
साप्ताहिक झिल्का लेखन अभ्यासको २७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
राई माइलाको गाउॅं
कुर्सीमा लडाइॅं भइरहे
उजाड बन्छ ठाउॅं ।
२,
ऊ मुस्कुराउनलाई मुस्कुराउॅंछ
दुनियाँ छ बेमतलब
दु:ख पसिनामा बगाउॅंछ ।
३,
पाएमा अलकत्रा खान्छु
सोचेँ, सित्तैको बेसाहा !
मेहनतले दैनिकी धान्छु ।
- म्यामराज राई
…
१,
गर्नुगर्यो ऎनाले यार
भ्रष्टाचारी खोज्दै थिएँ
देखायो आफ्नै अनुहार !
२,
मिलेर खाउँ पालैपालो
सकेसम्म छिराऔँ सत्तामा
भाइ, भतिजा सालो !
३,
गुन्डागर्दी एउटै नीति
पार्टी झन्डा अलगअलग
भ्रष्टाचारको बस्यो थिति । - वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४ दाङ
…
१,
स्वार्थ बाँडेर पालो
राष्ट्रिय सम्पत्ति सके
खान गर्छन् हातेमालो !
२,
बाढी पहिरोले सताएको
राहत दिनु छैन
मुखले मात्रै बताएको ।
३,
राज्यसत्ता दलाल भयो
आर्थिक उन्नति छैन
ऋण बढेर गयो । - रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
…
१,
गरौँ आफैँले हिम्मत
नजान्दाको परिणामले यहाँ
नहोस् कसैको हबिगत।
२,
आँट गर्दको परिणाम
एकदिन सफल भई
अनि बन्छ काम।
३,
भइन्छ गर्दागर्दै सफल
एक पटक बिग्रिॅंदैमा
नगरौँ है अदलबदल। - अर्जुन प्रसाद चौलागाई, रामेछाप-सुनापति-१
हाल:-अमेरिका, बोस्टन
…
१,
पीडित जनता मरिरहे
छैन सरकारको ध्यान
सत्ताको पिर परिरहे । - वेल थोकर
…
१,
खोज्दा देशको पहरेदार
भाग बाली संसदमा
भेटिए विदेशीको यादगार ।
२,
कता खोज्ने बास
मानिस जता गयो
उतै खोसियो गाँस।
३,
जति भागे पनि
अगाडि ठिङ्ग उभिन्छ
समस्या दर्शक बनी। - सुरेशकुमार पाण्डे दाङ घोराही १८
…
१,
राम्रो हुँदा तानातान
बिग्रियो परिस्थिति अब
ढुङ्गा मुढा हानाहान ।
२,
हुँदाहुँदै बिगार्यौ मति
अब भन कसरी
सुधार्छौ यो गति ? - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न.पा. – ६ संखुवासभा
…
१,
हाम्रा सबै गाउँ
सत्तामा होडबाजी चलिरहे।
उजाड हुनेछन् ठाउँ!
२,
कामको कर्म गर
सानोतिनो भन्दैन कामल।
कर्ममा भर पर।
३,
संसार जाली भएछ
लुटपाट कमिसन खानेलाई!
देशमा ताली गएछ। - बेदु न्यौपाने
…
१,
मेरो प्यारो आदर्श
भुल्न कहाँ सकिन्छ
सम्झिॅंदा मनमा हर्ष ।
२,
सकेसम्म हिम्मत गर
हातमा सीप भएपछि
पर्दैन कसैको भर ।
३,
साउन महिनाको संस्कार
बुझ्नु केही छैन
देखासिखी बन्यो आधार । - लक्ष्मण देउवा डोटी, हाल भारत चेन्नई
…
१,
देश लुट्नेको होडबाजी
कतै छैन सुशासन
उस्तै सबै पाजी।
२,
उठ युवा अब
राष्ट्र बर्वाद भो
राष्ट्र बन्छ तब। - तेजप्रसाद खनाल, लमही दाङ
…
१,
प्रतिभा योग्यता छोडेर
भाइ भतिजा भन्नेलाई
सम्मान हात जोडेर ?
