
साप्ताहिक झिल्का लेखन अभ्यासको २५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
—++—

…
१,
मैझारो रोपाइॅं सकियो
असारे भाका समाउॅंदै
बेठीमा रमाइलो गरियो ।
२,
देख्नेको बुजो लागेपछि
छन् सारा अबोला
सत्यले असत्यलाई समातेपछि ।
३,
सोध्छ्यौ, माया नकिन्ने ?
बिक्रीवितरण हुन्छ र !
मौकामा प्रेम चिन्ने ।
- म्यामराज राई, भोजपुर
…
१,
असारमा धान रोपियो
हातमा बीउ लिएर
आकासे भेल छोपियो ।
२,
हिलोमा गोरु जोतौँ
असारे गीत गाएर
धानको बीउ रोपौँ ।
३,
असारे रोपाइँ घन्कियो
खेतमा बेठी लाएर
रोपाइँ मैजारो थन्कियो । - बेदु न्यौपाने
…
१,
सङ्घर्ष हो जीवन
किन हार मान्ने
आत्मबल ठुलो धन।
२,
सुखदुःख जीवनको पाटो
हारेर होइन डटेरै
हिॅंडेर साहसको बाटो।
३,
युद्ध बुझ्नु जीवन
हारलाई आफूले हराउनु
खुसी बनाउने मन। - सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौं
…
१,
रोपाइॅं कतै सकिएको
छुटफुट मात्र पानी
छैन प्रकृतिले दिएको।
२,
प्रकृतिले दिएन किन?
विनाश भयो धेरै
कसरी सकिन्छ लिन ?
३,
जीवन सङ्घर्ष रहेछ
टाले पनि देखिने
व्यर्थै वेदना पोखिएछ। - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
…
१,
पहिलेदेखि पछाडि पर्यो
काम लिनु रहेछ
उसैमाथि घात गर्यो ।
२,
छिमेकी पराईलाई हँसायौ
धोखा दियौ तिमीले
मलाई जालमा फसायौ।
३,
जीवनभरि सिकियो पाठ
बगलीमा प्वाल परेपछि
मनदेखि लाग्यो उराठ । - चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
…
१,
रोपाइँ सिमसिमे पानीले
असारे गीत गाएर
कान्छीको जिस्किने बानीले ।
२,
जगेर्ना भयो खासाको
साहित्य झिल्का लेखेर
उत्थान नेपाली भाषाको ।
३,
भएको वर्षा समयमा
किसान कर्ममा जुटेर
रोपाइँ गर्दै चयनमा । - भगवती दवाडी ,झापा
…
१,
वर्षातको उर्लँदो भेल
जस्तै कहिल्यै नसकिने
जीवनमा अचम्मको खेल।
२,
अधिकांश रोपाइँ सकियो
पहिरो डुबानको डरले
अचेल मन बहकियो ।
३,
पानी ठूलो परेको
दैवको लिला अचम्मको
अचेल के गरेको ? - लक्ष्मण देउवा, डोटी
…
१,
रोपे धान मिलेर
फल्छ मानोको मुरी
पसिना माटोमा सिन्चेर ।
२,
आफ्नो खेत नबारी
काम खोज्न जानुछ
सधैँ सिमाना पारि ।
३,
छैन सरकार गतिलो
रगत पोखे सहिदले
भएन भनेको जस्तो। - सुरेशकुमार पाण्डे दाङ घोराही १८
…
१,
एक्काइसौँ शताब्दीको विकास
द्रुततर गतिमा बढिरहेको
पाएन देशले निकास ।
२,
विश्व बढिरहेछ अगाडि
कुर्सी खोसाखोस गर्दागर्दै
देश पुगेछ पछाडि ।
३,
हाम्रै पालामा देखियो
