‘हाम्रो बाटो’ एक समीक्षा

  • २३ आश्विन २०८०, मंगलवार २२:४८ मा प्रकाशित
  • म्यामराज राईको हाम्राे बाटो लघुकथासङ्ग्रहले विविध विषयमा कोरेको बाटो


    शेखर अर्याल
    विषयप्रवेश
    म्यामराज राई नेपाली लघुकथामा एक उदाउँदो व्यक्तिका रूपमा परिचित नाम हो । राईको जन्म २०४४ साल असार १२ गते भोजपुर जिल्लाको हतुवागढी ६ होम्ताङमा भएको हो । माता आशबुङ र पिता जोगबहादुर राईका पुत्र म्यामराज हाल जापानमा छन् । नेपाल र जापानको परिवेशसँग भिज्न सफल राईको ‘हाम्रो बाटो’ २०७९ सालमा प्रकाशित पहिलो लघुकथासङ्ग्रह हो ।

    यस सङ्ग्रहमा ६१ वटा लघुकथाहरू समावेश छन् । हाम्रो बाटो लघुकथासङ्ग्रह अक्षरधाम प्रकाशन प्रालिबाट प्रकाशित कृति हो । यस कृतिको बाहिरी आवरण चित्रात्मक र रङ्गिन हुनाले आकर्षक देखिन्छ । गाताको एकातर्फ लघुकथाको नाम र चित्र छ भने पछाडिको भागमा राईको परिचयसहित साहित्यकार धुव्र मधिकर्मीले लेखेको लघुकथाको चुनौतिपूर्ण दौडमा म्यामराज राई भनी लेखिएको छ । क देखि र सम्मको पृष्ठमा चिनारी, प्रकाशकीय, शुभकामना, पूजनीय मातापिताको तस्बिर, विनीत म्यामराजका मोतीदाने लघुकथाहरू, हाम्रो बाटो लघुकथासङ्ग्रहले कोरेको बाटो, सङ्ग्रहमा आइपुग्दा र कथाक्रम समावेश गरिएको छ । लघुकथाहरू पृष्ठ १ देखि ११८ सम्म चित्रसहित विस्तार भएका छन् । आख्यान विधामा पर्ने हाम्रो बाटो लघुकथासङ्ग्रहको सम्पादन गर्ने कार्य डा.शेखरकुमार श्रेष्ठबाट भएको छ भने प्रकाशनको कार्य अक्षरधामबाट भएको छ । चित्रका माध्यमबाट कथागत चित्र दिन टङ्कबहादुर आले मगर सक्रिय छन् भने आवरण चित्र मुकुन्द प्रयासबाट बनाइएको छ । यस कृतिको मूल्य २६५ रुपियाँ तोकिएको छ ।

    यस लघुकथा कृतिले लघुकथाप्रति चासो, जिज्ञासा र रुचि राख्नेका लागि एउटा सिङ्गो लघुकथाको भवन निर्माण गर्ने कार्यमा एक कोछे ढुङ्गा बन्ने देखिन्छ । यस लघुकथासङ्ग्रहमा विविध विषयहरू समावेश भएका छन् । मूलतः यस विश्लेषणमा लघुकथासङ्ग्रहभित्रका लघुकथाले नेपाली समाज र राष्ट्रका लागि के कस्तो बाटो कोरेको छ ? र नेपाली परिवेशसँग के कस्ता विषयहरू आएका छन् ? भनी केलाउने कार्य गरिएको छ ।


    ‘हाम्रो बाटो’ लघुकथाङ्ग्रहमा रहेका लघुकथाको विषयवस्तु
    साहित्यका हरेक विधाले विविध खालका विषयवस्तुलाई अङ्गालेका हुन्छन् । ती विषयवस्तुले व्यक्ति, समाज, राष्ट्र र विश्व परिवेशलाई आत्मसाथ गरेका हुन्छन् । हाम्रो बाटो लघुकथासङ्ग्रहले पनि समाजमा रहेका विकृति, विसङ्गति, कुरीति, कुसंस्कार, भ्रष्टाचार, दमन, अन्याय, अत्याचार, शोषण, धार्मिक तथा सांस्कृतिक आस्था, गरिबी, राजनीतिक हस्तक्षेप आदि विषयले पारेको प्रभावलाई उजागर गरेको छ ।
    ‘हाम्रो बाटो’ लघुकथासङ्ग्रहमा रहेको पहिलो लघुकथा ‘आर्शीवाद’ले धार्मिक तथा सामाजिक अवस्थाको चित्रण गरेको छ । कथामा नेपाली परिवेशमा विद्यमान रहेको धार्मिक तथा सामाजिक परम्परामा आधारित परिवेशलाई आधार बनाई सोहीअनुसारको चित्रण गरिएको छ ।