२,
प्रतिभाको गला कस्नेहरू
ह्वास्स काखी गनाउँला
काखीको न्यानोपनमा बस्नेहरू।
३,
घर फर्की आए
उजुरी सुन्ने हाकिम
हिलोमा लतपत पाए । - दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग ,दार्जीलिङ
…
१,
गर्नुछ असल कर्म
इमानदार राष्ट्रसेवक बने
हुनेछ ठुलो धर्म ।
२,
देशमा बिग्रियो थिति
सत्ता आलापालो गर्ने
नेताले बनायो नीति ।
३,
पालोपालो सत्ता चलाऔॅं
जनताले जेसुकै भनून्
कुकर्मको फायल जलाऔॅं । - राज कुमार राजभण्डारी खोटाङ्गे
मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
…
१,
लुट्नसम्म त लुटे
शक्तिको आडमा भएर,
निर्दोष बनी छुटे ।
२,
रजाइँ तिनकै भयो
जसले बदमासी गर्दै,
सत्तामा आज गयो।
३,
थालेका छन लुट्न
अनुहार मात्रै फरक,
सिपालु गफ चुट्न। - शंकर कार्की, मकवानपुर ।
…
१,
घोडाको हिँड्ने चाल
अनौठो लाग्ने सबैलाई
पहाडमा उसको काल।
२,
बाध्नु मायाको डोरी
कस्तो रमाइलो हुन्छ
काली देखिने गोरी। - नवराज भट्ट, कञ्चनपुर
…
१,
तिमीहरू कुर्सी तानातान,
साच्चै भेडा बनायौ
जनतालाई छैन सम्मान ।
२,
भगवान आमा मेरै ,
खायो कि खाएन,
पिर लिन्छिन् धेरै । - भुपेन्द्र राना मगर, धादिङ
…
१,
फुलेपछि फूल झर्नैपर्छ
यी लेन्डुप दोर्जेहरुलाई
देश निकाला गर्नैपर्छ ।
२,
गैरी खेत झरेर
आउन सकिन प्रिय
म बन्धनमा परेर ।
३,
भाँडा राम्रो तामाको
कहिले बिर्सन नसकिने
माया मिठो आमाको । - दीप गोले तामाङ, रौतहट
…
१,
भ्रष्टाचार सबै नेताहरू
कुनै अछुत रहेन
चार दिवालभित्र केटाहरू ।
२,
देश लुट्नेको होडबाजी
चमत्कार देखाउनुपर्छ हेर
प्रथम हुनेभो काजी। - एवाइ प्रभात
सहिदभुमि धनकुटा
…
१
जनतालाई सधैँ पीरमा
फेरबदलको यो राजनीति
कहिले हुन्छ स्थिरमा।
२
जेष्ठ नागरिकले चलाउँदै
देशको हविगत अब
उठ्न नसक्ने थलाउँदै। - सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ
…
१,
नदिने बज्यैले बार्छन्
साँझ पर्यो भनेर
चिम्टालाई चिम्टेले टार्छन् ।
२,
हेरेर मन बुझाउनेहरू
घुटुक्क थुक निलेर
कतिपय हुन्छन् झुक्याउनेहरू।
३,
सावनमा वर्त बर्सेनि
राल चुहाउँदै खानेकुरामा
सिद्धि होला अनि। - दिल ठकुरी दार्जिलिङ
…
१,
हरियो चुरा लाउँला
व्रत बसेर सोमबारको
मन्दिर हामी जाउँला ।
२,
जोगाउन गाह्रो सत्ता
बढी पहिरोमा परेर
जनता छन् बेपत्ता ।
३,
राम्रो नाम कमाऔँ
गुरुहरूको सम्मान गर्दै
गुरु पुर्णिमा मनाऔँ । - अनिता भण्डारी ताप्लेजुङ
…
१,
सङ्कल्पमा प्रभु चयन
कुकर्म गर्दा आफ्नै
साक्षी हुने नयन ।
२,
सुकर्म मानवता धर्म
परिश्रमको फल सुखदायी
