
साप्ताहिक झिल्का लेखन अभ्यासको दसौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
चाँदनी हुन् उनी
सौन्दर्यको एक पर्याय
जीवनपर्यन्त सारथी गुनी ।
२,
लखरलखर डुल्छ जो
मिठोमसिनोको याद गर्छ
मुख मिठ्याउॅंछ चाँडचाँडो ।
३,
पाखुरी काममा लगाऔॅं
पसिनाले खेतबारी भिजे
वैदेशिक कामदारी मगाऔॅं ।
- म्यामराज राई, भोजपुर
…
१,
उनी दिलकी रानी
म नाथे सेवक
दिल यो राजधानी !
२,
हाँस्दा बल्छ ज्योति
सगुणले छिन् युक्त
बोल्दा झर्छन् मोती !
३,
भएँ म स्तब्ध
बयान कसरी गरूँ
छैनन् कुनै शब्द । - वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
…
१,
काश यथार्थ जिन्दगीको
बुझ्न नसकिएको विषय
व्यर्थ सम्झिए आजादीको।
२,
घृणाको आभास छुपाइ
छर्छन् मुस्कान ओठमा
संवेदनाको माया पोखाइ।
३,
रहरमा जिन्दगी जिउँछ
धोका खाएपछि कहरमा
भट्टीपसलमा पसेर पिउँछ। - दिल ठकुरी, दार्जिलिङ, टिस्टा भेल्ली
…
१,
माटोमा उम्रेको काँडा
फूल बनेर आऊ
त्यसरी नबन छाडा ।
२,
फुलमा भमरा नाचेको
दिनदिनै रस पिउॅंछ
र, ऊ बाँचेको ।
३,
आगो जलेर खरानी
सिक्नलाई तयार छु
झिल्कामा रह्यो परानी । - रवि पौडेल, दक्षिण भारत पाण्डेचरि
…
१,
आकाशे खेतीले साँचेका
गरिबी वेदना बुझिदेऊ
आधापेटमा छन् बाँचेका ।
२,
मान्छे मरेर गएछ
सातो खानुपर्छ नेताको
जितार बर्बाद भएछ ।
३,
पुरुषार्थ विश्व चिनाऊ
देशमा जितेर जानुपर्छ
आत्मबललाई किनेर देखाऊ । - अम्बिका अधिकारी, झापा, बिर्तामोड
…
१,
कडा नि:स्वार्थ भावना
आयो जगमा छायो
बनोस् सबैको कामना ।
२,
आकाशमा तारा टल्किए
देशलाई लुटेर खान
नौटङ्की जाली पल्किए ।
३,
जून तारा गुनेर
आकाश बिच मिल्दै
मार्दछन् मुख थुनेर । - बेदु न्यौपाने
…
१,
चाँदनी रातझैँ हुनु
लक्ष्य एकै बनाई
उडी चन्द्र छुनु।
२,
कुरा भयो गर्बिलो
औषधी नै बचाउने
तर छ खर्चिलो।
३,
चुर्लुम्म डुबियो प्रेममा
एक पक्षबाट मात्रै
हुँदा लाग्दछ कमा। - अर्जुन प्रसाद चौलागाई, रामेछाप, सुनापति – १, हालः-अमेरिका,बोस्टन
…
१,
भिरमा फुलेको फूल
बुझेर हरेक मनमा,
रसायो सिर्जना मूल !
२,
दिलमा फुल्यो रहर
बाटोमा शीतल चौतारी
सुन्दर गाउँ सहर !
