साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ७ सम्पन्न

  • २१ फाल्गुन २०८०, सोमबार ०८:२३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको सातौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविता प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-

    …………………
    १,
    खेलाडीलाई सधैँ सम्मान
    बोक्दछन् विलक्षण क्षमता
    सेकेन्डमा बनाउॅंछन् पहिचान ।
    २,
    कस्तुरी सुगन्ध चिन्दैन
    कसको हो समस्या ?
    लोक साँगुरो छैन ।
    ३,
    आफ्नो बाटो सजिलो
    यायावर पाइला राख्न
    भए सामर्थ्य जाँगरिलो ।

    • म्यामराज राई, भोजपुर

      १)
      असभ्य जङ्गली परिवेश
      अस्मिता लुटिन्छ नारीको
      सरकारमा छैन क्लेश !
      २)
      मानवता रहेन शेष
      बलात्कार हत्या दिनदहाडै
      न्याय मरेको देश !
      ३)
      कोपिला निमोठ्छ मालीले
      मान्दैनन् डर कानुनको
      हत्यारा फटाहा जालीले !
    • वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ ।

      १.
      जङ्गली मानिसको व्यवहार
      किन यस्तो भयो
      के होला सार ?
      २.
      दिनदहाडै हुन्छ बलात्कार
      कानुन फितलो भएरै
      न्यायमा भैरहेछ हार।
      ३.
      लागोस् तिनलाई ठेस
      चेली बलत्कारीलाई यहाँ
      नदिऊन् कसैले अडेस।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।

      १,
      सकिन्छ आफैँ गर
      नत्र भने यहाँ
      कसैको भर नपर ।
      २,
      भ्रष्टाचारले खाएको देश
      गरिबको भने सधैँ
      पाइलैपिच्छे हुन्छ ठेस ।
      ३,
      गुहार कसैको नमाग
      मेहनत आफैँ गर्नू
      तयारी गर्नतिर लाग ।
    • ललिता सिन्धुली

      १.
      धितो राखेर घरबारी
      विदेश जान्छन् जन
      देशमा नभएर रोजगारी ।
      २.
      गर्दैनन् वास्ता सरकार
      यही छ विडम्बना
      खेदपूर्ण आउँछ समाचार ।
      ३.
      हत्या हिंसा बलात्कार
      कहालीलाग्दो मात्र घटना,
      कहिले होला सुधार ?
    • पृथक प्रकृति, झापा

      १,
      फरक छ बाटो
      नभुल्नु कसैले एउटै
      मरेर जाने माटो ।
      २,
      रूप, उमेर रहुन्जेल
      संसार छ स्वार्थी
      माया जीवन छउन्जेल ।
      ३,
      गहन कुरा देख्नू
      नौ अक्षरमा अटाएर
      सुन्दर झिल्का लेख्नू ।
    • विमल खतिवडा माइला, सिलगढी, भारत

      १,
      विखण्डनकारी धेरै भए
      देश भयो टुक्राटुक्रा
      उनै शिखरमा गए ।
      २,
      फैलायो विदेशीले जाल
      देशमा घायल जनता
      देश जोगाउने सवाल ।
      ३,
      एमसीसी खारेज गरौँ
      सङ्घीयता पनि अब
      आन्दोलनमा सबै झरौँ ।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८

      १,
      बलात्कारको अन्त्य कहिले
      जति सभ्यता चुलियो
      सुनिन्छ यत्रतत्र जहिले ।
      २,
      कानुन भए मानून्
      भन्छन् किन सबैले
      उही दैव जानून् ।
      ३,
      न्याय मर्नु हुँदैन
      किन ती अपराधीलाई
      मानवताले पटक्कै छुँदैन ?
    • त्रिलाेचन भण्डारी, मेचीनगर, झापा

      १,
      उकाली गर्दै ओराली
      शितल प्रेमको छहारीमा
      मिलेर बसे सम्हाली !
      २,
      सेवा सत्कार धर्ममा
      पसिनाको मूल्य अनुपम
      मिठो फल कर्ममा !
      ३,
      सत्य मार्गमा जानु
      हिमाल पहाड तराई
      काम गरी खानु !
    • आर्त अकुलीन


      हुँदैन मनको धोको
      मानिसको कहिले पूरा
      घमण्डको बोकेर पोको !

      बुबाआमा सबै छोडेर
      गयो एउटै छोरो
      गलत बाटो रोजेर !

