झिल्का लेखन अभियान- २ (मौलिक संस्कृति विशेष) सम्पन्न

  • १३ फाल्गुन २०८०, आईतवार २०:३५ मा प्रकाशित
  • झिल्का लेखन अभियानको दोस्रो शृङ्खला (मौलिक संस्कृति विशेष) गत फागुन १२ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सहभागी सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    यस अभियानको दोस्रो शृङ्खलाको सहजीकरण प्रशिक्षकद्वय वसन्त अनुभव र राजेशराज गड्तौलाले गर्नुभएको थियो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-

    [१]
    फैलाई सर्वत्र जागृति
    जगेर्ना गरौँ देशको
    मौलिक धर्म संस्कृति !
    ✍️ वसन्त अनुभव
    [२]
    नेपाल नेपालीको पहिचान
    सिकार नहोस् अतिक्रमणको
    मिलिजुली गाऔँ गुणगान !
    ✍️ पृथक प्रकृति ,झापा
    [३]
    संस्कृति हाम्रो पहिचान
    जगेर्ना गरौँ सबैले
    देशको यो सान !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [४]
    दौरासुरुवाल, ढाका टोपी
    फरिया चोली भेषभूषा
    गौरव मान्छन् नेपाली !
    ✍️ म्यामराज राई, भोजपुर
    [५]
    परम्परा हरेक घरको
    बिर्सनु हुँदैन हामीले
    समाज हाम्रो वरपरको !
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    [६]
    आफ्नै भर पर्नू
    हुन्न अरूको भरोसा
    बुझेर अगाडि सर्नू !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [७]
    सोचौँ हामी सबैले
    आफ्नो भाषा संस्कृति
    अपनाऔँ अझ क्रमैले !
    ✍️ तुलसी पण्डित
    [८]
    सबैले दिनुपर्ने ध्यान
    धर्म संस्कृति बचाउनु
    हामी नेपालीको पहिचान ।
    ✍️ शंकर कार्की, मकवानपुर
    [९]
    नेपाली हाम्रा अभिमान
    झुकेको शिरमा उठाई
    खुकुरी भिरे स्वभिमान !
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [१०]
    हाँसौ आँसु सुकाएर
    यस्तै छ जिन्दगी
    बाँचौँ दुःख लुकाएर !
    ✍️ भिम लिम्बू प्रयास
    रिमबीक दार्जिलिङ
    [११]
    सद्धभाव सबै धर्ममा
    जोगाऔँ मौलिक संस्कृति
    विश्वास गरौ कर्ममा !
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    [१२]
    मौलिक हाम्रा संस्कृति
    अमूल्य निधि सम्झेर
    बदलौंँ गलत प्रवृति !
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१३]
    धर्म, संस्कृतिको मान
    सबैले थाहा पाऔँ
    नेपालीको यो पहिचान !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [१४]
    देश डुबेको देख्दैनन्
    मौलिकताको अर्थ के ?
    संविधानमा लेख्दै लेख्दैनन् !
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [१५]
    बन नेता असल
    नबेच कुनै नदीनाला
    देश होइन पसल !
    ✍️ विके माकजू , भक्तपुर
    [१६]
    नेपाली कदापि चुक्दैन
    आइपरोस् जस्तै समस्या
    नेपाल कहिल्यै झुक्दैन ।
    ✍️ जमुना लामिछाने
    पोखरा
    [१७]
    हरियो हाम्रो जङ्गल
    संरक्षण गर्दै लगेमा
    हुन्छ सबैको मङ्गल !
    ✍️ सरिता सेढाई धादिङ
    [१८]
    संस्कृति हाम्रो सान
    जोगाऔँ सबै मिली
    गुम्न नदिन स्वाभिमान !
    ✍️ दीपा तिम्सना ईलाम
    [१९]
    गर्नुपर्छ असल कर्म
    अन्धविश्वास छिर्‍यो भने
    रहँदैन संस्कृति धर्म ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [२०]
    रहेर आफ्नो धर्ममा
    जोगाऔँ मौलिक संस्कृति
    मन लगाई सत्कर्ममा !
    ✍️ पुष्पा सुवेदी
    नेपालगंन्ज,बॅाके।
    [२१]
    थोरै कमाएर रमाऊँ
    आफ्नो भाषा संस्कृति
    कहिले नबिर्सेर जोगाऊँ !