राजनीतिक गडबडीका इतिहासहरू
त्यसैले व्यङ्ग्य लेखियो । - गुणनिधि घिमिरे, अमेरिका
…
१,
सिमसिम पानी परेको
असारे गीत गाउँदै
बीउ खेतमा छरेको।
२,
चुनौतीको सामना गरेको
पुर्वमा डुबान भएर
हिजो झण्डै मरेको ।
३,
सदनको लडाइँ हेरियो
देखियो नेताको खिचातानी
रातारात सत्ता फेरियो । - कला ढकाल, झापा
…
१,
लगाउँछन् फाटेको चोली
दिनभरि पसिनाले भिज्छ
कस्तो नम्र बोली ।
२,
फूल फुलेपछि झर्नुपर्छ
यो शाश्वत नियम
हामी एकदिन मर्नुपर्छ । - दीप गोले तामाङ, रौतहट
…
१,
अभियान छ राम्रो
लेखौँ साप्ताहिक झिल्का
ज्ञान बढ्छ हाम्रो ।
२,
विनाश भयो कति
बाढी, पहिरो आएर
जनधनको भयो क्षति ।
३,
सुरक्षित बस्न भनौँ
छरौँ ज्ञानको ज्योति
हामी सचेत बनौँ । - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
बाध्यताले बिरानो बनायो
बहाना बरै ! बुझेन
बेमतलब बात बढायो।
२,
फक्रेर फेरी फुलेन
फसेर फटाको फन्दामा
फूलमाया फेरि फर्केन ।
३,
मुस्कानले मन मातिन्छ
मोहनी मादक मौसममा
मुटुभित्र माया मौलिन्छ । - दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ
…
१,
भरपर्दो सरकार भएन
देशी विदेशी चलखेलले
जनताको दु:ख गएन।
२,
सिमसिम पानी परेको
बेँसीमा धान रोप्न
रोपाहार बाउसे झरेको ।
३,
यादले सतायो धेरै
सिन्दुर पोते लिएर
हुन आऊ मेरै । - राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी भक्तपुर
…
१,
असार पनि सकियो
धान रोपेर हतारमा
आराम गर्न बसियो।
२,
मरिहत्ते गरे जहिले
मायामा सधैँ तिमी
रोपाइँमा आऊ अहिले।
३,
एक्काइसौँ शताब्दीमा विकास
खेतीयोग्य जमिन प्लाटिङमा
कहाँ हुन्छ निकास ? - एवाइ प्रभात, सहिदभुमि धनकुटा
…
१,
हरेक ठाउँ चलखेल
बाहिरी देखावटी तिक्तता,
भित्रभित्रै हुँदोरहेछ मेल।
२,
कहिले हुन्छ विकास
भएन परिवर्तन सोचमा
मिलेमतोमा बजेट निकास।
३,
भएन यस्तो गराएको
जन्म किन दियौ ?
मान्छे बुद्धि हराएको। - शंकर कार्की, मकवानपुर
…
१,
असारमा पानी परेछ
आकाश बादल नलागी
तप्प असिना झरेछ ।
२,
भिरपाखामा पहिरो झर्यो
मार्यो खोलानाला बाढीले
बिचल्लीमा गरिव पर्यो ।
३,
तिम्रो कहानी सुनेर
मुटुमा घाउ लाग्यो
आफन्तले जाल बुनेर । - अम्बिका अधिकरी, झापा बिर्तामोड
…
१,
सिमसिमे पर्यो पानी
असार मास भिज्दै
बित्दैछ यो जिन्दगानी ।
२,
गाएर असारे गीत
रोपेर धान खेतमा
लगाए मायालु प्रीत । - कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा
…
१,
सहेर घाम, पानी
हाँसखेल गर्दा राम्रो