३,
सम्झेर मेलापात जात्रा
बुझेमा सुन्दर फूल
भोगाइ हो जीवनयात्रा ! - आर्त अकुलीन
…
१,
लखरलखर नगर अब
कहर अभर नपरी
थपक्क बस सब ॥
२,
सहर गमन नगर
थपक्क बस घरमै
वरपर भर नपर ।
३,
असल नभन सहर
सरक्क भनन ‘बचरी’
मनमन छ रहर ? - गुणनिधि घिमिरे, अमेरिका
…
१,
धर्ती आकाश हाम्रो
मिलेर बसौँ सबै
व्यवहार गरौँ राम्रो।
२,
मानव समाज धोएर
सुन्दर बनाऔॅं यहाँ
हुँदैन कहिल्यै रोएर।
३,
होलीको पर्व आयो
घरघरमा छायो खुसियाली
रङले गीत गायो । - सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ
…
१,
को पापी, धर्मी
बाँचुन्जेल कसैलाई नरुवाऔॅं
गरौँ सबैले सत्कर्मी ।
२,
भाग्य सक्दैन मेटाउन
कर्म गर्नैपर्छ सबैले
सकिँदैन भगवान् भेटाउन ।
३,
अवश्य खरानी भइन्छ
घमण्ड नगरौँ कसैले
मरेर के लगिन्छ ? - चुडामणी देवकोटा, चनपा – १३, काठमाडौँ
…
१,
चाँदनी रात हुनु
सुन्दरताको प्रतीक बनेर
सबैको मन छुनु।
२,
देखाउनु गरेर काम
पर्दैन विदेश जानू,
कमाइन्छ स्वदेशमै दाम।
३,
लखरलखर गर्ने किन?
अर्काको भर परे
जीवनमा आउँदैन सुदिन । - राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर
…
१,
केही त गरौँ
पोखेर पसिना माटोमा
मिठो सुवास छरौँ।
२,
चाहिने मात्र किनौँ
खोट देखियो महाराजको
असल कसरी चिनौँ ?
३,
पर्व खेल्दा होली
उमङ्गको सीमा रहोस्
नउध्रिऊन् कतै चोली । - त्रिलोचन भण्डारी, मेचीनगर, झापा
…
१,
आएर जान्छ कहर
जिन्दगीमा प्रायजसो हामीले
एकदम हिँड्नुपर्छ बगर।
२,
प्रशंसा मात्र गर्नेको
हुँदैन कुनै विश्वास
बहानामा भर पर्नेको।
३,
दर्शन अनि व्यवहार
भिन्नाभिन्नै पाटो हो
ढोँगीको गरौँ बहिस्कार । - पृथक प्रकृति ,झापा
…
१,
छोरी अभिशाप नमान
गर्नु हुन्न भेदभाव
हुन् नरनारी समान।
२,
जलथल छ नभमा
पुगेका छन् नारी
पुरुषसँगै भेटिन्छन् सबमा।
३,
शक्ति स्वरूप सदाचारी
जगत् जननी जगदम्बिका
ममताको खानी नारी। - बिके मुखिया, दार्जिलिङ भारत
…
१,
तिमी मेरो खास
आऊ बस प्रिय
यो मनमा बास ।
२,
राखी तिमीलाई मुटुभित्र
माया गर्ने मलाई
तिमी असल मित्र ।
३,
जोडौँ दुइटा दिल
बनौँ हामी जीवनसाथी
पारौँ सारा झिलमिल । - नवशिला, नवदेव मार्ग ,बेलबारी, लालभित्ती, मोरङ
…
१,
सधैँ पालेर भ्रान्ति
वेदना छताछुल्ल भए
जुटेर गरौँ क्रान्ति !
२,
गोठालो अर्काको पाल्छौँ
चाकरी पराईको गर्दै
हामी इज्जत फाल्छौँ ।
३,
तहल्का मच्चायो सुनले
कुकर्मको फल पाक्दैछ
जेल पुर्यायो गुणले । - ऋजु दिल्पाली, इटहरी – १, सुनसरी
…
१,
बुझिन्छ बुहारी बनेर,
छोरी बुहारीमा भिन्नता
कति हुन्छ भनेर ?
२,
चलेको संसारी रीत
गीत गाउनै पर्ने
नठान मात्र हारजित !
