
साप्ताहिक झिल्का लेखन अभ्यासको १५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
फूलहरू भाग्न थाले
परागसेचन गर्न छोडेर
चम्चामा हाम फाले ।
२,
ठालुको काम खोज्छन्
चुनावमा मुख मिठ्याउॅंदै
मतपत्रमा अरूलाई रोज्छन् ।
३,
उनको परेपछि लगानी
घाटामा कसैले गर्दैन
के नगरोस् मनोमानी !
- म्यामराज राई
…
१,
के छ मरिलानु ?
सबै यहीँ छोडेर
रित्तै पर्दछ जानु !
२,
यो भागदौड पेलापेल
निष्काम छ दुनियाँमा
तेरोमेरो भ्रमको खेल !
३,
विशुद्ध पारौँ काया
सेवामा मन लगाऔँ
त्यागौँ यी मोहमाया ! - वसन्त अनुभव, घोराही, दाङ
…
१,
कस्तो निष्ठुरी रहेछ
उपहार मैले दिएको
त्यसै छोडेर गएछ ।
२,
थाहा पाएर खायौ
खुर्सानी पिरो हुन्छ
पोल्दा चाल पायौ ।
३,
आमाको काख प्यारो
संसारमै अमूल्य बिछ्यौना
नगर्नु वचन सारो । - शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ
…
१,
होडबाजी कति ठुला
नाप्ने केही होइन
एउटै ड्याङ्गको मुला ।
२,
देखाउन कति जानेको
मह घोली बोलीमा
एकोहोरो बनाई तानेको ।
३,
बुझौँ सबैले कुरा
नपरौँ अन्धकारको भुमरीमा
भित्रभित्रै चलाउँछन् छुरा। - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
…
१,
जीवनमा भोकतिर्खा सहनु
घरमा ठाकठुक हुन्छ
कहिल्यै कसैलाई नकहनु ।
२,
सबैले खुट्टा तान्छन्
सहनु ठुलो सफलता
आफ्नैले झटारो हान्छन् ।
३,
अग्रजसित मुख नचलाऔॅं
पालो सबैको आउँछ
अनुशासित भनेर कहलाऔॅं । - चुडामणी देवकोटा, चनपा – १३, काठमाडौँ
…
१,
भौतारिने काम नगर
अर्काले गर्दिन्छ भन्ने
कहिल्यै भर नपर।
२,
व्यक्त गर्न लेखियो
उकुसमुकुस ती भावनालाई
मेल खाएको देखियो ।
३,
पोलेको छ भतभति
दिलमा लागेपछि चोट
बाँच्नु छैन एकरति। - कला ढकाल, झापा
…
१,
बलेछ आँखामा आगो
त्यही भएर अनायास
चुँडिएछ प्रेमको धागो ।
२,
एकापसमा प्रेमभाव साटौँ
जोगाउन हाम्रो पर्यावरण
रुख बिरुवा नकाटौँ।
३,
ज्ञान चेतना बाडौँ
ए ! दिदीबहिनीहरू हो
चटक्कै छाउगोठ छाडौँ। - डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
…
१,
बेला फूलहरू फुल्ने
सबैतिर ढकमक्क पार्दैछन्
देख्दा मन डुल्ने।
२,
देश दोहन भयो
युवा पङ्क्ति नजागे
नेपालीको अस्तित्व गयो।
३,
फूलको मिठो वासना
त्यस्तै सुगन्धित बनौँ
सबैमा छ कामना। - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
…
१,
विनाश भयो कति ?