बितोस् यो जिन्दगानी।
२,
आलस्य सबैले त्यागौँ
स्वदेश समृद्ध बनाउन
हातेमालो गरेर लागौँ ।
३,
रोपे ढुकुटी भर्छ
खेत बाँझो राख्नाले
मङ्सिरमा आँसु झर्छ। - बिके मुखिया, दार्जीलिङ,भारत
…
१,
घाम अनि पानी
माटो गलेर धेरै
गर्छ पहिरो जानी ।
२,
राती पर्यो वर्षा
पानी बढी आएर
चिर्यो घरको कर्रा ।
३,
घरमाथि उभेको रुख
ढल्छ कि भनेर
मनमा हुन्छ दुख । - डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
…
१,
असारे माया हिलो
सम्मान गरौँ सबैले
किसानी पेशा गतिलो । - प्रेम थापा “मन”बागलुङ
…
१,
भयो लगातार वृष्टि ,
भगवान्को पनि छैन
सबैमा समान दृष्टि ।
२,
अर्काकै बैशाखी टेकेर
हिॅंड्ने गर्छ मान्छे
जीवन अजम्बरी देखेर।
३,
रहर हुँदैनन् पूरा
भन्न नमिल्ने पनि
हुँदारहेछन् धेरै कुरा - दीपा गुरुङ्ग (समभाव), खोटाङ्ग
…
१,
टिक्दैन परालको खुट्टा
यसै चल्छ शासन
भाषणहरू सबै झुट्टा।
२,
बुढाहरू थलो छोड्दैनन्
झोले झ्याम्टे पछिपछि
रालेहरू बाटो मोड्दैनन्।
३,
देखेको कुरा बोल्नुपर्छ
कलमे झुटो नलेखोस्
यथार्थ जहिले खोल्नुपर्छ । - घनश्याम पन्त, हरिवन सर्लाही
…
१,
त्यान्द्रो थियो धागोको
थप्दै जाउँ लागेथ्यो
फेला पर्यो आगोको ।
२,
भ्रष्टहरू भ्रष्टाचारमा भुल्यो
पाक्यो खिचडी रातारात
जब फाइल खुल्यो ।
३,
नगर धेरै चुरीफुरी
जब जेलमा जाकिन्छौ
लाग्ला अनि कुरीकुरी । - डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
…
१,
नराम्रो सोझालाई छलेको
मरी जाने चोलामा
कसैको अहित सोचेको ।
२,
मेटिँदैन भाग्य लेखेको ।
मात्र फल निश्चित
पाइॅंदैन सबै देखेको ।
३
प्रेम राम्रो गाँसेको
जन्म मृत्यु निश्चित
किन भ्रम पालेको ? - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
…
१,
कतै भएछ अनावृष्टि
धान रोपाइँको समयमा
प्रकृतिको रहेन दृष्टि ।
२,
पहाडी भेगमा अतिवृष्टि
पहिरो धस्कॅंदैछ चारैतिर
विनाशतिर प्रकृतिको सृष्टि ।
३,
असारमा झरेछ पहिरो
होसियार रहौँ सबै
चोट पर्ला गहिरो । - मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
…
१,
असार मास लाग्यो
जताततै चलेको रोपाइँ
देखेर आशा जाग्यो ।
२,
देशको राजनीति बिग्रियो
समाधानको बाटोमा थुप्रै
फोहोर मथिङ्गल थिग्रियो !
३,
माया लाउने चाहना
जाग्यो भने पियारी
रोपाइँमा भेटको कामना ! - विवश पारदर्शी, झापा
…
१,
हावामा गन्ध आयो
कतै तिमीसँग थियो
झरी कस्तो छायो ?
२,
हाम्रो बारेमा कुरा
दुःखभित्रै छ सुख
किन चलाउँछौ छुरा ?
३,
कति ठूलो मन ?