३,
मान्छे कर्मको दास
बिनात्यागको यो जिन्दगी
कहाँ बन्छ खास ? - विवश पारदर्शी, झापा
…
१,
उमङ्गको वर्षा आयो
चौतर्फी पवित्र मित्रतामा
अनुपम माहोल छायो ।
२,
अन्यायी सत्ता उल्टन्छ
होलीको रङ घोलिई
बेहोसी पल्ला पल्टन्छ ।
३,
साथीको साथ पाएर
कता हरायो छोरो
होलीको मात लागेर । - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर, हाल- एनेलकुटी, सिरहा
…
१,
विभिन्न थरी माटोमा
होली खेल्छन् किसान
कृत्रिम रङको साटोमा ।
२,
सजियो रङहरूमा थाली
होलीको सौगात लिएर
आइपुग्यो यो पालि ।
३,
सौहार्दताको झन्डी टाँगन
रङहरूको उत्सव मनाउँदै
होलीको रौनकता आँगन । - मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा ।
…
१,
माध्यम रहेछ साहित्य,
सबैको प्रतिनिधित्व गर्ने
नगाऔॅं बेपत्ताको लालित्य !
२,
अनेक भाव आउॅंछन्
ध्यान साधनाले मनमा,
सकारात्मक प्रीत लाउॅंछन् ।
३,
के छ मरिलानु ?
एकछिन रामरस गरौँ
ए मेरा भानु ! - दीपा समभाव
…
१,
चुलो बाली खाना
पकाई पर्खी बस्यौ
घुर्काई फकाउने बहाना।
२,
अलिकति निहुरिएर पस्नु
धेरैको टाउको ठोक्कियो
मनको दैलोमा बस्नु।
३,
सक्छौ पस्न दिलमा
गाउँदा गीत प्रेमको
कति उठ्यो बिलमा। - टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान
…
१,
आउँछ जलेर मन
शत्रुको किन खाली
बटुली भ्रष्ट धन ।
२,
साँधिएन बापवैरी कहिल्यै
यिनैले किन यसरी
खेदिरहेका देख्छु जहिल्यै ।
३,
जीवन पाएको मात्र
सत्कर्मी बन्नु बरु
फगत लान्छन् सुपात्र । - रामप्रसाद पुरी, बादेल, खोटाङ
…
१,
कसले दियो धन ?
इज्जतको घर ठुलो
हुँदैन सबैको मन ।
२,
देश चलाउने सरकार
मान्छेलाई याद छैन
जनताको हुन्छ दरकार ।
३,
तिमीलाई सम्झेर बसेको
भिख भिखारीलाई देऊ
उनको दिल कसेको। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
…
१,
मझेरीको पर्दा भाग्दैमा
सपना पूरा हुन्छ ?
पाइलामै ठेस लाग्दैमा।
२,
चञ्चलताभरि छ लुकेको
साधु बन तिमी
मन छ दुखेको ।
३,
जुनिभरि तिम्रै हुनेछु
वाचाकसम मैले खाए
जिउने आधार पाएछु। - केन्टरमेश क्षेत्रीय, रोल्पा
…
१,
मुस्कुराए जून हेरेर
सुनसान रात पूर्णिमाको
निरुपम ताराले घेरेर।
२,
डढेलोले खाएको वन
फरक देखाउनु, लुकाउनु
जलेको नदेखिने मन।
३,
परीक्षामा अस्थिर तन
जिस्काउने किन शब्दले ?
अत्यास लाग्ने मन । - संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ
…
१,
होली लौ आयो
तराई ,पहाड, हिमाल
रङको उमङ्ग छायो । - शोभा आचार्य गौतम, काठमाडौँ
…
१,
न गोजीमा धन
न रोजगार होस्
कसरी बुझाउने मन ?
२,
सरकारले जनताको पीर
बुझिदिए किन जान्थे?