बढ्यो जताततै आगोलागी
जनधनको भयो क्षति ।
२,
सुरक्षित बस्न भनौँ
छरौँ ज्ञानको ज्योति
हामी सचेत बनौँ । - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
सबै रहेछन् भातमारा
भाषण मात्र ठोकिरहने,
आँट नभएका हुतिहारा।
२,
जहिल्यै भाका सार्छन्
भोकै मार्छन् गरिबलाई,
गर्नेलाई पछि पार्छन्।
३,
मुखले रामराम भन्ने
भित्रभित्रै तिनैले मेरो,
रहेछन् खेदो खन्ने। - नवशिला, नवदेव मार्ग , लालभित्ती, मोरङ
…
१,
हावाको वेगमा हिॅंड्नुपर्छ
होइन शत्रुसँग डराउने
बुद्धि लगाएर भिड्नुपर्छ। - देवी पन्थी
…
१,
चाहिन्छ भाषा, भेष
असल सङ्गत नहुँदा
एक्लै जिउनु वेश ।
२,
कुँडिन्छ सधैँ मन
दुरुपयोग धेरै भयो
भ्रष्टाचार गरेको धन ।
३,
भरिएको छ डम्म
सफा हुँदैन खोला
ठुलो बाढी नआएसम्म । - ऋजु दिल्पाली, इटहरी
…
१,
फुलहरु ल्याउछन् खुसी
कस्तो स्वार्थी भमरा ?
उड्छन् रस चुसी ।
२,
सबैभन्दा सजिलो काम
नेता कमाउन सक्छन्
पैसा अनि नाम ।
३,
गर्नुपर्छ निष्काम कर्म
प्रतिफल मात्र खोजेर
कसरी हुन्छ धर्म ? - दीपा समभाव, दुबेकोल खोटाङ
…
१,
धनले बिगार्यो मन
आफ्नै दुनो सोझ्याउँछन्
अतृप्त मानव जन । - मन्दिरा सेढाई, मलेखु,धादिङ
…
१
कोठामा घाम परेर
हिँडौँ धर्म मार्गमा
ईशको नाम गरेर !
२
विकास होस् कामना
सङ्घर्ष जीवन आखिरी
पीडाको गरौँ सामना !
३
सेवा सबैको धर्म
जुटेर मानव बाटोमा
मिलेर गरौँ कर्म ! - आर्त अकुलीन
…
१,
जीवनको जोड घटाउ
हुन्छ दु:ख कहिलेकाहीँ
तर पिर हटाऊ । - प्रेम थापा “मन”बागलुङ
…
१,
भक्तिमा प्रभु गुणगान
परोपकार गर्दै गरेमा
त्यो हुन्छ महादान ।
२,
मनमा बत्ती बालौँ
संस्कार सत्सङ्ग सद्भाव
स्वयम् हृदयमा पालौँ ।
३,
समस्याको हुन्छ समाधान
तर्क मन नमिल्दा
सदैव हुन्छ घमासान । - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
…
१,
फक्रिनु फूलको चाहना
हराएको कान्ति बोकी
पलाउने कोपिलाको कामना । - सन्तु खत्री
…
१,
सबैले दियो भोट
खाएर चुनाव जिताएपछि
हातमा पायो नोट।
२,
मनलाई सम्झाएर आएँ
दुनियाँ रमाइलो लाग्थ्यो
आज एक्लो पाएँ।
३,
ईश्वरमा गर्दछु आश
केही छैन कसैलाई
नबन कहिले निराश। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
…
१,
वैशाखको प्रचण्ड घाम
पाखुरामा छोडेर गयो
निशानी कालो डाम।
२,
पौरखले पाक्छ दाल
नित्य अल्छि जनले
बुन्छन् ईर्ष्यालु जाल।
३,
उठाऔॅं हलो कोदालो
स्वदेशमै सुन फल्छ
नबन प्रवासमा गोठालो। - बिके मुखिया, दार्जिलिङ, भारत
…
१,
मह जम्मा गरी
डुल्छ माहुरी उद्यानमा
सारा जीवन भरी !
