साताका उत्कृष्ट झिल्काहरू- २१

  • ३० असार २०८१, शनिबार २२:४३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २१ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २१ का लागि झिल्काकारत्रय सुनगाभा पोखरेल, लक्ष्मी रिजाल र लोक बहादुर क्षेत्री लामिछानेका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ———<•>———
    [१]
    १//
    लालीगुराँस फुल्दा वनमा
    भिरपाखा देखिन्छन् रङ्गिन
    माया फुल्छ मनमा ।
    २//
    ढकमक्क लालीगुराँस फुलेको
    सुन्दर रमाइलो वनमा
    देखेर मन भुलेको ।
    ३//
    थाकेर शरीर लखतरान
    कहिलेकाही गल्छ अचम्मैले
    आराम नपाउँदा ज्यान ।
    ✍️
    सुनगाभा पोखरेल

    नेपालगन्ज

    [२]
    १//
    हाम्रा हुन् भानु
    प्रेरणाका अद्भुत श्रोत
    भाषाका एक रानु ।
    २//
    आयो असाध्यै पानी
    खेत तिर्खाएको हुनाले
    मान्न थालेँ रानी ।
    ३//
    भोजन जुटाउन वर्षको
    असारमा रोपाइँ गरेर
    आयो समय हर्षको ।
    ✍️
    लक्ष्मी रिजाल

    रुपनगर, सप्तरी, मधेस

    [३]
    १//
    बाटो कसरी पहिल्याउने
    रोज्न आफ्नो खुसी
    नेताले जहिल्यै अल्मलाउने ।
    २//
    छ चारैतिर काँडा
    पन्छ्याउदै थाकिसकेँ म
    भिरपाखा र डाँडा ।
    ३//
    हिँड्दा बाटो एकसुरले
    असरल्ल भेडाले अल्झाउँदा
    विकास छेक्छ झुरले ।
    ✍️
    लोक बहादुर क्षेत्री लामिछाने
    ~~~~

    One thought on “साताका उत्कृष्ट झिल्काहरू- २१

    Leave a Reply