      अन्त्य भएन कहिले
      धेरै स्वतन्त्रता भएर
      बलात्कार हुन्छ जहिले !
    • कला ढकाल झापा

      १,
      आऊ बस पियारी
      यताउति नजर देऊ
      बन सधैँ होसियारी ।
      २,
      वैरी आँखा लाउलान्
      मौका खास पहिल्याई
      साँझपख फेरि धाउलान् !
      ३,
      तिम्रो मेरो नाममा
      शङ्का गरी कलङ्क
      लाउलान् पोल बिनाकाममा !
    • विवश पारदर्शी, झापा

      १,
      समय त्यस्तै बन्यो
      सोझा मारमा परे
      दोषीलाई राम्रो भन्यो।
      २,
      समाजसेवीको थपियो नाम
      जसले माखो मार्दैन,
      उसलाई मिठोमिठो माम ।
      ३,
      फैलियो दुष्टको जाल
      देश सके भ्रष्टाचारले
      जनताको बन्दैछ बेहाल
    • शंकर कार्की, मकवानपुर

      १,
      गुरु अपराधी भएपछि
      कसैको केही लाग्दैन
      स्कुल क्रीडास्थल बनेपछि ।
      २,
      बाआमाले विश्वासले पठाउॅंछन्
      आफ्नै गुरुका कुदृष्टि
      अङ्गाङ्गीको तृप्तिमा लगाउँछन् ।
      ३,
      युद्धताका छानीछानी मारे
      भुले सत्तामा पुगेपछि
      अधिकार ओझेलमा पारे ।
    • चुडामणी देबकोटा, चनपा १३ काठमाण्डौ

      १,
      आस्था विश्वास भर
      तिमी हौ मेरो
      एउटा सुन्दर घर।
      २,
      तिमी जीवन मेरो
      राखेँ यो दिलभित्र
      बनाई प्रेमको घेरो।
      ३,
      आऊ माया गासौँ
      बाडौँ मनको खुसी
      दिल खोलेर हासौँ ।
    • नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ।

      १/
      अनुहार फरक भए
      रगत एउटै भएको
      भेषभूषामा टिकी रहे !
      २/
      ज्यादतीले देश गढ्यो
      कानुन मरेको भनेर
      हत्या बलात्कार बढ्यो !
      ३//
      खुसी हुन्छन् बालबालिका
      लाउन पाउँदा राम्रो
      कानुन बनाऊ पालिका !
    • अम्बिका अधिकारी, झापा बिर्तामोड

      १.
      दरिलो मन बनाऊ
      मरेर लानु छैन
      मद्दत गर्ने जनाऊ ।
      २.
      समृद्धि जब आउला
      सद्भाव हामी फैलाई
      राष्ट्रको गीत गाउँला ।
      ३.
      राष्ट्रको महिमा पढौँ
      सबैको उन्नतिका लागि
      राष्ट्रको हितमा बढौँ ।
    • प्रेम थापा “मन”, बागलुङ

      १)
      के हुँदैछ यहाँ ?
      निर्दोषको हत्या गर्‍यो
      न्याय लुकायो जहाँ ।

      मारेर अबोध बालिका
      रुँदै आमा भन्छिन्
      न्याय देऊ कालिका ।

      पुरुषको निहुरियो शिर
      चितवनको बलात्कार घटनाले
      हत्यारालाई रोपौँ झिर ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि ।


      नेतृत्वले कर्तव्य चिनेन
      बरालिए सबै यताउता
      अगुवा सुमार्ग हिँडेन।

      माताले ममता नचिन्दा
      बरालिएछन् पिता पनि
      गुरु सुमार्ग नहिन्दा ।

      चुँडेर फूल गमलाको
      कुल्चेर हिॅंड्छ पापी
      बुझ्दैन दर्द अबलाको ।
    • शम्भु गजुरेल, सिन्धुली

      १.
      कुरा बुझ्नुस् साथी
      धेरै बकबके नबन्नुस्
      नजानुस् चाँडै माथि ।
      २.
      अमृत ल्यायो पहिले
      आशाको बिगुल बजायो
      आफैँले खायो अहिले ।
      ३.
      भकारो सोहोरेका हातले
      लगनशील हुँदै जाँदा
      संसार देखायो पातले ।
    • नन्दलाल आचार्य, बेलका, उदयपुर ।

