विशेष झिल्का लेखन अभियानको एघारौँ शृङ्खला (आमा विषयक) सम्पन्न

  • २८ बैशाख २०८१, शुक्रबार ०६:५४ मा प्रकाशित
  • झिल्का लेखन अभियानको एघारौँ शृङ्खला (आमा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले मातातीर्थ औँसी(आमाको मुक्ग हेर्ने दिन) को अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    आफ्नो पेट काटेर
    मेट्छिन् भोक सन्तानको
    आमाले पटुकी बाँधेर !
    २//
    पुज्दछु शिरमा राखी
    आमा देवी हुन्
    खानी हुन् ममताकी !
    ३//
    क्रयविक्रय र व्यापारमा
    खोजेमा मिल्छ हरचिज
    पाइन्नन् आमा संसारमा !
    ४//
    बगेका आँसु साराको
    सकिँदैन तिर्न आमा
    ऋण ती दसधाराको !
    ५//
    स्वर्ग लाग्छ काख
    सृष्टिकर्ता पालनकर्ता आमा
    तिम्रो माया लाख !
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    —————<•>—————
    [२]
    आमा भगवान् सुन
    किन पत्थर पुज्छौँ
    तिरेर सकिन्न गुन !
    ✍️ शंकर कार्की
    थाहा ३ मकवानपुर।
    —————<•>—————
    [३]
    १//
    आमा घरको मियो
    सन्तानको लागि अहोरात्र
    फाटेको सिलाउने सियो !
    २//
    आमा शब्द भारी
    भोक लाग्यो नभन्ने
    आमा भगवान् नारी !
    ३//
    आफू नखाई छोराछोरी
    खेलाउने भुलाउने जहिल्यै
    बाँधेर ममताको डोरी !
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ
    —————<•>—————
    [४]
    १//
    सृष्टिकर्ता मायाकी खानी
    देवी मानेर पुज्छु
    मुटुको बनाएर रानी !
    २//
    तिमीले सिलाएको जामा
    च्यातेर नयाँ धोती
    कसरी बिर्सनु आमा !
    ३//
    खाजा पोल्टामा हाल्दै
    मेला गएको बेला
    हुर्कायौ स्नेहमा पाल्दै !
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    —————<•>—————
    [५]
    १//
    आमाकाे माया लाख
    भेटिँदैन अन्त कतै
    स्फटिक सुन्दर काख !
    २//
    देख्दा आमाकाे मुहार
    वात्सल्यकाे ज्योति बल्ने
    टल्कन्छन् कायामा जुहार !
    ३//
    आमा माफी माग्छु
    अबाेध सम्झिदिनु है
    ‌दैनिक कुलदेवता भाग्छु ।
    ✍️ हिरालाल न्याैपाने, काेटमाैला, सल्यान
    —————<•>—————
    [६]
    आमाको महिमा अपार
    सुख चाहन्छिन् सन्तानको
    गर्दै सङ्घर्ष लगातार !
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    [७]
    १//
    आमा ममताकी खानी
    कमी नहुने मायामा
    घरकी आमा रानी !
    २//
    शुन्य हुन्छ घर
    आमा नहुँदाका पलहरू
    घर आमाको भर !
    ३//
    आमा प्राण दानी
    यिनैका महिमा अपार
    सरल स्वभाव बानी !
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    [८]
    १//
    ब्रम्हाण्डमा आमाको महानता
    तुलना गर्दा कसैसँग
    पाइँदैन कहिल्यै समानता !
    २//
    जननीलाई नगर हेला
    सृष्टिमा आमाभन्दा अगणित
    कुनै पर्दैन फेला !
    ३//
    सामाजिक सञ्जाल रङ्गाएर
    वर्षेनी मातृऔँसी मनाउने
    झुपडीमा सहाराहीन बनाएर !
    ✍️ पारसमणि खतिवडा
    सूर्योदय ३ इलाम हाल सूर्यविनायक भक्तपुर
    —————<•>—————
    [९]
    १//
    आमाको मायामा हुर्कने
    पढाइलेखाइ सबै सकेर
    घमन्डी पाखुरा सुर्कने !
    २//.
    मुखमा गाँस नपारी
    बाँचिन बच्चाको खातिर
    काममा बोकेर नझारी !
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    [१०]
    १//
    आमाको माया मुटुभरी
    औँसीमा मात्र होइन
    अविरल सर्वदा यसैगरी !