२,
वासना हुन्छ फूलमा
टिपेर व्यर्थ नफाल्नु
परेर चुलबुले भुलमा।
३,
कर्तव्य गर्नु भुक्तिको
शक्तिको दुरुपयोग नगरी
बाटो रोज्नु मुक्तिको। - विवश पारदर्शी, झापा
…
१,
पुरानो घाउ बल्झियो
किन होला कुन्नि
मन उतै अल्झियो ।
२,
नचाहिने कुरा भनी
मलाई बन्नु छैन
घमण्डी अनि धनी।
३,
उनकै माया लाग्यो
किन होला कुन्नि
भेट्ने रहर जाग्यो । - गोबिन्द्र राज तिमिल्सेना, बडिमालिका – ७, बाजुरा
…
१,
कसैको हत्या गरेर
संसार जित्न सकिन्न
जान्छौँ एकदिन हरेर।
२,
उज्यालो दीप बालेर
अगाडी बढ्न सिकौँ
मनको रिस फालेर ।
३.
मिलेर अगाडि बढ्नुपर्छ
सफल बन्नकै लागि
हरेक सङ्घर्षमा लड्नुपर्छ। - लक्ष्मण देउवा डोटी, हाल भारत
…
१,
नभुल मात्र मेवामा
मोहमाया पर सारेर
लाग सामाजिक सेवामा l
२,
ढुकुटी ठान्यौ पेवा
अलिकति डर मान
ईश्वरले गर्दैछ चेवा l
३,
काम गर्छौ कमालको
सत्ता समिकरण सधैँभरि
सानो ठुलो बगालको l - बाबुराम गौतम, गुल्मी
…
१,
लिएर नहुने चिज
किन सन्ताप लिन्छौ ?
छोडेर खुसी खिच।
२,
आनन्द, खुसी, सुख
होइन किनेर पाइने
पिरोल्छ यसलाई दुख।
३,
सुटुक्क पाए चिन्न
दुःखका औषधी यहाँ ,
हुन्थेन वर्गमा भिन्न। - मनोहरी पौडेल, गैडाकोट १
…
१,
तिम्रो सकिनँ हुन ।
धनको गारो चाहिने
कहाँ पाउ सुन ?
२,
बसेर गरौँ कुरा
पीडा जति भुलिन्छन्
वाचा हुन्छन पूरा ।
३,
सधैँ अध्यारो मुख
बाल एकछिन बत्ती
पाउला स्वर्गीय सुख । - हिरालाल न्यौपाने ,सल्यान, कोटमौला
…
१,
कसैलाई नराम्रो नभन्नु
फर्किदा पच्दैन भने
जानीजानी पीडक नबन्नु।
२,
कर्ममा निरन्तर लागौँ
आउनेछ पक्कै समय
व्यर्थ नबसौँ जागौँ।
३,
केही सौम्य याद
जिन्दगीमा कहिलेकाहीँ त्यही
नितान्त हुन्छ उन्माद। - पृथक प्रकृति ,झापा
…
१,
आज या भोलि
मर्न थाहा छैन
बोलौँ मिठो बोली
२,
जिन्दगी दुईदिने चोला
बाँचुन्जेल राम्रो होस्
भोलि के होला !
३,
दुनियाँमा बाँच्न गाह्रो
बिचमा परियो मानव
गरिखाने मान्छेलाई साह्रो । - बेदु न्यौपाने
…
१,
नि:स्वार्थ ध्यान गरौँ
सक्ने दान गरी
ईश्वरमा भर परौँ । - ज्ञानेन्द्र क्षत्री
…
१,
कहिलेसम्म मौन बस्ने
प्रकृतिको स्थिर रूप
पानी बनेर खस्ने।
२,
भ्यागुताको बिहे गरेर
सताउने कहिले हो
प्रकृति रौद्र झरेर।
३,
मुर्रा आएर हाँस्ने
उपहारको नाममा जनावर
साटेर सम्बन्ध गाँस्ने। - संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं
…
१,
मन्दिर किन धाउँछौ
गरिबलाई गर्छौ हेला
तिमीले के पाउँछौ ।
२,
लेखेर चिट्ठी आमालाई
तातो घाममा छु
खबर दिनु मामालाई ।
३,
लगाउँछौ आगो बनमा
डढेर सबै नस्ट
पिर छैन मनमा ? - रबि पौडेल दक्षिण भारत पाण्डेचरि
…
१,
विकासदेखि निकै पर
हाम्रो देशको अवस्था
घुसखोरी भ्रष्टाचारीहरूमा निर्भर।
२,
सम्झेर नौनाडी गल्छ
युवा जमात खाडीमा
वृद्धहरूद्वारा देश चल्छ?
