‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४३ सम्पन्न

  • ४ श्रावण २०८१, शुक्रबार ०८:५० मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४३ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ४८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १४३
    नेपालीमा अङ्ग्रेजी मिसाई बोल्दा छुट्टै सान
    रक्षक हुँ भाषा साहित्यको, यसमै छ ध्यान ।
    वसन्त अनुभव
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    ~<•>~
    [१]
    अनपढ ए पाखे भन्छन् शुद्ध नेपाली बोल्दा
    आधुनिक भइन्छ रे अङ्ग्रेजी पेटारो खोल्दा ।
    ✍️
    वसन्त अनुभव, घोराही, दाङ
    ~<•>~
    [२]
    विदेशी भाषाले महत्त्व पाउदै गएको छ हाम्रो देशमा
    पाखे बनिने डरले सिक्ने रे अङ्ग्रेजी जुनसुकै भेषमा।
    ✍️ सुनगाभा पोखरेल, हाल नेपालगन्ज
    ~<•>~
    [३]
    नेपाली भाषा विर्सिएरै के काम अङ्ग्रेजी भाषा मात्र बोल्दा
    नेपालको कतै नामै नआउॅंने भो यसरी ह्रदय खोल्दा।
    ✍️ अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [४]
    नगरून् स्वदेशी कुकुरको विदेशी भुकाइ
    यसैमा देखिन्छ धैरैजसो टाउको दुखाइ ।
    ✍️ सतीश पण्डित, भानु६ चुँदी तनहूँ, हाल चनपा ६ मातातीर्ग
    ~<•>~
    [५]
    अङ्ग्रेजी सबैको संसारमा विश्वभाषा भयो
    मातृभाषा बोलीचालीमा जो हराउँदै गयो।
    ✍️ चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
    ~<•>~
    [६]
    अंग्रेजी भाषाले नेपालीलाई दास बनायो आज
    हाम्रो भाषा,धर्म,संस्कृतिलाई लास बनायो आज।
    ✍️ दीप गोले तामाङ, चन्द्रपुर -१, पौराई, रौतहट
    ~<•>~
    [७]
    आखिरीमा भुलेर भाषा धर्म
    बिग्रेको हो सबै संस्कार कर्म !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    [८]
    नेपाली साहित्य भाषा हाे, हामी सबैले बाेल्ने
    आधुनिक युग भएर अङ्ग्रेजी भाषा खोल्ने ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ~<•>~
    [९]
    बुढा बुढी पनि अङ्ग्रेजी घुसाई नबोले छोराछोरीले हेप्ने
    नबोले पाखे हा कस्तो समय आयो सदा पास्चात्यताले चेप्ने !
    ✍️ कमला देवकोटा, पाल्पा
    ~<•>~
    [१०]
    सधैँ राम्रो हुन्छ आफ्नै मातृभाषा
    हो अंग्रेजी जस्तै शकुनीको पासा ।
    ✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
    ~<•>~
    [११]
    बोल्दाखेरि उडाएर अंग्रेजीका छर्रा
    अरू सामु देखाउँछु सभ्यताको ढर्रा l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [१२]
    पराइकाे हैन आफ्नै भाषाकाे ससम्मान गराैँ
    लेखाइ बाेलाइमा आफ्नैपनकाे मीठास भराैँ।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार।
    ~<•>~
    [१३]
    जो जसले गर्छ, अङ्ग्रेजी मिसाएर सान देखाएर अघि सर्ने
    यिनै हुन् नेपाली शब्द अनि नेपालीपनको चीरहरण गर्ने ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    [१४]