      १)
      मूकदर्शक हाम्रो सरकार
      फाँसी छैन कुकर्मीलाई
      मानवताको हार गुहार ।
      २)
      घर, विद्यालय, वन
      सुरक्षित छन् कहाँ ?
      हाम्रो चेली भन।
      ३)
      चेलीको गयो प्राण
      न्याय मर्न नदिनुस्
      सरकारको जाओस् ध्यान ।
    • रुना कर्माचार्य दाहाल, चितवन

      १.
      बिहानपख आँगनमा शीत
      कोसिस गर्नुपर्छ सधैँ
      हुन्छ सफलताको जित ।
      २.
      मनमा ठुलो पिर
      मैले त यहाँ
      झुकाएन कतै शिर ।
      ३.
      सुन्दर गुलाफको बोट
      बाहिर हाँसो हुँदा
      मनभित्र छ चोट ।
    • श्रीकृष्ण धामी, सुदूरपश्चिम – बझाङ

      १,
      राम्रा छोरी जन्माएर
      बलात्कारै हुने भयो,
      लान्न कोही अन्माएर।
      २,
      समाजमा भयो अति,
      छोरीचेली नै लुटिरहे
      बिर्सिएर आफ्नो खति।
      ३,
      कानुनको विश्वास टुट्यो
      बलात्कारी सेतो सधैँ
      हेर्दाहेर्दै फुत्त छुट्यो।
    • मनोहरी पौडेल, गैडाकोट १

      १.
      मायाममताको न्यानो थलो
      सधैँ उसको लागि
      बाआमाले सोच्छन् भलो।
      २.
      हली बनाई जोतिरहँदा
      जिन्दगी नै होइन
      कठिन भयो घोटिरहॅंदा।
      ३.
      आँसुले याद धुन्छु,
      फाटेर च्यातिॅंदै जान्छ,
      उसकै बिलौना बुन्छु।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान

      १,
      के भनी बोलाऔॅं
      हौँ आफैँ गएकी
      भो माया नगांँसौँ !
    • मनोज गजमेर डान्सर

      १,
      गर्दा ठुला कुरा
      विश्वास गर्दैन्न कसैले,
      नभए वचन पूरा !
      २,
      महत्त्वपूर्ण हुन्छ पात
      रङ्गमा होइन रसमा,
      बन्छ मानिसको जात ।
      ३,
      रहेछु म भाग्यमानी
      आवश्यकता परे सम्झिन्छौ,
      भन्छौ मेरी सानी ।
    • सीमा कार्की समर्पण

      १,
      छोरीलाई समय देऊ
      सक्छन् गर्न सबै
      देशको नाम लेऊ।
      २,
      सबैलाई आफ्नो भन
      तब हुनेछ उन्नति
      छोरीलाई पनि गन।
      ३,
      आँट भरेर गर्दैछन्
      सबैको अघि छोरीहरू
      देश चिनाउन सर्दैछन् ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत

      १,
      खेल्छन् बसेर खेल
      सत्तामा पुगेका मिली
      मात्र गर्छन् जालझेल ।
      २,
      मनमा डरको भारी
      बोकी हिँड्छौ सधैँ
      सुरक्षित छैन नारी ।
      ३,
      भइरहेछ यस्तै बारम्बार
      कहिले अन्त्य हुने
      हत्या हिंसा बलात्कार ।।
    • अनिता भण्डारी ताप्लेजुङ

      १.
      दाताको चाल जान्दैन
      एमसीसीको अन्तर्य देख्यौ
      नेपाली कानुन मान्दैन ।
      २.
      कटाउनै पर्यो सिमाना
      देशभक्त फलाक्ने काजी
      अन्धभक्त रहेछ दिवाना ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे

      १,
      नाम भने लेखराज
      पढ्न लेख्न नआउने
      यस्तो हाम्रो समाज ।
    • मंगला उपाध्याय

      १,
      देश चिनाउने खेल,
      सम्मान सुविधा दिॅंदैनन्
      खेलाडी पठाउॅंछन् जेल ।
      २,
      राजनैतिक सुझबुझ अकल्याण
      अवसर नपाएर नेपाली
      सबै विदेश पलायन !
      ३,
      रक्षकमा भक्षक आवृति,
      भगवान्भित्र रूप राक्षसको
      चिन्नै नसक्ने आकृति !
    • दीपा समभाव, काठमाडौ

      १.
      पहिला जिउँन सिक
      जुधेर समय सॅंगसॅंगै
      अवस्था हुन्छ ठिक।
      २.
      मनको पिर रुक्छ
      अरूको भर परेपछि
      आँसु सबै सुक्छ ।
      ३.
      पूजापाठ जहिले गर्नु
      मन शान्ति हुन्छ
      आफू तल नझर्नु ।
    • धनुष न्यौपाने, जुम्ला