युवा जति खाडीतिर ।
३,
युवापुस्ताले देश छोड़ने
जितेपछि नेताले चुनाव
अर्कै मोड मोड्ने। - गोकर्ण दयाल ‘गौरव’, मेलौली – ७, बैतड़ी
…
१,
रङहरूको पर्व होली
हार्दिक शुभकामना सबैमा
खेलौँ दिल खोली ।
२,
आयो पर्व होली
आऊ, मिली खेलौँ
रङ्गियोस् मेरो चोली।
३,
जोगाऔॅं संस्कृति हाम्रो
बाहिरी संस्कृति हामीले
भित्रन नदिएकै राम्रो । - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
चरी बन्ने मन
खुल्ला आकाश चहार्दै
चिहाउन खुल्ला गगन ।
२,
बादल भई घुम्ने
कहाँ कहाँ पुग्दै
रहर आकाश चुम्ने ।
३,
मौका आउँछ पर्खॅंदैन
भन्छन् क्या साथी
बग्ने खोला फर्कॅंदैन । - मनुहाङ किराँती, सोलु महाकुलुङ – ५,चाचालुङ
…
१,
प्रदर्शन गर्दैछ सहरमा
सुन्दैन आवाज समाजले
धनी हुँदैन लहरमा ।
२,
धर्मको नाममा जोगी
महिलामाथि हुन्छ हिंसा
बहिस्कार गरौँ ढोँगी ।
३,
नेपाली मिलेर बसेको
देख्न नसक्ने भएर
विदेशी पैसामा बिकेको। - एवाइ प्रभात, सहिदभूमि धनकुटा
…
१,
आत्मसम्मान जरुर हुन्छ
मानिसको लागि ठुलो
चोटले मन रुन्छ ।
२,
दुनियाँ स्वार्थी भए
झुक्याएर दुखाएकै हुन्छन्,
ती दिनहरू गए ।
३,
अजम्बरी छैन चोला
सबैलाई हिसाब बराबरी,
हुन्न धार्नी तोला । - पुष्पा राई, खोटाङ
…
१,
तिमीबिनाको यो जीवन
पूरा हुनै सक्दैन
पिरोलिन्छ यो मन ।
२,
तिम्रो साथ पाउँदाखेरि
मेरो जीवनमा खुसीको
लहर आयो फेरि ।
३,
हाम्रो सम्बन्धमा नआओस्
कुनै किसिमको बाधाअड्चन
सधैँभरि हाँसीखुशी बितोस् । - कविताहरी, सुन्दर हरैंचा नगरपालिका – १ मोरङ
…
१,
रमाउँदै आएँ सहरमा
सजाउँदै जादा भविष्य
हराउँदै गएँ रहरमा ।
२,
खोज्दा भेटिनॅं सपना
निदाउॅंदा देखियो त्यो
उस्तै पीडा विपनामा ।
३,
फुट्यो ऐनाझैँ जिन्दगी
जोड्नु काच कसरी ?
सास बन्यो बन्धकी । - फूलमाया बार्सिमे, सोलुखुम्बु
…
१,
सिमसिम पानी पर्दैछ
चिसो चिसो मौसम
बादल बसाइँ सर्दैछ ।
२,
कालो कालो कपाल
हेर्दै लोभ लाग्ने
‘सानू’ जोबन समाल । - बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
…
१,
नगर्नु नराम्रो काम
अहङ्कारी बनी सधैँ
पाउनलाई धेरै दाम।
२,
एउटै हुँदैन मन
पराईको मन नबुझ्ने
छुट्टै हुन्छ तन।
३,
ठिक लाग्ने गर
अरूको सिको नगरी
आफ्नै भर पर। - धनुष न्यौपाने, गुठिचौर गाउँपालिका – ०४, बिगारे जुम्ला
…
१,
रङको लाली लगाई
सजिने छु म ,
मनमा उमङ्ग जगाई ।
२,
मानवको रगत रातो
निडर भएर लड्छौँ,
वैरीको जान्छ सातो ।
३,
धर्तीको रक्षा गर्दा
हाँसेरै ज्यान दिन्छु
वैरीको जालमा पर्दा । - सीमा कार्की समर्पण, मेलचोक पर्सा
…
१,
रङ्गैरङ्गको हाम्रो होली ,
खेल्न थाले यत्रतत्र ,
खुसियाली थापी झोली ।
२,
सन्तापलाई राख्दै पाखा,
कोइलीले गाउँछ गीत,
सुन्नलाई मिठो भाका । - मनोहरी पौडेल