३,
आर्थिक अवस्थाको मार
कर्णधार सारा विदेशमा?
पलायन भइरहेछ लगातार । - बि.कुलुङ, दार्जिलिङ, रंगबुल
…
१,
रचनाहरूले तिमिलाई छुनेछन्
पढन्त भए जिन्दगीमा
आनन्दित मन हुनेछन् ।
२,
महसुसहरू अनुभव भएछन्
भूतकाललाई हामीले समझेर
नराम्रा आचारणहरू गएछन्।
३,
जीवनका पानाहरू पल्टिॅंदैछन्
अतितका घटनाहरू बिर्सेर
समस्याहरू आफैँमा सल्टिॅंदैछन्। - केन्टरमेश क्षेत्रीय, रोल्पा
…
१,
अकेलो निष्ठा मजबुर
पत्थर बीचमा चम्किलो
अन्जान छन् कोहिनुर ।
२,
जसको साथमा लाख
अरूको अन्जुली खाली
भरिन्छ उसको काख । - कृष्णकुमार वैद्य, बनेपा – ९, काभ्रे
…
१,
फूलको जस्तो सुवास
तिम्रो स्पर्शमा पाउॅंछु
आनन्दमय हुन्छ मधुमास ।
२,
अर्ध तनमय भएछु
तिम्रो साथ पाउँदा
शिरमा सिन्दुर भरेछु ।
३,
आऊ, मुसुक्क हाँसेर
नयनमा भिज्ने गरी
बसौँला प्रीति गाँसेर । - फूलमाया कुलुङ-साेलुखुम्बु
…
१,
प्रभुमा मन लागोस्
यही छ कामना
दु:ख वेदना भागोस् ।
२,
माया बस्यो गाढा
सम्झनाले सताइरहँदा हरपल
जान सकिएन टाढा ।
३,
जहाँ रहे पनि
यो दुखी संसारमा
मन रहोस् धनी । - त्रिलोचन भण्डारी, मेचीनगर,झापा
…
१,
होडबाजी प्रकृति सक्नलाई
वातावरण बिग्रॅंदै गइरहेछ
चाहिँदैन भविष्य बक्नलाई ।
२,
मायाको शीतल छायाँले
कसरी धानौँ तिमीलाई
दायाँ अनि बायाँले ।
३,
बर्सेनि बिग्रँदो प्रकृति
विचारौँ सकिन्न बाँच्न
हेरेर पैसाको भकारी । - रामप्रसाद पुरी, बादेल, खोटाङ
…
१,
रितुजस्तै छ घाम
मुटुमा छोएर गयो
बिर्सन नसक्ने नाम ।
२,
विचारले पाक्छ भात
अन्छीपनको त्यो शून्यता
नेता छोड्छन् हाम्रोसाथ ।
३,
मेरो देशको नाम
नेपालमै फल्छ सुन
नेता लागे दाम । - कृष्ण देउबा, डडेलधुरा, आलिताल २ गाङ्गखेत
…
१,
कसैलाई घृणा नगर्नु
हेरेर उनको व्यवहार
शब्द राम्रो भर्नु। - गंगाराम यादव, औरावनी २ सुनसरी
…
१,
तिमी हिजोका चल्ला
काम भन्दा कुरा
बढी गर्छौ हल्ला ।
२,
काम गर्छ कालु
जङ्गलमा डुलि हिड्ने
मकै खान्छ भालु ।