    ✍️ कला ढकाल झापा
    [२२]
    धर्म मान्ने गर
    सत्कर्मलाई अङ्गालेर सधैँ
    नपर कसैको भर !
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४
    बिगारे जुम्ला
    [२३]
    भाषा भेषभुषा सुन्दर
    लाग्यो नजर दुष्टको
    लोभले गुमायो डगर !
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [२४]
    देशको माटोमा रमाऔँ
    बाँचौँ देशको निम्ति
    एकताको संदेश फैलाऔँ !
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [२५]
    जोगाऔँ देशको सान
    मौलिक धर्म संस्कृति
    हुन् हाम्रा पहिचान !
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [२६]
    माैलाउँदै विदेशी संस्कृति
    विराेध गरौँ यसको
    जनतामा ल्याऔँ जागृति !
    ✍️ रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि
    [२७]
    फैलाई सर्वत्र जागृति
    जोगाऔँ सबै मिलेर
    भाषा धर्म संस्कृति !
    ✍️ बाल कृष्ण श्रेष्ठ
    सोलुदुधकुण्ड नगरपालिका २, सोलुखुम्बु
    [२८]
    पुर्खाहरूबाट हामीले सिक्नुपर्छ
    मौलिक धर्म संस्कृति
    सतिसाल भएर टिक्नुपर्छ ।
    ✍️ वि.वि.याक्खा
    पाँचखपन नगरपालिका -६
    संखुवासभा।
    [२९]
    परायाको रितीरिवाज हुलेर
    बन्दैन परिचय देशको
    साहित्य संस्कृतिलाई भुलेर !
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [३०]
    आफ्नै प्यारो लाग्छ
    माैलिक धर्म संस्कृतिमा
    गहिरो ममता जाग्छ ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [३१]
    ल्याउँछ सुन्दर बिहान
    दीनदुखीको सेवा गर्ने
    हाम्रो धर्मको पहिचान !
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [३२]
    धर्म आफ्नो जोगाऔँ
    पहिरिई नेपाली भेषभुषा
    संस्कृति आफ्नो मनाऔँ ।
    ✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल।
    [३३]
    संस्कृति हाम्रो पहिचान
    मौलिकता जाेगाउन सके
    नेपालीको हुन्छ सान ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [३४]
    हामीलाई अनुशासीत बनाउँछ
    हाम्रै मौलिक रितिरिवाजले
    सन्सारमा माथि उठाउँछ ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    [३५]
    जाँदैन साथमा धन
    मनुष्य सर्वोत्तम योनी
    राखौँ आस्थामा मन !
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [३६]
    संस्कार संस्कृति पहिचान
    पुर्खाले दिएका नासाे
    अमुल्य निधि जान ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [३७]
    मुटुकाे आलाे घाउ
    तिम्रै ताजा निसानी
    भइगाे अब नचलाऊ ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक बनेपा१४ साँगा।
    [३८]
    भित्र्याए विदेशी नीति
    लोप हुँदै गयो
    हाम्रो संस्कार रीति !
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [३९]
    देशको हाम्रो सान
    जोगाउनु छ सबैले
    संस्कार संस्कृति पहिचान !
    ✍️ बेदु न्यौपाने ✍️🇳🇵
    [४०]
    अन्तको संस्कृति देखेर
    नगरौँ अरूको सिको
    नहिँंडनु ट्याटु खोपेर !
    ✍️ दुर्गा आचार्य
    मोरङ
    [४१]
    जाेगाउनु सस्कार संस्कृति
    हामी मिलेर हटाउनुपर्छ
    फैलाई समाजमा जागृति !
    ✍️ श्री कृष्ण धामी -बझाङ
    [४२]
    सनातन मौलिक धर्म
    जोगाउन जागरूक रहौँ
    आफ्नो संस्कृति कर्म !
    ✍️ मोती सुब्बा
    दार्जिलिङ
    [४३]
    देश रहे बाँचिन्छ
    धर्म संस्कृति मनोमानी
    जुरुक्क उठौँ साँचिन्छ ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ
    [४४]
    मौलिक संस्कृति हाम्रो
    दशै , तिहार , सङ्क्रान्ती
    हिन्दु संस्कार राम्रो ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [४५]
    फैलाई सर्वत्र जागृति
    जिउँदो राखौँ पहिचान
    नबोकी विदेशी विकृति !