…
१,
धोइपखाली पापलाई नछोप
सत्यता हुनुपर्छ सोचविचारमा
लोकाचारमा अस्मिता नपोख।
२,
संसारिक भवसागर तर्नैपर्छ
हिसाब चित्रगुप्तले लिन्छन्
बाँचुन्जेल सत्कर्म गर्नैपर्छ।
३,
मनभित्र उदारता हुनुपर्छ
संसारका विचित्र चलनहरू
आत्माले मनहरू छुनुपर्छ। - घनश्याम पन्त, हरिवन, सर्लाही
…
१,
हेरेर सुन्दर धुप
देखिन्न भित्र हुने
कर्तुत र स्वरूप । - ताराप्रसाद चापागाईँ, धुनिबेसी
…
१,
हाम्रो मायाको कोसेली
छोराछोरीको आगमनले भयो
अॅंधेरी रात उजेली ।
२,
हाम्रो हौ छवि
यसरी चम्काउनु नाम
जसरी आकाशमा रवि ।
३,
जीवनमा छायो रङ्ग
बाबा, आमा भनी
बोलाउँदा हामी दङ्ग । - रुना कर्माचार्य दाहाल, चितवन
…
१,
अर्काको भर पर्नेको
पूरा हुँदैन सपना
काममा पछाडि सर्नेको ।
२,
झापामा पानी परेको
आकाश त्यो खुलेपछि
बारीमा मकै छरेको ।
३,
रङ्गको पर्व मनाऔॅं
चारैतिर छायो उत्साहले
टीका मात्र लगाऔॅं । - कला ढकाल, झापा
…
१,
बग्दैछ चुनाउको हावा
गरम अनि नरम
पार्टीको आफ्नै दावा ।
२,
आकाशको तारा ल्याएर
उल्लु बनाउँछ जनतालाई
आश्वासनको गीत गाएर ।
३,
दलेर मुखमा घिउ
बहुरूपी जोगी आउँदैछ
सबैले संज्ञान लिउ । - राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ
…
१,
देशको अँध्यारो पाटो
युग रोएको भूमिमा
आइपुगेन गाउँसम्म बाटो।
२,
युवाहरू यसरी जागे
हुल बाँधेर कठै!
परदेशको बाटो लागे ।
३,
जीवनको दीप हेर
बल्दैछ उज्यालो खोज्दै
निभेर जानेछ कतिखेर। - बि.कुलुङ, दार्जिलिङ रंगबुल
…
१,
देशको हालत देखी
मरौँ जस्तो लाग्छ
एउटा सन्देश लेखी।
२,
देशको मुहार फेर्न
एकपटक सबै जाऔॅं
अब सिंहदरबार घेर्न ।
३,
जनतालाई दुःख भार
मेरो देशका नेताहरू
गर्न छोड्दैनन् भ्रष्टाचार। - ललिता सिन्धुली, हाल काठमाडौँ
…
१,
काम गर्यौ अधुरो
अपजस मात्रै पाउने
मेरो अभागी पुर्पुरो।
२,
बुझिएन भावीको लेखान्त
भएर मन बैरागी
सधैँ खोज्छ एकान्त ।
३,
भाग्यको खेल कस्तो ?
बेकार भयो जीवन
मानौँ, डुल्ने कुकुरजस्तो । - लक्ष्मण देउवा डोटी, हाल भारत
…
१,
आयो वार्षिक होली
मिली हामी आपसमा
खेलौँ रङहरू घोली ।
२,
मदिरा सेवन नगरौँ
गरौँ मिष्ठान्न सेवन
होलीमा रौनकता भरौँ ।
३,
फुल्यो गुराँस धपक्कै
रातो रङमा सजियो
वसन्तमा होली सपक्कै । - हरिगोपाल प्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार
…
१,
गरेर मनले सामना
खुसी चौतर्फी छायो
पुगोस् सबैको कामना ।
२,
मनको भित्र बास
डुल्न आऊ सधैँ
तिमी नै खास !
३,
जन्मिए हजार भ्रष्ट
देश लुटेर खाएका
देखियो झन् प्रष्ट । - सहयात्री शोभा अर्याल, रुपन्देही
…
१,
याद मुटुमा बस्छ
जति बिर्सूँ, भन्छु
झन् उति डस्छ l
२,
हानेर घातको वाण
अझ भन्छौ निष्ठुरी
खै, खतको प्रमाण?