    २//
    आमा विनाको घर
    उज्यालो हुँदैन कहिल्यै
    अँध्यारो हुन्छ निशाचर !
    ३//
    आमा हाम्री बिहानी
    संस्कार सिकाउने बच्चामा
    घर परिवारकी जिन्दगानी !
    ✍️ भगवती दवाडी
    —————<•>—————
    [११]
    १//
    तिमी फलिरहेको बोट
    अनेक चोट झेल्छ्यौ
    छैन तिमीमा खोट !
    २//
    चुसाई आफ्नो रगत
    सजक बनेर सन्तानको
    लियौ जस फगत !
    ३//
    भविष्य उजाडी बचायौ
    हसायौ रोएर मकाई
    ममताको इतिहास रचायौ !
    ✍️ रोसन अधिकारि
    —————<•>—————
    [१२]
    १//
    मियो ढलेको दिन
    म पर्खिरहेछु आमा
    नभई रत्ती उदासिन !
    २//
    म सम्झन्छु पल
    आमा याद आउँदा
    हेर्छु तिम्रो सल !
    ३//
    दिन, महिना, वर्ष
    भुल्नै सक्दिनँ कहिल्यै
    न उमङ्ग हर्ष !
    ✍️ म्छुगेम रोदु
    मकालु-६, वालेङ, संखुवासभा
    —————<•>—————
    [१३]
    १//
    आमा हुन् विशाल
    ममताकी खानी औ
    करुणाकी उच्च मिसाल !
    २//
    सारा सपना मुज्याएर
    बस्छिन् सन्तान हुर्काइ
    इच्छाहरू पनि कुज्याएर !
    ३//
    हुँदैम आमालाई खरो
    सन्तानलाई टाउको दुख्दा
    आउँछ उनलाई ज्वरो l
    ✍️ बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    [१४]
    १//
    अपार ममताकी देवी
    अतुलनीय सेवामा समर्पित
    परिवारको महान् सेवी !
    २//
    आमा शब्दमै मिठास
    प्रेरणाकी साक्षात् मूर्ति
    बनाउदिनन् कहिले हतास !
    ३//
    आमाको ममता नपाउँदा
    लाग्छ जीवन उदास
    प्रेम अभावले सताउँदा !
    ✍️ दिल ठकुरी टिस्टा भेल्ली दार्जिलिङ
    —————<•>—————
    [१५]
    १//
    आमाको अपार मायाले
    बनेको जिन्दगी सुनौलो
    छुँदैन कसैको छायाले !
    २//
    रमाइलो तिम्रै घरमा
    गल्ती जति गर
    बस्नुपर्दैन है डरमा !
    ३//
    परान मेरो भनेर
    तिमीले राख्छेउ काखमा
    धर्ती जस्तो बनेर !
    ✍️ सञ्जना शर्मा दाङ लमही
    —————<•>—————
    [१६]
    १//
    आमा हुन् धरती
    आमालाई हेला गर्नेहरू
    पर्छन् पक्कै अगति !
    २//
    स्वर्ग तिम्रै काख
    सृष्टिकर्ता हौँ आमा
    माया दिन्छौँ लाख !
    ३//
    आमाको माया अपार
    यस्ती ममता खानीको
    हेरविचार गरौँ बारबार !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    —————<•>—————
    [१७]
    १//
    मायाको तिमी रानी
    आकाशकी तिमी जून
    दयाको आमा खानी !
    २//
    हजुर नै जून
    भरोसा छ जिन्दगीको
    तिमी नुनिलो नुन !
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>—————
    [१८]
    १//
    आमा मायाको खानी
    हर दुःखकष्ट सहने
    घरकी हुन् रानी !
    २//
    उज्यालो हुन्छ घर
    पूर्णीमाकाे यो रातसरि
    हाँसेकाे आमाकै भर ।
    ३//
    आमा भगवान जून
    सृष्टिकर्तालाई पूजा गरी
    तिर्नु आमाको गुन !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    —————<•>—————
    [१९]
    १//
    जरा जननी हाम्रो
    हाँगा पात उन्नति
    खुसी फलेको राम्रो !
    २//
    खन्याएर जीवनमा ममता
    स्वर्गकी काख कल्याणी
    जीवन रूप सार्थकता !