      १/
      उपदेश पाइन्छ गीतामा
      घमण्ड, ईर्ष्या बित्थाको
      देह सकिन्छ चितामा ।
      २/
      बन्धकमा मेरो स्वाभिमान
      बेखबर भयो जिन्दगी
      सहँदै हरदम बदनाम ।
      ३/
      फलाक्छ बेस्सरी अङ्ग्रेजी
      सन्तान उनी गोर्खाको
      बुझ्दैन मातृभाषा नेपाली ।
    • राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।

      १,
      देखिएन सुनाखरी फुलेको
      दुई हृदय घोलेर
      अनिदो मुहार धोएको ।
    • हरिगोपाल प्रधान, काभ्रे पलाञ्चोक बनेपा – १४, साँगा

      १,
      आनन्द छ रातमा
      रोली गीत सुनाउँदै
      दुई छोरीहरू साथमा ।
      २,
      हातहरू देब्रे दाहिने
      नयनभरि छन् सधैँ
      नूमा,लाहागंमा चाहिने ।
      ३,
      छोरीको भविष्य बनाउँदै
      इन्दिरा, प्रतिभा, द्रौपदी
      देशको इतिहास जनाउँदै।
    • मोती सुब्बा, दार्जिलिङ,निमकी डाँडा।

      १//
      विदेशीको छ चलखेल
      कोही विक्षिप्त नबनी
      हामीमा हुनुपर्छ मेल ।
      २//
      सुन्दर फूलको डाली
      भेदभाव गर्नु हुन्न
      उनै फूलका माली ।
      ३//
      गरूँ उन्मुलन विभेदको
      हामी सबै मिलेर
      राखौँ कायम सद्भावको ।
    • बेदु न्यौपाने

      १.
      आकाशबाट उल्का झर्‍यो
      हुनुपर्‍यो सचेत बेलैमा
      बालजिन्दगी खतरामा पर्‍यो ।
      २.
      प्रमोहित सुन्दर बाग
      बनाउन देश आफ्नो
      अब उठ जाग ।
      ३.
      मनभित्र हुन्छ जलन
      विकृति विसङ्गति मौलायो
      हटाऔॅं भेद्भावको चलन ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा

      १,
      कथा दोहोरीयो हेर
      केहि बर्ष पहिलेको
      गयो कोपिला खेर ।
      २,
      छैन देशमा सुशासन
      जनताको छोराछोरी मरिसके
      गर्छन् नेता भाषण ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा

      १,
      ज्ञान लिन गएको
      छात्रबासमा बस्दा बस्दै
      बालिकाको हत्या भएको ।
      २,
      देशको खेलाडी हाम्रो
      नियम पालना गरे
      सबैले भन्छ राम्रो ।
      ३,
      दुनियाँको हुने हेला
      अशक्त बुढो शरीर
      जीर्ण भएको बेला।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी संगम काेलाेनी राधे राधे भक्तपुर ।

      क)
      घर घरमा सिंहदरबार
      निमुखाको त हकमाथि
      तुर्लुङ्ग छ तरवार l
      ख)
      न्यायको भएन टुङ्गो
      पीडित परे चेपुवामा
      सरकार बन्दा ढुङ्गो l
      ग)
      सुन्दैनन् मधुर बोली
      नाराबाजी गरे भने
      चलाइहाल्छन् यहाँ गोली l
    • बाबुराम गौतम, गुल्मी

      (१)
      देखिन्छ मानवताको पुजारी
      वर्तमानले अॅंगालेको अवस्था
      समयको परिबन्धले लतारी।
      (२)
      सुनमा सुगन्ध पाइन्न
      आफैँ होइन चम्किलो
      गहना नबनाई लाइन्न ।
      (३)
      झरिलो मन ओइलिन्न
      चिरहरित बनेर रम्दछ
      अस्वीकृत सिउँदो रङ्गिन्न ।
    • दिल ठकुरी (दार्जिलिङ )

      १,
      मानसम्मान या अपमान
      कुन रोज्यौ साथी ?
      फेरि किन बदनाम ?
      २,
      विकृत संस्कार अपनायौ
      अपनत्व पनि भुलेर
      संस्कृति पनि दफनायौ।
      ३,
      आदर्शको कुरो गर्छौ
      नैतिकता पर सारेर
      सम्मानको अहम्ता भर्छौ ।
    • पेम्वा यल्मो,दार्जिलिङ, भारत

