साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २४ सम्पन्न

  • २३ असार २०८१, शनिबार १९:३१ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
    —++—


    १,
    उडेर जान्छ मन
    झन् सम्हाल्न खोज्छु
    रफ्तारमा दौडन्छ धड्कन ।
    २,
    खेतबारीमा खेल्ने याम
    फुरुङ्ग हुन्छन् किसानहरू
    सोच्छन् नअस्ताओस् घाम ।
    ३,
    सफाचट भयो धानसार
    मुसोको चल्यो रुवाबासी
    भरिएपछि भइन्छ होसियार ।

    • म्यामराज राई

      १,
      फूलहरू छ फुलाउनु
      बाटिका हेरचाह गरी
      पुतलीहरू छ डुलाउनु।
      २,
      ज्ञानको आँखा खोलौँ
      विचार गरेर अब
      सत्य कुरा बोलौँ ।
      ३,
      त्यो आफ्नो आफन्तभन्दा
      राष्ट्रको सेवा गरौँ
      उठाएर नेपाली झन्डा ।
    • दीप गोले तामाङ, चन्द्रपुर -१, रौतहट

      १,
      उड्न खोज्दा मन
      सम्हालेर नसकिने हुँदा
      फेरि भइन्छ रनबन।
      २,
      असार मासको बेला
      जाऔँ मेलापात गर्न
      अरूको नपरौँ फेला।
      ३,
      खाली हुँदा दिमाग
      सोच्ने कुरा नहुँदा
      चल्छ यसैको राग।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-अमेरिका,बोस्टन।

      १,
      डाँफे उफ्रॅंदै नाच्दैछ
      पाखा पखेरा रमाई
      हिमाल मुसुक्क हाँस्दैछ ।
      २,
      चन्द्रमा छुने चाहना
      किसानले धान रोप्छन्
      असार पन्ध्रको कामना ।
      ३,
      दहि चिउरा खान
      असार पन्ध्र नपर्खौँ
      हतार खेताला जान !
    • अम्बिका अधिकारी, झापा बिर्तामोड

      १,
      असार पन्ध्र आयो
      किसान खेतमा पुगे
      खोला पनि करायो।
      २,
      नेताले गमलामा लगाए
      मालामाल देश भयो
      उद्घाटमा दियो जलाए।
      ३,
      युवा विदेशी भए
      भयो नेताको मोज
      रेमिटेन्सको गुन गाए।
    • सुरेशकुमार पाण्डे

      १,
      धान रोप्दै रमाऔँ
      दही चिउरा खाएर
      असार पन्ध्र मनाऔँ ।
      २,
      असारे गित गाउँदै
      रोपौँ धान साथी
      हिलो खेल्दै रमाउॅंदै ।
    • अनिता भण्डारी ताप्लेजुङ

      १,
      किसान गर्छन् कर्म
      मानोबाट मुरी साट्छन्
      सरकार देखाउॅंदैन धर्म ।
      २,
      बुद्धि विदेश गयो
      शान्ति बेपत्ता भई
      विवेक पागल भयो !
      ३,
      गर्छन् नक्कली भाषण
      कृषिप्रधान देश हाम्रो
      खान्छन् विदेशी राशन ।
    • ऋजु दिल्पाली, इटहरी १ सुनसरी

      १,
      रोपेर गमलामा धान
      मङ्सिरमा बाली भित्रिने
      मन्त्रीज्यूको हुने स‌म्मान !
      २,
      मलखाद अब नचाहिने
      न सिॅंचाईको पीर
      गाली पनि नपाइने !
      ३,
      अरूले पनि सिकून्
      हामीबाट यस्तो प्रविधि
      श्रमिकहरू विश्वभर बिकून् !
    • सुरेश कार्की

      १,
      धानको खेती हिलोमा
      खाएर दही, चिउरा
      असार पन्ध्र बिलोमा ।
      २,
      धानका बाला झुलाऊ
      सुनका माला गलामा
      झपक्क पारी खुलाऊ।
    • विवश पारदर्शी, झापा