    ✍️ ममता पौडेल
    बुढीगङगा-२ मोरङ
    —————<•>—————
    [२०]
    १//
    आमाको जस्तो काख
    हुँदैन अरू कसैको
    सबैले याद राख !
    २//
    आमाको लागि छोरी
    अमूल्य सम्पत्ति हुन्
    प्रेमको अटुट डोरी !
    ३//
    घरको लक्ष्मी मानेर
    कहिल्यै मन नदुखाउनु
    नमिठो वचनले हानेर !
    ४//
    दुःखमा दाजुभाइले हेप्दा
    जाने ठाउँ हुँदैन
    त्यसैमा परिवारले चेप्दा !
    ५//
    आमाछोरीको यो सम्बन्ध
    प्रगाढ हुन्छ सधैँ
    कहिल्यै बन्दैन मन्द !
    ✍️ ललिता गिरी, सिन्धुली
    —————<•>—————
    [२१]
    १//
    बगेका आँसू साराको
    आमाको सकिँदैन तिर्न
    दुधको ऋण दशधाराको !
    २//
    झेलेर अनकौँ चोट
    हुर्काउँछ्यौ तिमी सन्तानलाई
    आइपरेको सहेर खोट !
    ३//
    खानी हुन् ममताकी
    सन्तानको खातिर आमा
    कष्ट सहने क्षमताकी !
    ✍️ बेदु न्यौपाने
    —————<•>—————
    [२२]
    १//
    घरकी लक्ष्मी आमा
    मात्र उनी एक
    हाँस्न सक्ने पीडामा !
    २//
    गल्तीलाई सच्चाएर डोर्‍याउँछिन्
    भरपुर समय खर्चेर
    सन्ततीलाई योग्य बनाउँछिन्।
    ३//
    जननी शुद्ध सुन
    आमा भन्दै गर्दा
    पीडा हराउँछ जुन !
    ✍️ केन्टरमेश क्षेत्रीय
    रोल्पा
    —————<•>—————
    [२३]
    १//
    आमाको माया सधैँभरी
    सन्तानमा हुन्छ भरिपुर्ण
    कसैलाई नछुट्याई बराबरी !
    २//
    पर्न दिन्निन् छायामा
    निरन्तर हेरचाह गरी
    खटिरहन्छिन् है मायामा !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    —————<•>—————
    [२४]
    १//
    आमा तिमी महान
    टेकेर आज धर्तीमा
    देखायौ सारा जहान !
    ✍️ गंगाराम यादव
    औरावनी २ सुनसरी
    —————<•>—————
    [२५]
    १//
    घाम अनि जून
    मेरो लागि आमा
    हिरा, मोती सुन !
    २//
    माया ममताकी खानी
    आमा नै हुन्
    मेरो सारा जिन्दगानी !
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    [२६]
    १//
    आमा विनाको घर
    लाग्छ उजाड न्यास्रो
    मेरो बस्ती सहर !
    ✍️ देव मगर
    कचल,पाल्पा
    —————<•>—————
    [२७]
    आमाको चोखो मायामा
    नगर्नु कहिल्यै दुर्व्यवहार
    पवित्र निश्चल छायामा !
    ✍️ सरस्वती श्रेष्ठ
    —————<•>—————
    [२८]
    १//
    आमाझैँ यहाँ अरू
    काेही छैनन् मेरो
    घनिष्ठ आफ्ना आफन्तहरू !
    २//
    मेरी आमा मेरै
    जिन्दगीको मुहान हुन्
    मनपर्छ मलाई धेरै !
    ✍️ ईश्वर साउद, रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    [२९]
    १//
    आफ्नो बाटो खनेर
    हिँड्दा देखिन्छ साहसी
    युद्धको मैदानमा लडेर !
    ✍️ डा देवी पन्थी
    —————<•>—————
    [३०]
    आमा दयाकी खानी
    आमा नहुँदा हाम्रो
    अन्धकार हुन्छ जिन्दगानी !
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    —————<•>—————
    [३१]
    १//
    कञ्चन ममाताकी धनी
    बाँच्न चाहन्छिन् सन्तान
    मुटुको टुक्रा भनी !
    २//
    छोराछोरीलाई दिन्छिन् सुख
    हुन्छिन् खुसी मुद्रामा
    ढालेर जिन्दगीको दुख !
    ३//
    हुँदैन कहिले विरक्ति
    कुनै प्रकोपले छोप्दा
    पाइन्छ अलौकिक शक्ति !
