साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २६ सम्पन्न

  • २ श्रावण २०८१, बुधबार ०६:३५ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    ………
    १,
    बाढी, पहिरोको जोखिम
    दैनन्दिन बढ्यो जताततै
    जमाना बन्यो कृत्रिम ।
    २,
    वृक्षारोपणमा जोड दिऔॅं
    बन्छ वातावरण हराभरा
    स्वच्छ अक्सिजन लिऔॅं ।
    ३,
    समात्छ जराले माटो
    तब भूक्षय रोकिन्छ,
    दीर्घायुको सुन्दर बाटो ।

    • म्यामराज राई, भोजपुर

      १//
      बाढी, पहिरोको त्रास
      निर्मम बन्यो प्रकृति
      दैनिक छिन्दैछ सास !
      २//
      गल्ती गर्‍यौँ जानाजानी
      सुतेको बाघ चलाएर
      किन सहन्थ्यो छेडखानी ?
      ३//
      गर्दा जङ्गलको विनाश
      निम्तियो हेर विपत्ति
      पाइलैपिच्छे छ त्रास !
    • वसन्त अनुभव
      घोराही, दाङ

      १,
      गन्तव्य ताकेको बस
      सुनेँ त्रिशुलीले डुबायो
      कसलाई दिऊॅं अपजस ?
    • सुनगाभा पोखरेल, हाल : नेपालगन्ज


      गतिविधिले हैरान जनायो
      बर्षा भेलबाढी प्रकृतिप्रकोप
      कतिपयलाई बिजोग बनायो ।

      कतै दुर्घटना बसको
      बाढी पहिरो बर्षाद
      दैवीप्रकोप हो कस्तो ।
    • गुणनिधि घिमिरे अमेरिका

      १.
      बाढी पहिरोको भय
      निर्मम बनाउॅंदा प्रकृतिलाई
      कसको होला जय?
      २.
      जङ्गलको विनाश गर्दा
      थाहा हुँदैछ सबैलाई
      पानी नपाई मर्दा।
      ३.
      लगाई बिरुवा डाँडापखेरामा
      स्वच्छ अक्सिजन पाएर
      अझै बाँच्छिन् हजुरआमा।
    • अर्जुन प्रसाद चौलागाई
      रामेछापः-सुनापति-१ (हालः-अमेरिका,बोस्टन)

      १//
      बाढीले ज्यान लग्यो
      सरकारको ध्यान नपुगेर
      कति नदीमा बग्यो ।
      २//
      बाढी पहिरोमा परेर
      देशको हालत यस्तो
      जानुपर्ने अकालमा मरेर ।
      ३//
      पहिरोले किचेर मरे
      अझै थाहा छैन
      त्यहाँ कति परे ।
    • लक्ष्मण देउवा डोटी
      हाल भारत चेन्नई

      १//
      गन्ती छैन मर्नेको
      अब यकिन हुनुपर्‍यो
      बाढी पहिरोमा पर्नेको ।
      २//
      सबैले वृक्षारोपण गरौँ
      आफू बस्ने वरिपरि
      सब हरियालीले भरौँ ।
      ३//
      अकालमा मर्नु पर्दैन
      आफ्नो सुरक्षा गरौँ
      कसैले केही गर्दैन ।
    • ललिता गिरी सिन्धुली
      हाल काठमाडौं नेपाल


      उत्खनन् हुन्छ मनपरी
      जान्छ पहिरो सधैँ
      मर्छन् निर्दोष सधैँभरि।

      असार सहुने झरी
      लाग्छ देश विदेश
      बसौँ सफर नगरी।

      बन्छन् बिग्रिन्छ सरकार
      वर्षे झरी जस्तो
      चलेछ नेताको व्यापार।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८


      परेन भन्थ्यौँ पानी
      पर्‍यो घनघोरले दर्केर
      असन्तोष मान्छेको बानी।

      तनहुँ रम्घामा जन्मिए
      पाए घाँसिबाट शिक्षा
      भानुभक्तका कृतिहरू अन्मिए।

      रामायणको लेखनमा छवि
      नेपालीमा अनुवाद गरेर
      भए भानुभक्त आदिकवि ।
    • चुडामणी देबकोटा
      पुरानोनैकाप काठमाण्डौ

      (१)
      रामायणले जोडेको घर
      आज जोगाई नराखे
      हराई जाने डर।
      (२)
      श्लोक भानुको पढ्नु
      भानु जस्तै मनमा
      घाँसीको अर्ती गढ्नु।
      (३)
      गर्न जानिएन व्यापार
      लुकामारी खेल्दै बस्यो
      लक्ष्मी र साहित्यकार।
    • दिवाकर चाम्लिङ्ग राई
      खर्साङ्ग, दार्जीलिङ।

