विशेष झिल्का लेखन अभियानको १८औँ शृङ्खला ( राजनीति विषयक) सम्पन्न

  • ६ असार २०८१, बुधबार ०६:०१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १८ औँ शृङ्खला (राजनीति विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    १//
    राजनीति फोहोरी खेल
    झुठो होला भनेको
    यथार्थ लाग्दैछ अचेल ।
    २//
    गरेर अनेकन् छल
    पुर्‍याउँछन् जेल सोझालाई
    अन्यायलाई गर्दै मलजल ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ————-==———–
    १//
    राजनीति कमाउने थलाे
    विकास हुन सकेन
    भएन जनताको भलाे ।
    २//
    छलकपट र बेइमानी
    राजनीति गर्नेकाे काम
    संसदमा छैनन् इमानी ।
    ३//
    राजनीति शब्द राम्रो
    व्यक्ति सही नहुँदा
    शब्द भयाे चाम्राे ।
    ✍️
    रबि पाैडल
    दक्षिण भारत पाण्डेचरि
    ————-==———–
    १//
    सत्तामा भयो खेल
    सोझासाझा यी जनतालाई
    विनादोष पुर्‍याउँछन् जेल ।
    २//
    पानी माथिको ओभानो
    दु:खी गरिब सुन्दैन
    सरकार आफैँ कानो !
    ३//
    बुढो गोरू सरकार
    टन्न छँदैछ उसलाई
    किन जनताको दरकार ?
    ✍️
    बेदु न्यौपाने
    ————-==———–
    १//
    राजनीति खेल फोहोरी
    कुर्सी समाउन मात्रै
    सिंहदरबारको भित्र दोहोरी ।
    २//
    सिंहदरबार कमाउने थलो
    बुझेर अगाडि बढौ
    यसमै हुन्छ भलो ।
    ३//
    देशलाई बिगार गरेर
    जति भ्रष्ट्राचार गरून्
    भोलि जान्छन् मरेर ।
    ✍️
    ललिता गिरी सिन्धुली
    हाल काठमाडौँ
    ————-==———–
    १//
    फोहोरी गराए राजनीति
    झुटो नबोली नहुने
    गर्नु नपरोस् सितिमिति ।
    २//
    सत्तालाई जालझेल गरेर
    टिकाउन खोज्छन् जहिल्यै
    कहिले यताउता सरेर ।
    ३//
    सबैमा ठूलाबडाको हात
    नहुनेलाई हुने गराउॅंदा
    पापको लाग्ला खातैखात ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    १//
    नेताले देश खाए
    लुकाए अन्याय गर्नेलाई
    जनताले दुःख पाए ।
    २//
    कति सक्छन् लुट्न
    सकेन केही गरेपनि
    यिनका भुँडी फुट्न ।
    ३//
    देशलाई खोक्रो पारेर
    सबै खाइसके भित्रभित्र
    सोझा जनतालाई मारेर ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत चेन्नई
    ————-==———–
    १//
    राजनीति उत्तम नीति
    अहिले अनर्थ भयो
    उल्टो बस्यो थिति ।
    २//
    जनताको काम गरेर
    बस्न म खोज्थेँ
    बेथितिले छक्क परेर ।
    ३//
    आशाको किरण देखियो
    वाक स्वतन्त्रता भएर
    जमिनमा जताततै लेखियो ।
    ✍️
    नन्दलाल आचार्य
    एनेलकुटी, सिरहा, मधेस प्रदेश ।
    ————-==———–
    १//
    राजनीति बेइमानीको घर
    झुटोलाई साँचो बनाउने
    ठगेर जीविकोपार्जन नगर ।
    २//
    विकासमा राजनीति लगाऊ
    जनतालाई गराऊ शान्त
    गरिबी अशान्ति भगाऊ ।
    ३//
    फोहोरी राजनीति नगर
    समृद्धिको सुवास फैलाऊ
    चलोस् वासना वरपर ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    ————-==———–
    १//
    राजनीतिकाे यहाँ नाउँमा
    हदैसम्म बढ्दै गयाे
    भ्रष्टाचार पाे ! गाउँमा ।