कल्याण हिन्दुत्व मर्म ।
३,
दुष्टलाई प्रभुले दमन
मरेर जाने चोलामा
बेकारमा ईर्ष्या जलन । - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
…
१,
भयो सधैं हार
लाग्छ मनमा छटपटी
युद्द गरेछु बेकार।
२,
छैन मनमा शान्त
जान मन लाग्छ
खोजी ठाँउ एकान्त।
३,
बन्नु असल साथी
कोही छैन हजुर
ईश्वरभन्दा त माथि। - काजल न्यौपाने, भोजपुर
…
१,
सत्ताधारीको साझा अभ्यास
राजनैतिक खेल खेल्दाखेल्दै
देशको स्थिति सत्यानास ।
२,
अनुशासनको पद्धति नबसाएसम्म
राज्य चलाउनेहरूको बेथिति
हेर्दाहेर्दै लागिरहेछ अचम्म ।
३,
प्रजातन्त्रवादका खोक्रा नारा
स्वतन्त्र हुँदा निरङ्कुसताबाट
ठगिँदारहेछन् जनता सारा । - गुणनिधि घिमिरे, अमेरिका
…
१,
त्रिशुलीमा पल्टेर गाडी
नेपाली यात्रु बेपत्ता
छामियो नेताको नाडी ।
२,
जनताको स्थिति बेहाल
चालेनन् राम्रो चाल
बुन्छन् षडयन्त्रको जाल ।
३,
दुःखीले गरेर काम
पर्याप्त पाएनन् माम
कमाउँछन अरूले दाम । - डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-१, कुर, अर्घाखाँची
…
१,
मध्यरातमा रुम मिलाए
मुलुक उथलपुथल भएर
कयौँ मानिसहरू बिलाए । - नागेन्द्रप्रसाद यादव , दाङ
…
१,
नगरे बादलले घात
हेर्नेछु आज आनन्दले
मैले जुनेली रात ।
२,
जून हेर्दै टोलाउँछु
सानी तिम्रो सम्झनामा
एकोहोरो मैले बोलाउँछु।
३,
सगैँ जून हेरेको
याद आयो आज
तिमीले अङ्गालोमा बेरेको । - अमृत कोइराला, पोखरा -१८, चंखपुर
…
१,
जिन्दगीमा घाम पानी
प्यारीको छैन यहाँ ,
हेर्नुहोस् नराम्रो बानी ।
२,
आँगनमा सजाए फूलबारी
तिमी मलाई भेट्न ,
आऊ घरी घरी ।
३,
गर्नु होला कर्म
राष्ट्रसेवक नै भएपछि ,
सुरक्षा ठूलो धर्म । - श्रीकृष्ण धामी – बझाङ
…
१,
त्रासित हरिणी सुन्दरी
समाउन सकिन्थ्यो किन
भाला सोझ्याउँछन् कठैबरी !
२,
आत्माको ज्योति चम्केको
मानवका नष्ट हृदयहरू
भाला खुकुरीमा लम्केको।
३,
बुझेनन् सज्जनले समस्त
प्रभातकी किरणमै धब्बा
तर्कवितर्कमा छन् व्यस्त । - घनश्याम पन्त, हरिवन सर्लाही
…
१,
कुकुर बिराला देखेर
आजै होसियार बनौँ
जीवन गाथा लेखेर !
२,
तिमीले लेखेको कलम
खुसीले मन सन्तुष्टि
मलाई भयो मलम !
३,
चौतर्फी गरेर छल
तिम्रो भ्रष्ट मतिले
गाउँघर बनायौ कल ! - आर्त अकुलीन
…
१
परिवर्तनशील हुँदोरहेछ समय,
कस्तो जमना यो
भाग्यो लाज, भय ।
२
सदन पनि कस्तो
डाक बडाबड गर्ने
लिलाम बजार जस्तो ।
३,
गर्नै पर्यो कुरा
माया अनि पिरतिका
बोक्छ कुराको चुरा । - दीपा समभाव, खोटाङ्ग
…
१,
सारो राम्रो भयो
ताला चाबी सबै
चोरको हातमा गयो !