३,
रहन्न हरदम खुसी
सम्झिने छौ अतीत
आँसुले मार्दा बुर्कुसी l - बाबुराम गौतम, गुल्मी
…
१,
स्वार्थी मानिससँगको नाता
आइपर्दा काम नलाग्ने
रहेछ चुहिने छाता ।
२,
समयसँग जुध्न सक्नुपर्छ
हुँदैन आफन्त पनि
आफ्नो अचेल बुझ्नुपर्छ ।
३,
आफूमा राख्नु विश्वास
देखावटी छन् दुनिया
नगर्नु कसैबाट आस । - सरला माझी
…
१,
गोजीभित्र हुन दाम
दैनिकी चलाउन हामीले
गरौँ दैनिक काम ।
२,
होली खेल्ने चाहना
मनमा उमङ्ग भएपछि
होलीको हार्दिक शुभकामना ।
३,
सबैसँग बनेर मित्र
सम्झेर आएको पाहुनालाई
बोलाउनू, सधैँ घरभित्र । - श्रीकृष्ण धामी, बझाङ
…
१,
अनौठो मेरो जन्म
बाले भने मुल्याहा
नि:शुल्क हरेक कर्म ।
२,
जान्छु म त्यहाँ
भोक निद्रा प्यास
मेटाउन पाउँछु जहाँ ।
३,
तिमी चाँदनी बन
सितारा म बन्छु
बजाऔॅं सङ्गीत धुन । - योगप्रसाद उपाध्यय चापागाईं, गोठाटार, काठमाडौँ
…
१,
मिठो वचन बोली
खेलौँ साथी मिलेर
रङको पर्व होली ।
२,
खुसीको पर्व आयो
बाल्टिनमा रङ भरी
खुसीले भाइ रमायो ।
३,
विजयको उत्सव होली
खेलौँ सद्भावका साथ
आफ्नो हृदय खोली । - शशीश्री आचार्य
…
१,
छुटिन्छ पाप, धर्म
नरुवाऔॅं बाँचुन्जेल कसैलाई
सबैले गरौँ सुकर्म ।
२,
साहित्य बगैँचामा रमाऔॅंला
शब्द रचना मिलाउॅंदै
अमर भई जमाऔॅंला । - दुर्गा भट्टराई, मोरङ
…
१,
अॅंध्यारो छ रात
छैन बात केही
छुट्यो सबैको साथ ।
२,
घाम बनी आउनू
छाउनु किरण बनी
मलाइ माया लाउनू ।
३,
नेता जति गिरेका
पिर्नु पिर्छन् जनता
बगलीमा छुरा भिरेका । - उपेन्द्र भट्टराई, बानेश्वर, काठमाडौँ
…
१,
रुने कला पनि
सिक्ने मौका पाएँ
सुखको दिन गनी
२,
पीडा लुकाई हाँसे
मुस्कान त्यतिको खुलेन
बाँकी जीवन साँचे।
३,
जिन्दगी छ छोटो
नदुखाऔॅं चित्त कसैलाई
नबनोस् जिन्दगी खोटो। - राजेश्वरी राजोपाध्याय, ललितपुर
…
१,
बाँकी खेर गयो
तिम्रै यादको ढाकर
बोक्न कठिन भयो ।
२,
म बस्छु ढुकेर
हेर्न उन्नति प्रगति
तिम्रै दिलमा लुकेर ।
३,
शत्रु, वैरी ढलोस्
गोडमेल गर्नु मनले
हरदिन खुसी फलोस् । - निलहरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ)
…
१,
प्रभातीय नमन भनियो
सबेरै निद्रा खुल्नेबित्तिकै
ओछ्यानबाट स्नानघर सरियो ।
२,
भगवान्मा ध्यान जाओस्
हरेक बिहान उठ्नेबित्तिकै
प्रभुको नाम गाओस् ।
३,
संसारको अकाट्य कथ्य
हामी सबैले बुझ्नुपर्ने
मृत्यु मानवको तथ्य । - राजेशराज गड्तौला, काँडाघारी, काठमाडौँ
::::::::जय झिल्का साहित्य ! ::::::::

