साप्ताहिक झिल्का लेखन अभ्यासको २८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
कुर्सी छोप्ने दाउमा
जित्ने चाहनामा खेलाडीहरू
निहुरिन्छन् ननिहुरिने पाउमा ।
२,
स्थलयात्रामा असुरक्षित हवाईयात्रामा
पछ्यायो यमराजले जनतालाई
ठुलाबडा नाचिरहेछन् जात्रामा ।
३,
मेहनत गरौँ पलपल
रहॅंदैन समय आजको
उज्यालो भेटिन्छ विनाअलमल ।
- म्यामराज राई, भोजपुर
…
१,
आँसुले भिजेको सिरानी
भोग्दैछु जीवन अनौठो
लाग्दैछ सबै बिरानी।
२,
सम्हाल्न नसकिने मन
चरि बनेर उड्दै
गर्ने कसरी जतन। - सङ्गीता खरेल, काठमाडौं
…
१,
हवाईजहाज जोडजाड गरेको
सायद पुरानो कवाडी
मानिसहरू मृत्युमा परेको ॥
२,
तथ्य छान्दैन सरकार
मख्ख भएर कुर्सीमा
किन अरूको दरकार ॥
३,
कस्तो जमाना आयो
कोही मरीमरी काम
कुनैले बसीबसी खायो ॥ - गुणनिधि घिमिरे अमेरिका
…
१,
गाह्रो खुट्टा जमाउन
कर्मठ सफल हुने
आलस्य पर्दछ धपाउन ।
२,
पार लाग्नेछ मुश्किल
साथ मिल्ने प्रभुको
कर्मठ कर्ममा लगनशील ।
३,
निमुखालाई हुँदैन सताउन
किन दुःख प्रभुलाई
पर्दैन खोली बताउन । - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
…
१,
नपाउन्जेल कुरा काट्छन्
सत्ताका निमित्त राजनेताहरू
थुकेको थुक चाट्छ्न् !
२,
चासो चिन्ता छैन
मरून् या बाँचून्
ढुङ्गो बोल्ने ह्वैन ।
३,
पलपल मर्दैछन् आसहरू
हिँड्दाहिँड्दै पोखिन्छन् किन
आजकल जताततै सासहरू ! - वसन्त अनुभव
…
१,
कुर्सीमै हुरुक्क नेताहरू
बाहिर त्यस्तो नहुने
देशमै नबसून् बरु ।
२,
देखिएन सुरक्षित हवाईजहाज
ज्यान जोखिम सदा
छैन तिनीहरूलाई लाज।
३,
सिकाएर सिक्दैनन् हाम्रा
गोलमटोल गरी चल्दैछन्
कति धेरै चाम्रा । - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
…
१,
उसले पाउन मलाई
अनेक बहाना बनायो
भन्ने मैले कसलाई?
२,
मैले विश्वास गरेँ
मेटेर गयो प्यास
अहिले बिचल्लीमा परेँ।
३,
थिइन् कत्ति सोचेको
गर्ला यस्तो भनेर
अहिले पीडाले घोचेको। - सतीश पण्डित, भानु ६ चुँदी तनहूँ
हाल चनपा ६ मातातीर्थ।
…
१,
विघ्न देशमा हरपल
निदाए कुर्सीमा बस्ने
त्यसैको नित्य छलफल ।
२,
सबैको निद हरायो
देश भो शोकाकुल
निर्लज्ज कुर्सीमै रमायो । - कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा
…
१,
जीवनमा भयो घात
बाध्यता परदेश जानुपर्ने
धिक्कार नेपालीको हात।
२,
फोनमा गरौँला बात
छुट्यो हाम्रो अन्त्यमा
आँसु पुछ्ने हात।
३,
एउटा मुटु कसाएँ
कसैले भनेको टेरिनॅं
आफूले आफैँलाई फसाएँ। - चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
…
१,
लाग्छ मलाई डर
मर्ने चोलाको कुनै
हुँदैन रहेछ भर |
२,
कोही जलेर मरे
नगरी नहुने यात्रा
कोही त्रिशूलीमा परे |
३,
आफन्तको रुवाबासी भयो
हराएका लास भेट्ने
आशा मर्दै गयो | - सरिता सेढाई धादिङ
…
१,
उपहास उपहार दिलाइ
बाँच्न बाध्य बनाउँछ
आफ्नो कसम खुवाइ ।
२,
पटक्कै बोल्न नखोजेको
पीडित पुरुषलाई सोघ
किन मौनता रोजेको ?