    ✍️ ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    [४६]
    विश्वमा नेपालीको सान
    माैलिक धर्म संस्कृतिले
    जनाउँछ असल पहिचान ।
    ✍️ काेपिला अधिकारी
    गाेरखा
    [४७]
    देवत्व महिमा अपार
    बोलीसँगै सधैँ मानिसमा
    चाहिने ठुलो संस्कार !
    ✍️ आर्त अकुलीन
    [४८]
    संस्कृति भाषा धर्म
    पहिचान हो हाम्रो
    यसैले बोक्छ मर्म !
    ✍️ दीपा समभाव
    काठमाडौँ
    [४९]
    धर्मलाई जाेगाउनु राम्रो
    आफ्नो प्यारो लाग्छ
    बढ्छ मान हाम्रो ।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [५०]
    जोगाऔँ आफ्नो संस्कृति
    नभित्र्याऔँ विकृति यहाँ
    अपलाई खराब प्रवृति ।
    ✍️ मन्जु बोहरा
    सुदुरपश्चिम बझाङ
    [५१]
    आफ्नोपनमा गर्व गरौँ
    जोगाइ मौलिकता सबैले
    एकताको सन्देश छरौँ ।
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी , मोरङ
    [५२]
    जोगाउँदै गराैँ संस्कृति
    हामीले सम्झदै गराैँ
    हाम्रो परम्पराको स्मृति !
    ✍️ केसर बाेहरा ” सङ्घर्ष “
    सुदूरपश्चिम ” अछाम “
    हाल ” भारतबाट ।
    [५३]
    सुधारौँ हाम्रा मनोवृति
    सभ्यताको पाठ सिकौँ
    उन्नत बनाऔँ संस्कृति !
    ✍️ देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    [५४]
    पुऱ्याऔँ सबैले ध्यान
    धर्म, संस्कृति जोगाए
    बन्छ देशको पहिचान !
    ✍️ सीमा कार्की समर्पण
    [५५]
    पुर्खाले सुम्पिएको नासो
    संरक्षण गर्नु सन्तानहरू
    नसकुन् बनाउन हाँसो ।
    ✍️ संगीता खरेल
    काठमाडौँ
    [५६]
    जाेगाउनु छ संस्कृति
    र सम्पदा स्वदेशकाे
    नहाेस है विस्मृति ।
    ✍️ शम्भुप्रसाद गजुरेल
    सिन्धुलीमाडी
    [५७]
    संस्कृति हाम्रो पहिचान
    भेषभुषा मेलापर्व जात्रा
    राखौं यसको मान !
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    [५८]
    फालेर खराब प्रवृति
    नेपाली सबै मिलेर
    बचाऔँ धर्म संस्कृति ।
    ✍️ ध्रुव श्रेष्ठ
    हाल,काठमाडौ ।
    [५९]
    हमला भो सरकार
    मौलिक संस्कृति माथि
    छैन तिम्रो दरोकार !
    ✍️ पूर्णप्रसाद पन्त
    सिराञ्चोक ८, गोरखा
    २०८०/११/११/०६
    [६०]
    बिलाउला आफ्नै भेष
    पहिरेर पहिरन विदेशी
    नरहला भोलि देश !
    ✍️ अनमोल चन्द्र “नेचाली “राई
    लेबोङ,दार्जीलिङ
    [६१]
    नलागौँ गलत बाटोमा
    विभिन्न धर्म संस्कृति
    फुलेको हाम्रो माटोमा
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [६२]
    हाम्रो भेष भाषा
    हाम्रो गौरव स्वाभिमान
    जगेर्ना कर्तव्य खासा !
    ✍️ कमला पौडेल
    [६३]
    भाषा धर्म संस्कृति
    बचाऔँं मिलिजुली सबै
    पन्छाई गलत प्रवृति !
    ✍️ विवश पारदर्शी
    झापा
    [६४]
    पृथक संस्कृति राम्रो
    खिच्दै विश्वको मन
    संरक्षणको दायित्व हाम्रो !
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक भक्तपुर
    [६५]
    विश्वको मौलिक पहिचान
    अद्वितीय नेपाली संस्कृति
    लागौँ संरक्षणको अभियान ।
    ✍️ शान्ति उपाध्याय
    सूर्यविनायक भक्तपुर
    ~~~~

    Leave a Reply