    ✍️ पृथक प्रकृति, झापा
    —————<•>—————
    [३२]
    १//
    आमा सभ्यताकी खानी
    खाइनखाई गरेर सधैँ
    सुनाउने गर्नुहुन्थ्यो कहानी !
    २//
    सङ्घर्षमा जिउन सिकायो
    जिन्दगीमा सधैँ हाँसेर
    समाजमा उज्यालो देखायो !
    ३//
    सुखको दिन आमाको
    आएन तिम्रो कहिले
    भाग्छ लुकेर छायाको !
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    —————<•>—————
    [३३]
    १//
    अपरम्पार छन् जन्मदाता
    आफ्नो सन्ततिको लागि
    धरणी हुन् माता !
    २//
    हुँदैन कुनै सिमा
    आकाशभन्दा नि विशाल
    तिनै आमाको महिमा !
    ३//
    ज्ञान चेतना छरौँ
    हेलाहोचो गर्ने होइन
    आमाको सम्मान गरौँ !
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    [३४]
    १//
    संसारकै पहिलो गुरु
    हाम्रो जीवनको शिक्षण
    आमाबाट हुन्छ सुरु !
    ✍️ बिके मुखिया
    दार्जीलिङ,भारत।
    —————<•>—————
    [३५]
    १//
    दूधको भारा तिर्नुछ
    आमाको दुःख सम्झी
    घर चाडै फिर्नुछ ।
    २//
    आमा हुन् हाम्रो
    घरको मूल देवता
    सन्तानले गर्नुपर्छ राम्रो !
    ३//
    माया मायालु हाम्री
    उनी एकमात्र हुन्
    यो संसारकी राम्री !
    ✍️ कला ढकाल, झापा
    —————<•>—————
    [३६]
    १//
    आमा वृद्ध हुँदा
    सन्तान साथैमा छौँ ?
    भोक, प्यासले रुँदा !
    २//
    किन गर्ने पूजा ?
    तातो न्यानो छैन
    मुटु धुजा धुजा !
    ✍️ कमला न्यौपाने
    —————<•>—————
    [३७]
    १//
    नगरौँ कुरा लामा
    कसरी हुन्छौँ हामी ?
    भइनन् भने आमा !
    २//
    आमा ममताको खानी
    अबोध शिशु हुर्काउने
    मनको भाषा जानी !
    ३//
    चिच्याएर आमालाई नबुझाउनु
    बुझ्न सक्छिन् आमा
    तिमीले नसक्दा बोलाउनु !
    ४//
    निस्वार्थ मायाको नमुना
    जतिसुकै खोजे पाइँदैन
    पार गरेपनि यमुना !
    ✍️ दीपा समभाव
    खोटाङ्ग
    —————<•>—————
    [३८]
    १//
    आमा ममताकी खानी
    साक्षात् दर्शन मिल्ने
    जिवित देवी सर्वज्ञानी !
    २//
    पीडा लुकाई छातीमा
    खुसी बाँड्न सक्ने
    देवी हुन् आमा !
    ✍️ निर्मल शर्मा
    पेदोङ भारत
    —————<•>—————
    [३९]
    १//
    आमाको सम्झना आयो
    सम्झ्यौ कतै आमाले
    मलाई बाडुली लायो !
    २//
    आमाको मुख हेर्न
    अब कहाँ पाइएला
    अङ्गालोमा आमालाई बेर्न !
    ३//
    भर छैन सासको
    कामना गर्छु आमाको
    सधैँ बैकुण्ठ बासको !
    ✍️ देव कृष्ण काफ्ले
    पोखरा १ कास्की
    —————<•>—————
    [४०]
    १//
    दुखी न सुखी
    अधमराे जीव भएर
    बन्दैछाैँ परनिर्भर मुखी !
    २//
    कर्तव्यमा सधैँं चुक्ने
    जालझेल मात्र सधैँ
    त्यसैले जनले थुक्ने ।
    ✍️ प्रद्युम्न चालिसे
    —————<•>—————
    [४१]
    १//
    जबसम्म काखमा थिएँ
    स्वर्ग जस्तै लाग्थ्यो
    अहिले पाे एक्लिएँ !
    २//
    आमा देवता जस्तै
    हिजो वा आज
    सदैव हुनेछ्याै त्यस्तै !
