साताका उत्कृष्ट झिल्का शृङ्खला- ०६

  • १९ फाल्गुन २०८०, शनिबार १८:३७ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको छैठौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ६ का लागि झिल्काकार त्रय अनिता भण्डारी, शम्भु गजुरेल र रुना कर्माचार्य दाहालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    [१]
    १.
    भित्र्याए हेर विदेशीनीति
    लोप हुँदै गयो
    हाम्रो संस्कार थिति !
    २.
    गर्छन् कुर्सीको खेल
    शान्ति भएन देशमा
    राजनीतिमा भयो झेल !
    ३.
    जनतामा अशान्ति छायो
    हाम्रोमा यस्तै हुने
    कस्तो लोकतन्त्र आयो ।
    ✍️
    अनिता भण्डारी
    ताप्लेजुङ
    ~~<•>~~

    [२]
    १.
    भेदभाव आफूले गर्दा
    बदनामी भयाे धर्मकाे
    हटाओैँ छुतकाे पर्दा ।
    २.
    भन्दछ धर्म हाम्राे
    प्राणी सबै बराबर
    कर्म हुनुपर्छ राम्रो ।
    ३.
    छुवाछूत गर्न छाड
    धर्म छ निर्दाेषी
    नगर है खेलवाड ।
    ✍️
    शम्भु गजुरेल
    ~~<•>~~

    [३]
    १.
    आकाशमा ताराहरूको ताँती
    कति सुन्दर देखिने
    जब हुन्छ राति ।
    २.
    सक्दिनँ आकाश छुन
    धर्तीमा बसेर हेर्छु
    टहटह लागेको जून ।
    ३.
    टोलाउँछु हेरी आकाश
    जब आफैँमा हराई
    झस्काउँछ चिसो बतास ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    ~~<•>~~

    Leave a Reply