साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २३ सम्पन्न

  • १३ असार २०८१, बुधबार ०७:०२ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
    —++—


    १,
    मौसमी चाल चाले
    बाँझोमा उम्रिन्छन् आशाहरू
    पसिनाले उमार्न थाले ।
    २,
    खुट्टा तान्नु पहिले
    आफ्नो पाइला चालौँ
    हातमा फल जहिले ।
    ३,
    पाखुरी होस् स्थायी
    लक्ष्यित योजना बनाए
    यात्रा बन्दछ फलदायी ।

    • म्यामराज राई, भोजपुर

      १,
      हजारौँ फूलहरू फुलिरहे
      सुन्दर ती बगैँचामा
      कति भमराहरू डुलिरहे।
      २,
      लेखिराखौँ हरेक चरण
      पुराना दिनका कथाहरू
      झिल्काले गराउॅंछ संस्मरण ।
      ३,
      जिन्दगी नाटक हो
      हामी अभिनय गर्दैछौँ
      सत्पात्र बन्ने को ?
    • दीप गोले तामाङ, चन्द्रपुर, रौतहट

      १,
      मौसम अनुसारको काम
      नगरी नहुने यता
      छैन जाने ठाम।
      २,
      भइन्जेल पाखुरीमा बल
      उमेर पुगेपछि नसकिने
      जोसुकैले पनि हलचल।
      ३,
      पाइन्छ खोज्दा रहलपहल
      पाखुरी बजार्दा सबैले
      हातमा आउँछ फल।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका,बोस्टन)

      १,
      मौसमको हलचल हुँदैछ
      थिएन पानीको आशा
      असारे मनसुन छुँदैछ ।
      २,
      मानो रोपेर मुरी
      अन्न फलेर आए
      लाग्ला सुनको धुरी ।
      ३,
      फलाउँछ मानव अन्न
      धान्न मानव जिन्दगी
      ईश्वर रहेछन् धन्न ।
    • बेदु न्यौपाने

      १,
      दाम छैन गोजीमा
      कसो गर्ने होला ?
      छु कामको खोजीमा |
      २,
      खान पाइॅंदैन बसेर
      अल्छी भयौँ भने
      हिॅंडौँला पेट कसेर |
      ३,
      मनसुनले घात गर्‍यो
      कतै सुख्खा अति
      कतै पहिरो झर्‍यो ?
    • सरिता सेढाई धादिङ

      १,
      सम्बन्ध बीचको पहिरो
      बाह्य आँकलन नगर्नु
      असर यसको गहिरो ।
      २,
      परदेसिनु बाध्यता थियो
      म फर्की आउँछु
      जलाई राख्नु दियो ।
      ३,
      आवश्यकताको पहाड देखेर
      म पनि परदेसिएँ
      जिम्मेदारी थाप्लोमा बेरेर।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग ,दार्जिलिङ

      १,
      हुनुपर्छ पहिला आँट
      गर्न केही प्रगति
      दु:ख पीडा साटासाट ।
      २,
      राम बसे वनैमा
      केवल एक आदेश
      सिताजीलाई राखेर मनैमा ।
      ३,
      देखिॅंदैन बाहिरी चोट
      भित्री छिया छिया
      अर्धमृत भेटियो बोट ।
    • ईश्वर साउद, रामारोशन गाउँपालिका- ६, सुदुरपश्चिम अछाम

      १,
      बस्नुपर्छ मानेर डर
      वर्षाको महिना सुरु
      प्रकृतिको हुँदैन भर।
      २,
      जीवन बिस्तारै चल्छ
      मिहिनेती बन्दै जाऊ
      गरे सुन फल्छ ।
      ३,
      नछाडौँ आफ्नो कर्म
      सबैलाई बचाउनु पर्ने
      किसानको ठुलो धर्म ।
    • शंकर कार्की, मकवानपुर