दुनियाँ खुसीले गदगद
गरिबको छैन धन । - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
…
१,
रोपेर धानको दाना
अहिले गरेको मेहनत
वर्ष दिनको खाना ।
२,
आकाशबाट बर्सियो पानी
बगाऊ पसिना धरतीमा
बिज असल छानी ।
३,
कर्मले फल पाउछ
अहिले बगेको पसिना
मङ्सिरमा फल आउॅंछ । - दिनेशकुमार शर्मा , हेटौंडा , मकवानपुर ।
…
१,
किसानलाई खेतीपातीमा हतारो
विश्वास जितेर जनतालाई
राजनीतिमा आलोपालोको चटारो ।
२,
पालोले खाँदै उग्राउँदै
जनताले छोडेका साँढेहरू
घरी घरी डुक्राउँदै ।
३,
माया साटेर लाऊ
झुठो कुरा गर
अझै ढाँटेर खाऊ । - रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
…
१,
असार पन्द्र जनाइयो
गमलामा धान रोपेर
कृषक सबै रमाइयो ।
२,
बाढी पहिरो जाँदैछ
बर्खा यामको पानीले
घर खेत लाँदैछ । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
…
१,
जीवन रहेछ टालो
हिँडिरहेछ बाटो खोज्दै
उकालो र ओरालो ।
२,
चल्दैछ जिन्दगी यसरी
नदीमा पानी बगेको
सलल सलल जसरी । - होम प्रसाद नेउपाने, धरान, सुनसरी
…
१ ,
भयो वर्षा अविरल
गर्ज्यो खोला गदगद्
बस्ती नबगून् खलल।
२,
सचेत बनौँ हामी
कतै बिपद् नपरून्
बन्नुहोस् सहयोगी नामी । - हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगाबजार
…
१,
आयो साउने झरी
उसको याद आउँछ ,
मलाई हजुर घरी ।
२,
पानी पर्ने बेला
गरिब जेहेन्दारलाई नगर्नु ,
सरकार अब हेला ।
३,
चारैतिर फैलियो पानी
हजुर ज्यान जोगाउनु,
सबभन्दा राम्रो बानी । - श्रीकृष्ण धामी – बझाङ
…
१,
असारे पन्ध्र गयो
रमाइलो गर्दै हिलोमा
धान रोपाइँ भयो।
२,
मनभरि गरिएको कामना
पुरा कहिलै हुँदैन
सोचेर बनौँ आफ्नोपना।
३,
जिन्दगी भन्नु बोक्रो
जलेर खरानी हुन्छ,
मनुष्यको चोला खोक्रो । - मन्जु बोहरा, बझाङ
…
१,
असारमा पानी पर्यो
किसान खुसी हुँदै
रोपाइँमा बेसी झर्यो ।
२,
यी मनको कामना
पूरा भएनन् कहिल्यै
राति देखेका सपना ।
३,
जिन्दगी मर्ने चोला
बाँचुन्जेल रमाएर बसौँ
विश्राम गर्ने खोला । - दुर्गा भट्टराई, मोरङ
…
१,
हरक्षेत्रमा हेर छेउकुनो
छन् तल्लीन स्वार्थीहरू
सोझाउन आफ्नै दुनो ।
२,
कस्तो बस्नपुग्यो थिति
रहेन इमान जमान
कसैले मान्दैनन् नीति ।
३,
जसको हातमा शक्ति
उही पूज्य सर्वत्र
सम्मान आराधना भक्ति ! - वसन्त अनुभव, घोराही, दाङ
…
१,
रातोदिन पर्यो झरी
बाटोघाटो बन्द भयो
पैरो आयो हरघडी ।
२,
अन्नपात लगे सब
रहेनन् घरबार केही
बगाए भेलले जब ।
३,
थपे दु:खको भारी
सुखको दिन केवल
पुग्यो है सीमापारि । - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…
१,
जीवनमा सङ्घर्ष गर्ने
जति गर्यो उति
त्यसैको भर पर्ने!
२,
जून खसाल्छु भन्नेले
केही पनि नाप्दैनन्
बसेर तारा गन्नेले!
३,
विकास गर्ने हराए
ढाँट्न छल्न सिकेर
कुभलो मन पराए! - अच्युत घिमिरे, सर्पाङ, भुटान
…
१,
बनमा जनावरहरूका मङ्गल
देश डुब्दै गयो
सखाप पारे जङ्गल !
२,
किसान हुँ भन्ने
खेतबारी छ बाँझै
दिनभरि तास गन्ने !