      १,
      दुख आउॅंछ सहनुपर्छ
      मनमा संकोच नराखौँ
      रहस्य परिवारमा बहनुपर्छ ।
      २,
      अरूलाई हेपेर नबोलौँ
      समय एकनास हुँदैन
      पराईको इतिश्री नखोलौँ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ

      १,
      आयो फ़ेरि असार ,
      हाम्रो सरकार अझै
      पर्दैछ जताततै लम्पसार !
      २,
      अनुदानको चिउरा खाएर,
      म हात्ती बनेको
      घटाउॅंदैछु पहाड धाएर।
    • दीपा समभाव, खोताङ्ग

      १,
      सत्यको बाटो रोजी
      हिॅंड्दैछु पाइला चालेर
      अनन्त जीवन खोजी ।
      २,
      जिऔॅं जीवन हाँसेर
      मरिलानु छ के
      नराखौँ अब साँचेर ।
      ३,
      सही हाँसो ल्याउँछु
      भए मनमा चोट
      सत्यकै बाटो खनाउँछु।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ सङ्खुवासभा।

      १,
      पवन वर्षा हेर
      असारे महिना भन्दै
      प्रकृति देन फेर!
      २,
      किसान खेतमा आए
      छरिए अनगिन्ती हेर
      असारे गीत गाए!
    • धनुष न्यौपाने” यात्री”, जुम्ला

      १,
      आयो असार फेरि
      दही चिउराको संस्कार
      सबै गाउँ हेरी ।
      २,
      गैरी खेतमा जाऔॅं
      नौटङ्की धेरै भयो
      धान रोपेर आऔॅं ।
      ३,
      गमलामा रोपेर धान
      भतुवा सरकार तिमी
      जनताले गर्नुपर्ने मान।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा

      १,
      झरी नझर यसरी
      कतै तिमीसँग बसेको
      रुन्छ मन जसरी।
      २,
      खेतमा तिमी आऊँ
      झरी कस्तो आयो
      असारे न्वागी खाऊँ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ

      १,
      यादहरूलाई निषेध भनिदिए
      तर मन निसासियो
      बेहोसिन रक्सी पिए ।
      २,
      घुम्दै हिॅंड्छु भौँतारी
      फेरि भेटिने आशामा
      देउराली अनि चौतारी ।
      ३,
      सम्बन्धमा विष भरेछ
      तिम्रो झुटले यहाँ
      मेरो विश्वास मरेछ ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ

      १ ,
      भयो वर्षा झर्झर
      मनसुनको रमाइलो बेला
      लागौँ मेलामा सरासर।
      २ ,
      रोपौँ धान खलिहानमा
      असारको रमाइलो बेला
      नगरौँ अबेला काममा।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार

      १,
      गोठमा छैन भैँसी
      दहि च्युरा नभन
      दिन नहेर जैसी ।
      २,
      लाग्थ्यो वर्षा पहिले
      खेतबारी बाँझो राखी
      विदेशिए सबै अहिले ।
      ३,
      डेरीमा छैन दही
      चिउरा आउँछ विदेशबाट
      सिस्नो खानु सही ।
    • हिरालाल न्यौपाने ,बानपा ८, काेटमाैला सल्यान

      १,
      सबैले मेहेनत गरौँ
      नराखौ बाझो खेत
      धानको बीउ छरौँ ।
      २,
      असार पन्ध्रको दिन
      किसानको गफमा सबै
      रमाऔँ हामी एकैछिन।
      ३,
      गाउॅंदै असारे भाका
      कति खुसी हुन्छन्
      हाम्रा प्यारा काका।
    • काजल न्यौपाने, भोजपुर

      १,
      मानो रोपेर मुरी
      असारको महिमा अपार
      आउने वर्षासँगै हुरी ।
      २,
      कृषिको राखौँ गरिमा
      नयाँ जोश जगाऔँ
      वर्षा प्रभु महिमा ।
      ३,
      बाँझा खेत धेरै
      गाउँ शून्य आज
      यहाँ काम नपाएरै । ।
    • कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी

      १,
      धान दिवस मनाऔॅं
      कृषिको विकास गर्न
      आवश्यक कदम चलाऔॅं ।
      २,
      पुर्याऔॅंसमयमै मल
      सिॅंचाई सुविधा पाएमा
      बढ्थ्यो किसानमा बल।
      ३,
      नरहोस् खेत बाँझो
      दहि चिउरा खाउँला
      मिलाई चाँजो पाँजो।
    • सुस्मिता अधिकारी ,काठमाडौँ

      १,
      धान दिवस आयो
      पकाउने फुर्सद छैन
      दही चिउरा खायो।
      २,
      मकै छोडाएर भुटे
      मुरुक मुरुक चपाउँदै
      किसान रोपाइँमा जुटे।
      ३,
      एकार्काको हात समाउँदै
      मायाप्रीतिको भाव साट्छन्
      हिलो खेलेर रमाउँदै।
    • अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत

      १,
      असारे गीतको भाकामा
      किसानहरू रमाउॅंदै छन्
      धान रोप्दै पाखामा।
      २,
      गमलामा धान रोपेर
      धान दिवस मनाउदै
      सल्ले मुख छोपेर।।
    • वेल थोकर तामाङ, बकैया_८//बस्तिपुर// मकवानपुर

      १,
      आएन असारमा पानी
      भयो खेती चौपट
      सबैलाई गर्‍यो हानी ।
      २,
      धान दिवस किन
      चिन किसान राम्ररी
      आए नराम्रो दिन ।
      ३,
      पन्ध्र गते असार
      गरेन हतार वर्षाले
      हुँदैन अन्नको पसार ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची

      १,
      रोपेर खेतभरि धान
      गुजारा हुन्छ गरिबको
      सबैले समस्या जान।
      २,
      दही चिउरा मिठो
      जानुपर्छ गर्नलाई काम
      वर्षभरि पुर्याउन पिठो ।
    • सुनगाभा पोखरेल

      १,
      पानी पनि हरायो
      आकाशतिर हेर्दाहेर्दै हजुर
      पेटमा मुसा करायो ।
      २,
      मानो, मुरी, पाथी
      जे जति छन्
      सबैलाई बनाउँछु साथी ।
    • नन्दलाल आचार्य, बेलका-२, उदयपुर

      १,
      विद्यालय, लेख्ने भावी,
      भाग्य देशको निधारमा
      हुनुपर्छ गुणस्तरीयता हावी।
      २,
      निष्पक्षताको न्यायिक भट्टीमा ,
      राखेर छान्नुपर्छ विधाता ,
      फोहोर , फाल्नुपर्छ टट्टीमा।
      ३,
      बन्छन् सन्चालक उनै
      चाकडलाई असल मान्नेहरू
      छैनन् , विद्यालयमा कुनै ।
    • लोक वहादुरछेत्री लामिछाने, मोदी गा पा २ देउपुर,पर्वत

      १,
      किसानले गरे काम
      जीवन समर्पण गर्दै
      बनाएर खेती जाम ।
      २,
      प्रफुल्ल मुद्रामा किसान
      असार पन्ध्र मनाउदै
      प्रकृतिको गरेर गुणगान ।
      ३,
      धान रोपाइ सुरु
      खेतीको काम हुँदैछ
      अचेल साथी खुरुखुरु ।
    • पृथक प्रकृति ,झापा

      १,
      नराखौँ खेत बाँझो
      समयमा मिलाउनु मलजल
      विजन पानीको चाँजो ।
      २,
      धान दिवसको मौकामा
      दही चिउरा खाउँला
      नबसौँ चुल्हो चौकामा ।
      ३,
      सिमसिम पानी पर्दैछ
      हली कोदाली बोकी
      गैह्री खेतमा झर्दैछ ।
    • मोती सुब्बा दार्जिलिङ निमकी डाँडा

      १,
      आज भ्याउँदिन आउन
      तिमीलाई भेट्न सानू
      जान्छु पर्म लाउन।
      २,
      व्यस्तताले हुन्न भेट
      रोप्न धान, कोदो
      बन्द नेट, इन्टरनेट।
    • साबित्री प्याकुरेल, धादिङ्