    ३//
    जीवनदातृ हुन् आमा
    सधैँ सधैँ पुजनीय
    देवी हुन् धरामा !
    ✍️ शम्भु गजुरेल सिन्धुली ,
    —————<•>—————
    [४२]
    १//
    हजुर मेरी भगवान
    गर्दछु हरेक स्थानमा
    आमाको सधैँ सम्मान !
    ✍️ बिरेन्द्र चौधरी
    इटहरी१६ सुनसरी
    कोशी प्रदेश
    —————<•>—————
    [४३]
    १//
    सिक्यौँ सुरुमा बोल्न
    सक्यौँ आमाकै सहयोगमा
    मातृभाषाको ढोका खोल्न !
    २//
    देखायौ संसार सारा
    आमा बनी तिमीले
    पिलायौ दूधको धारा !
    ३//
    आमा ममताको खानी
    पाइन्न खोजेर कतै
    कष्टमा नपारौँ जानी !
    ४//
    आमा भन्थिन् रुँदै
    पढेर ज्ञानी बन्नु
    म ‘जिउँदो’ हुँदै !
    ५//
    आँखाको आँसु पुछेर
    हाँस्न खोज्थिन् आमा
    सन्तानको भविष्य बुझेर !
    ✍️ मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा, भारत।
    —————<•>—————
    [४४]
    १//
    महिनौँसम्म गर्भमा भार
    सहेर अनेकौँ दुखहरू
    आमा देखायौ संसार !
    २//
    सायद रहेछु अभागी
    आयो अँध्यारो रात
    आमा नहुनेको लागि !
    ३//
    सम्झनामा तस्बिर हेर्छु
    गहका आँसु पुछेर
    सपनामा पाइलाहरू फेर्छु !
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    [४५]
    १//
    आमा सन्तुष्टि हुन्छिन्
    ख्वाई अमृत सन्तानलाई
    अल्प निदाई सुन्छिन् ।
    २//
    आमा सन्तानलई साँच्छिन्
    आफू नखाएर पनि
    अरुको निम्ति बाँच्छिन् ।
    ३//
    आमाको त्याग ठूलो
    ती आमाको तपस्या
    गुन सन्तानले भुल्यो ।
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    —————<•>—————
    [४६]
    १//
    आमा नभएको बेला
    अँध्यारो हुन्छ संसार
    गर्छन् सबैले हेला !
    २//
    एउटा गजबकाे बानी
    आफूले नखाएर खुवाउने
    आमा ममताकी खानी !
    ३//
    टुहुराे हुन्छ मन
    संसार आमा विनाको
    किन चाहियो धन ?
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।
    —————<•>—————
    [४७]
    १//
    आमा हुन् भगवान
    सहेर दुखकष्ट ती
    हुर्काउँछिन् आफ्नो सन्तान !
    २//
    आमालाई खुसी राखे
    भगवान् खुसी हुन्छन्
    आमाको माया चाखे ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    —————<•>—————
    [४८]
    १//
    पीर पर्दा मलाई
    आँट दिने तिमी
    नयाँ जुक्ति फलाई !
    २//
    तिमी धर्ती आकाश
    आमा विना अँध्यारो
    लाग्छ संसार भास !
    ३//
    आउँछु अर्को साल
    पैसा पठाइँछु आमा
    नयाँ चोलो हाल !
    ✍️ शाशिश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    [४९]
    १//
    हुँदैनन् आमा समान
    दुनियाँमा कोही पनि
    नगर्नु कसैले अपमान !
    २//
    जगतमा सृष्टिको पालन
    ममताको खानी आमा
    गर्छिन् सत्मार्ग परिचालन !
    ३//
    नित्य पवित्र साख
    वात्सल्य छ सदासर्वदा
    आमाको न्यानो काख !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    [५०]
    १//
    ममताकी तिमी खानी
    गर्दछौँ सम्मान हमेसा
    बात्सल्यकाे मूल ठानी !
    २//
    आफ्नाे भाेक बिर्सेर
    सन्तानकाे पेट भर्ने
    हरदम तयार रहेर !
    ३//
    आमाकाे जस्ताे माया
    खै कसले गर्छ
    मेटाउने सङ्कट छाया !
    ✍️ हरागाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजारल
    —————<•>—————
    [५१]
    १//
    आमा हुन् देउता
    चट्टान फाेरेर उम्रने
    प्रकृति प्रदत्त एउटा !