३,
असारमा परेको झरी
बाढी अनि पहिरो
तर्नु कसरी खोलानालाभरि ! - धनमाया चौधरी कैलाली
…
१,
किसानको सपना पूरा
बाली लगाउने अब
रहेनन् केही अधुरा ।
२,
निरन्तर परिरहेछ पानी
खाना खाएर छिट्टै
रोपाइँ गर्न जानी। - साबित्री प्याकुरेल,धादिङ्
…
१,
बाहिर पानी परेको,
असार महिनाको दिन
खेतमा रोपाइँ गरेको।
२,
असारे गीत गाउॅंदै
मुठी रोपेर मुरिको,
मनमा आस लाउॅंदै ।
३,
साप्ताहिक झिल्का राम्रो,
सबै मिलेर लेखौँ,
बनाएर यसलाई हाम्रो। - दुर्गा आचार्य, मोरङ
…
१,
खेतसँग प्रीत लाएको
असारे भाका छोपी
मिठो गीत गाएको ।
२,
हातमा बीउ समाई
खुसी छन् सबै
एकैसाथ आपसमा रमाई ।
३,
खान पाइन्छ माम
खेतमा धान रोपी
मिलेर गरौँ काम। - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, सङ्खुवासभा
…
१,
नारी पुरुषको जात
बराबर चाहिँ कुरामा
भेदभावको अझै खात ।
२,
जबर्जस्ती गरेर हुँदैन
बुझ्नुपर्छ इच्छा चाहना
बलात्कारले मन छुँदैन ।
३,
समस्याको हल खोजौँ
कसरी हुन्छ दिदीबहिनी
प्रगतिको बाटो रोजौँ । - पृथक प्रकृति, झापा
…
१,
एकार्काको हात समाउँदै
मायाप्रीतिको भाव साट्छन्
हिलो खेलेर रमाउँदै।
२,
असार मासको काम
खटेर गर्छन् सबै
बिर्सिएर खान माम।
३,
असार पन्ध्रको पर्व
खेतमा धान रोप्दै
मिलेर गरौँ गर्व। - अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
…
१,
नराम्रो विचार नराख
सबैको मन जिती
बिझ्ने कुरा नचाख ।
२,
धनका छन् भोका
निर्धनलाई यहाँ नचिन्ने
क्रुरताको हुन् पोका।
३,
बाहिर ठिक्क पार्ने
माथि माथि चढाएर
ह्वात्त तल झार्ने। - सविता भट्टराई, जनकपुर
…
१,
झरीले बनाउॅंछ हुरुक्क
बाढी, पहिरो नसुन्दा
मन भयो ढुक्क ।
२,
निथ्रुक्क विचरी चरी
बास जति जलाम्य
धेरै दुखमा परी ।
३,
मुसलधारे वर्षा झर्यो
दोबाटोको भरिया आज
नदी किनारामा पर्यो । - हिरालाल न्यौपाने ,बानपा ८, कोटमौला सल्यान
…
१,
म तिम्रै भक्त
ठिक्क वर्षा गरी
कृपा गर सक्त ।
२,
फाट्नेलाई जोड्ने तिमी
बिजुली, गायब नहोऊ
उकालो लाग्छौँ ठिमी ।
३,
मौसम बिहेको आयो
कैयौँले पीडा भोगेर
एउटाले फल पायो । - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
…
१,
गर्मी उधुम थियो
पानी पर्दा त
जाडोले ठाउँ लियो । - लक्ष्मी रिजाल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल
…
१,
सङ्घर्ष हो जीवन
चल्नेछ दुख सुखले
पसिनाले कमाएको धन।
२,
आँसुले भिजेको परेली
देखाउन गाह्रो हुन्छ
तप्कना भित्रको तरेली। - बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
…
१,
सबैले हेरौं सोचेर
आफुलाई जस्तै पिडा
अरूलाई बोल्दा घोचेर।
२,
ज्ञानको दीप बालौँ
अहङ्कारको जरालाई सबले
आफ्नो हृदयबाट फालौँ।
३,
बुझौं अरुको मर्म
सदा मुस्कान छर्ने
होस् हाम्रो कर्म। - रुना कर्माचार्य दाहाल, चितवन
…
१,
भोको बाघ रिसाउँछ
जब पाउँदैन खाना
जङ्गल सबै थर्काउँछ ।
२,
राजनीतिमा लाज भएन
नेताहरू धेरै जसोको
लुट्ने बानी गएन ?