      १)
      सुहाउँदैन कुबेलाको राग
      दर्शक न स्रोताको
      भइन्छ कुहेको साग ।
      २)
      स्याल शहर पस्यो
      कुखुरा कतै भेटेन
      आफैँ नालीमा फस्यो।
      ३)
      सरकार बन्यो पिनास
      जनताको टाउको दुखाइ
      बाढी, पैरोको विनाश ।
    • ऋजु दिल्पाली ईटहरी १ सुनसरी

      १,
      लाग्छ तिमीलाई पहिरो
      सारा परिवार पुरेको
      चोट छ गहिरो ।
      २,
      मनले खै मान्दैन
      कसैमाथि दुःख नपरोस्
      विपदले खै जान्दैन ।
      ३,
      साथी यस्तो भैदियोस्
      हरेक दुःख सुखमा
      सधैँ सधैँ सम्झिरहोस् ।
    • दीप गोले तामाङ
      चन्द्रपुर-१, पौराई ,रौतहट

      १.
      बाटोघाटोको भयो नाश
      आयो जताततै पहिरो
      मान्छेको मनभित्र त्रास।
      २.
      पुरानो सरकार ढल्यो
      नयाँ समीकरण बन्छ
      मन्त्रीको हल्ला चल्यो।
      ३.
      मन्त्रालय राम्रो खोज्दछन्
      मौका हमेशा नआउने
      मालदार ठाउँ रोज्दछन्
    • नवराज भट्ट
      कञ्चनपुर


      नदीमा उर्लेर जल
      गाउँघर दुनियाँ सारा
      आखिर पीडाको फल !

      यो कस्तो समय
      प्रकोप निम्त्याएर उसले
      किन गरायो क्षय ?

      भुलेर सारा कर्म
      कलियुगे मानिस तिमी
      देखिएन कुनै धर्म !
    • आर्त अकुलीन

      १,
      सत्ताको लागि लुछाचुँडी
      कसको पर्ने पासामा
      अघाउने भो भुँडी।
      २,
      विपद्ले मरेको हेरेन
      पक्ष विपक्षमा सरकार
      जनताले भनेको टेरेन।
    • एवाइ प्रभात
      सहिदभुमि धनकुटा

      १,
      सबैको मनमा त्रास
      झरीले छिनभरमै ल्याएँ
      एकपटकमा लियो सास।
      २,
      कति परेको पानी
      चारैतिरबाट भयो कालो
      कस्तो छ बानी।
    • नीमा छिरिङ भोटिया
      जलढका कालेबुङ, भारत

      १.
      साहित्य आकाशको रवि
      तनहुँमा जन्म लिए
      भानुभक्त हाम्रा आदिकवि।
      २.
      सुनेर घाँसीको नालीबेली
      जन जनमा पुर्याए
      सरल रामायण ठेली।
    • बिके मुखिया
      दार्जीलिङ,भारत।

      १,
      पूजा गरौँ मनको
      सद्भावको एकता ल्याउने
      सभ्यता हो नेपालीपनको ।
    • प्रेम थापा “मन”बागलुङ

      १,
      पानीले हैरान बनायो
      जताततै भेलबाढी पसेर
      खतराको सङ्केत जनायो ।
      २,
      बाटो जताततै खनाए
      दिर्घकालिन केही नसोची
      पहिरो जाने बनाए।
      ३,
      उर्लिएर आएको भेल
      सदनभित्र भन्छन् भन्नलाई
      भइरहेछ सत्ताको खेल ।
    • कला ढकाल झापा

      १//
      बाढी पहिरोले सतायो
      घोर वर्षातको समयमा
      ज्यान जोखिममा बतायो!
      २//
      रुने चाहिँ स्याल
      सिकार चितुवाको मुखमा
      जिन्दगी पारेर च्यालब्याल!
      ३//
      सुनमा घुन लागेछ
      भ्रष्टाचारी फैलेर जताततै
      जोस जाँगर भागेछ!
    • अच्युत घिमिरे, सर्पाङ, भुटान

      १,
      वर्षामा नदी गहिरो
      बिचार गरेर हिँड्नु
      जताततै छ पहिरो
      —- नागेन्द्रप्रसाद यादव

      १.
      बाढी आएर त्रास
      प्रकृतिला्ई सलाम गरी
      यसैमा खोजौँ आस ।
      २.
      लगाउँछ सरकार कर
      बाढी, पहिरो आई
      बगाओस्, राखोस् घर ।
      ३.
      बिहे गर्दै भोज
      असार, साउने झरीमा
      सङ्कटमै गर मोज ।
    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर
      हाल- एनेलकुटी, सिरहा ।