३,
पर्खि बस है
म अझै बसिरहे
सोझो मन कठै! - दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग , दार्जीलिङ
…
१,
बेकाम बढी बोलिरहने
सोझो जनता जहिले
सधैँ पानीमा घोलिरहने ।
२,
संविधान मान्नू, सबैले
नेता होस् जनताले
लोकलाई नबिर्सनू, कबैले ।
३,
प्राचीनको सम्झॅंदै वीरगाथा
काँतर छोटे राजाहरू
लेखाऔॅं ! नूतन वीरता । - राजन घले, धार्चे-६ गोरखा
…
१,
कालो धुवाँ आयो
हेर्दाहेर्दै जहाजमा सबैलाई
पापी आगोले खायो ।
२,
मीठा गर्दै कुरा
गन्तव्यमा पुग्ने सपना
भए सबै अधुरा ।
३,
सुन्दा मन रुन्छ
हाम्रो देशमा दुर्घटना
कहिले अन्त्य हुन्छ ? - अनिता भण्डारी ताप्लेजुङ
…
१,
कस्तो छ दाउ ?
हेरिरहेको त्यो बेलामा
नपर मेरो पाउ।
२,
महँगो भयो सुन
गरीबको चाह होइन
सस्तो छ नुन।
३,
मैला भयो सहर
उतै पो रूचाउँछन्
गाउँमा छैन नहर। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
…
१,
जनता दुर्घटनामा मरेको
नेतालाई मतलब छैन
देश शोकमा परेको ।
२,
प्रिय ! नहुनु टाढा
विगतलाई बिर्सेर फेरि
सम्बन्ध बनाऔॅं गाढा।
३,
आसहरू मरेर गए
गन्तव्यमा पुग्न नपाउँदै
जिन्दगी सकिने भए । - राज कुमार राजभण्डारी खोटाङ्गे
मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
…
१.
भएन कुनै लाज
कुर्सीमा बस्ने जनको
राम्रो भएन काज ।
२.
देश लाग्यो अधोगति
खाने पिउने रमाउने
बिग्रियो नेताको मति ।
३.
देश जनताको पीर
भएन बरै कसैलाई
झुकाए नेपालको शिर । - डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
…
१,
कस्तो घटना घटे
कमजोर सुरक्षा संयन्त्र
ढिलो नगरी खटे ।
२,
कहिले दुर्घटना सडक
कहिले हुन्छ आकाशमा
देखियो नेताहरूको तडकभडक ।
३,
ज्यान गयो अहिले
रोकथामका उपायहरू छन्
नियन्त्रण हुन्छ कहिले ? - रबि पौडेल ,दक्षिण भारत पाण्डेचरी
…
१,
आफ्नालाई गर्छन् काखा
यो कस्तो गणतन्त्र
अरूलाई गर्छन् पाखा । - प्रेम थापा “मन”बागलुङ
…
१
पराकाष्ठा लिप्त सत्ताको
लाजमर्दो देख्ने सुन्नेलाई
दुरुपयोग धर्म भत्ताको ।
२.
माया ममता हरायो
बोल्यो बिनाअर्थ हावा
न्याय सत्य डरायो ।
३.
लाजमर्दो इन्द्रिय छोपौँ
भुलेर फेरि हामीले
यस्तो विषवृक्ष नरोपौँ । - रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
…
१,
गर्दिन तिमीलाई छल
माया दिन्छु सधैँभरि
डटेर हरेक पल ।
२,
सुनसान यो रातमा
केही थियो खास ,
तिम्रो त्यो बातमा ।
३,
डुबेर आजभोलि मायामा
विश्वास लाग्दैन आजकल ,
आफैँलाई आफ्नै छायाँमा । - अमृत कोइराला, पोखरा -१८,चंखपुर
…
१
गरेर जस्तो कर्म
उस्तै हो पाइने
मानव सेवा धर्म !
