
साताका उत्कृष्ट झिल्का कविताको १७औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १७ का लागि झिल्काकारत्रय लक्ष्मण देउवा डोटी, पुष्पा सुवेदी र सञ्जना शर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

साताका उत्कृष्ट झिल्काहरू
———<•>———
[१]
१//
कर्मको फल मिठो
सधैँ दुःखमा रमाउने
म गाउँले ठिटो ।
२//
सङ्घर्षको भारी बोकेर
पुग्न सकिन्न गन्तव्यमा
बीचमा पाइला रोकेर ।
३//
दुःखको जङ्घार तरेर
जिउनुको अर्थ सिकाई
एकदिन जानुछ मरेर ।
✍️
लक्ष्मण देउवा डोटी
हाल भारत चेन्नई🇳🇵
———<•>———
[२]
१//
राजनीति शब्दको अर्थ
गलत परिभाषित भयो
अर्थको लाग्यो अनर्थ ।
२//
भ्रष्टाचारको धमिरो फालौँ
राजनीतिलाई पृष्ठभूमि बनाएर
राष्ट्रियताको जग बसालौँ ।
३//
नबिर्सनू ए साथीभाइ !
गन्तव्यमा पुगे भनी
हेर आफ्नो उद्गमस्थललाई ।
✍️
पुष्पा सुवेदी
नेपालगन्ज, बॅाके
———<•>———
[३]
१//
आस गरेर बसेछौ
अरूको मात्रै आज
त्यसैले तल खसेछौ ।
२//
मेहनत गरेर खानू
आफ्नो यही ठाउँमा
उब्जिन्छ है मानु ।
३//
मेहनत गरेर मरिँदैन
गरेर अठोट आजै
अरूको भर परिँदैन ।
✍️
सञ्जना शर्मा
———<•>———