    ‘धोका’ लघुकथाको विषयवस्तु नेपाली समाजसँग सम्बन्धित परिवेशमा संरचित रहेको छ । राजनीतिक विषयवस्तुलाई आत्मसाथ गरिएको यस कथामा हाम्रो समाजमा हुने राजनीतिक धोकालाई टड्कारो रूपमा उठाइएको छ । पहिला समाजमा रहेको भेदभाव, थिचोमिचो र दयनीय अवस्था मिल्काइदिने आश्वासन दिइएको छ तर चार वर्ष हुँदा पनि गाउँबस्ती ज्यूँका त्यूँ भएको भन्दै जुन जोगी आए पनि कानै चिरेका भनी कटाक्ष गरिएको विषयवस्तु प्रस्तुत गरिएको छ । ‘म्यानेजर’ लघुकथाको विषयवस्तु राजनीतिमा आधारित छ । कथामा राजनीतिक विषयवस्तुलाई आत्मसाथ गरी सामाजिक भ्रष्टाचार, हत्या, बलत्कार, चोरीडकैती जस्ता कुरालाई म्यानेजरले प्रस्तुत गरेको छ । त्यसैले कथामा म्यानेजर पात्रका सहायताले नेपाल र नेपालीप्रतिको सामाजिक विषयप्रति कटाक्ष गरिएको छ । जसमा सपनालाई आधार बनाई यथार्थतालाई कथाका सहायताले प्रस्तुत गरिएको छ ।

    सङ्ग्रहमा रहेको ‘चलाख सिँगारे’ लघुकथामा सिँगारे दुब्लो बनेर धेरै बाँच्ने बठ्याईँ निकालेको छ । किसानले भने सिँगारे दुब्लाउँदै गएकाले एक महिनाअगाडि नै सानो पार्टीका लागि बेचेको सामाजिक विषयवस्तु रहेको छ । यसले हाम्रो समाजमा रहेको पशुप्रतिको मानव व्यवहारलाई सशक्त रूपमा प्रस्तुत गरेको छ । त्यस्तै ‘आदत’ लघुकथामा नेपाली समाज र राष्ट्रको समग्र विषयवस्तु र परिवेशलाई आधार बनाएर लघुकथाको संरचना निर्माण गरिएको छ । यसमा नेपालीहरू विदेशिनुपर्ने बाध्यात्मक अवस्थाको चित्रण गरिएको छ । काम र मामको समस्याले जापान गएपछि उनी पात्रले गाउँघर र छरछिमेकको कुराकानी गरेको विषयवस्तु रहेको छ ।

    समाजमा कुरा काट्ने प्रवृत्तिको भण्डाफोर गरी त्यसप्रति सचेत भई आफ्नो काममा लगाउनुपर्ने सन्देश प्रदान गरेको छ ।
    ‘पीडा’ सङ्ग्रहमा रहेको एक अर्को महत्वपूर्ण तथा मार्मिक लघुकथा हो । यस कथाको विषयवस्तु नेपालीहरू कामको खोजीमा भौँतारिएर परिवारबाट टाढा हुनु परेको पीडा र वेदना रहेको छ । जसले नेपाली समाजमा रहेको कामको अभाव र राष्ट्रले रोजगारीको अवसर प्रदान गर्न नसकेको यथार्थपरक विषयवस्तु समावेश गरिएको छ । ‘अभावको दसैँ’ लघुकथामा नेपाली परम्पराअनुसार मनाउँदै आएको संस्कार र संस्कृतिलाई कोरोनाले पारेको प्रभावले मनाउन कठिन भएको यथार्थपरक विषयवस्तु प्रस्तुत भएको छ । यसमा नेपाल र नेपालीको परिवेशलाई सशक्त रूपले आत्मसाथ गरेको छ ।