    बोल्नुपर्छ है अङ्ग्रेजी मिसाई आजभोलि
    नत्र गर्दैनन् स्वागत कसैले दिल खोली ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
    ~<•>~
    [१५]
    वान, टु, थ्री, फोर
    भाषा मास्ने चोर ।
    ✍️ नागेन्द्रप्रसाद यादव ।
    ~<•>~
    [१६]
    आफ्नो भाषाभेष बिर्सिएर कता हुन् गएका
    बिदेशी संस्कार भित्राएर कति रमाएका ।
    ✍️ कला ढकाल, झापा
    ~<•>~
    [१७]
    किन गर्छौ यो भाषाको तिमी हेला
    फेरि पछि पर्ला नि हजुर फेला।
    ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    ~<•>~
    [१८]
    जसरी पनि एकअर्कालाई बुझ्नु र बुझाउने भाषा रोज्नु पर्छ
    सरल र कर्णप्रिय भाषा हो भने दुबो जमिनमा सरेझैँ सर्छ ।
    ✍️ पवनकुमार बुढाथेाकी, काठमाडौँ
    ~<•>~
    [१९]
    आमा ममी बाबा ड्याडी बाँदर भयो मङ्की
    मातृभाषा भुलेर भोलि बन्छौ हामी डङ्की ।
    ✍️ बिके मुखिया, दार्जीलिङ,भारत।
    ~<•>~
    [२०]
    पश्चिमी सभ्यताले बिस्तारै ढाँकिदै जाँदै छ हाम्रो देश
    संसार एउटै हुन लाग्यो भन्छ फेरिँदैछ परिवेश ।
    ✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड
    ~<•>~
    [२१]
    पश्चिमी सभ्यतामा रमाउँदै हामी नेपाली
    आफ्नो भाषा र संस्कार पनि लादैछन् पखाली ।
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ~<•>~
    [२२]
    लगाएका छन् छोटाछोटा लुगा आफ्नो इज्जत फाले
    नेपाली मौलिक भाषा बिर्सिए अङ्ग्रेजी बोल्न थाले ।
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ~<•>~
    [२३]
    हराउँदै छ नेपाली भाषा बन्न खोज्छन् सबैले मान्ने
    अनेक भाषा मिसाई बोले त ठान्छन् आफूलाई जान्ने ।
    ✍️ सुशीला शिखा, काठमाडौँ कागेश्वरी
    ~<•>~
    [२४]
    अङ्ग्रेजी राम्ररी बोल्न जाने विद्वान गनिन्छ
    नजान्नेलाई अनपढ गँवार पो ! भनिन्छ ।
    ✍️ विवश पारदर्शी, झापा
    ~<•>~
    [२५]
    अङ्ग्रेजी भाषा नबोली नहुने भयो
    आफ्नो भाषा साहित्य लोप हुँदै गयो |
    ✍️ सरिता सेढाई धादिङ
    ~<•>~
    [२६]
    अङ्ग्रेजी पनि सिक्नुपर्ने, नेपाली भाषामा नफ्याकौँ पासा
    जहाँ गए नि पछि नपरौँ बोल्न सिकौँ यसैमा छ खासा ।
    ✍️ सबिता खड्का, कैलाली
    ~<•>~
    [२७]
    मन त थियो रमाउन विश्वभर डुल्दै
    अङ्ग्रेजी बोल्छन् यहाँ सबै आफ्नो भाषा भुल्दै ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा, मेहेलकुना सुर्खेत
    ~<•>~
    [२८]
    अङ्ग्रेजी त बाेल्छन् सबै काठे भाषा मिसाई
    धर्म पनि मान्ने गर्छन् हिन्दु छाेडी इसाई ।
    ✍️ भवानी पाेखरेल( बाबू विराज), बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    ~<•>~
    [२९]
    विदेशी भाषा पनि अहिले आवश्यक छ रोजगारको लागि
    आफ्नै भाषा महत्वपूर्ण लाग्छ, अन्यत्र कहाँ जान छ र भागी ?