२,
मुखमा ताला लाऊँ
निर्भय भै अब
सबै मिली खाऊँ ! - विवश पारदर्शी, झापा
…
१,
परिश्रम गर्न नसके
फलको आशा नगर्नु
अरूको हेपाइमा नफसे ।
२,
फूलको बासना हुन्छ
पुतलीले रस चुसेर
असल व्यक्ति रुन्छ ।
३,
राजनिती फोहोरी खेल
मैदानमा लड्न सक्दैन
कुर्सीमा सधैंभरि झेल । - अम्बिका अधिकारी, झापा बिर्तामोड
…
१,
बोकेर खोक्रो नारा
सदन भित्र देखाउँछन्
झुटो आश्वासन सारा।
२,
महॅंगीले जनता मर्दैछन्
सरकार सत्तामोहमा परेर
अन्याय धेरै गर्दैछन् ।
३,
नेता सदनमा हल्लिएका
सोझा निमुखा जनता
कर तिर्नमा डल्लिएका। - कला ढकाल झापा
…
१,
पेशा गर्छ चोर
उसैको हुन्छ दिन
कुरा गर्छ सोर !
२,
कोठाभित्रको त्यो राजनिती
बुझ्नै सकेनन् कसैले
कालो धन्दाको रणनीति !
३,
टुक्केको कुरा टुक्कैमा
कुरा गर्छ मुखैले
विकास गर्छ मुक्कैमा ! - धनमाया चौधरी, कैलाली
…
१,
सधैं पीडा हत्तेरी
असार गयो आयो
साउने झरी फेरि!
२,
दाउरा , घाँस, पँधेरो
गर्न गाह्रो बर्खामा
मन हुन्छ अँधेरो! - साबित्री प्याकुरेल, धादिङ
…
१,
यता लापत्तालाई खोज
उता गर्छन् नेताहरू
कुर्सीमा बसेर मोज ।
२,
नराम्रो देशको हाल
एक आपसमा नेताज्यूलाई
कुर्सीमा भयो मालामाल ।
३,
राजनीतिक भो लुट
राजा आऊ देशमा
भ्रष्टाचारीलाई छानेर भुट । - केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम (हाल भारत)
…
१,
मान्छेलाई जितेर भोकले
युगौँ दास बनायो
हैरानी थप्यो शोकले ।
२,
मोबाइल शत्रु बन्यो
आफैंलाई बिर्सेर पो
मान्छेले धरातल खन्यो । - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
हाल- एनेलकुटी, सिरहा ।
…
१,
बाटो अवरुद्ध पहिरोले
जतिसुकै ढ्याङ्ग्रो ठटाउनु
सुन्दै सुन्दैनन् बहिरोले ।
२,
नगर्नु जाती जानाजानी
बर्सातमा खन्याएको बजेट
बेकार बालुवामा पानी ।
३,
हुञ्जेल हेर्यो तमासा
समयले नेटो काटेपछि
हेर्दाहेर्दै पल्ट्यो पासा । - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…
१ ,
पोको खोलेर जोड्नु
धोको पुर्याई सधैँ
मित्रता कहिल्यै नतोड्नु ।
२ ,
जीवन हाम्रो छोटो
सदा हाँस्नु खेल्नु
लगाएर न्यानो भोटो । - हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
…
१,
चिन्ताले मन खायो
श्रावणको भेलपछि अब
भदौरे गर्मी आयो ।
२,
अखण्ड राष्ट्र रही
नेपाली भएको गर्व
हिमाल माथ सही ।
३,
युवाका पाउ अडिए
देशमा सुशासन आउने
विगतका याद भरिए । - भगवती दवाडी ,झापा
…
१,
भयो मेरो हार
दुःखी बने मन
कसरी तर्ने जङ्घार ?
२,
मिठो बोली राम्रो
हेरिरहेको तिमीलाई पनि
कसरी बन्यो चाम्रो ?
३,
संसारमा आएको माया
भुलिदिने तिमी मलाई
बनिरहन्छु तिम्रो छाँया। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
…
१.
झुटको खेती गरेर
के पाउॅंछौ आखिरमा
जान्छौ एकदिन मरेर।
२.