    २//
    मेरी आमा वनमा
    मातातिर्थ हाे आज
    सम्झना छ मनमा !
    ३//
    मुटुभित्र लुकाउन पाउँ
    आमाकाे दर्शनमा सधैँ
    शिर झुकाउँदै आउँ !
    ✍️ फूलमाया कुलुङ
    साेलु-महाकुलुङ-१
    —————<•>—————
    [५२]
    १//
    आमा सबैको जीवन
    कोखमा कहिले काखमा
    सन्देश पुराऔँ जनजन !
    २//
    शब्दै अमूल्य आमा
    जीवनदाता हुन् उनै
    हर जीव जीवात्मामा !
    ३//
    अमृत पिलाई पालिन्
    सिकाए गुरू बनेर
    सचेत नागरिकमै ढालिन् !
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    [५३]
    १//
    असल सोच्ने गर
    हुन्छ हेर स्वर्गझैँ
    आमा भएको घर !
    २//
    आमा करुणाकी खानी
    सकिन्छ पूजा गर्न
    देवी भनेर जानी !
    ३//
    आमा हुन सृष्टि
    नगर्नु हेला कहिल्यै
    सधैँ पुर्याउनु दृष्टि !
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालिम्पोङ,भारत।
    —————<•>—————
    [५४]
    १//
    आमा मायाकी खानी
    अनवरत खटिरहन्छिन् सधैँ
    उनी घरकी रानी !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    [५५]
    १//
    आमा ममताकी खानी
    आकाशभन्दा नि फराकिलो
    हृदयकी तिमी रानी !
    २//
    आफैँलाई भुली हेर्छ्यौ
    सन्तानको भविष्य खोज्दै
    सधैँभरी मायाले बेर्छ्यौ ।
    ३//
    सक्छु कठिन तोड्नलाई
    आशीर्वाद शिरमा तिम्रो
    सही बाटो मोड्नलाई !
    ✍️ पुष्पा राई, बादेल, खोटाङ ।
    —————<•>—————
    [५६]
    १//
    पहिलो हुन् ज्ञानदाता
    मलाई संसार देखाउने
    ममताकी मूर्ति माता !
    २//
    अतुलनीय हजुरको ममता
    कसैमा छैन त्यस्तो
    माया दिने क्षमता !
    ३//
    निस्वार्थ आमाको माया
    भुल्छु हरेक दु:खकष्ट
    हुँदा हजुरको दायाँबायाँ !
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    [५७]
    १//
    आमा हुन् ममता
    कुनै कसर नराख्ने
    मायामा देखिन्छ समता !
    ✍️ प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    [५८]
    १//
    मेरो बदमासी सहेर
    मलाई सन्तुष्ट पारिरह्यौ
    आफू निस्तै रहेर !
    २//
    पौरख गर्यौ पहिले
    मलाई गर्न लगाइनौ
    नालायक भएँ अहिले !
    ३//
    सधैँ फूलझैँ फुलेकी
    आमा, तिमी किन
    मेरै खुसीमा भुलेकी !
    ✍️ नन्दलाल आचार्य
    बेलका २, सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    [५९]
    १//
    नौ महिना बोकी
    धर्ती टेकायौ आमा
    आफ्नो धड्कन रोकी !
    २//
    दयाकी खानी आमा
    आफूले टालेको लगाई
    सन्तानलाई नयाँ जामा !
    ३//
    आमा दयाकी खानी
    नरुवाऊ तिनलाई कहिल्यै
    तिमीले जानी नजानी !
    ✍️ मंगला उपाध्याय
    —————<•>—————
    [६०]
    १//
    आमा शब्दै काफी
    झन् आमाको काख
    स्वर्ग भन्दा माथि !
    २//
    इन्द्रको आसन धाइदैन
    आमाको काख पाइरहुँ
    अरुको लाख चाँहिदैन !
    ३//
    आमाको कस्तो बानी
    झिकेर मुटु खटाउँछिन्
    रहेछ ममताको खानी !
    ✍️ पशपती राई
    खोटाङ
    —————<•>—————
    [६१]
    १//
    मेरी आमाले मलाई
    हुर्काइन् बढाइन् पढाइन्
    मन मुटु जलाई !
    २//
    नौ महिना पेटमा
    च्याँच्याँ रोएको दिन
    रमाइन् पहिलो भेटमा !