    २ //
    जनताकाे बेचेर नाम
    नेताहरूले कमाईरहन्छन् यहाँ
    भित्रभित्रै कालो दाम ।
    ३//
    भएपछि फाेहाेरी खेल
    सदैव देखिरहन्छ यहाँ
    हरेक कुरामा झेल ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ————-==———–
    १//
    हुन्छ भन्छन् जालझेल
    सत्ता, भत्ताको लागि
    खेलीने एउटा खेल ।
    २//
    सप्रदैछ केवल भ्रष्टाचार
    गर्दैनन् चिन्ता देशको
    जनतालाई बनाए शिकार ।
    ३//
    मिथ्याको लिएर सहारा
    आफ्नो खल्ती भर्छन्
    लगाएर मात्र नारा ।
    ✍️
    पृथक प्रकृति ,झापा
    ————-==———–
    १//
    सजिलै कमाउने साधन
    नेतागिरी गरेर जिविका
    राजनीतिको मलिलो आँगन ।
    २//
    आकाशको तारा झार्ने
    गर्छ मिठो भाषण
    राजनीतिले जनता मार्ने ।
    ३//
    राजनीतिको मैलो खेल
    बेइमानी उही हरे !
    जनता साउनको भेल ।
    ✍️
    दिल ठकुरी
    टिस्टा भेल्ली दार्जिलिङ ।
    ————-==———–
    १//
    अनौठो यस्तो खेल
    हारजित हुने खुसुखुसु
    जनता माथिको जालझेल
    २//
    निर्णय गरिन्छ लुकेर
    खैलाबैला चाहिँ ढाँटी
    स्वार्थको कुटुरो बोकेर ।
    ३//
    सराप अरे सतीको
    राजनिती असल भइदिए
    आशिक लाग्नेथ्यो धरतीको !
    ✍️
    कमला
    ————-==———–
    १//
    भ्रष्टाचार मात्रै गर्छन्
    बिकास गर्नलाई चाहिँ
    अर्काको भर पर्छन् ।
    २//
    राजनीतिमा गरेर झेल
    यहाँ सबै नेताले
    षड्यन्त्रको खेल्छन् खेल ।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    ————-==———–
    १//
    जहिले चल्छ राजनीति
    देशमा छैन हजुर
    उसको निश्चित मिति ।
    २//
    राजनीतिमा ठूलाबडाकाे हात
    छैन गरिब जेहेन्दारलाई
    दु:खमा कुनै बात ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    १//
    सबैभन्दा आज बेथिति
    कमाउमा लागेको रहेछ
    निस्वार्थ भनेको राजनीति ।
    २//
    पाइलैपिच्छे भयो झुट
    फोस्रा नारामा सिमित
    राजनीति भयो लुट ।
    ३//
    सोचेजस्तो भएन देश
    लुट्ने तरिका उहीँ
    केवल फेरियो परिवेश ।
    ✍️
    शंकर कार्की, मकवानपुर
    ————-==———–
    १//
    राजनीति शब्दको अर्थ
    गलत परिभाषित भयो
    अर्थको लाग्यो अनर्थ ।
    २//
    भ्रष्टाचारको धमिरो फालौँ
    राजनीतिलाई पृष्टभूमि बनाएर
    राष्ट्रियताको जग बसालौँ ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    ————-==———–
    १//
    राजनीतिमा हुन्छ खेल
    भ्रष्ट नेताको जमातले
    गर्छन् अनेकौँ झेल ।
    २//
    राजनीति लाग्थ्याे राम्रो
    झुट खेती गर्ने
    नेता भयो हाम्रो ।
    ३//
    गर्नु इमानदारी राजनीति
    सधैँ सम्मानित हुनेछौ
    जनताको मन जिती ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    १//
    अर्काको पोल खोल्छ
    अस्थिर गणतन्त्र नेपालको
    राजनितीमा काण्डहरू बिथोल्छ ।
    २//
    राजनितिलाई तरङ्गित बनाए
    सत्ता, शक्तिको घमण्डले
    सडकदेखि सदनसम्म हँसाए ।
    ३//
    सरकारलाई छैन थाहा
    दुर्गम जिल्लाको घटनामा
    न गम्भीररूपमा चाहा ।
    ✍️