      १,
      धान दिवस मनाए
      पत्रकार सम्मेलन गरेर
      फेसबुकमा जानकारी गराए।
      २,
      हिलो नभनी मनाइन्छ
      मानो रोपेर मुरी
      फलाउने सपना सजाइन्छ ।
    • कला ढकाल, झापा

      १,
      खेतमा छैन पानी
      कहिले आउने मनसुन
      बीउ सुक्यो नानी !
      २,
      असार पन्ध्र आयो
      रोपाइँमा रमाउँदै चट्ट
      दही चिउरा खायो ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे

      १,
      सुकिसक्यो खेतको आँत
      हाँस्दैछ अट्टहास गरी
      आकाश देखाई दाँत ।
      २,
      पाइन्न बीउ मल
      खेती हुन्छ कसरी
      छैनन् गोरुका हल ।
      ३,
      रोपेर गमलामा बीउ
      धान दिवसको उद्घाटन
      पाँचतारेमा मन्त्री जिउ ।
    • वसन्त अनुभव, घोराही, दाङ

      १,
      दही चिउरा खाने
      आपसमा मिली सबै
      धान रोप्न जाने ।
    • बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी

      १,
      हाँस्दैछ धर्ती मुसुक्क
      सुकिसक्यो सबै खेतबारी
      नेताहरू पाँचतारेमा खुसुक्क ।
      २,
      गमलामा बीउ निकास
      कृषिप्रधान खोज्छौ सम्मान
      यत्तिकैमा कृषिको विकास ।
      ३,
      पानीको कुलो बनाऊ
      हलगोरू पुर्‍याऊ खेतबारीमा
      कृषिप्रधान देश जनाऊ ।
    • बेदु न्यौपाने

      १,
      मनमा पहिरो चल्छ
      जिन्दगी बेकार भयो
      कहाँ पुगेर ढल्छ।
      २,
      कसलाई बताऊ हाल
      सबैले मजाक मान्छन्
      लिन आउँदैन काल।
      ३,
      जन्मिनु गल्ती भयो
      शरीर जिउँदो हुँदै
      सपना मरेर गयो ।
    • ललिता गिरी, सिन्धुली (हाल काठमाडौं नेपाल)

      १,
      गरेर भएपनी अर्मपर्म
      सफल बनाऔॅं है
      हामीले आफ्नो कृषीकर्म ।
    • सरिता सेढाईॅं

      १,
      मन्त्री हिलोमा गए
      जुत्ता लगाएर खेतमा
      उद्घाटन गर्ने भए ।
      २,
      हातमा धान समाएर
      नेताज्यू कार्यकर्ताको भरोसा
      हिँड्छ्न् खुट्टा कमाएर ।
      ३,
      गजब छ यहाँ
      गमलामा धान रोपेर
      पन्ध्र मनाउँछन् जहाँ ।
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरी

      १,
      असारमा कोदालो चलाऔॅं
      असाध्यै परिश्रम गरेर
      मानोमा मुरी फलाऔॅं।
      २,
      जतासुकै धर्ती हराभरा
      धान रोपेर किसानहरूले
      सुसेली खेल्छन् गरा ।
      ३,
      कष्टकर गरौँ सामना
      सबैलाई धान दिवसको
      हार्दिक मङ्गलमय शुभकामना ।
    • केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम
      (हाल भारत )

      १,
      असारे गीत गाएर
      म हाँस्न चाहन्छु
      असीम प्रेम पाएर ।
    • लक्ष्मी रिजाल, रूपनगर, सप्तरी

      १,
      जल र मल
      मिसाई गरामा रोपाइॅं
      अनि फल्छ फल ।
      २,
      मुठी छरी मानो
      उब्जाउने बेला
      बर्खामास रोप्ने धानो
      ३,
      हराभरा जगत साउने
      झिमझिमे पानीले गर्दा
      पृथ्वी सारा सजाउने ।
    • ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुपश्चिम अछाम

      १,
      खेतमा रोपेर धान
      किसानको निरन्तर कर्मले
      बढेको नेपाली सान !
    • आर्त अकुलीन