    ‘डोरो’ लघुकथाको विषयवस्तु सामाजिक हुनुका साथै कोरोनाको सन्त्रासमय अवस्था रहेको छ । सङ्ग्रहमा रहेको ‘जीविकोपार्जन’ लघुकथाको विषयवस्तु मूलतः नेपालको सामाजिक परिवेश अनि राष्ट्रिय परिवेशमा हुने राजनीतिक विषयमा देखिएको विकृति, विसङ्गतिमा आधारित रहेको छ । राजनीतिक आडभरोसामा मोजमस्ती गर्ने अवस्थाको सशक्त रूपमा चित्रण गरिएको छ । त्यस्तै ‘बिर्खे’ लघुकथामा रहेको विषयवस्तु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा अन्तरघुलन भएको छ । विदेश अर्थात् जापान गएर गर्नुपर्ने सङ्घर्ष र त्यहाँ नेपाली नागरिकले बिताउनुपर्ने स्थितिलाई यथार्थपरक ढङ्गबाट प्रस्तुत भएको छ । जापान गएर आफ्नो परिवारबाट नपाएको गाली खानुपर्दाको यथार्थपरक विषयवस्तु यस लघुकथामा प्रस्तुत भएको छ ।


    हाम्रो बाटो लघुकथासङ्ग्रहमा रहेको ‘न्याय’ लघुकथा कानुनी विषयमा आधारित छ । उच्च वर्ग अर्थात् जमिनदारले सामान्य अर्थात् निम्न वर्गकी छोरीलाई बलत्कार गरेको हुनाले अदालत गएको प्रसङ्ग छ । अदालत गए पनि धम्की र उपचार खर्च दिएर खाली कागजमा सही गराएको कारुणिक विषयवस्तुमा आधारित छ । ‘किनारको मिहिनेत’ लघुकथामा प्राकृतिक विपत्तिबाट भोग्नु परेको सास्ती अनि घरपरिवारको मूल सदस्य नहुँदा कसरी जिउने भन्ने चिन्ता प्रकट गरिएको सामाजिक, प्राकृतिक तथा पारिवारिक विषयवस्तु रहेको छ । ‘खड्ग ठाडा मगर’ लघुकथा साहित्यिक विषयवस्तुसँग सम्बन्धित छ । यसमा साहित्यकार, भानुभक्त, घाँसी र मोतीराम जस्ता व्यक्तिमा आधारित विषयवस्तु रहेको छ । नेपाल र नेपालीसँग सम्बन्धित विषयवस्तुका आधारमा कथा सान्दभिक रहेको देखिन्छ ।

    ‘पुरुष’ लघुकथाले सामाजिक विषयवस्तुलाई आत्मसाथ गरेको छ । सामाजिक यथार्थपरक विषय हुनाले सन्तान नजन्मनुमा महिलाको दोष देखाइएको छ भने शिक्षित व्यक्तिबाट परीक्षण गराउँदा पुरुष नै बच्चा नजन्माउने हुनाले बच्चा नजन्मिएको विषय रहेको छ । त्यस्तै शीर्षकीकरण गरिएको ‘हाम्रो बाटो’ लघुकथाको विषयवस्तु जापानको बाटो सफा गर्ने विषयवस्तुाई लिएर त्यस्तै बाटो सफा गर्ने समय नेपालीले नछुट्टाएकोमा ग्लानी भएको विषय रहेको छ ।


    ‘पुन्टे’ लघुकथामा बोर्डिङ स्कुलमा माक्स चुटिएर वा नलगाएर प्रिन्सिपलको गाली खाने हुनाले बालक भागेको र उसमा मनोवैज्ञानिक तनाव उत्पन्न भएको विषयवस्तु प्रस्तुत छ । गुरुदक्षिणा लघुकथामा गुरुपूर्णिमा मनाउने नेपाली संस्कार र संस्कृतिमा आबद्ध विषयवस्तु रहेको छ । बिचौलिया लघुकथामा बिचौलिया र कर्मचारीतन्त्रको अनि सरकारको झन्झटिलो कार्यले सास्ती हुँदा बिचौलिया हावी बनेको वास्तविक चित्र उतारिएको विषयवस्तु यस कथामा रहेको छ । पोजेटिभ लघुकथामा कोरोना पोजेटिभले समाजमा देखाउने सन्त्रास अनि कुरा नबुझी हो हो का पछाडि दौँडिँदा सास्ती हुने अनि यथार्थता पत्ता लगाउन नसक्दा राम्रो नहुने, लेप्चाले वास्तविकता भनेपछि साहुजीले दाल, चामल दिएको विषयवस्तु रहेको छ । त्यस्तै सफलता लघुकथामा कोरोना र त्यसबाट बँच्न ओखती मानिसले बनाएको र माक्सको प्रयोग गर्नुपर्ने विषयवस्तु रहेको छ ।


