साताका उत्कृष्ट झिल्काहरू- १६

  • २६ जेष्ठ २०८१, शनिबार ०५:२० मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको १६औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १६ का लागि झिल्काकारत्रय सुस्मिता अधिकारी, रिजु दिल्पाली र पद्मा काश्यप पाण्डेका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ———<•>———
    [१]
    १.
    गणतन्त्र सुन्दर बाहाना
    जानेका कति बुन्न
    समृद्धिको देखावटी चाहाना ।
    २.
    विगतबाट सकेनन् सिक्न
    नियत रोज्छन् पुरानै
    केवल ढुकुटी झिक्न ।
    ३.
    गणतन्त्र त आखिर
    लुट्न जान्नेका लागि
    बन्यो सुनौलो जागिर ।
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ———<•>———

    [२]
    १.
    गोठालाहरू सहर पसे
    बिगौतीको लोभमा फसेर
    आमालाई छुरा धसे ।
    २.
    अपराधीले छुनु हुँदैन
    पवित्र देश मेरो
    देशभक्तले रुनु हुँदैन ।
    ३.
    यो आयात नीति
    मुलुक बर्बाद भयो
    कतै छैन थिति ।
    ✍️
    रिजु दिल्पाली
    ———<•>———

    [३]
    १.
    देशको भलाइ हुनलाई
    राष्ट्रिय एकता चाहिन्छ
    पर्दैन हामी रुनलाई ।
    २.
    संस्कृति साझा हाम्राे
    जोगाउँदा मिली सबैले
    सभ्यता बन्छ राम्रो ।
    ३.
    युवालाई रोजगारी चाहिन्छ
    श्रम सिप रोपेमा
    स्वदेशमै जागिर पाइन्छ ।
    ✍️
    पद्मा काश्यप पाण्डे
    मोरङ
    ———<•>———

    Leave a Reply