      १.
      वेद कुरान पढे
      बुझेनन् सार कसैले
      राम रहिम लडे।
      २.
      कानुन किन मानून्
      सजाय हुँदैन बलात्कारीलाई
      अब जनताले जानून् ।
      ३.
      कोमल कली तोडेर
      नफेँक सडकको नालीमा
      बिन्ती हात जोडेर।
    • बिके मुखिया, दार्जिलिङ भारत।

      १.
      झिल्का कविताको भोक
      जागेको छ मनमा
      अझै लेख्ने झोक।

      सुन्दरताको महिमा गाउँछु
      स्वच्छ मन लिएर
      आफैँमा प्रसन्नता पाउँछु।
    • विनोद खाती, मिरिक, दार्जिलिङ।


      खेलाडी बन्यो मानव
      खेलाउॅंछ अदृश्य ईश्वरले
      आफ्नै बन्छन् दानव।

      हरायो विश्वास आज
      झस्किन्छ मन सबैको
      स्वार्थले हाल्यो गाज।

      नेपाल चिनाउने थिए
      प्रतिष्पर्धामा खेल खेली
      खेलाडीलाई महत्व दिए।
    • सुस्मिता अधिकारी, काठमाडौँ

      १.
      छैन मलाई गुनासो
      तिमिले पराई ठाने
      रोकिन्न मेरो हाँसो ।
      २.
      रातमा उज्यालो दिएर
      आधा शरीर ढाकिए
      दियालोझैँ दीप बनेर ।
      ३.
      दुख कष्ट सहेर
      बित्दैछ जीवन यो
      आफ्नै कहानी कहेर।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा

      १,
      मानसिकता साँघुरिएर फोहोरी
      प्रतिदिनको घटनाले विक्षिप्त
      सुरक्षित छैनन् छोरी।
      २,
      शब्द तिखारी हानून्
      मौन किन बन्ने ?
      सबैले नियम मानून् ।
      ३,
      अभिभावक बस्छन् रुँदै
      कहिलेसम्म ए ! सरकार
      निमोठिने कोपिला हुँदै ?
    • संगीता खरेल, चन्द्रागिरि -८, काठमाडौं

      १,
      छोरी चेलीको बलात्कार
      अस्तित्व जोगाउने कसरी
      हुँदैछ घटना बारबार।
      २,
      बिग्रॅंदो अवस्था देशको
      जागौँ उठौँ सुधार्न
      कारण खोजी यसको।
    • बाल कृष्ण श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिका – २, सोलुखुम्बु

      १,
      आँगनमा खेल्नै नपाई
      दुइखुट्टे बाघले मारे
      गुलियो ख्वाई, फकाई ।
      २,
      चुलोचौकामा व्यस्त आमा
      ताकेर बसे वनबिरालो
      उघार्न हतारिए जामा।
      ३,
      आँखामा आँसु सुक्दा
      न्याय पाएन न्यायालयमा
      झुक्नुसम्म यहाँ झुक्दा ।
    • राजेश्वरी राजोपाध्याय, ललितपुर

      १,
      राम्रो राखौँ भावना
      मनमा विश्वास लिए
      पूर्ण हुन्छ मनोकामना ।
      २,
      वसन्तमा पालुवा पात
      सुखमा प्रभु नसम्झे
      हुन् सक्दछ मात ।
      ३,
      विश्वासीले गर्ने घात
      दुःख दिन अँध्यारो
      हुन् सक्दछ रात ।
    • कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी

      १,
      राम्री अनि गोरी
      सुरक्षित नहुने भए
      नेपाल आमाकी छोरी।
      २,
      आँसुले आँखा धोइ
      सतीले सरापेकाे देश
      पीडितलाई न्याय खोइ?
    • कोपिला अधिकारी

      १,
      किन भए कंस ?
      द्वापरका कृष्ण ठान्नेहरू
      मच्चाए सधैँ विध्वंस ।
      २,
      भ्रष्टाचारीलाई देव मान्ने
      रटाइ सुशासन समृद्धिका
      स्वाभिमानलाई लात हान्ने ।
      ३,
      भयो लाजमर्दो दोहोरी
      कानुन बनाउने थलोमा
      खेल्छौ खेल फोहोरी ।
    • नेत्र घिमिरे, सूर्यविनायक, भक्तपुर

    :::::::जय झिल्का साहित्य ! ::::::::::

    Leave a Reply