    मूल्याङ्कन लघुकथामा गायन रियालिटी सो प्रतियोगितामा हुने भोट डलर, रुपियाँ र आफन्तले नभएर उसको साधनाले हुने विषयवस्तु रहेको छ । नेपाली समाजमा गफ गर्ने तर भलाद्मीले त्यो सत्यता नबताउने कुराको कटाक्ष रहेको छ । फस्ट डेटिङ लघुकथाको विषयवस्तु श्रीमान् श्रीमतीबिचको सामाजिक विषयवस्तुमा आधारित छ । विदेश रहेको श्रीमान्ले फेसबुकबाट नाम बदलेर नाथुराम नितेश बनेको छ । सो कुरा चाल पाएकी कालुमाया कला बनेर पैसा पठाएको यथार्थपरक घटना वा विषयवस्तु नेपाली समाजमा घटेका छन् । यही विषयवस्तु यस कथामा प्रस्तुत भएको छ । सिकाइ लघुकथाको विषयवस्तु सामाजिक छ । यस कथामा घरपरिवारका सदस्य वा बुबाआमाले गरेको सिकेर केटाकेटीले पनि धुमपानतर्फ लाग्ने गर्दछन् । यो नेपाली समाजको मात्र नभएर मानव समाजको वास्तविकता हो । यही समाजको वास्तविक विषयवस्तु यस कथामा प्रस्तुत भएको छ । संयोग लघुकथाको विषयवस्तु धार्मिक तथा सामाजिक रहेको छ । यसमा नागपञ्चमीको दिनलाई मूल आधार बनाइएको छ । नाग पञ्चमीको दिन पूजा गर्दा पनि धेरै घटना घटेकाले जय पात्र त्यसप्रति आक्रोशित बनेको छ । उसलाई त्यसप्रति विश्वास पनि छैन । यही विषयवस्तु यस कथाको कथानक बनेको छ । त्यस्तै पार्टी लघुकथाको विषयवस्तु पनि सामाजिक नै रहेको छ । कामनाथ खेल प्रतियोगितामा विजय भएकोमा एक साथीले पार्टी खुवाउन भन्दा उसले साथीलाई पार्टी खुवाएको छ तर त्यसको दुई महिनापछि सुनिलाले बलत्कारको आरोप लगाएको विषयवस्तु प्रस्तुत भएको छ । लघुकथाको समय क्षणिक रहन्छ तर यस कथामा दुई महिनाको अन्तराल रहेको छ ।