      १,
      हुन्छ यहाँ बारम्बार
      महिलामाथि हुन्छ जहिले
      हत्या, हिंसा बलात्कार ।
      २,
      सुन्दा मन रुन्छ
      हाम्रो देशमा छाउपडी
      कहिले अन्त्य हुन्छ ?
      ३,
      बरु बढोस् सुनको
      बिन्ती गर्छु सरकार
      नबढोस् भाउ नुनको ।
    • अनिता भण्डारी, ताप्लेजुङ

      १,
      नहुनु गल्ती भयो
      रिस थाम्न नसक्दा
      क्षति बढ्दै गयो।
      २,
      संसारमा दुई जात
      कतिको घरभित्र रोइलो
      परिवारभित्र देखिन्छ अन्तरघात।
      ३,
      कसैलाई हेपेर नबोलौँ
      समय एकनास हुँदैन
      अर्काको इतिश्री नखोलौँ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ

      १,
      मानव हिॅंड्ने बाटोमा
      सफलता मिलोस् सधैँ
      हुर्की खेलेको माटोमा ।
      २,
      योग अभ्यास गरौँ
      शरीर फुर्तिलो बनाई
      मनमा खुसी भरौँ ।
      ३,
      बगैंचामा फूल फुल्छन्
      सुगन्धित फूलको बासनामा
      भमरा झुम्मिएर डुल्छन्।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे, भक्तपुर

      १,
      हजारौँ फूल फुलिरहोस्
      मगमग बासन छरी
      सदाबहार जिन्दगीमा झुलिरहोस्।
      २,
      असारमा धन रोपाइँ
      चटारो भयो धेरै
      बाढीबाट ज्यान जोगाई ।
      ३,
      खेतालो छैन अब
      के गर्ने खै ?
      देशमा बुढाबुढी सब।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा

      १,
      अन्जान बस्तीहरू ढल्दै
      गरिबी गाँसबास उठ्यो
      एकोहोरो भएर टल्दै ।
      २,
      समाउने हाँगो हुँदैन
      देखेन जनता रोएको
      नेतालाई छाँगाले छुँदैन ।
      ३,
      कति गर्छौ अत्याचार
      पालो गर्दै खाई
      कहाँ टुङ्गिन्छ भ्रष्टाचार ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड

      १,
      देश बचाउ अभियान
      चाल्नु पर्छ सबैले
      भुल्न हुन्न स्वाभिमान।
      २,
      आत्मनिर्भर आफैँ बन्नुपर्छ
      दस नङ्ग्रा खियाई
      बाँझो खेत खन्नुपर्छ।
      ३,
      देशको सिङ्गो कथा
      टुलुटुलु हेर्छ सरकार
      कर्णालीको दर्दनाक व्यथा।
    • काजल न्यौपाने, भोजपुर

      १,
      अकासमा उदाए जून
      जगमग उज्यालो गरी
      उद्यानमा फक्रिए प्रसून।
      २,
      अकेली एकान्त वनमा
      सुकुमारी शकुन्तला बसेकी
      निर्धक्क शान्त मनमा !
      ३,
      अषाढमा धान रोपाइँ
      पाकेपछी मङ्सिरमा काटेर
      गरौँला परालको दाइँ ।
    • विवश पारदर्शी, झापा

      १,
      बोक्दैछु विदेशीको भारी
      मनभरि पीडा छ
      बाँझै घुरेनको बारी !
      २,
      पुगेछन् सत्तामा खुनी
      मरुभूमि तुल्य बनाए
      स्वर्ग जस्तो भूमि !!
      ३,
      हाँसो छैन ओठमा
      राक्षसको साम्राज्य भो
      बाढी पस्यो गोठमा ।
    • ऋजु दिल्पाली, इटहरी

      १,
      मन भयो रसिलो
      सबै मिलेर एकता
      यो रहेछ कसिलो।
      २,
      सबै मेरो हुँदैन
      ईश्वरको आशीर्वाद सबैलाई
      दुःखले कसलाई छुँदैन।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ

      १,
      गूगलमा अन्न फल्दैन
      नानीहरू घोप्टिएर नबसौँ
      यसरी जीवन चल्दैन।
      २,
      खेतमा हलो चलाउनु
      सबैले आलस्य त्यागेर
      मानाको मुरी फलाउनु।
      ३,
      समयको सदुपयोग गरौँ
      आज पसिना बगाएर
      भोलि ढुकुटी भरौँ ।
    • बिके मुखिया, दार्जिलिङ, भारत

