साताका उत्कृष्ट झिल्काहरू- १५

  • १९ जेष्ठ २०८१, शनिबार ०७:१० मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको १५ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १५ का लागि झिल्काकारत्रय ️रचना प्रतीक्षा, ️कमल प्रसाद बगाले र ️नन्दा धामीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    [१]
    १.
    पिएर विष मरिन्न
    अपमानका शब्द सहँदा
    मरिन्छ त्यस्तो गरिन्न !
    २.
    भ्रष्टाचारीको देश भनियो
    विश्वमा हाम्रो नेपाल
    बलात्कारीको देश जनियो ।
    ३.
    माकुरो घाम ताप्दैछ
    माघको चिसो छल्दै
    तापक्रम पनि माप्दैछ ।
    ✍️
    रचना “प्रतीक्षा”

    ललितपुर

    [२]
    १.
    शान्ति छैन देशमा
    निमुखा जनता दरिद्र
    नेता लुट्ने भेषमा !
    २.
    शान्ति क्षेत्र नेपाल
    हाक्छ मागी सत्ता
    समृद्ध राष्ट्रको हाल !
    ३.
    मिलाई जुटायो कसैले
    बनाई तमासा हेरेर
    अहिले फुटायो मजैले !
    ✍️
    कमल प्रसाद बगाले

    वालिङ्ग बजार स्याङ्जा, गण्डकी प्रदेश

    [३]
    १.
    सहयात्री हो वन
    सुख अनि दुःखको
    दिन्छ सधैँ आफ्नोपन !
    २.
    म रुँदा रुन्छ
    ख्याल गर्दछ मेरो
    हाँस्दा खुसी हुन्छ ।
    ३.
    छ अपार शक्ति
    आमाको मातृत्वमा हेर
    समर्पण र भक्ति !
    ✍️
    नन्दा धामी
    नौगाड, दार्चुला
    ————<•>———–

    Leave a Reply