    ✍️ शोभा आचार्य गौतम, काठमाडौँ
    ~<•>~
    [३०]
    पिउँदा सिकायो सुरामा आइस टुक्रा घोल्न
    सुराले बेफिक्री भयो अङ्ग्रेजी फरर बोल्न ।
    ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ~<•>~
    [३१]
    दुई वर्ष अमेरिका बसेर आमालाई नै अङ्ग्रेजीमा थर्काउँछ
    बाबुकाे परिचय दिँदा साथीलाई नाेकर भनी मुख फर्काउँछ ।
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    ~<•>~
    [३२]
    हाेडबाजी बढ्दैछ झन् सम्पन्नता देखाउने
    आफ्नै भाषा लत्याएर अङ्ग्रेजीमा लेखाउने ।
    ✍️ ताराप्रसाद चापागाईँ, धुनिबेसी
    ~<•>~
    [३३]
    भाषा बिगार्न खोज्नेले आधुनिकताको ताज लाए
    संरक्षक भन्नेहरूले मातृभूमिको नाता खाए ।
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    ~<•>~
    [३४]
    कुरा गर्ने रहर विदेशीकै भाषा छानीछानी
    आफ्नो मातृलय बिर्सेर बोल्दैछौँ जानी नजानी ।
    ✍️ जमुना
    ~<•>~
    [३५]
    जहाँ पनि अङ्ग्रेजीलाई दिनु हुँदैन मान
    आफ्नो भाषा साहित्यको जोगाउनु पर्छ सान ।
    ✍️ पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके।
    ~<•>~
    [३६]
    आफ्नो भाषा नै आउँदैन यहाँ अरूको भाषा बोल्छन्
    मान्छेहरू अचेल अङ्ग्रेजीमै मनको कुरा खोल्छन् ।
    ✍️ वेल थोकर तामाङ
    ~<•>~
    [३७]
    दुनियाँमा सिक्नु हो कुरा ठूलो
    भाषासाहित्यका भानु हुन् कुलो ।
    नन्दलाल आचार्य, बेलका २, उदयपुर ।
    ~<•>~
    [३८]
    सबै भाषाको ज्ञान सिक्नु पाए सप्रिएला गति
    मौलिक भाषा नै बिर्सिन थाले बिग्रिएला मति।
    ✍️ रमेश दियाली, शेल्पू सिटोंग दार्जिलिङ।
    ~<•>~
    [३९]
    विदेशी पहिरन र भाषा बोल्न सबै हुरुक्क
    कति प्यारो आफ्नो भाषा सुन्दा हामी बन्छौँ लुरुक्क ।
    ✍️ काजल न्यौपाने, भोजपुर।
    ~<•>~
    [४०]
    सभ्यता पश्चिमको रहेछ यहॅा सिक्नुपर्ने
    नेपाली शब्द साहित्यबाट अब झिक्नुपर्ने ।
    ✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [४१]
    म त सधैँ नेपाली भाषा नै बोल्छु
    सजिलो गरेर आफ्नो पीर खोल्छु ।
    ✍️ अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत।
    ~<•>~
    [४२]
    भाषाको रक्षक भन्दछौ, अङ्ग्रेजी मिसाएर सान भर्छौ
    टुक्कामा अशुद्धता धेरै देख्छु, तिनलाई वेवास्ता गर्छौ ।
    ✍️ गोपालकृष्ण डंगोल, काठमाण्डौँ ।
    ~<•>~
    [४३]
    नेपालीकाे दुहाई दिने बाेल्छन् अंग्रेजी ठुटे
    विद्यालयमा नजान्नेलाई शिक्षकले कुटे ।
    ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ~<•>~
    [४४]
    जहाँ पुग्छु, सम्झन्छु आफ्नै आँगन, आफ्नै मातृभाषा
    अंग्रेज़ी भाषा कमाई खाने मात्र हुन्, लाग्दछ खासा ।
    ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ~<•>~
    [४५]
    विदेशी भाषा हुने बोल्दा सान
    गर्छन् आफ्नो भाषाको अपमान ।
    ✍️सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ
    ~<•>~
    [४६]
    शुद्ध नेपाली बाेल्ने पाखे र बुद्धु हुन्छ
    अंग्रेजी मिसाएर बाेले सबैले सुन्छ ।
    ✍️ प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [४७]
    आफ्नै प्याराे जन्मस्थल मिठाे भाषाभेष
    मान सम्मान पाइने बस्दा आफ्नै देश।
    ✍️ हिरालाल
    ~<•>~
    [४८]
    जानी नजानी अङ्ग्रेजी शब्द बाेल्दैमा ठूलाे हुने
    साेच त्यागेर मातृभाषा बाेल्न थालाैँ मनै छुने ।
    ✍️ रामकृष्ण रिजाल, बागलुङ
    ~<•>~

    One thought on “‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४३ सम्पन्न

    Leave a Reply