      १,
      अविकसित हाम्रो गाउँ
      समस्याहरुले चित्कार छडेर
      देउराली रोएको ठाउँ !
      २,
      युवा परदेश पलायन
      तीन शब्दमा सिमित
      समस्यै समस्याको जीवन।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल

      १,
      तातिइन् पृथ्वी पाल्नलाई
      रमाउँदैछन् किसान खेतीमा
      अनाज फलाउन थाल्नलाई ।
      २,
      एउटै ध्यान किसानको
      निस्वार्थ श्रम गर्दछन्
      अन्न ऐश्वर्य निसानको ।
      ३,
      जुधेर पृथ्वीसँग रमाई
      मस्किन्छिन् धर्ती जब
      देखेर कोदाली समाई ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ

      १,
      मौसमी जलवायु चल्यो
      धर्ती सिॅंन्चित हुँदाखेरि
      फसल राम्रो फल्यो ।
      २,
      पाइला पाइला चालेर
      प्रगतिपथमा सबै लम्कौँ
      वैमनस्यता रिसराग फालेर ।
      ३,
      छन् खेतबारी बाँझो
      फेरि हराभरा बनाउन
      मिलाऔॅं हामीले चाँजो ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा

      १,
      किसान खेतमा डुलेको
      असारे झरि परेर
      सबै दु:ख भुलेको।
      २,
      पुर्वमा रोपाइँ हुँदैछ
      बेलैमा पानी परी
      किसानले हिलो छुँदैछ।
      ३,
      सिमसिम पानी परेको
      काधमा कोदाली बोकेर
      बेँसीतिर ओराली झरेको ।
    • कला ढकाल, झापा

      १,
      महिना यो असार
      रोपिन्छ धान खेतमा
      चलेकै छ घरबार।
      २,
      माटोमा पसिना बगाई
      माटोमै जीवन बिताउँछन्
      बाली अनेक लगाई।
      ३,
      पहिला आफू बाँचेर
      अरूलाई पनि बचाउँछन्
      राख्दैनन् तिनले साँचेर।
    • सतीश पण्डित

      १,
      कृषिमा ल्याए आधुनिकता
      उत्पादन हुन्थ्यो धेरै
      त्यागे सामन्ती मानसिकता ।
    • लोक वहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर, पवत

      १,
      सिमसिमे पानी परेको
      कुट्टो कोदाली बोकी
      बेँसी खेत झरेको ।
      २,
      बेँसी खेत धाउॅंदै
      गरौँ काम मज्जाले
      असारे गीत गाउॅंदै ।
    • वेल थोकर तामाङ, बकैया _८, मकवानपुर

      १,
      को छ अजम्बरी
      जन्मेको हो मर्न
      बाँचिॅंदैन त सधैँभरि ।
      २,
      घाम सङ्ग छायाँ,
      ट्याक्कै परपुरक जस्तो
      दोहोरो हुन्छ माया ।
    • शम्भु गजुरेल

      १,
      बाँकी जस्ताको त्यस्तै
      अचेलको ताजा खबर
      छैन पहिलेको जस्तै।
      २,
      शोषण गर्छन् श्रमिकमाथि
      काम अनुसारको दाम
      पाइॅंदैन भन्छन् साथी ।
      ३,
      नभई नहुने पानी
      निकास नभएको खण्डमा
      बर्खामा गर्छ हानी ।
    • पृथक प्रकृति ,झापा

      १,
      भनेर पनि नहुने
      जिन्दगी रहेछ दोधारको
      मनले पनि नछुने ।
    • प्रेम थापा “मन”बागलुङ “

      १,
      आगो र पानी
      नमिल्ने एकापसका पूरक
      यस्तै सोच्छे सानी ।
      २,
      भाग्यको पछि लागेर
      कर्मशील बन्न नसके
      पाइन्न केही मागेर ।
      ३,
      भोकले भोजन मागेछ
      परिबन्दमा फँसेर पो
      नखाएको विष लागेछ ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा)

