साताका उत्कृष्ट झिल्काहरू- १३

  • २२ बैशाख २०८१, शनिबार २१:२७ मा प्रकाशित

  • साताका उत्कृष्ट झिल्का कविताको १३ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १३ का लागि झिल्काकारत्रय संगीता खरेल, राजनारायण राई र निर्मल शर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    [१]
    १.
    मुटु दुख्ने खेल
    खेल्नु थियो भने
    किन गर्‍यौ मेल?
    २.
    गरेर मीठा बात
    धोकाले पराकाष्ठा नाघ्यो
    रोएर बिताउँदैछु रात !
    ३.
    पाइँदोरहेनछ हेर देखेर
    भावीको खेल अनौठो
    ल्याउनुपर्ने भाग्यमा लेखेर !
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ————<•>———–
    [२]
    १.
    भोक तब तोडिन्छ
    जब रगत पसिना
    दश नङ्ग्रा जोडिन्छ ।
    २.
    रगत, पसिना बहन्छ
    घाम, पानी सहॅंदै
    मजदुर मजबुर रहन्छ ।
    ३.
    साहेब भनिरहन्छ काम
    उभिएर भिर, पखेरामा
    गरिब खोजिरहन्छ माम !
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ————<•>———–
    [३]
    १.
    बेच्दैनन् साग तरकारी
    विदेशमा पसिना बेच्छन्
    राखेर बाँझो खेतबारी !
    २. बर्खाको झरी लगातार
    उदास मन नरमाइलो
    त्रासमा भिजेको संसार !
    ३.
    विश्वमै सम्मान होस्
    बुझी पसिनाको मूल्य
    मजदुरले गर्व गरोस् !
    ✍️
    निर्मल शर्मा
    ————<•>———–

    Leave a Reply