्रपारि माइती छन्
      झलझली याद आउँदोरहेछ !
    • धनमाया चौधरी, कैलाली

      १,
      कस्तो होला वर्ष ?
      बुझिन दिन गयो
      विष्मात या हर्ष।
      २,
      दु:ख, सुख हुन
      जीवनका यी सारथि
      पालैपालो आउॅंछन् जुन ।
    • शोभा आचार्य गौतम, काठमाडौँ

      १,
      नेताले देश बिगार्ने
      जनता मासुमा बिक्ने
      कसले देश सपार्ने ?
      २,
      देशमा कुर्सीको लडाइ
      रातारात सरकार बदलिँदै
      मिलिजुली गर्छन् फटाइॅं ।
    • राजन दास, बिसरभोरा, धनुषा

      १,
      अनुपम गाउँ सहर
      वरपिपलको छ चौतारी
      मनभित्र सौम्य रहर !
    • आर्त अकुलीन

      १,
      मान्छे मान्छेमा हुने
      विभेद ठुलै विकृति
      संस्कृति त्यसै रुने ।
      २,
      अचेल बानी पर्‍यो
      एकार्कामा श्वास थप्ने
      फूल नफुलेरै झर्‍यो ।
      ३,
      शङ्काको सम्बन्ध घेरोभित्र
      आफैँ जेलिएर आएँ
      अरूलाई दोष मित्र !
    • ईश्वर साउद(भिक्षु ), रामारोसन – ६, अछाम

      १,
      हँसिलो पारौँ शिर
      रमाऔॅं परिवारको साथमा ,
      लुकाई मनमा पीर ।
      २,
      मन हुन्छ थिर
      आफ्नो परम्परा जोगिन्छ ,
      बनाई खाँदा खिर ।
      ३,
      हर्षको निस्कन्छ नीर
      सफलता पाईन्छ एकतामा ,
      मन बन्छ थिर ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल

      १,
      सुदिन बिर्सँदै गइसक्यो
      दुखी थियो हिजोसम्म
      आज धनाढ्य भइसक्यो ।
      २,
      नभुल्नु विगतका बातहरू
      छैन जीवनको भरोसा
      ताली बजून् हातहरू ।
      ३,
      अहिले टाढा गयो
      हिजोसम्म काखमा थियो
      आजकल काँडा भयो ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप, काठमाडौँ

      १,
      पीडा धेरै भयो
      अचानोको पीर खुकुरीलाई
      नबुझी जिन्दगी गयो ।
      २,
      उमेर बितेर गयो
      केही सुकर्म नगरी
      व्यस्त जीवन भयो ।
      ३,
      अभिभावकले सबै ढाकेर
      कर्मलाई सहज बनाउँदा
      मिठो खाऊ चाखेर ।
    • भगवती दवाडी

      १,
      नसकौँ अहिल्यै मसी
      सादा छन् पानाहरू
      पोतौँ पीडाका दसी ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी

      १,
      जमाना नक्कलीको भयो
      नोटको कारोबार सक्रिय
      सत्य दबेर गयो ।
      २,
      सत्ता फेरबदल किन ?
      नैतिक जिम्मेवारी कसको ?
      पर्दैन कारण दिन ?
      ३,
      सत्ताकब्जाको खेल भयो
      अचम्म गणितीय संविधान
      वेश्या बनेर गयो ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे

      १,
      बाढीले गर्‍यो सत्यानाश
      हुँदैन जस्तो लाग्छ
      अब धर्तीमा बास ।
      २,
      सधैँ पीडा मनभरि
      मन बुझाउनै सकिन्न
      म हाँसौँ कसरी ?
      ३,
      मृत्युको मुखमा पुगेर
      अब लडाइ नगर
      कति बाँचिन्छ हेर ।
    • ललिता गिरी, सिन्धुली (हाल – काठमाडौँ, नेपाल)

      १,
      काटेर हातको नसा
      सबै राम्रो देखिन्छ
      मलाई लाग्यो दशा ।
      २,
      देखेको सबै हाम्रो
      यो लोभले गर्दा
      कहिल्यै भएन राम्रो ।
      ३,
      समयले चोट दियो
      अहिले अप्ठ्यारो अवस्थामा
      आफन्त पराई चिनियो
    • लक्ष्मण देउवा, डोटी (हाल – भारत चेन्नई)

      १,
      रमाइलो भयो भनेर
      उकालो बाटो काटौला
      भिर पखेरी खनेर ।
      २,
      सम्बन्ध राम्रो बनाएर
      घरबार सफा सुन्दर
      आफन्ती साथ जनाएर ।
      ३,
      तीजमा माइत जानुछ
      रमाइ रमाइ नाचेर
      दर पकाएर खानुछ ।
    • अम्बिका अधिकारी, बिर्तामोड, झापा