      १,
      धान रोप्ने बेलामा
      घामा लाग्यो टलल
      जाउ साँइली मेलामा ।
      २,
      ब्याडे दाई आए
      हातमा बिउ लिई
      रोपाहारले रोप्न पाए ।
      ३,
      किसान हामी रमाउॅंदै
      खेतबारीमा गएर हेर
      हलो जुवा समाउॅंदै ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा

      १,
      लुकेर हान्छौ जहाँ
      जीवन जान सक्छ
      प्रत्यक्ष आऊ, यहाँ ।
      २,
      झुठको तिम्रो खेती
      कहिले सुध्रिन्छौ तिमी
      दुनियाँले छुँदा तेति ।
      ३,
      यहाँ मौसम फारेको
      पानी आउँदैन होला
      हेर किसान हारेको !
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि

      १,
      मौसम भयो आहा !
      ऋतु रोपाइँको पनि
      किसानको यत्ति चाहा ।
    • नागेन्द्रप्रसाद यादव

      १,
      पनौतीको हिले जात्रा
      खानुपर्छ मिलाएर फल
      चिउली केराको मात्रा !
      २,
      मानो रोपेर मुरी
      फलाउनु पर्ने बेला
      नहुनु कोही दूरी ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे

      १,
      बर्सात नहोला जस्तो
      सुक्न लागेछ गराहरू
      रोपाइँ नहुँदा कस्तो ।
      २,
      बीउ उखेलेर सारा
      पानीले धोका दियो
      मनसुनको कस्तो पारा ।
      ३,
      आकाशको भरमा खेती
      बादललाई कति पर्खनु
      उमेर ढल्केछ सेती ।
    • भगवती दवाडी ,झापा

      १,
      टाढ़ा नजिकका भेटियो
      हात समाई रमाउँदै
      झिल्काले सबैलाई समेटियो।
      २,
      झरी नयनको कुनामा
      कसैले नदेखी खस्यो
      आफ्नै दौराको तुनामा।
      ३,
      जिन्दगीको गोरेटो साह्रो
      धोका खाँदै हिॅंड्नुमा
      जिउनु एकदमै गाह्रो।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ

      १,
      धान रोप्नुपर्छ भनेर
      बिदेश हिॅंडेको उनी
      रुपियाँ देखाउँछन् गनेर ।
      २,
      सबैको मन रिझाउन
      सकिन्न रहेछ कहिले
      थाल्दछ चसक्क बिझाउन ।
      ३,
      रिसाएको जस्तो मुहार
      एकपटक मुस्काउन भन्छु
      मागेर फेरि गुहार ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा

      १,
      पानी पर्यो आज
      बाटो छ हिलो
      नभेटौँ है साँझ।
      २,
      मनमा माया अपार
      साथमै लैजाऊ मलाई
      एक्लै रुन नपार ।
    • साबित्री प्याकुरेल, धादिङ्

      १,
      कर्मयोगी हुन्छ किसान
      गर्दैन फलको आशा
      चाहिॅंदैन भवन आलिसान ।
      २,
      गर्नुपर्छ धेरै कष्ट
      प्रकृति बन्छ शत्रु
      गर्छ उपज नष्ट ।
      ३,
      उत्पादन गर्छ अन्न
      खुवाउॅंछ टन्न सबैलाई
      पर्छ जमिन खन्न ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची

      १,
      सङ्गत अनुसारको फल
      अवश्य मिल्नेछ साथी
      तर नगर्नु छल ।
      २,
      देखियो मिठो सपना
      उपभोग गर्न पाइन्न
      ईश्वरको गर्नु जपना
      ३,
      श्रमिक निरोगी हुन्छ
      देश विकासको आधार
      विभेदले मन छुन्छ ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे

      १,
      आयो रोपाइँको बेला
      खेल्छन् युवा युवती
      हिलो छ्याप्ने खेला।
      २,
      हुँदैन फुर्सद खाने
      एउटै कुरा ध्यानमा
      खेतमा सबरै जाने।
      ३,
      कोही रसिया गाउँछन्
      असारे गीतको पारखी
      गीत सुन्न धाउँछन्।
    • अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ, भारत