    कला ढकाल, झापा
    ————-==———–
    १//
    सिंहदरबारको त्यो राजनीति
    जति बाघचाल खेल्छौ
    उति प्रखर कुटनीति ।
    २//
    राजनीति लङ्गुरबुर्जा बाघचाल
    जसले घुमाउन जान्यो
    सत्ता समिकरणमा हाल ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    १//
    पेशा भयाे राजनीति
    सेवा भनी बकबास
    नगर चुनाव जिति ।
    २//
    अर्काकाे खुट्टा तान्ने
    भर्‍याङ भयाे राजनीति
    नबन आफूमात्र जान्ने ।
    ३//
    स्वच्छ व्यक्ति छानौँ
    जनताले सक्छौँ सपार्न
    मजाले गाेल हानाैँ ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला,सल्यान
    ————-==———–
    १//
    गर्छन् मिली मनोमानी
    आपसमा भागबण्डा नमिल्दा
    राजनीतिमा चल्छ खिँचातानी ।
    २//
    भाषणमा आदर्शका कुरा
    तड्पाउछन् जनतालाई घरीघरी
    बोकेर बगलीमा छुरा ।
    ✍️
    बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
    ————-==———–
    १//
    राजनीति फोहोरी खेल
    खुट्टा तान्न सिपालु
    लडाउन गर्छन् जालझेल ।
    २//
    आटेर पुग्ने सिंहदरबार
    मुसाको चोर दुलो
    लुट्छन् चलाउँछन् घरबार ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    ————-==———–
    १//
    राज्य सञ्चालन विधि
    राजनीति तथा शासन
    जाेगाउनु राष्ट्रकाे निधि ।
    २//
    सर्वत्र सत्ताकाे माेहो
    गर्न गाह्रो जनतालाई
    बिहान, बेलुकाको जाेहो ।
    ३//
    राजनीति गर्ने नेता
    लाग्याे सधैँ दाग
    भएनन् कहिल्यै सेता ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    १//
    देश डुबाउने राजनीति
    झुटो नबोली नहुने
    यस्तै रहेछ तिथिमिति ।
    २//
    पुरानो नीतिलाई बढाउनुपर्छ
    गर्दैछ आन्दोलन जनता
    निमुखालाई देश चलाउनुपर्छ ।
    ३//
    हराउँदैछ देश नेपाल
    अब एमसीसीको नाममा
    फाडौँ विदेशीको जाल ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ————-==———–
    स्वार्थको पोको बोक्छौ
    वितृष्णा नेपालको राजनीति
    जनतालाई सास्ती तोक्छौ ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ————-==———–
    १//
    राजनीति बनाए पेवा
    मनपरी हैकमवाद लादेर
    आफूलाई फलाए मेवा ।
    २//
    उग्र उदण्डताको नमूना
    लम्पसारवाद भयो राजनीति
    सर्वत्र विदेशीको टुना ।
    ३//
    युवा आशाको दियो
    थपियो झनै वेदना
    विगतमा शान्ति थियो !
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    ————-==———–
    १//
    सेवाको कार्य महान
    विश्वमा हो राजनीति
    नागरिक मानेमा जहान ।
    २//
    अवसर पुण्य कमाउने
    स्वयम्को खुबी रजाइँ
    राष्ट्रको प्रेममा रमाउने ।
    ३//
    फसाए अज्ञानी लोभीले
    परावलम्वले उठ्नै गाह्रो
    राज्य बुझेन रोगीले ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    ————-==———–
    गर्छन् कति बेइमानी
    राजनीतिमा छ आलोपालो
    बुझ्नै नसकिने कहानी ।
    ✍️
    नागेन्द्रप्रसाद यादव
    ————-==———–
    १//
    चारैतिर छ बेथिती
    कानुन छ जङ्गलकाे
    के काम राजनीति ?