      १.
      कतै बाढी पहिरो
      प्राकृतिक प्रकोपले अचेल
      चोट पुर्‍यायो गहिरो ।
      २.
      अब मास्नभन्दा बढी
      बिरुवा रोप्ने गरौँ
      काममा नभएर घटी ।
      ३.
      जन धनको नास
      खबर सुन्दापनि साथी
      मनमा डर त्रास।
    • पृथक प्रकृति

      १.
      नेपालको साहित्य आकाशमा
      भानुभक्तले गरेको योगदान
      महत्त्वपूर्ण छ खासमा ।
      २.
      नेपाली भाषाको क्षेत्रमा
      एकताको प्रारूप खडा
      गरे नेपालीजनको नेत्रमा ।
      ३.
      देश जनतालाई जोड्ने
      राम्रो माध्यम साहित्यतर्फ
      ध्यान सबैको मोड्ने ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल
      सन्धिखर्क-२, कुर, अर्घाखाँची

      १.
      फुलेका छन् फूलबारी
      बारीसँगै छ मनमा ,
      आयो सधैँ जिम्मेवारी ।
      २.
      भेटिन्छ मायाको खानी
      आउनुहोस् तिमी छिटै ,
      कहाँ छौ नानी ?
      ३.
      हार जितेको खेल
      तनाव बनायो मानवलाई,
      बाढी पहिरोको भेल।
    • श्रीकृष्ण धामी – बझाङ

      १/
      जङ्गल विनाश नगरौँ
      बर्खा बिपत्ति निम्त्याउँछ
      मनमा ध्यान भरौँ ।
      २/
      नदीनाला बढेर आयो
      बाढी पहिरोमा जनधनको
      क्षति मृत्युले धायो
    • बेदु न्यौपाने


      असल साहित्यका छवि
      नेपालका महान सपुत
      हुन् भानुभक्त आदिकवि ।

      अफ्नो क्षमतामा टिक्नुपर्छ
      भानुभक्त आचर्य बाट
      केही हामीले सिक्नुपर्छ ।

      धेरै गरे प्रचार
      ठूलो योगदान दिएर
      भानुभक्त बने साहित्यकार ।
    • अनिता भण्डारी ताप्लेजुङ

      १//
      आत्तिएको सम्झना पल
      महिमा गाउँमा सदा
      पहिरो वर्षा जल
      २//
      आँखाको नानी अल्मलियो
      चारैतिर विनाशै विनाश
      वर्षाको पीडा बल्झियो ।
      ३//
      सङ्घर्षमा पौडनु पर्ने
      दुःखै दुःखमा हराए
      सुखको खोजीमा झर्ने ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड

      १:
      जिन्दगी बनाउन गाह्रो
      बगाउने ठेगान छैन,
      वर्षामा नेपालीलाई साह्रो।
      २:
      घुमेर आउने कालमा,
      सुध्रेन स्थिति हाम्रो ,
      फसियो कुटनैतिक चालमा।
      ३:
      नेपाल धर्तीको स्वर्ग ,
      बनाए अख्तियार पाउनेले ,
      झगडै झगडाको नर्क।
    • मनोहरी पौडेल
      गैडाकोट १


      सरकार ढल्यो फेरि
      बनाउँछन् नयाँ सरकार
      आलोपालो मौका हेरी ।

      गाउँ विपत्तिमा परेको
      सरकारलाई मतलब छैन
      अकालमा जनता मरेको ।
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे।

      १,
      छायाँमा हरायो जीवन
      सिंहदरबारमा बसि नेता
      कर्णालीको काट्छन् रिबन ।
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरी

      १.
      आउँछ बाढी पहिरो
      ज्यान जोखिममा पर्दा
      पिर पर्यो गहिरो।
      २.
      हुँदैन विपतको भर
      मरिन्छ भनेर सबैको
      मनमा भयो डर।
      ३.
      आउँछ उर्लेर खोला
      रमाउने ठाउँ छैन
      मरी जाने चोला।
    • काजल न्यापाने, भोजपुर

      १.
      बाटो पहिरोलाई ठिक्क
      छिन्छिनमा सरकार फेर्दा
      जनतालाई सार्है दिक्क ।
      २.
      नेताहरूको यहाँ चुरिफुरी
      छोटेराजा पाल्दा भयो
      जनताको सम्पत्ति सिरिखुरि ।
      ३.
      पुरानो सरकार ढल्यो
      मन्त्री बन्नेको होडबाजी
      आपसमै विवाद चल्यो ।
    • दुर्गा भट्टराई
      मोरङ