    ३//
    प्रसवका पीडाहरू कठिन
    मैले आँखा उघार्दा
    खुसीले सहेर बसिन ।
    ४//
    पहिलोपल्ट म रोएको
    खुसीमा आमाले बिर्सिदिइन्
    प्रसव पीडाले छोएको !
    ५//
    स्याहारसुसार गरिन् लाखौँलाख
    बिर्सन्न कहिल्यै पनि
    आमाको न्यानो काख !
    ६//
    आमा ममताकी खानी
    जीवनभरी खुवाइरहन पाऊँ
    औषधी खाना पानी !
    ७//
    पहिलो शिक्षिका आमा
    हामीलाई संसार देखाउने
    देखिरहूँ सपना विपनामा !
    ८//
    रहिरहोस् जन्मजन्मान्तर मातृभक्ति
    देवी धरती माता
    हाम्री आदरणीय शक्ति !
    ९//
    आमाका खुसीका सन्तान
    भूलचुकमा चित्त दुखेमा
    क्षमाप्रार्थी छु अन्जान !
    १०//
    नछुटोस् आमाप्रतिको सद्भावना
    विश्वभरीका सम्पूर्ण आमाहरूलाई
    मातातिर्थ औँसीको शुभकामना !
    ११//
    सहनुभयो पिडा यातना
    विश्वभरी जहाँजहाँ हुनुहुन्छ
    सबै आमाहरूलाई शुभकामना !
    ✍️ गुणनिधि घिमिरे अमेरिका
    —————<•>—————
    [६२]
    १//
    मैनबत्ती हुन् आमा
    निस्वार्थ उज्यालो दिने
    जीवनकालको बुझाउॅंछिन् राजीनामा !
    २//
    गल्तीमा दिन्छिन् माफी
    उनी हारेर जिताउॅंछिन्
    आमा शब्द काफी !
    ३//
    आमाको गगनझैँ छाती
    लाग्दैन भविष्यमा ग्रहण
    मिल्छ जहिले भलिभाँती !
    ✍️ म्यामराज राई, भोजपुर
    —————<•>—————
    [६३]
    १//
    साँचेर मनमा माया
    खिपेर सबै रिसराग
    सत्मार्गमा शीतल छाया !
    २//
    जति दिन्छिन् गाली
    उति मायाको सागर
    भरिन्छ विकार फाली !
    ३//
    नबुझी उनका भाव
    सन्तान किन टेढिन्छन्
    अगाध प्रेम अनुराग !
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    [६४]
    मायाकी खानी थियौ
    छाडेर गयाै धर्तीबाट
    सधैँलाई विदा लियाै ।
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    —————<•>—————
    [६५]
    १//
    मातृवात्सल्यताकी असिम खानी
    भरोसाकी केन्द्र आमा
    हरेक घरकी महारानी !
    २//
    ममताकी सुन्दर फूल
    अंश सङ्कट मोचनकी
    करुणाकी अविरल मूल !
    ✍️ तोया नाथ चापागाईं
    दमक,झापा
    —————<•>—————
    [६६]
    १//
    आमा ममताकी खानी
    सन्तान सुखी बनाउँछिन्
    हुन् परिवारकी रानी !
    २//
    दु:खपिर सब लुकाउँछिन्
    नखाइकन खाएँ भनी
    पेट आफ्नो सुकाउँछिन् ।
    ३//
    आमा हाम्रो सान
    खुसी बनाई राख्नुपर्छ
    गरी उनको मान !
    ✍️ जयनारायण नेपाल
    इलाम हाल सूर्यविनायक २ बालबोट भक्तपुर ।
    —————<•>—————
    [६७]
    नाताकी मुख्य रानी
    आमा नै हुन्
    माया ममताकी खानी !
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    —————<•>—————
    [६८]
    १//
    आमा जगत माता
    बुझाैँ अपार महत्त्व
    आफ्नो आफ्नै विधाता !
    २//
    दया करूणाकी खानी
    आमा हुन् धरामा
    दिने सबैलाई जिन्दगानी !
    ३//
    पिलाएपछि दूधको धारा
    बिर्सनुहुन्न है कहिल्यै
    आमाप्रतिकाे त्याे अभिभारा !
    ✍️ त्रिलाेचन भण्डारी
    मृचीनगर,झापा
    —————<•>—————
    [६९]
    १//
    सन्सार चलाउने आमा
    दुनियाँको मोहमा बगेकी
    झरना झरेकी पहरामा !