बिग्रेपछि सत्ता समीकरण
जनतालाई गलाको पासो
नेताहरूलाई पोषण भरण। - पुरुषोत्तम फुयाल, खोटाङ
…
१,
अँध्यारोमा प्रकाश छर्ने
गुरु टुकी हुन्
अज्ञानीलाई ज्ञान भर्ने।
२,
धैर्यशाली हुन्छन् गुरु
सहनशीलताका खानी पनि
दिन्छन् ज्ञान खुरुखुरु।
३,
आज्ञा गुरुको मानौँ
माने गुरुको आज्ञा
विद्वान बनिन्छ जानौँ। - सतीश पण्डित, भानु -६, चुँदी तनहूँ
(हाल चनपा – ६ मातातीर्थ)
…
१,
रगत पसिना बगाउँछु
मेहनत गरेर म
आफ्नै पौरखले रमाउँछु।
२,
हातमा मेहदी चुरा
शिवको अर्चना गरेँ
सपना भयो पूरा । - प्रविना प्रयासी ओखलढुंगा
…
१,
मुखले बरबराए भाइ
विपरीत नगर्न भन्दा
रहे मनमौजीमा दाइ ।
२,
हिसाब त मिलाएको
कताबाट चित्त बुझेन
चुहिने गोजी सिलाएको ।
३,
कचकचमा व्यस्त छोरा
भनेको मनमा नराखे
बोक्नुपर्ला भविष्यमा बोरा । - लक्ष्मी रिजाल, कञ्चनरूप-१२, रूपनगर, सप्तरी ।
…
१,
समयले छल गर्यो
गन्तव्यमा पुग्न नपाउँदै
जिन्दगीको आशा मर्यो ।
२,
सत्य यही हो
सहाराबिनाको जिन्दगी हजुर
बाँचेर के भो ?
३,
बचाउको नारा करायो
छोपेर होला कलियुगले
गुरुप्रतिको श्रद्धा हरायो । - त्रिलोचन भण्डारी, मेचीनगर,झापा
…
१,
मान्नु चाड पर्व
मितव्ययी बनी सबैले
सँस्कृतिको गर्नु गर्व।
२,
लगाएर हरियो चुरा
उपवास बसी गरेको
हुन्छ मनोकामना पूरा।
३,
सुरु भयो साउन
नरनारी मिलेर जाऊँ
शिवलिङ्गमा जल चढाउन l - अरुण कुमार भुजेल, गोरुबथान,कालेबुङ,भारत
…
१.
श्रावणका हरिया चुरा
मेहेन्दीले रङ्गिएका हत्केला
नहानियोस् संस्कारमा छुरा।
२.
श्रावण मासका सोमबार
उपसना उनै भोलेको
महिमा जसको अपरम्पार।
३.
शिव मन्दिरमा जल
एकाग्र चित्त भक्त
खोजिन्छ मिठो फल। - तोया नाथ चापागाईं, दमक, झापा, नेपाल
…
१,
सावनको महिना हरियो
परदेश लागेको उनी
यसरी मझधारमा परियो ।
२,
हरियो साडी चुराको
ल्याईदिउला भन्थ्यौ तिमीले
भरोसा लागेन कुराको ।
३,
सन्चै होला कहन्छु
कुशलताको कामना गर्दछु
पीर जतिसुकै सहन्छु । - मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा।
…
१,
गर्दाखेरि कर्तव्य वहन
गरिन्छ यो देशमा
देशभक्तको पुत्ला दहन l
२,
सरकार हुँदा थपना
अरथी उठ्यो न्यायको
ब्रह्मलीन भए सपना l
३,
सतीले सरापेको देशमा
विधिसम्मत गर्न खोजे
फसाइन्छ जघन्य केसमा l - बाबुराम गौतम, गुल्मी
…
१,
हरियालीले पाखा छायो ।
किसान खोज्दै खोरियामा
मजाले फलफूल खायो ।
२,
हिलाम्मे सडक छाडेर ।
ठेकेदार पस्यो नगरमा
रातो झण्डा गाडेर ।
३,
आषाढमा वजेट रित्तियो
बाटोघाटो कमसल बनाइ।
योजनाको काम सिद्धियो । - हिरालाल न्यौपाने ,बानपा ८ काेटमाैला, सल्यान
…
१,
नहिॅंड्नु कुबाटो रोजेर
समय नै ढल्किएपछि
पाइन्न इज्जत खोजेर! - मन्दिरा सेढाई, मलेखु, धादिङ
…
१,
दर्कियो पानी सानू
असारे झरी यो
चुहिएला कि छानु। - शोभा आचार्य गौतम, काठमाडौँ
…
१,
नझुकेर फलेको हाँगो
कहाँ भेटिन्छ भन
जिन्दगी औषधी हो ।
२,
बटुलेर जिन्दगीलाई संसारमा
हिॅंड्ने आदत बसाउॅंदैछु
सबैको सामु सवारमा।
३,
सम्झेर आफ्नै यार
शिर निहुराएर बारम्बार
झुक्याएर आफ्नै अनुहार । - ईश्वर साउद (भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
…
१,
फूल फुल्यो बारीमा
नारी चट्टै सुहाँउछिन्
लगाउँदा रातो सारीमा ।
२,