३,
छानिएकाहरू संसदमा लड्छन्
यस्ता सांसदबाट जनताले
इतिहासमा के पढ्छन ! - रबि पौडेल दक्षिण भारत पाण्डेचरी ।
…
१,
सिमसिम परेको पानी
हिलोमा धान रोप्दै
कम्मरमा पटुकी सानी
२,
खुसीले हिलोमा खेल्दै
अङ्गालोमा बाँधिएर सबैलाई
माया प्रितीमा झेल्दै ।
३,
असारमा धान रोपियो
सालीको पटुकी पनि
हिलाम्मे बनी सकियो । - केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम (हाल भारत)
…
१,
असारे मिठो गीत
खेतका गरा हिलाम्मे
रोपाहारसॅंग मिठो प्रीत।
२,
मङ्सिरको भयो मेलो
भयो मैजारो अब
सकियो असारे खेलो। - तोया नाथ चापागाईं, दमक, झापा, नेपाल
…
१,
जोखिम पहिरो बाढीको
पहाडी मुलुक हाम्रो ,
पैसा बग्दछन् खाडीको।
२,
पृथ्वीको संहार भएन,
उत्ताउलो भयो जलवायु ,
मान्छेको ध्यान गएन।
३,
जोगाए वनपाखा यहाँ ,
लगाए वातानुकूलित बोट,
पहिरो जान्थ्यो कहाँ ? - मनोहरी पौडेल, गैडाकोट १, नवलपरासी वर्दघाट सुस्तापूर्व
…
१,
रोपाइँ गर्ने बेला
असार महिना यो
खेतमा भएका भेला।
२,
बादल फाटेर आयो,
रोपाइँ गर्दै खेतमा
असारे गीत गायो। - शोभा आचार्य गौतम, काठमाडौँ
…
१,
वर्षा भयो अति
क्षति धेरै भयो
अझै पर्छ कति |
२,
यो वर्षाको भेल
गर्नु गर्यो दैव
कस्तो प्रकृतिको खेल | - सरिता सेढाई धादिङ
…
१,
हरायो निद्रा भोक
कस्तो लत बस्यो
लाग्यो मायाको रोग।
२,
आयो बाढी पहिरो
बिचल्लीमा पर्यो लौ
नेपालीको पीडा गहिरो। - वेल थोकर तामाङ
…
१,
समस्याहरू सूचनामा आउँदैन
अचानक झम्टेर बिझाउँछ
दु:खलाई समाल्नु भ्याउॅंदैन।
२,
असारको झरीले सतायो
जताततै यातायातमा बाधा
गरीबलाई घाँटीमा अॅंठ्यायो ।
३,
जनसाधारणलाई महङ्गीले चेप्दैछ
बजार भावहरू चुलिएको
प्राकृतिक मौसमले हेप्दैछ । - दिल ठकुरी, टिस्टाभेल्ली (दा)
…
१,
सङ्केत देखियो खतरा
ढल्ने अवस्थामा पुगेछ
बत्तिस तले धरहरा l
२,
जगको इॅंटा खुस्क्यो
आफ्नै दम्भको कारण
हातको माछो फुस्क्यो l
३,
सधैँ शेर बन्थ्यो
मलाई पछार्न त्यति
सजिलो छैन भन्थ्यो l - बाबुराम गौतम, गुल्मी
…
१,
बढ्यो साउनको भेल
कति छ बाँकी
सकिन जीवनको खेल ।
२,
बर्षातको भेल सरी
पीडा रुमल्लिॅंदै आउँछ
जिन्दगीमा घरी घरी ।
३,
ढिलो पानी पर्न
जान सकिन थाल्दा
यसपाली रोपाइँ गर्न । - ललिता गिरी सिन्धुली (हाल काठमाडौं)
…
१,
माया गर्ने मन
गयो आज टाढा
उतै गयो तन।
२,
जाँदैन म छोडी
मुटुले मान्दैन हेर
हाम्रो बन्धन तोडी।
३,
आफ्नो कर्म गर
अरूलाई दुःख नदेऊ
तारा बनी झर। - धनुष न्यौपाने “यात्री”, जुम्ला
…
१,
पर्दैछ सिमसिमे पानी
खेतको दबदबे हिलोमा
रोप्दैछिन् धान सान्नानी।
२,
खेतबारी बाँझो भएर
हुँदैछ सुनसान गाउँ
युवाहरू परदेश गएर। - पुरुषोत्तम फुयाल, साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ
…
१,
असारमा बर्सातले तर्साउॅंदैछ
गड्याङगुडुङ बादल मडारिएर
आकाशमा बिजुलीले थर्काउॅंदैछ। - सुनगाभा पोखरेल, हाल- नेपालगन्ज
…
१,
घाम, हावा, जल
बोटमा आखिर पाकेपछि
मिठो हुन्छ फल !