      १,
      आषाढमा धान रोप्ने
      हिउँदमा पिरती लगाई
      हातमा नाम खोप्ने ।
      २,
      पाइला अगाडि चाल
      आउन सक्छ नजिकै
      बर्षातमा नदीको छाल ।
      ३,
      सफलता हात पार्न
      पर्छ अब सबैले
      खेतबारीमा मन सार्न ।
    • ललिता गिरी, सिन्धुली, हाल काठमाडौं

      १,
      जोधाहा रहेछन् ओहो!
      दुष्ट नेतालाई जहिलेसुकै
      सत्ताको मात्रै मोहो l
      २,
      सकिएन गर्न जोहो
      कसरी भेटिन्छ कुन्नि
      छाक टार्ने गोहो l
      ३,
      आत्मनिर्भर बनौँ सबै
      परालम्बी भयौँ भने
      आनन्द मिल्दैन कबै l
    • बाबुराम गौतम, गुल्मी

      १,
      अल्छीलाई महान ठानिन्छ
      मुलुक सतीले सरापेको
      गर्नेहरूको खुट्टो तानिन्छ ।
      २,
      न्यायको मरिसक्यो आस
      दोषीलाई दिन्छ उन्मुक्ति
      निर्दोषलाई सधैँ कारावास ।
      ३,
      जिन्दगी हुन्छ जञ्जालमा
      तर राम्रो देखाइन्छ
      हेर सामाजिक सञ्जालमा ।
    • वसन्त अनुभव, घोराही, दाङ

      १,
      अस्पटलाग्दो छ पर्खाइ
      बुझिन्छ समयको मूल्य
      मनको अनौठो सोचाइ ।
      २,
      जिम्मेवारी कस्तो बाध्यता ?
      कर्तव्यबोधले थिचिएको जीवन
      गर्न नसकिने मध्यस्तता ।
      ३,
      अधुरो सपनाहरू लथालिङ्ग
      समेट्न खोज्दा खोज्दै
      जिन्दगी दोबाटोमा ठिङ्ग ।
    • दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ्ग

      १,
      भोजन जुटाउन वर्षको
      असारमा रोपाइँ गरेर
      आयो समय हर्षको ।
    • लक्ष्मी रिजाल, रुपनगर, सप्तरी ।

      १,
      ब्रह्माण्ड तातो भयो
      प्रलय हुन्छ भन्ने
      सबैको सातो गयो
      २,
      प्रकृतिलाई पनि गाह्रो
      नियम विपरीत गर्दिन्छन्
      बाँच्नलाई पनि साह्रो ।
      ३,
      घामपानी जस्तो भइदिऊॅं
      नत्र हुन्छ अप्ठ्यारो
      नियम अनुसार गइदिऊॅं ।
    • सविता भट्टराई, जनकपुर

      १,
      मनभित्र पस्यो अशान्त
      हुरी बतास चलेर
      समय आयो दुःखान्त।
      २,
      हाँगा नहोस् समाउने
      टेक्नुलाई पाए भुईॅं
      त्यही उभिएर रमाउने।
    • राजनारायण राई, राजदल बस्ती सोनादह

      १,
      असारे झरी पर्दैछ
      किसानलाई आफ्नै चटारो
      रोपाइँ गर्न झर्दैछ।
    • शोभा आचार्य गौतम, काठमाडौँ

      १,
      आयो असारे झरी
      रुझायो तन मेरो
      पग्लिएँ सुस्तरी सुस्तरी ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ

      १,
      आगोलाई नठानौँ सानो
      हेलचक्राई गरेको हामीले ,
      जलाई दिन्छ छानो ।
      २,
      घरमा आगो लाग्दाखेरि
      बोलाऔॅं दमकल सबैले
      नोक्सान हुँदैन फेरि ।
      ३,
      आगोले ताप दिन्छ
      दुरुपयोग हुन गएमा,
      हाम्रो खुसी छिन्छ ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल

      १,
      कुरीतिको मारमा पर्‍यो
      मानव समुदाय समाजमा
      नगर्ने काम गर्‍यो ।

      विदेशीको दास सरकार
      देशको लगाम अन्तै
      शासन उस्तै व्यवहार।

      सरकारमा हुन्छ मारामार
      मुद्दा हुँदैन देशको
      गर्न नपाएर भ्रष्टाचार।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८

      १,
      मादकतामा बैँसालु मन
      देखेपछि मेरो सामुमा
      तरङ्गियो यो मायालुपन।
      २,
      अनगिन्ती सपना सजाउँदै
      जीवनको उत्तरार्ध पनि
      आउँदैछ सारङ्गी बजाउँदै।
      ३,
      खहरे जसरी गडगडाउँदै
      आउँदैछ सरर सुसाएर
      बैँसालु वसन्त हडबडाउँदै।
    • घनश्याम पन्त, हरिवन सर्लाही

      १,
      झिल्का लेखौँ तेसरी
      दुनियाँ हाँसोस् सम्झॅंदै
      पेट मिचिमिचि बेसरी ।
      २,
      दाम्लो बाट्नु चोयाको
      माया लगाउनु सोचेर
      हालत होला खोयाको।
    • होमप्रसाद नेउपाने, धरान,सुनसरी

      १,
      अन्योलमा हुन्छु कहिले
      गन्तव्य भेट्न नसकी
      भौँतारिने गर्छु जहिले ।
      २,
      बहकिन मन हावामा
      तर पलपल पिल्सिॅंदै
      तातो रापिलो तावामा ।
      ३,
      प्रत्येक श्वासप्रश्वास गनेर,
      आशक्तिमै पो डुब्दैछु
      अजम्बरी शरीर भनेर ।
    • दीपा गुरुङ्ग (समभाव), खोटाङ्ग

      १,
      आकाशमा जून तारा
      हेरेर रमाएका आफैँ
      खुसीमा दुनियाँ सारा
      २,
      नदीको कलकल पानी
      पानी सबैको जीवन
      सबैको आँखाको नानी
      ३,
      उकालीको बाटो राम्रो
      बस्तीहरू सदा हराभरा
      अनुपम गाउँघर हाम्रो
    • आर्त अकुलीन

      १,
      शरीरभित्र छ पसिना
      मनसुन परिवर्तन हुँदा ,
      आए खेतमा असिना ।
      २,
      सफलताले पाइला चाले
      परिश्रम गर्दा जिन्दगीमा ,
      खुसीले हर्ष थाले ।
      ३,
      देशमा नेताको मोजमस्ती
      विकास नहुदाँ हजुर
      सुख्खा भो गाउँबस्ती ।
    • श्रीकृष्ण धामी – बझाङ

      १,
      असार मासे गीत
      गाउनु पर्छ आई
      लाएर हिलोसँग मीत ।
      २,
      छैन फुर्सद खानलाई
      मुठीले मुरी उब्जाउन
      छिटो मेला जानलाई।
      ३,
      मेलो तयार भयो
      बाउसेले आली लाएपछि
      रोपाहार रोप्न गयो ।
    • दुर्गा भट्टराई, मोरङ

      १,
      छुपुछुपु धान रोपौँला
      पानी पर्यो भने
      पुरानो घुमले छोपौँला।
      २,
      मानो रोपेर मुरी
      असारको मङ्सिरमा भित्र्याउने
      नढाल्नु है हुरी ।
    • सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौ

      १,
      वैदेशिक रोजगारको असर
      युवाहरू सबै विदेशमा
      वृद्धहरू मात्र गाउँघर।
      २,
      खेती गर्ने बेलामा
      बाँझो रह्यो खेतबारी
      कोही छैनन् मेलामा।
      ३,
      बाध्यता र रहर
      कस्तो बन्यो परिस्थिति
      रित्तिॅंदैछ गाउँ सहर।
    • ज्ञानबहादुर क्षत्री, सन्धिखर्क – २, अर्घाखाँची।