      १,
      झुठो प्रचार छरिॅंदैछ
      सरकारमा बस्नेले जहिल्यै
      गोजी मात्र भरिॅंदैछ।
      २,
      विश्वास कहिले नगर्नु
      मुखले ठिक्क पार्नेको
      भर कहिल्यै नपर्नु ।
      ३,
      जीवन सुस्तरी चलोस,
      अपमानित भएर बाँच्नु
      बरु मर्नु परोस् ।
    • कला ढकाल, झापा

      १,
      पशुपतिनाथमा चलेछ जात्रा
      हुने दुई काज
      गरौँ सबै यात्रा ।
      २,
      अत्यास लाग्दो रात
      ओरालो पाइला लाग्दा
      पाइएन थाम्ने हात ।
    • मन्दिरा सेढाई, मलेखु, धादिङ

      १,
      नेपाल सुन्दर देश
      विदेशीको देखासिकी गर्दै
      बदले भाषा भेष ।
      २,
      खोज्दै शीतलु छाया
      विदेशी भूमिमा बसी
      देखाउँछन् जन्मभूमिको माया।
    • कोपिला अधिकारी, गोरखा सिरानचोक

      १,
      अचम्मको ढोँग नारीमा
      पतिव्रताको छ नाटक
      हरिया चुरा, सारीमा।
      २,
      पतिलाई धोकामा राखेर
      उपवासको नाटक गर्दछन्
      उनै महादेवलाई भाकेर।
      ३,
      चुर्लुम्म डुबेर नक्कल
      गर्दछन् आजका नारी
      आउँछन् कहिले अक्कल।
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल

      १,
      मनमा पिर पर्‍यो
      खेतीबारी सबै बाँझै
      भएकोमा पहिरो झर्‍यो ।
      २,
      कसरी जाऊॅं मेला ?
      नेताहरू भागबण्डामा व्यस्त
      देशमा सङ्कटको बेला ।
    • दुर्गा भट्टराई, मोरङ

      १,
      दाजुभाइ जुधाएर भयौँ
      एकजुट तैपनि सिद्धान्त
      मिल्दैन सरकारमा गयौँ ।
    • कविताहरी, सुन्दर हरैंचा – १, मोरङ

      १,
      अपराध त्यो गर्छ
      दया छैन दिलमा
      रक्तकुण्डमा उही पर्छ ।
      २,
      दुखमा धैर्य गरौँ
      सधैँ सुख हुँदैन
      नापेर खोला तरौँ ।
      ३,
      देखेर अर्काको सुख
      दिनदिनै मन नदुखाऊ
      गहिरिन्छ अझ दुख ।
    • हिरालाल न्यौपाने, बानपा – ८, कोटमौला, सल्यान

      १,
      हराउँदै गयो जवानी
      गन्दागन्दै दिनहरू हेर
      ओइलायो आफ्नो जिन्दगानी ।
      २,
      दिन,महिना ,साल
      कति चाँडै बित्यो
      पाइएन किन चाल ?
      ३,
      जवानीमा निकै रमाए।
      गए सबै छाडी
      बुढेसकालमा लौरो समाए।
    • रुना कर्माचार्य दाहाल, चितवन

      १,
      कठै ! बुझाउने कसरी ?
      आफैँ शब्द बुझ्दिन,
      सत्य देखिन्न जसरी ।
    • लोक बहादुर छेत्री लामिछाने, मोदी -२, देउपुर, पर्वत

      १,
      पालेर मनमा भ्रान्ति
      स्पष्ट भए हुन्छ
      हुँदैन कहिल्यै शान्ति ।
      २,
      रोजौं भोलिको बाटो
      जुटौँ मिलेर कर्ममा
      आपसमा नफेरौँ साटो ।
      ३,
      आत्मबल हो शक्ति
      सकारात्मक चिन्तन गरे
      चाहिन्न स्वार्थको भक्ति।
    • जयनारायण नेपाल, इलाम (हाल सूर्य विनायक २, बालकोट भक्तपुर)

      १,
      आफ्ना संस्कारहरू मासिए
      सहरको रमझममा परेर
      युवाहरू उतै भासिए।
      २,
      कसरी भनौँ लेखेर ?
      विरक्त लाग्छ घरमा
      बाआमा एक्लै देखेर।
      ३,
      बाँझै छन् खेतबारी
      देशको अवस्था देखेर
      हुन्छ मन भारी।
    • सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा

      १,
      अवस्था देशको बेहाल
      युवा सबै विदेशतिर
      रित्तिने भयो नेपाल ।
      २,
      हटाऊ स्वार्थ पर
      अत्ति भयो नेताज्यू
      अब केही गर ।
      ३,
      व्यर्थ आँशु झार्नेले
      पार्न सक्छन् अफ्ठ्यारोमा
      मुखले ठिक्क पार्नेले ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Leave a Reply