    २//
    गरेर आस मेवाकाे
    पैसा कमाउने माध्यम
    हरायो भाव सेवाकाे ।
    ३//
    युवालाई दिँदैनन काम
    बुढै छन् शासनमा
    राजनीति भयाे बदनाम ।
    ✍️
    दिनेशकुमार शर्मा
    हेटौंडा , मकवानपुर ।
    ————-==———–
    १//
    कस्तो हुन्छ काम
    खाली जनता चुस्ने
    राजनीति राख नाम ।
    २//
    हिजोआज नेता कति
    म त कवि
    गाउँघरको मान्छे जति ।
    ३//
    सजिलो काम राजनीति
    निष्पक्ष कर्म गर
    नगर बेसी कुटनीति ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    ————-==———–
    बुझिएन राजनीतिको परिभाषा
    जबरजस्ती कानुन मिचेर
    वनाउने सर्वत्र निराशा ।
    ✍️
    लोकबहादुर क्षेत्री
    ————-==———–
    १//
    सम्पूर्ण नीतिको राजा
    लथालिङ्ग देशमा राजनीति
    बज्छ बेमौसमी बाजा ।
    २//
    होइन फोहरी खेल
    हैन बेइमान राजनीति
    शासकको हो जालझेल ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ————-==———–
    राजनीतिमा गर्छौ खिँचातानी
    जनतालाई विश्वास देखाएर
    जहिल्यै गर्छौ बेइमानी।
    ✍️
    बिरेन्द्र कुमार चौधरी
    इटहरी १६ सुनसरी
    ————-==———–
    १//
    धेरै भयो जालझेल
    रहेन इज्जत कुनै
    छोडिदेऊ राजनीति खेल ।
    २//
    विश्वास तिमीले तोड्यौ
    हराएर गयो आशा
    बीच बाटोमै छोड्यौ ।
    ३//
    धोका दियौ मलाई
    संसारमा हाँसो देखाएर
    गयौ जिउँदै जलाई ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ————-==———–
    १//
    अनेकौँ खेल राजनीतिमा
    सेवाको छैन भाव
    हिजोदेखि आजको मितिमा !
    २//
    शोकमा डुब्यो देश
    मरिरहेछन् आज जनता
    नेताको छ छद्मवेश ।
    ३//
    यो कस्तो सङ्घीयता
    सात टुक्रा पारेर
    बलियो हुन्छ राष्ट्रियता ?
    ✍️
    दीप गोले तामाङ
    चन्द्रपुर -१, रौतहट
    ————-==———–
    गन्हाउने गराए राजनिती
    सबै बेकामे गधाले
    ल्याए जताततै बेथिति ।
    ✍️
    सुनगाभा पोखरेल
    ————-==———–
    १//
    अनेक अनेक खेल
    सधैँ हुन्छ राजनीतिमा
    भष्ट्राचार, ठगी, जालझेल ।
    २//
    गर्छन् भाषणमात्र ठुलो
    जनतालाई समस्या पर्दा
    खोज्छन् लुक्ने दुलो ।
    ✍️
    साबित्री प्याकुरेल, धादिङ्ग।
    ————-==———–
    १//
    अचम्मै ! छ नि
    परिवर्तित राजनीतिले बनायो
    नेतालाई मात्रै धनी l
    २//
    सङ्घीयता भयो घाँडो
    न्याय भन्नु जनताकोलागि
    रहेछ बनेलु काँडो l
    ३//
    राजनीति साह्रै फोहोरियो
    लक्षित वर्गको बजेट
    नेताको घरमा सोहोरियो l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ————-==———–
    १//
    भ्रष्टाचार अनि बेथिति
    मेरो देशमा अचेल
    घिनलाग्दो हुँदैछ राजनिती |
    २//
    अलापी मीठा सुर
    जनता मख्ख पार्छन्
    नेता धेरै चतुर |
    ✍️
    सरिता सेढाई धादिङ
    ————-==———–
    १//
    अति नराम्रो खेल
    राजनीतिको घानमा हाली
    निकाल्छन् जनताको तेल ।
    २//
    भ्रष्टले घर भर्ने