देशै भष्ट्राचारको थलो
राजनीति मात्र खेल्ने
नेता गर्दैन भलो।
३,
निर्दोष फसाउने जाल
नेताहरूले नै बुनेपछि
हुन्छ देशको बेहाल । - मन्जु बोहरा, सुदुरपश्चिम बझाङ
…
१,
सत्तामा गए पुराना
लछार पाटो लाउॅंदैनन्
गरिबको उस्तै छाना ।
२,
बाढी, पहिरो गएर
दु:ख पाए जनताले
जोखिम पूर्ण भएर । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
…
१
देशमा हुनुपर्छ शान्ति
रिस ईर्ष्या क्रोधले
हट्छ मनको कान्ति ।
२
चिताले मरेकोलाई जलाउँछ
भन्छन् चिन्ताले जिउँदोलाई
रोगव्याधले मान्छेलाई ढलाउँछ ।
३
हुनुहुन्न मान्छे चाम्रो
असल कुरा सिक्नलाई
देखासिकी गरे राम्रो । - जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक २
बालकोट ,भक्तपुर)
…
१,
भरिॅंदा मनमा अहङ्कार
नोक्सान हुन्छ आफ्नै,
भोग्नुपर्छ जहिल्यै हार ।
२,
रिसले आफैँलाई खान्छ
जान्दछ सम्मान जसले
उसैको पहिचान लान्छ ।
३,
रिस ठूलो रोग
जाग्छ हरपल मनमा
बदला लिने भोग । - सीमा कार्की समर्पण, मेलचोक पर्सा
…
१,
गणतन्त्र भनी खोक्छौ
आफ्नाको गल्तीमा पनि
फेरि आफैँ बोक्छौ । - प्रेम थापा “मन”बागलुङ
…
१,
कविता फलेन कविहरू,
फलाउने उपाय खोज्दा,
बिगारे कविका छविहरू ।
२,
रहरमा शहर पस्ने,
फसेर कुलतमा भरे,
उपाय सुधारशालामा बस्ने।
३,
विनाअभ्यास केही नखोज
गन्तव्य छिचोल्न गाह्रो
सहज पदमार्ग रोज । - मनोहरी पौडेल, गैँडाकोट १
…
१,
मेरो गाउँ नागबेली
रहस्यमय जीवन बित्यो
पुरानो शैलीमा नखेली।
२,
दिनमा कोदाली खनेर
आमाले खाजा दिनुहुन्थ्यो
छोरी भोकाई भनेर ।
३,
आनन्द उही आउँछ
मेरो प्यारो जन्मभूमि
सधैँ माया लाउँछ । - ललिता गिरी, सिन्धुली (हाल काठमाडौँ, नेपाल)
…
१,
गुरु पूर्णिमामा आयो
गुरुलाई आदरको ओइरो,
जीवन सार्थक लाग्यो।
२,
दिवसको जस्तै दिन
हरेक दिन भइदिए,
वृद्धहरू रुन्थे किन ? - सुस्मिता अधिकारी, काठमाडौँ
::::::::जय झिल्का साहित्य ! ::::::::::


I do believe all the ideas youve presented for your post They are really convincing and will certainly work Nonetheless the posts are too short for novices May just you please lengthen them a little from subsequent time Thanks for the post
I just could not depart your web site prior to suggesting that I really loved the usual info an individual supply in your visitors Is gonna be back regularly to check up on new posts
Fantastic site Lots of helpful information here I am sending it to some friends ans additionally sharing in delicious And of course thanks for your effort
I was recommended this website by my cousin I am not sure whether this post is written by him as nobody else know such detailed about my difficulty You are wonderful Thanks
I loved as much as youll receive carried out right here The sketch is attractive your authored material stylish nonetheless you command get bought an nervousness over that you wish be delivering the following unwell unquestionably come more formerly again as exactly the same nearly a lot often inside case you shield this hike