झिल्का लेखन अभियानको चौथो शृङ्खला (नारी दिवस विशेष) सम्पन्न

  • २६ फाल्गुन २०८०, शनिबार १६:३७ मा प्रकाशित
  • झिल्का लेखन अभियानको चौथो शृङ्खला (नारी दिवस विशेष) फागुन २५ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सहभागी सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    ~~~~

    [१]
    नारीमाथि हुने अत्याचार
    मिलेर बन्द गरौँ
    हत्या, हिंसा, बलात्कार !
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    नारीमाथिको यो दुर्व्यवहार
    मिलेर हामी सबै
    हटाऔँ हिंसा बलात्कार !
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    [३]
    मनाउछौँ नारी दिवस
    घट्छन् फेरि घटना
    हुन्छौँ सहन विवश ।
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    [४]
    अस्तित्वहीन होइनन् नारी
    छानबिन होस् सरकार
    उम्कन नपाओस् बलात्कारी ।
    ✍️ पृथक प्रकृति, झापा
    [५]
    छोरीलाई भ्रूणमै तुहाउने
    लैङ्गिक विभेदको पराकाष्ठा
    होइन मानवलाई सुहाउने ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [६]
    नारीको सम्मान गरौँ
    समस्या पर गरेर
    अत्याचारको विरोधमा जुटौँ ।
    ✍️ मनोज गजमेर
    सहिदभुमि गाउँपलिका ४ धनकुटा
    [७]
    हिंसा अन्याय अत्याचार
    सहेर बस्न सकिँदैन
    न्याय मागौँ बारम्बार ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [८]
    नारी घातक हुँदैनन्
    अत्याचार हुन्छ कसरी
    समस्या नपरी रुँदैनन्
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [९]
    सृष्टि सुरक्षाको सूत्र
    गर्भपतन गरिदिनुस् आमा
    जन्माउनुभन्दा बलात्कारी कुपुत्र ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [१०]
    नारी हुन् जन्मदाता
    इच्छा बुझौँ उनको
    प्यारी हाम्री माता !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [११]
    कतिसम्म सहने अत्याचार
    गर्नुपर्छ शासनमा कडाइ
    झनै बढ्यो बलात्कार ।
    ✍️ शंकर कार्की
    थाहा ३ मकवानपुर
    [१२]
    एक भई जुटौँ
    अन्त्य गर्न ज्यादती
    नारी अब उठौँ ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [१३]
    नारी लक्ष्मी पुज्नुपर्छ
    गल्तीमा मौन नभई
    सरकारले सत्य बुझ्नुपर्छ ।
    ✍️ मुक्ति काफ्ले।
    असम, भारत
    [१४]
    छोराछोरी हुन् बराबरी
    नगरौँ छोरीलाई पाखा
    सुरक्षा गरौँ हरघडी ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [१५]
    नारी हुन् माता
    जोगाउँछन् हामीलाई दु:खबाट
    ओढाई ममताको छाता ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [१६]
    परिवारको सुन्दर तारा
    नगर हेलाँ नारीलाई
    हुन् भरिलो सहारा ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [१७]
    नारी ममताकी खानी
    गर्भदेखिनै गरौँ संरक्षण
    बनाई हृदयकी रानी ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [१८]
    नारीको इज्जत गरौँ
    दमनको घर भत्काउँदै
    ममताले दया भरौँ ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [१९]
    अधिकार सिमित नारामा
    नारी सुरक्षित छैनन्
    त्रास छ सारामा !
    ✍️ दीपा समभाव
    काठमाडौँ
    [२०]
    महिला सम्बन्धी नारा
    बाटोमा पार्टीले घन्काउने
    बलात्कृत बालिका सारा ।
    ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    [२१]
    नाबालिकामाथिको यो अत्याचार
    सहन सकिँदैन कदापि
    न्यायमा जुटाैँ बारम्बार !
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [२२]
    गुन्यु चोली सारी
    मात्र भित्र छैनन्
    आजको युगका नारी ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ,हाल काठमाडौँ
    [२३]
    जगत् जननी नारी
    नछोड बलात्कारी दुष्ट
    बन्नुपर्दछ हेर भारी ।
    ✍️ भिम लिम्बू प्रयास
    दार्जिलिङ
    [२४]
    हुँदैन पत्थर पुजेर
    पूजन गर्नु आमाको
    कुभलो रहन्न बुझेर !
    ✍️ नील हरि काफ्ले
    सिन्धुली
    [२५]
    समस्या हुँदैन भारी
    सुध्रिएमा बलात्कारी सोच
    सुरक्षित रहन्छन् नारी l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [२६]
    किन मान्दैनौ समान ?
    महत्व तिनैको बढी
    बुझेर पनि हानाहान ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [२७]
    नगरे नारीलाई हेला
    कार्यमा देखिँदैन कमी
    पछि परौला फेला ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    [२८]
    अति भयो अत्याचार
    अब निर्मूल पारौँ
    हत्या, हिंसा, बलात्कार ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    [२९]
    गरेर सम्मान नारीकाे
    शाश्वत जिन्दगी क्षणभर
    यात्रामा सहज सारीकाे ।
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे
    [३०]
    सशक्त पाइला नारीले
    पर्नेछ सारेर देखाउनु
    नथिचोस् पीरको भारीले ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [३१]