    बिचित्रको भयो राजनीति
    जनताहरू भोकै मर्ने ।
    ३)
    हुँदैन केही खास
    स्वार्थीपन हावी भयो
    राजनीतिमा रहेन विश्वास ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ————-==———–
    १//
    फोहोरी देशको राजनितीले
    देश कङ्गाल बनायो
    भ्रष्ट नेताहरूको बेथितिले ।
    २//
    देशको विकास मन्द
    खाली गफमा टारेर
    फैलाए राजनितिको दुर्गन्ध ।
    ✍️
    वेल थोकर तामाङ
    मकवानपुर, बकैया _८
    ————-==———–‘
    १//
    राजनीति फोहोरी खेल
    स्वार्थ पूरा गर्न
    जनतामाथि सधैँ जालझेल ।
    २//
    भाँडो कमाइ खाने
    नबिके अन्त कतै
    राजनीति गर्न जाने ।
    ३//
    बाटो स्वार्थतिर मोडे
    असल मान्छे अब
    राजनीतिमा आउन छोडे ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    १//
    लुछाचुँडी गर्छन् सत्ताको
    बनाई गरिबलाई शिकार
    खल्ती भर्छन् तलबभत्ताको ।
    २//
    असल देशको थिति
    शान्तिको सास फेर्न
    चौतारी बनोस् राजनीति
    ✍️
    नन्दा धामी
    नौगड, दार्चुला
    ————-==———–
    कही नभएको राजनीति
    यही देशमा रहेछ
    कसले बुझ्ने सितिमिति !
    ✍️
    सुरेश कार्की
    कुमारीगाल-७ काठमाण्डौ ।
    हाल सिड्नी अष्ट्रेलिया
    ————-==———–
    भाषण दिने काम
    थाङ्नामा सुताउने जनतालाई
    राजनिती यसको नाम ।
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    ————-==———–
    १//
    पैसा भए पुग्छ
    राजनीति गर्नका लागि
    हिमाल पनि नुग्छ ।
    २//
    गर्छन् बेतुकका कुरा
    भित्रभित्रै चलाउँदा रहेछन्
    चुपी अनि छुरा ।
    ३//
    काम गर्न पाइने
    राजनीति बाहेक भन्नुहोस्
    योग्यता भने नचाहिँने ।
    ४//
    गर्छन् जनताका बात
    गरेजस्तो देखाएर ती
    हान्ने गर्छन् लात ।
    ५//
    देशको राजनीति कस्तो ?
    सोझा, सिधा जनताको
    घाँटी नै रेट्लाजस्तो ।
    ✍️
    सतीश पण्डित
    भानु६चुँदी तनहूँ । हाल चनपा६ मातातीर्थ
    ————-==———–
    १//
    हरायो देश कुटनीतिले
    मेरो समाजले देखेन
    बर्बाद भयो राजनीतिले ।
    २//
    हुँदैन विकास सिद्धान्तले
    खटिनु पर्छ मरिमेटी
    राष्ट्रप्रेमी सब राजनीतिज्ञले ।
    ✍️
    सम्पूर्ण जोशी कमरेड
    अछाम तोषी
    ————-==———–
    १//
    राजनीतिमा निर्लज्ज दानव
    दुर्जन भ्रष्ट राष्ट्रघाती
    बनेनन् कहिल्यै मानव ।
    २//
    प्रमाणपत्र खोस्टा राजनीतिमा
    विदेशको यात्रामा युवाहरू
    एकता तोडेपछि कुरीतिमा ।
    ३//
    धरती रुन्छिन् हारले
    चुलियो कुकर्मका चुचुराहरू
    थामिन्छ राजनीति संस्कारले ।
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ————-==———–
    हाम्रो देशको राजनीति
    प्रभु ! मति दिनुहोस्
    केवल यहाँ बेथीति ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    ————-==———–
    १//
    कुर्सीको होड चल्यो
    नेपालको राजनीति हेर
    सदैव जनता छल्यो ।
    २//