      १,
      बेला असार मासको।
      गरौँ रोपाइँ छुपुछुपु
      खोलौँ सृजना सहकालको ।
      २,
      असारे झरी बेला
      अमूल्य प्रकृतिको वरदान
      भर्ने आस्थाको मेला ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार

      १,
      मुठीबाट मानो फलाउने
      यसरी काम गरेर
      कृषकले जीवन चलाउने ।
      २,
      अरूको कुरा काट्न
      छोड सबै जाऔॅं
      खेतबारीमा पसिना साट्न ।
      ३,
      छत्री घुमले छोपेर
      पानी परेको बेला
      रमाउँछौ धान रोपेर ।
    • लक्ष्मण देउवा डोटी

      १,
      फुलेको सुन्दर फूल
      नफक्रेको कोपिला टिप्ने
      नगर्नु है भूल ।
      २,
      बगैंचा बिरुवाले भरौँ
      स्वस्थ जीवन बाँच्नलाई
      नित्य कर्म गरौँ ।
      ३,
      देखिन्छ सुन्दर सप्तरङ्ग
      मनको मैलो हटाई
      पर्नुपर्छ हामी दङ्ग ।
    • जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक २, बालकोट भक्तपुर)

      १,
      यो असारको महिना
      रोप्ने धान मैले
      पुछ्दै निधारको पसिना ।
      २,
      टन्टलापुर घाम चर्को
      हिलोमा छुपुछुपु रोप्छु
      धान नमानी झर्को।
      ३,
      हातमा बीउ समाई
      गुनगुनाई असारे भाका
      खेल्छु हिलो रमाई।
    • रुना कर्माचार्य दाहाल ,चितवन

      १,
      काम ठग्ने राजयोगी,
      पाउँछ उसले पृष्ठपोषण,
      दिक्दारमा छन् भुक्तभोगी।
      २,
      पहाडका बेँसी टार
      गाउँघर बाँझै खाली
      मेटिॅंदैछ हाम्रो सार ।
      ३,
      शासकले खेरै फाले
      स्रोतहरू अनुपम नेपालको
      धमाधम छोड्न थाले।
    • मनोहरी पौडेल, गैडाकोट १, नवलपरासी वसुपू

      १,
      मन्द मुस्कानको ओठ
      बिर्सन पीडाका चुस्की
      मनभरि चुलिएको चोट ।
      २,
      स्वप्न नगरको सपना
      चाहना रमरम नशाको
      बिर्सन्न यथार्थ कपना ।
    • ममता पौडेल, बुढीगङ्गा- मोरङ

      १,
      मान्छेको स्वभाव घमण्डी
      स्वार्थको सीमा नाघ्दछ
      हुन्छ क्षति उग्रचण्डी ।
      २,
      बर्खायाममा बाढी, पहिरो
      लापरबाही गर्दा मान्छेले
      प्रकृतिलाई दुख्छ गहिरो ।
      ३,
      क्षतिको हिसाव नगरौँ
      दैवीप्रकोप न्यून गर्न
      होसियारीसाथ काम गरौँ ।
    • पद्मा काश्यप पाण्डे, मोरङ

      १,
      रहरमा बाँध बाँधेर
      ओठमा मुस्कान भर्दछु
      हाँसो, आँशु साँधेर।
      २,
      असारे भाका मेलामा
      घन्कियो गैरी खेतमा
      रोपाइँ गर्ने बेलामा।
      ३,
      खेतमा धान रोपियो
      असार गई मङ्सिर
      महिनाको आस बोकियो ।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल

      १,
      अक्सिजन हाम्रो प्राण
      रुख जीवन हाम्रो
      खानाले बढ्छ त्राण ।
      २,
      नारी पुरुष बराबरी
      भेदभाव नगर्दा राम्रो
      जीवन चल्छ सराबरी।
      ३,
      रुँदै जीवन जाला
      अल्छी भाव सङ्गाल्दा
      दु:ख वर्षाउने चाला ।
    • हिरालाल न्यौपाने ,बानपा ८, कोटमौला सल्यान
      ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Leave a Reply