३,
भुक्ने कुकुरले टोक्दैन
नगर धेरै फुर्ती
खानलाई जुङ्गाले रोक्दैन । - देव कृष्ण काफ्ले, पोखरा १,बगर,कास्की
…
१,
गरिबी भोकायो सहेन
जकाएर नाङ्गै भिडमा
अर्काको जुठोमा मरेन ।
२,
अर्कैको पोल्टामा जन्मेर
झाडीमा पुनर्जन्म लियो
मायाको जालमा अन्मेर ।
३,
उडायो सपना हुरीले
परदेश गइ कमाउ
रहेन के चुरीफुरीले ! - अम्बिका अधिकारी, झापा बिर्तामोड
…
१,
आनन्दको समय चोरेर
आत्मिक सम्बन्ध गाँसे
सौन्दर्यको ढुकुटी फोरेर।
२,
आँखाको नानीभित्र रमाई
भावनालाई भावले अचेट्दै
कोमल स्पर्शको रजाइँ।
३,
मौनताको पर्दाभित्र अचेटेर
कल्पनामा रमाउँदै आज
नेत्र स्पर्शमा दपेटेर। - घनश्याम पन्त, हरिवन सर्लाही
…
१,
सत्कर्मका बाटो रोज्नु।
सही गलत छुट्याई
गन्तव्य आफैँ खोज्नु।
२,
रोपेर बिरुवा माटोमा
मलजल गरी हुर्काउनु
पसिना चुहाई पाटोमा।
३,
नदेख सपना कोरिया
मेहनतको फल मिल्दछ
फाँडेर बस खोरिया। - सरस्वती श्रेष्ठ रुपन्देही बुटवल
…
१,
कमाइन्छ मन्नगे धन
श्रम गर्न सकियोस्
स्वास्थ्य रहोस् तन।
२,
मिठो मसिनो राम्रो
व्यवहार या बोली
रुखो अति चाम्रो।
३,
आसमा बस्न नपरोस्
बरु पौरखी कर्मलाई
सबैले सम्मान गरोस्। - अरुण कुमार भुजेल, गोरू बथान,कालिम्पोङ, भारत
…
१,
जिन्दगी रहने भो
बाँचे युगयुगान्तर अनन्तकाल
सुन्दर हुने हो ।
२,
प्रेमले बाँच भन्छन्
दिलमा दु:ख अनि
चोटैचोट पो गन्छन् ।
३,
सधैँ छाडी जानेलाई
फर्क भन्ने छैन
जाओस् याद सजाई । - मनुहाङ किराँती सोलु, महाकुलुङ – ५
…
१,
देशको कार्यभार उठाउन
गर्नु भन्छन् हातेमालो ,
जनताको साथ पाउन!
२,
सुकिला लुगा लगाई
गर्छु निस्वार्थ सेवा ,
जनताको घरमा धाई ।
३,
वाचा पूरा गर्छु
के गरूँ एक्लै ,
जनताको भरमा पर्छु । - सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
…
१,
वरिपरि फुल्छ फूल
घुमफिर आएर त्यही
मेरी भमरोको भुल !
२,
सहन चाहिँ सहनु
जस्तै परिस्थितिमा पनि
हुदैँन भन्छन् कहनु !