    आशाको बिहानी देख्न
    सोच परिवर्तन गरौँ
    सुनौलो कृति लेख्न ।
    ३//
    पदलाई सलाम ठोक्छन्
    मानेर अयोग्यलाई बाध्यताले
    आँखाको आँसु रोक्छन् ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    ————-==———–
    १//
    भोट माग्दा नमन
    स्वार्थ सकियो अनि
    सुरू गर्छन् दमन ।
    २//
    कस्तो राजनीति चल्ने
    शिक्षा स्वास्थमा पनि
    सोझा जनता छल्ने ।
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ————-==———–
    १//
    राजनीतिले देश बन्छ
    तर यहाँ स्वार्थमा
    नेताले नोट गन्छ ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ————-==———–
    राजनीति गरौँ अब
    आउनुस् गाँजाको पक्षमा
    देशभक्ति झल्कन्छ तब ।
    ✍️
    लक्ष्मी रिजाल, रुपनगर, सप्तरी
    ————-==———–
    १//
    योग्यता पद प्रतिष्ठा
    हुन्छ देशको प्रगति
    भए नेतामा निष्ठा ।
    २//
    देशको सेवा गर्ने
    राजनीति खेलाँ भन्दै
    आफ्नै ढुकुटी भर्ने ।
    ३//
    राजनीतिको अनौठो खेल
    व्यवस्थालाई वेवास्ता गर्दा
    पर्दछन् नेताहरू जेल ।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    १//
    गर्नेलाई महान् काम
    जनहितमा लेखिए राजनीति
    दुष्टहरूले गरे बदनाम ।
    २//
    भाषणले अगुल्टो बाल्छन्
    राजनीति गरेरै कतिपयले
    समाजमा पेट पाल्छन् ।
    ३//
    राजनीतिमा के दिए ?
    जनताको अधिकार खोसेर
    सुविधाहरू नेताले लिए ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ, रंगबुल
    ————-==———–
    १//
    किन गर्दछौ खास
    कागको हुलमा बकुलो
    बन्ने व्यर्थ प्रयास !
    २//
    उसैको नुन खाएर
    गर्दछौ अनर्थ के
    उसैको भजन गाएर ।
    ३//
    सामन्तको गर्छौ सलामी
    भोलि परेको बखत
    जन्ती न मलामी !
    ✍️
    विवश पारदर्शी
    झापा,
    ————-==———–
    १//
    उर्लियाे खहरे भेल
    खेल्छन् जनतामाथि नेताले
    फाेहाेरी राजनीति खेल ।
    २//
    राजनीति गर्नेलाई मनाेमानि
    देखिन्छ जताततै छलकपट
    आखिर जनतालाई हानी।
    ✍️
    काेपिला अधिकारी
    सिरानचाेक – ७, गाेरखा
    ————-==———–
    १//
    सम्झदा लाग्छ दिक्दार
    भएका छौँ जनताहरू
    राजनैतिक अस्थिरताको सिकार ।
    २//
    निमुखा गरिबहरू सडकमा
    नेताबाट मर्दैछन् आशाहरू
    हिँड्दछन् ती तडकभडकमा ।
    ✍️
    पुरुषोत्तम फुयाल
    साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ
    ————-==———–
    लगाउँछन् अनौठो शासन
    षड्यन्त्र मजाले गरी
    जोगाउँछन् आफ्नो आसन ।
    ✍️
    सनत राेकाय बिवश
    कुशे गा पा ८ , जाजरकोट
    ————-==———–
    १//
    राजनीति नहुँदा राम्रो
    दिनानुदिन तल तल
    खस्कियाे देश हाम्रो ।
    २//
    राजनीति फाेहाेरी खेल
    सिद्धान्त र व्यवहारकाे
    दुर्लभ देखिन्छ मेल ।
    ✍️
    केशवप्रसाद ढकाल, गाेरखा।
    ————-==———–
    १//
    राजनीति गन्हाउने खेल
    बगिरहन्छन् हेर सधैँभरि