    ओजन मलाई दिनू
    आफू जत्तिँकै ठानेर
    अपराध जिम्मा लिनू ।
    ✍️ नन्दलाल आचार्य
    एनेलकुटी, सिरहा ।
    [३२]
    माली हुन् फूलबारीको
    उनै धरा जननी
    गरौँ सम्मान नारीको ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [३३]
    सुरक्षा छैन देशमा
    गर्दा पढ्ने लेख्ने
    कलिला छाेरीकाे केशमा ।
    ✍️ सावित्रा नेपाली सबु
    [३४]
    नारीको कमलो मनमा
    बारम्बार नगर अत्याचार
    कहिले नतौलनु धनमा ।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    [३५]
    नारीले सहन्न अत्याचार
    अब जुट्न थाले
    दमन नगर बारम्बार ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [३६]
    अत्याचार छ नारीमाथि
    यसपालि नारी दिवसबाट
    अन्त्य गरौँ साथी !
    ✍️ प्रकृति देवकोटा
    चितवन,टाँडी
    [३७]
    आऊ मिलेर मनाऔँ
    हर्सोल्लासमा नारी दिवस
    नारी उच्च बनाऔँ ।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    [३८]
    कुरा मनै छुने
    नसोच्नु है अब
    जे गर्दा हुने ।
    ✍️ उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ
    [३९]
    खुलेर मनाएपछि दिवस
    पार्नुहुँदैन भुलेर नि
    कुनै नारीलाई विवश ?
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर
    [४०]
    नारी संरक्षक घरको
    गृहलक्ष्मीको भूमिका निवारण
    गर्नुपर्छ सबै जनको !
    ✍️ भगवती दवाडी, झापा
    [४१]
    नारी विशेषत: मारिन्छ
    गर्भमा, जवानीमा, दाइजोमा
    कानुनहरू निष्क्रिय पारिन्छ ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३काठमाडौँ
    [४२]
    नारी समाजको बाटो
    संवेदनशील बन्नैपर्छ हेर
    सुधार्नु जीवनको पाटो ।
    ✍️ पुष्पा राई, खोटाङ।
    [४३]
    धरती हुन् नारी
    गरौँ मान सम्मान
    ठानेर ठुलो जिम्मेवारी ।
    ✍️ बाल कृष्ण श्रेष्ठ
    सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु
    [४४]
    उच्च तहको ज्ञान
    जसले दिन्छिन् हामीलाई
    गरौँ तिनको सम्मान ।
    ✍️ गुणनिधि घिमिरे, अमेरिका
    [४५]
    नारीकाे हक अधिकार
    कुण्ठित नगराैँ कसैले
    हँसाऔँ मातृ अनुहार ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक बनेपा १४ साँगा।
    [४६]
    नारी अस्मिताको कुरा
    रक्षक बन्छ भक्षक
    चलाउँछ भित्रभित्रै छुरा ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    [४७]
    फाँसी लगाऔँ बलात्कारीलाई
    महिला हिंसा हटाउन
    सम्मान गरौँ सदाचारीलाई ।
    ✍️ मन्जु बोहरा
    सुदुरपश्चिम बझाङ
    [४८]
    धर्तीमा नारी महान
    सम्मान सबैले गरौँ
    चलाउँछिन् उनैले जहान ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [४९]
    मनाउँछन् नारी दिवस
    गाउँ समाजमा होलान्
    कति मर्न विवश ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [५०]
    अजस्र ममताकी छहारी
    बुझे महिमा अपार
    देवीत्वको प्रतिरूप नारी !
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक,भक्तपुर ।
    [५१]
    सत्यम् शिवम् सुन्दरम्
    शिवकाे तीन रूप
    शुद्ध मनले जलार्पणम् ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [५२]
    चेतना बढ्दै गएमा
    घरमा शान्ति मिल्दछ
    नारीको सम्मान भएमा ।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [५३]
    कस्तो छोरीको भाग
    कोपिला लुट्छ भमराले
    फूललाई बनाउँछ दाग !
    ✍️ सीमा कार्की समर्पण
    [५४]
    शक्तिको रूप नारी
    हकको निम्ति बढ
    नराख पीर भारी ।
    ✍️ समुन्द्रा शर्मा
    सुनसरी
    [५५]
    नारीकाे महिमा अपार
    उनी हुन् सृष्टिकर्ता
    जन्मिनदेऊ है नमार ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    [५६]
    नारी आँखाकी नानी
    चिन्नसक्यौ भने तिमीले
    उनी मायाकी खानी ।
    ✍️ विमल खतिवडा माइला
    सिलगढी भारत
    [५७]
    शोषण दमन बलात्कार
    छिट्टै अन्त्य होओस्
    नारीमाथिको ती अत्याचार ।
    ✍️ ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी
    [५८]
    नारी ममताकी कोष
    पवित्र छिन् प्रकृतिझैँ
    नलगाऊ कतै दोष ।
    ✍️ बेदु न्यौपाने
    [५९]
    अर्धनारीश्वर हे कैलाशपति
    बचाऊ नारीको अस्तित्व
    अत्याचार भयो अति !
    ✍️ विवश पारदर्शी
    झापा
    [६०]
    तिम्रो तृप्ति निमित्त
    घोटिँदै ढल्छ जिन्दगी
    निखार बेलैमा सिनित्त ।
    ✍️ कमला पौडेल
    [६१]
    फूलबारी हुन् नारी
    फुलिरहने सुगन्धित फूल
    सौन्दर्यले भरिएको चौतारी ।
    ✍️ म्यामराज राई, भोजपुर
    [६२]
    नारीको रूप अपार
    कठिन कार्य पनि
    सजिलै लाउँछिन् पार !
    ✍️ शशी आचार्य
    [६३]
    नारी सृष्टि संसार
    हाँसी खुसी बाँच्ने
    जीवनको सौम्य आधार !
    ✍️ आर्त अकुलीन
    <•> जय झिल्का ! जय साहित्य ! <•>

    Leave a Reply