साउदीअरबको दम्माममा “2nd NRNA GOLD CUP 2024” हुँदै।

  • ७ असार २०८१, बिहीबार १६:२५ मा प्रकाशित
  • गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले दोस्रो एनआरएनए गोल्डकप २०२४ आयोजना गर्ने भएको छ। साउदी अरबको पूर्वी प्रान्त दमामको एक स्थानीय खेलमैदानमा इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल आधाको अवसर पारेर यही जुन महिनाको १६ र १७ तारिखका दिन उक्त आयोजना हुन लागेको संघले जनाएको छ।


    फिफाको नियम अनुसार नकआउट विधिबाट सञ्चालन हुने उक्त खेल गैरआवसीय नेपाली संघ साउदी अरबले विगतमा गरिएका राहत तथा उद्धारका कार्यहरूलाई निरन्तरता दिन एवं नेपाली फुटबल खेलाडीहरूको खेलप्रतिको लगावलाई समेत निरन्तरता दिँदै हौसला बढाउन प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ।
    संघले उक्त प्रतियोगितामा सहभागी टिमहरूमध्ये विजेतालाई प्रथम पुरस्कार ६,६६६/- साउदी रियाल राखिएको छ भने द्वितीय पुरस्कार ३,३३३/- र तृतीय पुरस्कार १,६१६/- रियाल रहने जनाएको छ।

    गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको उपाध्यक्ष तथा खेलकुद समिति संयोजक राज गिरीको मातहतमा रहने गरी गठन भएको उपसमिति संयोजक चित्रकुमार चाम्लिङ राईले जनाए अनुसार जुन महिनाको दोस्रो हप्ताभित्रमा प्रतियोगिताको सम्पूर्ण तयारी पुरा हुने जनाएको छ। उनका अनुसार समितिका पदाधिकारीहरूलाई विभिन्न अलगअलग जिम्मेवारी सुम्पिएर तयारी अगाडि बढाएको छ।

    समिति सदस्य पासाङ शेर्पाका अनुसार हालसम्म २३ वटा फुटबल क्लबले सहभागिताको लागि आशय व्यक्त गरेका छन् भने ती मध्यबाट १९ वटा फुटबल क्लबले सहभागिताको लागि सुनिश्चितता जनाई सकेको छ। त्यस्तै गरेर चारवटा क्लबले भने आफ्नो सहभागिताको सुनिश्चितता गर्न बाँकी रहेको छ। पूर्व सूचनालाई उल्लेख गर्दै उनका अनुसार १३ जुन २०२४ को रातको १२ बजे भित्रमा टिम दर्ता गर्न सकिने जनाएको छ। उक्त समयभन्दा पछाडि टिम दर्ताको लागि आउने फुटबल क्लबहरूलाई दर्ता गर्न नसकिने पनि जनाएको छ। उनका अनुसार टिम दर्ता शुल्क साउदी रियाल ६६६ रहेको छ। उनले समयमा नै आफ्नो टिम दर्ता गराउनको लागि सम्बन्धित सबै फुटबल क्लबहरूलाई आह्वान समेत गरेका छन्।

    उक्त फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न साउदीअरब स्थित क्रियाशील सामाजिक संघ संस्थाहरू, बैचारिक एवम् राजनीतिक दलका भातृ संगठनहरू, सक्रिय फुटबल क्लबहरू र समाजसेवी व्यक्तित्वहरूलाई साथ र सहयोग गरिदिन संघका अध्यक्ष रबिना अर्यालले आह्वान गरेकी छिन्।

    Leave a Reply