    नुनको सोझो लघुकथा हाम्रो बाटो लघुकथासङ्ग्रहमा रहेको छब्बिसौँ लघुकथा हो । यस लघुकथाको विषयवस्तु काम वा पेसासँग सम्बन्धित रहेको छ । लघुकथामा एक कुशल पत्रकार पनि नुनको सोझो गर्दा असक्षम भएको वा उत्कृष्ट नभएको लेख पनि छाप्नुपर्ने बाध्यात्मक पत्रकारिताको विषयवस्तु प्रस्तुत छ । जहाँ भ्रष्टमानले नुनको सोझो गरेर सुन्नारामको लेख छपाएका छन् । विश्वासघात कथाको विषयवस्तु राजनीतिक रहेको छ । राजनीतिक विषयप्रति व्यङ्ग्य रहेको यस कथामा २०–३० प्रतिशत बनाएर पार्टी फुटाउने प्रवृत्तिलाई यथार्थपरक रूपमा नेपाली राजनीतिको विषयवस्तुलाई प्रस्तुत गरिएको छ । अनुहार लघुकथाको विषयवस्तु सामाजिक तथा पारिवारिक रहेको छ । शिखर भारतीय सेनामा भर्ती भएको हुन्छ । विवाह गरेको दुई वर्षपछिको दुई महिने छुट्टी सकेर पल्टन फर्कन्छ । नुमा पुरानो अफिसमा काम गरेको उकेशसँगको मेसेन्जर कलपछि भेट भएर होटलमा बस्छन् । दुई महिनामा गर्भ रहेको कुरा श्रीमान्लाई भनेको अनि बच्चाको अनुहार नमिलेको हुनाले त्यसको सुरक्षित उपाय गरेको गहन विषयवस्तु रहेको छ । घडेरी लघुकथामा सामाजिक विषयवस्तु रहेको छ । घरघडेरी पास गर्ने भनी लठ्याउन्, औषधी लगाई पैसा डाँक मारेको विषयवस्तु रहेको छ । त्यस्तै अभियन्ता लघुकथा भाषिक तथा सामाजिक विषयवस्तुमा आधारित छ । यसमा मातृभाषाप्रतिको मोह देखाएर आफ्नो सन्तानलाई अङ्ग्रेजी भाषातर्फ प्रेरित गराएको कटाक्ष विषयवस्तु रहेको छ ।


    गायन हाम्रो बाटो लघुकथासङ्ग्रहमा रहेको लघुकथा हो । यस लघुकथामा शौचालयको चुक्कुल बिग्रिँदासमेत बनाउन नसकेर गीत गाएर सङ्केत गर्नुपर्ने सामाजिक तथा आर्थिक विषयवस्तु रहेको छ । बुबाको जन्मदिन लघुकथाले धार्मिक, पारिवारिक तथा सहयोगात्मक विषयलाई आत्मसाथ गरेको छ । यसमा बुबाआमाप्रतिको सद्भाव र जन्मदिनको नयाँ स्वरूप, वृद्धवृद्धालाई फलफूल र पैसा दान गरेका छोराहरूले पनि बुबाको नाममा दान गरेको विषयवस्तु रहेको छ । सर्जक लघुकथाले कुनै सिर्जनाको प्रतियोगितामा आफ्नोलाई प्रथम, द्वितीय बनाउने प्रवृत्तिको भण्डाफोर गरिएको विषयवस्तु रहेको छ । अनुकरण लघुकथाको विषयवस्तु सामाजिक तथा घरायसी रहेको छ । घरपरिवारमा रहँदा कुनै सदस्य बिरामी भएमा वा बिरामी हुँदा सेवा वा औषधोपचार गर्नुपर्ने विषयवस्तु रहेको छ । त्यस्तै जिम्मेवारी लघुकथाले कामप्रतिको जिम्मेवारी कसरी पूरा गर्नुपर्छ भन्ने विषयलाई प्रस्तुत गरेको छ ।


    आरोप लघुकथा सामाजिक तथा वर्गीय विषयवस्तुमा आधारित छ । सांस्कृतिक चाड तिज पर्व र दर खाने चलनको विष्यवस्तु जसमा केही काम बिग्रियो भने घरमा काम गर्ने कामदारलाई दोष लगाउने प्रवृत्ति रहेको विषयवस्तु रहेको छ । हड्डी लघुकथामा लोभ देखाएर उसको ज्यान लिने प्रयत्न गरेको जहाँ मासुको चौटा नखाए गिद्धले झम्टिने खाए मासुभित्र हड्डी रहेको त्यो पनि घाँटीमा अड्केको विषयवस्तु रहेको छ । स्वभाव लघुकथाको विषयवस्तु सञ्चारसँग सम्बन्धि रहेको छ । यस कथामा समाजमा मोबाइल चलाउन नजान्ने आमाहरूको पैसा फोनबाट टान्सफर गरेर ठगेको ठगी विषयवस्तु रहेको छ । छुनु र मुनु लघुकथामा भूकम्पबाट पीडित हुनु, झन् बुबाआमा गुमाउँदा काकाकाकीकोमा बस्दा खेप्नु परेको पीरव्यथा भोग्नु परेको कारुणिक विषयवस्तु रहेको छ । त्यस्तै परिस्थिति लघुकथाको विषयवस्तु स्वदेशप्रतिको मोह, विदेशमा खेप्नुपर्ने दुःख, बुबाआमाले भनेको नमान्दा विदेश गएर पाएको सास्ती प्रस्तुत भएको छ ।