    जनताका आँखामा भेल ।
    २//
    देश खुकुलो बनाए
    देशका सबै नेताहरू
    हेर साह्रै गनाए ।
    ✍️
    केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारत ।
    ————-==———–
    १//
    राजनीति रहेछ खेल
    शकुनिको पाशा जस्तो
    सधैँ हुने झेल ।
    २//
    राजनीति हो भाडभैलो
    यसलाई बुझ्न कठिन
    शासकको मन मैलो ।
    ३//
    राजनीतिमा भ्रष्टाचारीको भेल
    रित्याउन देशको ढुकुटी
    हुँदैछ ठूलो खेल ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ————-==———–
    राजनीति नेताको खेल
    सधैँ गर्छन् नेताहरू
    आपसमा कुर्सीको तालमेल ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ————-==———–
    १//
    बाँझिए सबै खेतबारी
    किसानका छोरा परदेशिए
    थाप्लोभरि ऋणको भारी ।
    २//
    भाषण मात्रै गुलियो
    जताततै नातावाद कृपावाद
    भ्रष्टाचारै भ्रष्टाचार चुलियो।
    ३//
    मोज भयो अति
    नेतालाई रहेछ लोकतन्त्र
    सहिदको रगतको क्षति ।
    ✍️
    पशपती राई खोटाङ ।
    ————-==———–
    १//
    फोहोरी खेल बनेको
    हे राजनीतिकर्मीहरू सुन
    छिट्टै सुध्रिनु भनेको ।
    २//
    जनताले रोजेर पठाउने
    तिमी आफैँ रमाएर
    किन जनता हटाउने ?
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ————-==———–
    १//
    मीठो कुरा भाषणमा
    राजनीतिले कोल्टे फेर्दा
    कठोर हुन्छ शासनमा ।
    २//
    छिचिमिरो जस्तै लाग्ने
    राजनीतिको क्षणिक अनुहार
    भोट सिद्धिएपछि भाग्ने ।
    ३//
    सत्ता तुर्ने डरले
    गाउँघर नेता पसेर
    नमस्कार गर्छन् करले ।
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ————-==———–
    राजनीतिले चलाउँछ देश
    निरन्तर खेल सत्ताको
    यस्तै छ परिवेश ।
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    ————-==———–
    राजनीतिमा अनेक खेल
    गर्दछन् नेता भनाउँदाहरू
    कुटनीति र जालझेल ।
    ✍️
    भाेलामान बर्देवा
    धरान ८ सुनसरि
    ————-==———–
    १//
    राजनीतिले गर्छ बेइमानी
    झुटा आश्वासन दिई
    देश लुटेर खानी ।
    २//
    दिएर विकासको नाउँ
    नेता आफ्नै सुरमा
    भ्रष्टाचार सर्वत्र गाउँ ।
    ३//
    जन्ताका लागि काम
    सरकार ! अब देऊ
    हेर रोजगारको नाम ।
    ✍️
    मन्जु बोहरा
    सुदुरपश्चिम बझाङ
    ————-==———–
    मनोकामना गर्न सफल
    कसम खान्छ झुटो
    राजनीति गर्छ पलपल ।
    ✍️
    नबराज ओझा “दियालो”
    धनगढी,कैलाली
    ————-==———–
    १//
    राजनीति सही हुनुपर्छ
    हुन्छ देशको उन्नती
    जनताको हित गर्छ ।
    २//
    जनता सचेत बन्दैछन्
    लाग राष्ट्रको हितमा
    नेपाली सारा भन्दैछन् ।
    ✍️
    पुष्पा राई
    ऐसेलुखर्क, खोटाङ।
    ————-==———–
    १//
    कस्तो फोहोर राजनीति
    जालझेल छलकपट मात्र
    जताततै छ बेथिति ।
    २//
    राजनीति भयो व्यापार
    हेरेर नाफा, घाटा
    गरिन्छ यहाँ व्यवहार।
    ३//
    यो कस्तो राजनीति ?