२
चेतनशील मानिसको जात
सारा काम विकासका,
चिन्तन गर बात ! - आर्त अकुलीन
…
१,
जताततै आँसुको भेल
घटनाको रूप ठूलो
हिंसा भएर जेल ।
२,
सपना ठुलो झुकेर
शहर घिनलाग्दो भयो
अनैतिक काम लुकेर ।
३,
चिन्ता बेरोजगार भयो
परिश्रम पसिनामा तौले
ऋण बोकेर गयो । - अम्बिका अधिकारी, झापा बिर्तामोड
…
१.
त्रिशूलीमा बसको नाश
बेलामै होस् नपुग्दा
धेरै जनताको लास।
२,
देशमा रगतको खोली
पोखरा जानेहरूको छैन ,
फर्कने बेला बोली ।
३,
पीडाको सधैँ सामना
भरोसा छैन भगवान् ,
लास जलाउने जनता । - श्रीकृष्ण धामी – बझाङ
…
१,
उड्दा भूईॅंमा खस्ने
हिँडेर पुग्न गाह्रो
गुड्दा नदीमा पस्ने।
२,
जागौँ सबै जागौँ
घटनाबाट असल शिक्षा
लिनेतर्फ अब लागौँ । - बिके मुखिया, दार्जीलिङ, भारत
…
१,
छन् नेता गफाडी
जनता रमितेमा ठिक्क
उडाउॅंछन् जहाज कवाडी । - जीवनाथ लामिछाने
…
१,
प्रकृतिको अनौठो खेल
हराए सबै मुस्कान
रोकिएन आँसुको भेल। - तोया नाथ चापागाईं, दमक,झापा
…
१,
ठूला कुरा गरे
यिनले सदनमा बसेर
गोजी मात्र भरे।
२,
भागबन्डामा छन् लागेका
दलाली भ्रष्टाचारी नेता
जिम्मेवारबाट चाहिॅं भागेका ।
३,
अकालमा धेरै मरे
बाढी, पहिरो भवितव्यंको
चेपुवामा गरिब परे। - कला ढकाल झापा
…
१,
नेताले खुसी मनाउॅंदैछ
रोइरहेकी त्रिशूलीमा हेर।
बर्सेनि लाचारीपन गनाउॅंदैछ । - वेल थोकर तामाङ, बकैया _८ // बस्तिपुर// मकवानपुर
…
१,
सुरक्षित छैन यात्रा
आकाश या जमिन
नेताहरूको भयो जात्रा !
२,
सपना सपनै भयो
मूल्य टोक्छन् मान्छेको
आशा निराशामा गयो !
३,
आँशुको भयो ताल
पुछेर पुछ्नै नसकिने
देशको भयो बेहाल । - धनमाया चौधरी कैलाली
…
१,
जाऊॅं गुडेर सरर
भरोसा टुट्न थाल्यो
कसरी परौँ भर ?
२,
यहाँ भरोसा केमा ?
सबै ढोडको लौरो
मर्दै गयो आशा ।
३,
जिन्दगी हाम्रो छोटो
संरचना सबै जीर्ण
देखेँ व्यवस्थामा खोटो । - हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार
…
१,
समयले गऱ्यो छल
मलाई किन यसरी
रुनु परेको पलपल ।
२,
मानेको छैन हार
पुग्नु छ गन्तव्यमा
कठिनाइहरू गर्दै पार ।
३,
मेरा जहिले महान्
हुनुहुन्छ बाबाआमा नै
सबभन्दा ठुला भगवान् । - अनिता कार्की, पाँचथर
…
१,
राम्रो कर्मको फल
जहिल्यै हुन्छ राम्रो
गर्नु त्यसैमा बल ।
२,
हाँसो हराउँदै गयो
प्रविधिमा विकृति आउँदा
हाय ! हुनसम्म भयो!