      १,
      असार पन्ध्र मनाउँदै
      धान रोपौ खेतमा
      असारे गीत गाउॅंदै।
      २,
      सपना देख्छ किसान
      मानो रोपी मुरीको
      पाल्दछ सधैं जहान ।
      ३,
      असारमा हिलो खेलेर
      रमाउँछ किसान सधैँ
      भकारी सधैँ भरेर ।
    • समुन्द्रा शर्मा, सुनसरी

      १,
      धान दिवस मानेर
      हिलो खेतमा गए
      बीउ रोपे तानेर।
      २,
      दही चिउरा खाएर
      बेठी पनि लगाएको
      असारे गीत गाएर।
      ३,
      साथीसॅंग छ रमाइलो
      हातमा बोकेको बीउ
      घाम थियो घमाइलो।
    • दुर्गा आचार्य, मोरङ

      १,
      खेतमा छरेको बीउ
      आकाशे घामले खायो
      जरिवाना कति लिउँ।
      २,
      सम्झना आउँछ नरेको
      छोरो हरायो परदेशमा
      असारमा पानी परेको।
      ३,
      मनैमा बरियो बाटेर
      रुँदैछ रित्तो डोको
      मायामा रुपैयाँ साटेर।
    • होमप्रसाद नेउपाने, धरान, सुनसरी

      १,
      असार पन्ध्र मनाऔँ
      दही चिउरा खाएर
      धान दिवस जनाऔँ l
      २,
      आज धान दिवस
      किसानहरू आकाश हेर्दै
      घरमै बस्न विवश l
      ३,
      ठिक छैन जमाना
      देश लुटेर दुष्टले
      भरे आआफ्ना खजाना l
    • बाबुराम गौतम, गुल्मी

      १,
      हिजोआज रुँदैछ आकाश
      सचेत हुनु सबैजना ,
      कतिको उठाउँछन् घरबास ।
      २,
      बादलु घुम्टो ओढेर,
      लजाउॅंछन् पहाड मेरो
      म मुस्कुराउॅंछु हेरेर ।
      ३,
      किसानले पसिना रोपेर
      खेत बनायो हरियाली
      खुसी छायो देखेर ।
    • भुपेन्द्र राना मगर, धादिङ

      १,
      असार पन्ध्रको बेलामा
      रोप्नलाई गैह्री खेत
      अर्मपर्म गरिन्छ मेलामा।
      २,
      किसानलाई हुन्छ हतारो
      असारको यो महिना
      खेत रोप्ने चटारो।
      ३,
      दही चिउरा खाएर
      पन्ध्र असार मनाऔँ
      असारे गीत गाएर।
    • सतीश पण्डित, भानु ६ चुँदी तनहूँ(हाल चनपा ६ मातातीर्थ)

      १,
      खेतमा रोप्दा हमलामा,
      बाठाले लाए बुद्धि ,
      रोप्न थाले गमलामा ।
      २,
      किन रोप्नु धान ?
      बेकारमा लाग्छ हिलो
      पुगेकै छ खान ।
      ३,
      ट्र‍याक्टरले हिलो पार्‍यो
      मसिन रोप्छ धान
      फोटोमा ढाँचा पार्‍यो ।
    • बुढ्यौली साहित्य समाज, सिन्धुली

      १,
      असारे माया हिलो
      सम्मान गरौ सबैले
      किसानी पेशा गतिलो ।
    • प्रेम थापा “मन”, बागलुङ

      १,
      कति माया गर्छु
      तिमीलाई पत्तो भएन
      त्यसैले पछि सर्छु
      २,
      वरपिपलको चौतारीमा आउनु
      बाँसुरीको धुन सुनी
      यसो थाहा पाउनु ।
      ३,
      तिमी आउँदा खुसी
      हुन्छ मन मेरो
      भन्छौ मलाई लुसी ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं

      १,
      मेहनत गरेर खानु
      पसिना बगााई खेतमा
      उमार्छु दानाबाट मानु ।
      २,
      रोपाइॅं गर्न जाने
      आज असार पन्ध्र
      दही चिउरा खाने ।
      ३,
      दर्कियो आकाशे पानी
      रोप्दैछु खेतमा बिउ
      असल बिज छानी ।
    • दिनेशकुमार शर्मा, हेटौडा, मकवानपुर

