
साताका उत्कृष्ट झिल्का कविताको पाँचौ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ५ का लागि झिल्काकार त्रय आर्त अकुलीन, बाबुराम गौतम र संगीता खरेलका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

साताका उत्कृष्ट झिल्काहरू
१]
१)
सबैले गरेर काम
देश विकास गरेमा
अमर हुन्छ नाम !
२)
सम्झेर उकालो भिर
आमाको दु:ख धेरै
देखेर लाग्छ पिर !
३)
हिमाल पहाड तराई
नेपाली एउटै परिवार
कोही छैन पराई !
✍️ आर्त अकुलीन
झिल्का कविता~~<•>~~
[२]
१)
विश्वमै थियो विशेष
लुछ्दालुछ्दै दुष्ट जनले
पार्ने भए अतिशेष !
२)
रोपेर तिखो खन्जर
चुस्दैछन् आमाको छाती
बनाउने भए बन्जर !
३)
खोसियो मातृको ममता
मिल्दैन पक्कै दुष्टलाई
मातृस्नेह अनि समता !
✍️ बाबुराम गौतम, गुल्मी~~<•>~~
[३]
१)
प्रजातन्त्र आयो सुनेको
सत्य होकि हल्ला
निर्दोष जेलमा थुनेको ?
२.
खेलेर रगतको होली
उपलब्धि भयो के
छातिमा ठोकेर गोली ?
३.
घर अनि भित्तो
सुन्यतामा मौन देख्छु
आमाको काख रित्तो !
✍️ संगिता खरेल~~<•>~~