३,
आँसुको खोलो बगाइ
ढाक्नु पर्दैछ सधैँ
कालो चस्मा लगाइ ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
…
१,
नौ शब्दको कथा
कोरौं झिल्का सरर
खोली भित्री व्यथा।
२,
झिल्का साहित्य एक
फुर्छन शब्द अनगिन्ती
सृजना हुन्छन् अनेक।
३,
सृजनशील ती हातहरू
बोक्छन् कलम अविछिन्न
बिताउँदै अनेक रातहरू। - तोया नाथ चापागाईं, दमक, झापा, नेपाल
…
१,
चिप्लो बोल्न जान्दिनँ
ठिक्क अरुको अगाडि
बनावटी कुरा मान्दिनँ ।
२,
आफ्नो कर्तव्य छोडिएन
अपराध लुकाउन छिपाउन
राजनीतिक खोल ओडिएन ।
३,
मानव भएर बाँचौँ
कर्म गरौँ मानवकै
समाजमा कीर्ति साँचौँ । - पारसमणि खतिवडा, सूर्योदय ३ इलाम (हाल सूर्यविनायक भक्तपुर)
…
१,
भाग्यमा लेखेको कुरा
टारेर टर्दैन भन्छन्
ती अति सुरा।
२,
कर्म पछिको फल
हात फैलायो भने
गर्छन् भगवान्ले छल। - कोपिला अधिकारी, सिरानचोक – ७,गोरखा
…
१,
मुहान सुक्दै गयो
खडेरी मच्चियो बेस्सरी
पानीको हाहाकार भयो |
२,
आउँछ मन कुँडेर
स्वास्थ्यमा समस्या आयो
धुलो धुँवा उडेर |
३,
जङ्गलमा डढेलो गयो
भाग्ने ठाउँ छैन
जीवजन्तुको उठीवास भयो | - सरिता सेढाई, धादिङ
…
१,
थाहा छ मलाई
नपोलिएको कोहि छैन
नकोरेर नै सलाई ।
२,
मै हुँ ठान्नेले
टेकेको हुन्न स्वर्ग
दन्तेकथा मात्र जान्नेले ।
३,
किन बोल्यौ दुर्वाच्य?
कर्म-धर्म मेरै हो
चाहिॅंदैन भाग्य अपाच्य । - कमला पौडेल
…
१,
दुनियाँ यस्तै रहेछ,
राम्रो सोच्दा सोच्दै
मन भारी भएछ!
२,
किन यति साह्रो
कहिलेकाहीँ त लाग्छ
बाँच्न कति गाह्रो !
३,
राम्रो गर्छु भन्दाभन्दै
अप्ठ्यारोमा परिने रहेछ
गयो दिन गन्दै! - शोभा आचार्य गौतम, काठमाडौँ
…
१,
मनभरि पीडाको पोको
खुसी हुन्छु भन्ने
मनमै रह्यो धोको ।
२,
दुःखले झेल्दै गयो
कर्मले ठगेर होला
आज नसोचेको भयो ।
३,
अन्तिम निर्णय गर्दैछु
नसोध्नु कसैले मलाई
केही दिनमै मर्दैछु । - ललिता गिरी, सिन्धुली
…
१,
हुँदैन भावनामा बहकिएर
यथार्थ इतिहास लेखियोस्
परिश्रम, लगनशीलले माझिएर।
२,
इरादालाई फत्ते गर्नुछ
दिएको बचन पालनमा
सात समुन्द्रसम्म तर्नुछ ।
३,
फर्किनुपर्छ फेरि दार्जिलिङमा
कविताको सेतु लगाउँछु
एकोहोरो नहेर्नु मिलिङमा। - दिल ठकुरी टिस्टाभेल्ली दार्जिलिङ
…
१,
खुसीको उपहार झिल्का,
सद्भावना सधैँ सङ्गाली
मनमुटावहरू सब मिल्का ।
२,
नववर्ष भएछ गर्मी ,
मौसम भयो निष्ठुर
पापी बढे विधर्मी । - शम्भु गजुरेल, सिन्धुली
…
१ ,
भरोसाको बिच बाटोसम्मै
लाग्यो ठुलो दिवार
टुट्यो भरोसा अचम्मै।
२.
