
साताका उत्कृष्ट झिल्का कविताको २४ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २४ का लागि झिल्काकारत्रय भुषण जंग, विकास क्षेत्री र मन्दिरा सेढाईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
१.
निरन्तर पानी बर्सिरह्यो
शासकले नचिनेको गरिब
सीमान्त जीवन तर्सिरह्यो ।
२.
फूलसँग काँडा हुर्किन्छ
सुन्दरताको मापदण्ड यो
लेखेर व्यर्थ फुर्किन्छ ।
३.
जिन्दगी छैन सस्तो
संघर्षमय यात्रा थाल्नु
शासकको सपना कस्तो ?
✍️ भुषण जंग
[२]
१.
तिमीले दिएको फूल
सजाएको छु मनमा
नबनोस् अन्तमा भूल !
२.
मनको गाँठो खोल्न
चाहिन्छ विश्वासको बाटो
दुषित मनलाई घोल्न ।
३.
गल्ती हजार हुन्छन्
होस हराउँदा यहाँ
आँसुले परेली छुन्छन् ।
✍️ विकास क्षेत्री
[३]
१.
गल्ती औल्याउनु गनेर
भन्न खोजेको होइन
चुप बस्नु भनेर ।
२.
मानिसबाट हुन्छ गल्ती
सक्नुपर्छ महसुस गर्न
बरु रित्तियोस् खल्ती ।
३.
एउटै छ कथा
कसको नजर लाग्यो
नसोच्नू है अन्यथा ।