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    [७०]
    १//
    दु:ख, दर्दको माझ
    सन्तानको खुशी हेरेर
    रमाउँछिन् हरेक साँझ !
    ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
    —————<•>—————
    [७१]
    १//
    ममताको त्यो आँचलभित्र
    सङ्गालेर न्यानो माया
    कोर्छिन् भविष्यको चित्र !
    २//
    मायाको शिखर चुलिन्छ
    आमाको साथ पाउँदा
    मनको दुःख भुलिन्छ !
    ३//
    रमाउँछु तिम्रो मायामा
    दुःखेसो केही छैन
    आमाको स्नेह छायामा !
    ✍️ समुन्द्रा शर्मा
    सुनसरी
    —————<•>—————
    [७२]
    नखोजी मान भाउ
    मेरी प्राण माताको
    सेवा गरिरहन पाउँ !
    ✍️ सरिता सेढाई धादिङ
    —————<•>—————
    [७३]
    १//
    नौ महिना कोखमा
    बोकेर जन्मायौ तिमीले
    नपाई खान भोकमा !
    २.
    दशधारा दूधको भारा
    नरुनु आमा कहिल्यै
    बन्नेछु जीवनको सहारा !
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    [७४]
    १//
    आमा पहिलो गुरु
    श्वास रहुन्जेल उनको
    सेवा गरौँ खुरुखुरु !
    २//
    पीपलुकाे शीतल छाया
    जुनीजुनी नै पाइराखाैँ
    प्यारी आमाको माया !
    ✍️ कोपिला अधिकारी
    —————<•>—————
    [७५]
    १//
    आमा ममताकी खानी
    आफैँ उठाउँछिन् दायित्व
    ठान्छिन् मलाई सानी !
    २//
    ममताको आँचलमा बाँधेर
    राख्छिन् सन्तानलाई आमाले
    नयनको नानी मानेर !
    ३//
    आमा हाम्रो सहारा
    अन्धकारमा उज्यालो दिन
    उनी बन्छिन् जुनतारा !
    ✍️ सीमा कार्की समर्पण
    मेलचोक पर्सा, नेपाल
    —————<•>—————
    [७६]
    १//
    आमाको माया पाएर
    सुखसयलमा म हुर्केको
    आटो ढिँडो खाएर !
    २//
    आमा संसार देखाउने
    सृष्टिकर्ता हुन् मेरो
    पढाउने र लेखाउने !
    ३//
    आमाको हातले दिएको
    याद आउँछ झलक्क
    मनमा छु लिएको !
    ✍️ लक्ष्मण देउवा डोटी
    हाल भारत
    —————<•>—————
    [७७]
    १//
    आमाको माया लाख
    हुँदैन अरू कसैकाे
    यिनकाे जस्तो काख !
    २//
    देवी आमाको नाम
    पूजा गराैँ यिनैकाे
    धाउनुपर्दैन कुनै धाम !
    ३//
    अरूबेला परपर सर्छन्
    मातातीर्थमा मात्र ती
    मायाकाे नाटक गर्छन् ।
    ✍️ उर्मिला के.शी.
    धनकुटा
    —————<•>—————
    [७८]
    १//
    देखाइन् आमाले संसार
    आफ्नै मुटु टुक्र्याई
    भरिदिए ज्ञानको भण्डार !
    २//
    आमाको गुण अपार
    बाँचुन्जेल सद्भाव राखौँला
    स्नेह अनि प्यार !
    ✍️ राजेश्वरी राजेपाध्याय
    —————<•>—————
    [७९]
    १//
    मेटाउन तृष्णका भावना
    तमाम आमाहरू सबैलाई
    मातृदिवसकाे हार्दिक शुभकामना !
    २//
    दौडेर आऊ हुरुरु
    आमा तिमीलाई सम्झेर
    मन रुन्छ धुरुरु !
    ३//
    लाग्छ धेरै माया
    पवित्र हुन्छ मन
    सँगसँगै आमाकाे छाया !
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    —————<•>—————
    [८०]
    १//
    बगेको आँसुको ऋण
    तिर्न सकिनँ आमा
    नगर कहिले अघृण !
    २//
    बनायो संसार विचित्र
    स्वार्थ भरेर आफैँमा
    देखाउँछ आफ्नो चरित्र !
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Leave a Reply