३,
समाधान हुँदैन हेर
आधार राम्रो नहुँदा
हिॅंड्ने बाटो फेर । - अच्युत घिमिरे, सर्पाङ, भुटान
…
१,
हिॅंड्छ दुईचुल्ठी बाटेर
विचरा खान्छ घ्यू
छिमेकीसँग ऋण काटेर ।
२,
खाऊ अमिलो साँधेर
घाँस खुवाऊ अब
नेतालाई दाम्लोले बाँधेर ।
३,
छैन भनेर धन
हीनता बोध गर्दै
रुवाएको छ मन । - दीप गोले तामाङ, पौराई , रौतहट
…
१,
गयो जनताको सपना
शक्तिमा भए सबै
लुटाहाको मात्रै थपना।
२,
देश राजनीतिले खायो
राम्रा मान्छे पाखामा
अपाङ्गको दिन आयो।
३,
जनतालाई भ्रम पारेर
जेलमा कैदी बनी
बसेका मान्छे मारेर। - शङ्कर कार्की, मकवानपुर
…
१,
बाँचुन्जेली तेरोमेरो सुनाउॅंछन्
गाह्रोसाह्रो पर्दा मनमा
नानाथरी नाटक देखाउॅंछन्। - सुनगाभा पोखरेल, नेपालगन्ज
…
१,
असारका खहरेहरू दर्बिला
नेपालका नरपिपासु नेता
मन्त्रालय भेटेपछि गर्विला।
२,
रगत उम्लियो जिम्लियो
जनताका नयनमा आँसु
सरकारले आँखा चिम्लियो।
३,
कुराले नेपाल टल्कने
मनमा धमिलो भावना
अनुहारमा अपराध झल्कने। - घनश्याम पन्त, हरिवन सर्लाही
…
१,
परिवर्तनशील मौसमी खेल
जाडो, गर्मी, वर्षा
शित, पसिना, भेल। - सरस्वती श्रेष्ठ रुपन्देही बुटवल।
…
१,
नगरौँ सधैँ बकबास
कामको जीवन हाम्रो
काम हुन्छ खास।
२,
रमाइलोका लागि बनायौँ
उपहास गरे सबैले
त्यसैले हण्डर खायौँ।
३,
प्रकृति समाज हाम्रो
डाँडा पाखा मिलेछ
चारैतिर भयो राम्रो। - सुरेशकुमार पाण्डे दाङ घोराही १८
…
१,
समवेदना दिलमा बस्छ ।
माया समवेदना नभए
मानिस जङ्गल पस्छ ।
२,
मुलीको चोट कति ?
चाहन्छ सबै सन्तान
उठून् आकाश जति ।
३,
सकेजति बाआमाले गरे
पछ्याउँदै गन्तव्य समृद्धि
भेटेनन् पथमै मरे । - हिरालाल न्याौपाने, बानपा ८,कोटमौला, सल्यान
…
१,
ठूलाहरूलाई फरक पर्दैन
परोस् सानाहरू दुर्घटनामा
सुधारको पहल गर्दैन।
२,
को अघि सर्ने?
अस्तव्यस्त यो व्यवस्था
कसले परिवर्तन गर्ने?