      १,
      असारमा खै पानी
      कसरी रोप्ने धान
      देखियो खेतिमा हानी ।
      २,
      मानोले उब्जाउ मुरी
      असारमा रोपेर धान
      नआओस् हावा हुरी ।
    • दुर्गा भट्टराई

      १,
      गरेर सुन्दर काम
      उज्वल कर्म गर्दै
      बनाऔॅं अमर नाम!
      २,
      इज्जत सबैको गर्दै
      पवित्र भावना भरौँ
      कर्तव्य पथमा सर्दै!
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा

      १,
      नमुना झण्डा सान
      वीर पुर्खाको नासो
      नेपाल नेपाली पहिचान ।
      २,
      लालिगुँरास राष्ट्रिय फूल
      पहिचान मेटाउन नेताहरू
      गर्दैछन् ठुलो भुल।
    • सङ्गीता खरेल, काठमाडौं

      १,
      वर्षातको आस गर्दा
      बल्ल खुसी लाग्यो
      आज पानी पर्दा ।
      २,
      रोपाइँको छ बेला
      घरको काम सकेर
      छिटो जानुपर्छ मेला ।
      ३,
      गैरी खेतको हिलो
      खेल्दै रमाइलो गरौँला
      साथीहरु नगर ढिलो ।
    • लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई)

      १,
      तन बुढो भयो
      उमेर बढ्दै गएपछि
      बैँस खेर गयो ।
      २,
      असारे गीत गाउॅंदै
      धान रोप्ने खेताला
      स्वरमा स्वर मिसाउॅंदै ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा

      १,
      खेतभरि भयो हिलो
      अझ असार लागेदेखि
      बाटोमा धेरै ढिलो ।
    • श्रीकृष्ण धामी – बझाङ

      १,
      धामीको भरमा पर्दा
      ज्यान हाम्रो जान्छ
      समयमै उपचार नगर्दा।
      २,
      जोगिन्छ बार लगाए
      बेलैमा गरौँ उपचार
      रोगले धेरै सताए।।
      ३,
      नसोचौँ जीवनलाई भार
      पाईदैन मनुष्य चोला,
      ईश्वरले दिएको उपहार ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल

      १,
      बसे म पर्खेर
      साझ ढल्दैँ गयो
      देखेर गयो तर्केर।
      २,
      माया गरे धेरै
      बुझ्नेले नबुझ्दा माया
      गयो हेर खेरै।
      ३,
      वेदनाले मन कुटुकुटु
      निष्ठुरीलाई भुल्न मैले
      बनाए पत्थरको मुटु।
    • रुना कर्माचार्य दाहाल ,चितवन

      १,
      असारे झरी आयो
      किसान हर्षित भए,
      बाली लाउन पायो।
      २,
      सक्दैन किसान बस्न
      हुन्छ निरन्तर लागिरहेको
      खेतबारीको माटोमा पस्न ।
      ३,
      रहर धेरै होला
      आफ्नो पनि उसको
      तर दुखी चोला।
    • शंकर कार्की, मकवानपुर

      १,
      रोपाइँको फेसन गरे
      मात्र पन्ध्र असारमा,
      सन्जालमा भ्रम छरे।
      २,
      कस्तो भयो विडम्बना
      खेतहरू बाँझो राखी,
      किसान हुने सपना।
      ३,
      विकृतिको नाघ्दा हद
      देखिएन मिसन रोक्ने
      बेकारका मन्त्री पद ।
    • मनोहरी पौडेल, गैडाकोट १, नवलपरासी( वर्दघाट सुस्ता पुर्व)

      १,
      बेसीका ठुला फाँटमा
      मानो रोपेर मुरी
      जोश जाँगर आँटमा।
      २,
      प्रकृति छटा हाँसेकी
      प्रफुल्ल हुँदै पिरती
      झरनासँग नाता गाँसेकी।
      ३,
      उडेका धुलो हराउँदै
      शीतल पवन सिरसिर
      छङछङ झरना कराउँदै।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल

      १,
      लक्ष्य साझा लिएर
      लाग्दैछ समाज सेवामा
      युवा जमात मिलेर ।
    • बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Leave a Reply