      १.
      बाउसे रोपार आएका
      सम्म्याउँदै रोप्दै रमाउँदै
      असारे भाका गाएका ।
      २.
      बाढी पहिरो जताततै
      गाउँ शहर आकुलव्याकुल
      सुखशान्ति छैन कतै ।
      ३.
      विपत्ति आउँछ बर्सातमा
      पूर्वतयारी व्यवस्थापन नभए
      होसियार हुनु दिनरातमा ।
    • कृष्णकुमार वैद्य
      बनेपा ९, काभ्रे

      १,
      नहिड्नु हजुर जथाभावी
      नगर्नु यात्रा टाढाको
      बर्सात नबनोस् हावि
    • शशीश्री आचार्य
      बौद्ध कुमारीगाल काठमाडौं

      १ ,
      बाढीले बस्ती बगायो
      तमासे नबनौँ आसेपासे
      दैवले अती रुवायो ।
      २ ,
      भाग्यको खेल भनौँ
      ठुलो चोट दिलायो
      प्रकृती झेली हौ ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार

      १,
      भानुभक्त नेपालका आदिकवि
      संस्कृतको अनुवाद गरेर
      रामायणमा छोडेका छवि
    • भगवती दवाडी ,झापा

      १,
      आउ बर्सातको झरी
      लैजाउ बढारेर सबै
      विकृति विसङ्गतिको परी ।
    • ताराप्रसाद चापागाईँ

      १.
      डुबानमा छ बस्ती
      यस्तै यस्तै समाचार
      आज,हिजो, अस्ति!
      २.
      धेरै घर जोखिममा
      बाढी, पहिरोले गर्दा
      जीवन भो कठिनमा!
    • साबित्री प्याकुरेल,धादिङ्

      १)
      थामिएको छैन् पानी
      मधेस तराई पहाड़
      जताततै पुर्यायो हानी।
      २)
      प्रकृतिसँग खेलाँची गरे
      प्राकृतिक प्रकोपको मारमा
      आज धेरैजसो परे ।
      ३)
      संरक्षणको कुरा छैन
      अब प्रकृति रिसायो
      मनाएर हुने हैन।
    • अरुण कुमार भुजेल
      गोरूबथान,कालेबुङ,भारत।

      १,
      कस्तो विपत्ति आयो।
      लिएर यात्रुको ज्यान
      परिवारमा रुवाबासी छायो।।
    • वेल थोकर

      १,
      कारागारमा बसी कुनामा
      रामायण अनुवादमा पोख्त
      भानु परेथे थुनामा ।
      २,
      घाँसीको जस्तो मन
      इनार खन्ने जमर्कोले
      उँभो लागेन जन ।
      ३,
      परिचायकविना श्रष्टा अधुरो
      मोतिराम नभएको भए
      भानुको जीवनी मधुरो
    • मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा

      १,
      बाढी पहिरो थामियोस्
      जनधनको होओस् सुरक्षा
      आफ्नो पारामा बाँचियोस् ।
      २,
      भगवान्सँग गरिन्छ कामना
      हामी सबैको होस्
      सुख शान्त भावना ।
      ३,
      साक्षी राखेर भगवान्
      दैव भरोसा वर्षाको
      बनेर आफैँ बलवान् ।
    • मनुहाङ किराँती साेलु (युमन खालिङ)
      साेलुखुम्बु ,महाकुलुङ ५ चाचालुङ

      क/
      उभ्याएर भाषाको आधारशीला
      साहित्यको उत्थान गर्दागर्दै
      सकियो भानुको इहलीला l
      ख/
      नेपाली भाषाका संस्थापक
      बनेर भानुभक्त आचार्यले
      पारे साहित्यलाई चकाचक l
      ग/
      पोखेर अन्तर्मनको भावना
      मनाऊँ भानु जयन्ती
      अर्पिदै सम्पूर्णमा शुभकामना l
    • बाबुराम गौतम, गुल्मी


      रुँदै गयो अस्ति
      हेर्नुस् अर्को आएको
      गर्न फेरि मस्ती ।

      जनताको चुल्हो बलेन
      भाउबेसाहा भयो अचकाली
      निर्दयी सरकार गलेन ।

      नाटकका पात्र फेरिएको
      जनतालाई ऋण बोकाएर
      स्वार्थकामा सत्तामा बेरिएको ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे

      १,
      आयो असाध्यै पानी
      खेत तिर्खाएको हुनाले
      मान्न थालेँ रानी ।
    • लक्ष्मी रिजाल, रुपनगर, सप्तरी


      साहित्यमा दियो बालेर
      मौलिकता आए बोक्दै
      शब्दात्मक विभेद फालेर।

      साहित्यमा बनेर आसा
      रामायण नेपालीमा लेख्दै
      अमर बनाए भाषा।
    • सङ्गीता खरेल
      चन्द्रागिरी ८ काठमाडौं

      १,
      ढल्यो सरकार हेर
      भ्रष्टाचारी पक्राउ नगर्दै
      नयाँ मन्त्रीमण्डल फेर ।
      २,
      कालो चस्मा लाउनेले
      नक्कल पार्दै हेर्दैछिन्
      पछि पछि आउनेले ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
      कनकाई ४ झापा


      उर्लियो वर्षादको भेल
      यात्रा कठिन भो
      निश्चित गन्तव्यमा नपुगुन्जेल,
    • भुपेन्द्र राना मगर
      धादिङ

      १.
      कस्तो समय आयो
      लगाएको बाली जति
      बाढी पहिरोले खायो ।
      २.
      नेपाल कृषिप्रधान देश
      बाँझो खेतबारी खनौँ
      हुन्छ राम्रो परिवेश ।
      ३.
      मिलिजुली वृक्षारोपण गरौँ
      बाढी पहिरो जान्न
      सबै लागि परौँ ।
    • अनिता कार्की
      पाँचथर

      १.
      रेल चल्छ सहरमा
      बाटो बनेन गाउँमा
      जीवन बित्छ कहरमा ।
      २.
      सुरक्षित छैन बाटो
      गन्तव्यमा पुग्नै गाह्रो
      बगाएर लग्यो माटो‌।

      बाढीपहिरो पीडितको नाममा
      सङ्कलन गर्छन् राहत
      गर्दैनन् सदुपयोग काममा ।
    • पद्मा काश्यप पाण्डे, मोरङ

      १,
      भयो मन सानो
      धनी भए म
      ठुलो घरको छानो।
    • धनुष न्यौपाने “यात्री”, जुम्ला

      १,
      चम्काउॅंछ संसारलाई रवि
      साहित्य क्षेत्र चम्काउनु
      जस्तै बनेर आदिकवि।
    • रमेस प्रसाद पन्त
      पाटन बैतडी

      १,
      हुनुपर्छ आत्मा पवित्र
      सम्बन्ध अमर बनाऊ
      दिगो हुन्छ मित्र ।
      २,
      बिम्बले याद गराउँछ
      पल्टाउॅंदा स्मृतिका पाना ,
      आँखामा अश्रु आउँछ ।
      ३,
      छलमा हुन्छ चोरी
      कहिल्यै पनि टुक्रॅंदैन
      मनले गाँसेको डोरी ।
    • सीमा कार्की समर्पण
      मेलचोक पर्सा

      १)
      प्रकृतिको खेल यस्तै
      कसलाई गुहारूँ अब
      झरिबर्सा पीडा प्रशस्तै ।
      २)
      बोली र वचन
      मात्र हुन मलम
      सम्झेर त्यो बचपन ।
      ३)
      आशा, भरोसा सकिन्छ
      जब मनको दीपमा
      बाढी, पहिरो ओर्लिन्छ ।
    • ईश्वर साउद (भिक्षु)
      रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम


      गाँउका घरमै बाटो
      नसोची पहाड खनेर ,
      कमजोर बन्यो माटो।

      वृक्ष काट्न जान्दछन्
      रोपणमा बिरलै ध्यान ,
      गल्ति कहिले मान्दछन्।

      झस्काउन आउँछ पहिरो
      हुन्छ अनगिन्ती क्षति ,
      सरकारमा पदकै धुइरो।
    • सुस्मिता अधिकारी ,काठमाडौँ

      १,
      नहुनु खुसी आएकोमा
      चङ्गुलभित्रै सबै हामी
      बिस्मात नराख गएकोमा ।
      २,
      प्रेमिका हुनेछन् पुरानै
      पकाई पोली खानेछन्
      भान्सा पाक्छ गफै ।
      ३,
      जब तख्ता पल्टिँदैन
      विश्वास राखेका जनताले
      नेपालीको दु:ख सल्टिँदैन
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      ::::::::जय झिल्का साहित्य ! ::::::::::

    One thought on “साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २६ सम्पन्न

    1. Usually I do not read article on blogs however I would like to say that this writeup very compelled me to take a look at and do it Your writing style has been amazed me Thank you very nice article

    Leave a Reply