२,
आकाश रोएर जल
चारैतिर छ डरलाग्दो
धरतीमा आयो भल !
३,
सकेसम्म मुसा मार्छ
द्वारको कालो बिरालो
दुनो सोझो पार्छ ! - आर्त अकुलीन
…
१,
कविको यो रङ्गेली
जिउने बाँच्ने इच्छा
जीवनको कस्तो पहेली ?
२,
सागरको छ गहिराइभित्र
मोती मिल्छ रे
एकपटक डुबौँ मित्र ।
३,
जन्मने र मर्ने
शाश्वत नियम हो
आनन्दले इच्छापूर्ण गर्ने । - प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
…
१,
खोलामा बस्ती बसेको
आफ्नो बाटो सोझ्याउँदा
घरघरमा पानी पसेको !
२,
विचित्र मौसमी प्रभाव
कहिले भारी वर्षा
कहिले पानीको अभाव ।
३,
प्रकृतिको अनौठो चाल
सम्झौता गर्न सके
हुँदैन मानिसको बेहाल । - जयनारायण नेपाल
…
१,
म यता आएछु
कुरा कसो सान्दाई
नयाँ खबर पाएछु । - सुरेश कार्की, हाल सिड्नी,अष्ट्रेलिया
…
१,
बाढी, पहिरो गएर
तहसनहस पार्दैछ सबै
जनधनको क्षति भएर ।
२,
सल्लाह गर्दै बसेको
कामका कुरा हुदैनन्
धनको पोको कसेको ।
३,
सपना देख्नु गतिलो
चढ्दै जानू, शिखर
सानै हुन्छ बतिलो । - समुन्द्रा शर्मा, सुनसरी
…
१,
विश्वासै त हो
जिन्दगी सुचारु हाम्रो
सत्यमा हुन्छ जो ।
२,
आदतै त भित्र
लेनदेन गरौँ जिन्दगी
पाईन्छन् असली मित्र ।
३,
मन्दिरमा पाइॅंदैन देवता
भेटिन्छन् खोजे झैँ
हुनुपर्छ मिहिनेती तक्दिरमा । - ईश्वर साउद (भिक्षु), रामारोसन -६, अछाम, सुदुरपश्चिम
…
१,
वर्षाले कतै खुसी
कतै बाढी पसेर,
अन्नमा लाग्यो ढुसी।
२,
जीवन सुध्रिने आशामा
बुझाए देश अतृप्तीलाई,
परे लोभीका पासामा ।
३,
अनौठा अनौठा नीति
बन्छन् नेपालमा मात्र ,
बढ्यो केवल बेथिति। - सुस्मिता अधिकारी ,काठमाडौँ
…
१,
बर्षातको यो समय
मस्त छन् किसानहरू
बाढीको छ भय ।
२,
पुल छैन खोलामा
बाटो लग्यो पहिरोले
देशको ढुकुटी झोलामा । - पुष्पा सुवेदी, नेपालगन्ज, बाँके
::::::::जय झिल्का साहित्य ! :::::::::