३,
युवावर्ग सचेत हुनु
असल कर्म गरेर
सबैको मन छुनु। - अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत।
…
१,
बिग्रेको जहाजको भर
कसरी गरौँ यात्रा
मनमा सधैँको डर ।
२,
सबैको चिन्ता बेरोजगार
सरकार स्वार्थी हुँदा
परिश्रम भो बेकार । - दुर्गा भट्टराई, मोरङ
…
१,
मुखमा रसिलो बात
मिठो वचन बोलेर
कतिलाई गर्छौ घात ।
२,
एकल निर्णय भट्याउन
सक्तिन शायद साथी
थाल्दछ मस्तिष्क टट्याउन ।
३,
एकल निर्णयको पाटो
माथि उक्लन्न साथी
लिँदछ पतनको बाटो । - मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा।
…
१,
नौ शब्दको बेलो
छोपेर गर्छु प्राय:
झिल्का काव्यको खेलो l
२,
पिएर साहित्य सुधा
मेटाउन मन लाग्छ
अन्तर मनको क्षुधा l
३,
झिल्का सर्वत्र फैलियो
यसको विस्तारले गर्दा
मनको विकार थैलियो l - बाबुराम गौतम, गुल्मी
…
१,
कुरो भयो ठुलो
पचाउन कठिन हुने
एउटै बाहिर दुलो ।
२,
सिंहासन ठुलो मानी
हिडिरहे नेताहरु देशमा
कुर्सीमा फाइदा जानी ।
३,
पचाएर यहाँ लाजसरम
हिॅंड्नै पर्यो अघि
नहिॅंडी के गरम ? - ईश्वर साउद, रामाराेसन गाउपालिका ६ सुदेरपश्चपम अछाम
…
१,
मन बेस्सरी बहकिन्छ
थाहा छैन कुनदिन
अकालमा ज्यान सकिन्छ।
२,
चुँडियो दिलको तार
केवल एक्लो जिन्दगी
छैन बाँच्ने आधार। - साबित्री प्याकुरेल,धादिङ्ग।
…
१,
बाँच्छन् दुश्मन बनी
कसैको स्वार्थको विरुद्धमा
उभियो भने पनि ।
२,
याद आउँछ अतित
प्रसङ्ग मिल्यो भने
यसर्थ नबनोस सङ्गीत ।
३,
दुर्घटनाको दुर्घटना लगातार
नितान्त लासहरूमा पनि
भेदभाव गर्छन् सरकार । - पृथक प्रकृति ,झापा
…
१,
पर्दिनँ कसैको पाउमा
आफ्नो लगानी गर्छु
छर्दिनॅं नुनचुक घाउमा ।
२,
आकाशमा उफारेर थचारेछ
दैवले पनि विचित्रको
सबैलाई अग्निमा पछारेछ ।
३,
कोसिस गर्दै गएमा
मान्छेले माला पहिरिन्छ
हिम्मत साँच्ने भएमा । - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
हाल एनेलकुटी, सिरहा ।
…
१,
बितिगयो बित्ने कुरा
सरकार, अब त
दायित्व गर पुरा । - लक्ष्मी रिजाल, कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी ।
…
१,
बिलायो मेरो धन
लग्यो दैवले चुँडी
विच्छिन्न भयो मन ।
२,
दैवले गर्यो लीला
सम्हानु पर्दछ परिस्थिति
धैर्यले बस शिला।
३,
दैवको हो लीला
सहेर बसेकी छु
ठोकेर मुटुमा किला । - प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ।
…
१,
असली पृर्थ्वीको रूप
राम्रो जोगाए पछि
आउॅंछ कसरी हुप ? - लोकबहादुर क्षेत्री लामिछाने
…
१,
साउनमा लाउनेको कुरा
नभएको परम्परा चलाए
हरिया परिवेष्टनीय चुरा ।
२,
सोमबार मन्दिर धायो
दिनभरि भोकभोकै बसे
बेलुकी सेलाइन लायो । - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…
१,
उडाउॅंछन् पुराना जहाज
ज्यान जान्छ निर्दोषको
छैन सरकारलाई लाज ।
२,
बसयात्री त्रिशूलीले बगाउॅंछ
फरक होला जहाजमा
आधा झन्डा झुकाउॅंछ । - भुपेन्द्र राना मगर, धादिङ
…
१,
राजनीति भयो भत्ताको
जनताको वास्तै छैन
लडाइ हुन्छ सत्ताको !
२,
कलङ्क लाग्छ नाउॅंमा
नैतिकता सबै गुमाउँदा
कसरी बस्नु गाउॅंमा !