    नैतिकता र इमानदारिता
    देख्नै पाइन्न सितिमिति ।
    ४//
    राजनीति भयो बेहाल
    मालामाल छ नेताहरूलाई
    देश हुँदैछ कङ्गाल ।
    ५//
    कुर्सीका लागि खिँचातानी
    रमाउँछौँ झोले बनेर
    हामी धेरै भाग्यमानी ।
    ✍️
    ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ————-==———–
    १//
    राजनीतिमा हुने जालझेल
    भनाइ अनि गराइको
    कहिले नहुने मेल ।
    २//
    लगाउने ठूलो नारा
    सबै नेता मन्त्रीको
    देखियो उस्तै पारा ।
    ✍️
    रुना कर्माचार्य दाहाल ,चितवन
    ————-==———–
    राजनीतिमा छैन गतिविधि
    भ्रष्टाचार बढेको जताततै
    सत्तामा छैनन् गुणनीधि ।
    ✍️
    भगवती दवाडी
    ————-==———–
    १//
    राजनितिमा हुन्छ झेल
    सबैले सोच्छन् सधैँ
    यसलाई फोहोरी खेल ।
    २//
    पाइन्छ घृणा धेर
    पाइन्छ अपहेलना मात्रै
    गर्दैनन् सम्मान हेर ।
    ३//
    जनताले दुःख पाउँछ
    सही मार्ग भाषणमा
    यथार्थमा अन्धकार बनाउँछ ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा, नेपाल
    ————-==———–
    १//
    राजनीतिले खेलाउॅंछ खेल
    छिर्के लाग्दै, लगाउॅंदै
    खोजिन्छ बेमेलभित्र मेल ।
    २//
    झुण्डको झन्डा बोकेपछि
    आँखा टालिन्छ गुनको
    देशको झन्डा बिर्सेपछि ।
    ✍️
    म्यामराज राई, भोजपुर
    ————-==———–
    राजनीति बाउसे बुरुक्क
    सदाबहार पन्ध्र असारको
    चुनाव आयो झुलुक्क ।
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा -२ , मोरङ
    ————-==———–
    १//
    राजनीतिमा निष्ठा हरायो
    नेताका कर्तुत देखेर
    आदर्श उसै डरायो ।
    २//
    भ्रष्टाचारीहरूको बढ्यो शान
    सज्जन कोही भए
    हुन्छ उसको अपमान ।
    ३//
    भाषण गर्छन् चर्कोचर्को
    जनता सारा भोकानाङ्गा
    पिछ्लग्गुहरूको छ लर्को ।
    ✍️
    जयनारायण नेपाल
    इलाम हाल सूर्यविनायक २
    बालकोट भक्तपुर ।
    ————-==———–
    १//
    सच्चा देशभक्त वीर
    विकास हुन्छ देशको
    नेता भए धीर ।
    २//
    राज्यको सञ्चालनको विधि
    राजनीतिमा हुन्छ तर
    भयो कमाउने निधि ।
    ३//
    दलाल जन्माउने यन्त्र
    बेच्छन् युवा खाडीमा
    नेतालाई आयो गणतन्त्र ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ————-==———–
    १//
    पगरी नेता पदकाे
    कामकुराे सबैकाे व्यापार
    तैपनि ठूलाे कदकाे ।
    २//
    कुचालमा राजा फालिएको
    सिद्धान्तहीन भयो राजनीति
    कसैकाे अनुग्रहमा पालिएकाे ।
    ३//
    देशकाे स्थिति खस्केको
    माैलायाे विकार, विकृति
    झुटो आश्वासन पस्केकाे ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ————-==———–
    १//
    फितलो बुँदा बोकेर
    समातेर हिँड्छन् झन्डा
    ज्यान तराजुमा जोखेर ।
    २//
    राजनीति गरेर नथाक्ने
    हामी बन्यौँ मूर्ख
    अब कहिले जाक्ने ।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ————-==———–
    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Leave a Reply