जिजीबिषामै पर्यो खाडल
तमासेहरूको त्यो भिड
बज्यो विक्षिप्तताको मादल । - हरिगोपाल प्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
…
१,
तन काम्यो धामीसरि
फूलेको सुवास समीपमा
प्रेमिल घमाइलो मनभरि ।
२,
छचल्क्याई सुगन्धले छालहरू
मनको घडा भरिएर
यौवनका उद्भव तालहरू ।
३,
स्वप्निल तलाउ खनाएर
खहरेझैँ उर्लिएर रुझायो
कुनाकाप्चा निथ्रुक्कै बनाएर। - ममता पौडेल, बुढीगङगा-२ , मोरङ
…
१,
युवा बजारमा फालाफाल
डलरमा मोलतोल गरी
भए नेता मालामाल ।
२,
देशका कथित नेतागण
कलङ्कको टीका लगाई
जान्छौ कहाँ भन ?
३,
कति माग्ने भिक्षा
सुन्दर देश नेपालमा
चाहिन्छ सीप शिक्षा । - जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक – २, बालकोट, भक्तपुर)
…
१,
एकजुट भए बन्नेछ
सुन्दर देश विश्वको
नेपाल सबले भन्नेछ।
२,
माया गरौँ देशको
संरक्षण गर्नुपर्छ सबले
भाषा कला भेषको
३,
सगरमाथा शिर हाम्रो
कला संस्कृतिमा धनी
नेपाल देश राम्रो । - रुना कर्माचार्य दाहाल, चितवन
…
१,
सम्झाएर बारबार जसलाई
कुरा कोटाउॅंदै पैसाको
अत्तोपत्तो छ कसलाई ?
२,
राजा हुनलाई पहिले
माग्नुपर्ने हुन्छ भिख
कहाँ पाइन्छ अहिले ? - ईश्वर साउद, सुदुरपश्चिम रामारोसन – ६, अछाम
…
१,
राम्रोसँग सोची बोल
नघोच बोली वचनले
अशान्तिको नबजाऊ ढोल।
२,
मनमा मिले शान्ति
हर्ष उमङ्ग छाउँदै
आउनेछ मुहारमा कान्ति । - राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५ संगम कोलोनी राधे राधे भक्तपुर।
…
१,
दुई जनाको जन्ती
उनी पनि गए,
गाउँ ठाउँबाट अन्ती ।
२,
आफ्नो ठाउँमा सान
देशमा चिनाउनु हामी,
सबैले मिलेर पहिचान ।
३,
गाउँ समाज हाम्रो
सबै मिलेर गर्नु ,
सधैँ काम राम्रो । - श्रीकृष्ण धामी – बझाङ
…
१,
पाएनन् प्राणीले बाँच्न
आगो सल्कियो जङ्गलमा
सकेन पंक्षी नाँच्न।
२,
फल नौलो बन्यो
पाएन ऋतु कुर्न
औषधीले दिन गन्यो।
३,
देखाए जादुको ऐना
मख्ख परे जनता
गरे भविष्यको बैना। - सुस्मिता अधिकारी ,काठमाडौँ
…
१,
सत्ताको खेल देखेर
छक्क पर्दछु आफैँ
बस्छु झिल्का लेखेर ।
२,
हिमालपारिको त्यो देशमा
युवा पसिना बगाउदै
चिनारी आफ्नै भेषमा । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ – ४ झापा
…
१,
झारपातहरू उखेल्छिन् आमा
बाग सुशोभित बनाउन
संरक्षण गर्ने मामा।
२,
फूलको शोभा हुन्नन्
झारपातहरूको संसर्ग भएमा
मायाले कसैले छुन्नन्।
३,
रातले पर्खने बिहानी
विरहीले कात्ने रात
भिजेको त्यो सिरानी। - राजेश्वरी राजोपाध्याय, ललितपुर

::::::::जय झिल्का साहित्य ! ::::::::::
you are in reality a just right webmaster The site loading velocity is incredible It seems that you are doing any unique trick In addition The contents are masterwork you have performed a wonderful task on this topic
Wonderful beat I wish to apprentice while you amend your web site how could i subscribe for a blog web site The account aided me a acceptable deal I had been a little bit acquainted of this your broadcast provided bright clear idea