३,
गएको इज्जत फर्कॅंदैन
पराईसॅंग लम्पसार परेर
अपराधको हुण्डरी तर्कॅंदैन । - ऋजु दिल्पाली ईटहरी १ सुनसरी
…
१,
विद्युत बक्यौता छुट
जनतालाई करको भारी
उद्योगीलाई सधैँ ब्रम्हलुट ।
२,
छैन धारामा पानी
महसुल बक्यौता तिर्न
भयो उपभोक्तालाई हैरानी ।
३,
छैन कुनै राहत
काला बजारीको बिगबिगी
निरीह जनतालाई आहत । - जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक २ ,बालकोट, भक्तपुर
…
१,
छैन कसैको भर
जता जाऊॅं, उतै
मनमा त्रास डर ।
२,
हुन्न देशको विकास
जता बाढी, पैरो
छैन केही निकास ।
३,
कति डरमा बाँच्ने
छैन कसैको भर
किन पिर साँच्ने ? - दुर्गा आचार्य, मोरङ
…
१,
मान्छे जन्मेपछि मर्छ
तर आपत् परेर
संसार छोड्ने गर्छ । - भगवती दवाडी
…
१,
आकाशमा उड्ने रहर,
आजभोलि हराउन थाल्यो,
धर्तीमा खतराका लहर।
२,
प्राविधिक अध्यावधिक छैनन्,
तिनले धैर्यता गुमाएमा
जनताका सुरक्षा हुँदैनन् ।
३,
पाइलट इन्जिनियर पढेर,
व्यवहारमा क्षमता नभए,
आफैँ गइन्छ मरेर। - मनोहरी पौडेल, गैडाकोट २
…
१,
बेसरी दुख्छ मन
काम लाग्छ फालेको
लाउनु हुँदैन वचन ।
२,
घुसखोरीको बगानमा चरेको
पिउनदेखि सबै हाकिमसम्म,
हुन्छन् शोषणमा परेको ।।
३,
यमराजले प्राण हर्यो
आकाशमा उड्ने चिलगाडीमा,
कसको नजर पर्यो । - सीमा कार्की समर्पण, मेलचोक पर्सा
…
१,
नेताले खाएको देश
निर्दोष र गरीबले
झेल्नुपर्छ अदालत केस ।
२,
सकियो बितेका कुरा
नेताले बोल्छन् मात्रै
कहिल्यै गर्दैनन् पुरा ।
३,
कर्तव्य काँधमा बोक्नु
अघि बढिरहून् निरन्तर
पाइला कहिले नरोक्नु। - ललिता गिरी सिन्धुली हाल काठमाडौं नेपाल
…
१,
अर्काको भरमा पर्ने
ठुलालाई केही हुन्न
गरीब हुन् मर्ने ।
२,
मृत्युले विभेद गर्यो
यहाँ ठूलालाई सम्मान
गरीब त्यसै मर्यो ।
३,
नेताको भरमा परेर
आफैँ असुरक्षित भई
जानु पर्ने मरेर । - लक्ष्मण देउवा डोटी (हाल भारत चेन्नई)
…
१,
गल्ती लुकाउन चलखेल
कार्यकाल बिताउॅंछन् त्यसै
सहनु कति जालझेल।
२,
जनताको गल्ती ठुलो
बुझेरै भोट दिनाले ,
राष्ट्रको भयो कुभलो।
३,
मेहनती पात्र बनेर
आफैँलाई दुःखी बनाइन्छ
न्याय होला भनेर। - सुस्मिता अधिकारी ,काठमाडौँ
…
१,
साधुको भेषमा आउॅंछन्
लुटिलान्छन् देशको सम्पत्ति
मानसम्मान तिनैले पाउॅंछन् । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
…
१,
पापी समयको खेल
लुटियो जीवन अकालैमा
गरे परिक्षकले झेल।
२,
पेट्रोल रमाउँछ बल्न
कवाडी जहाज उडाउँदा
बाध्य भए जल्न। - कोपिला अधिकारी, गोरखा
::::::::जय झिल्का साहित्य ! ::::::::::
I just could not depart your web site prior to suggesting that I really loved the usual info an individual supply in your visitors Is gonna be back regularly to check up on new posts
I loved as much as you will receive carried out right here The sketch is tasteful your authored subject matter stylish nonetheless you command get got an edginess over that you wish be delivering the following unwell unquestionably come further formerly again as exactly the same nearly very often inside case you shield this hike
Meu primo me recomendou este site, não tenho certeza se este post foi escrito por ele, pois ninguém mais sabe tão detalhadamente sobre minha dificuldade. Você é maravilhoso, obrigado
My brother suggested I might like this blog He was totally right This post actually made my day You can not imagine simply how much time I had spent for this info Thanks