    हाम्रो बाटोमा रहेको दोष लघुकथाको विषयवस्तु पारिवारिक तथा सामाजिक रहेको छ । यसमा पुरुष सत्ता जो आफूले काम बिगारेर श्रीमतीलाई दोष दिँदा दुईबिचको झगडा भएको तर गाडीको चाबी भेटिएपछि पख्नोस् भरे घर त आउनुस् भन्ने कुरा व्यक्त छ । इन्टरनेट सपिङमा जापानी विषय याफुओकु (इन्टरनेट) बाट खोजेर गर्ने व्यापारको विषयवस्तुका साथै त्यहाँ ठुलासँग मुख लाग्नु राम्रो होइन भन्ने विषयवस्तु समावेश भएको छ । घरबेटी लघुकथामा जाँडरक्सीको लतले घरपरिवार पनि सकिन्छ अनि घरजग्गासमेत लिलाम भएको विषयलाई देखाइएको छ । पन्चै बाजामा पन्चे बाजा वा नेपाली बाजा र संस्कृतिको मोह प्रस्तुत गरिएको विषय छ । गालीमा काम गर्दा आइपर्ने अप्ठ्यारो अवस्था वा काम गर्दा खाइने गालीको विषयवस्तु प्रस्तुत भएको छ । प्रवृत्तिमा मानवीय प्रवृत्ति कस्तो हुन्छ ? आखिर ठेलमठेल गरेर भएपनि काम गर्नुपर्ने मानवीय प्रवृत्तिो विषयवस्तु रहेको छ ।


    मन लघुकथा कामदारको प्रवृत्ति, मनोवृत्ति र उसको सोचाइलाई आधार बनाइएको विषयवस्तु रहेको छ । इच्छा लघुकथामा शिक्षणसँग सम्बन्धित विषयवस्तु रहेको छ । जसमा शरद सर र रमाकी आमाको सामाजिक विषयवस्तु प्रस्तुत भएको छ । राष्ट्रियता लघुकथाको विषयवस्तु आफ्नो देशको राष्ट्रियता र दशगजाको विषयवस्तुलाई लिएर लेखिएको कथा हो, जसले सीमा मिच्ने भारतीय प्रवृत्तिको उजागर गरेको छ । आमा लघुकथाको विषयवस्तु आमाप्रतिको मायाममता छोराछोरीमा र छोराछोरीको स्नेह आमामा हुने विषयवस्तु रहेको छ । उत्कृष्ट शिक्षकमा रहेको विषयवस्तु शिक्षा, शिक्षण अनि शिक्षकको भूमिका प्रस्तुत गर्नुका साथै उत्कृष्ट शिक्षकको छनोटलाई मूल विषयवस्तु बनाइएको छ । त्यस्तै चाहना लघुकथाको विषयवस्तु राजनीति गरेर निजी कुरा पूरा गर्ने, निजी कामका लागि सरकारी संस्था प्रयोग गर्ने रहेको छ ।


    मेरो हल लघुकथामा आफ्नो समस्याको हल भएपछि अरूको के खाँचो ? भन्ने मानव प्रवृत्तिलाई मूल विषयवस्तु बनाइएको छ । व्यवस्थापन लघुकथामा राम्रो व्यवस्थापन गर्न सक्दा आफ्नो चाहना पनि पूरा गर्न सकिन्छ भन्ने विषयवस्तु छ भने भाइटीकामा भाइटीका अरू दिदी बनाएर टीका लगाई आर्जन गर्ने आफूलाई पर्दा वास्ता नगर्ने प्रवृत्ति देखाइएको छ । बनाएकी दिदी होइन आफ्नै बहिनीबाट अनलाइन टीका लगाएको विषयवस्तु रहेको छ । औषधी लघुकथामा रक्सी खाएर कक्षामा प्रवेश गरेको शिक्षक किन त्यसरी आए त ? घरपरिवारको झगडा किन भयो ? पुरुषले डाडु किन खाए भन्ने विषय रहेको छ ।


    खुसी लघुकथामा शिक्षा र पेसासँग सम्बन्धित विषयवस्तु रहेको छ । बोक्सीमा बोक्सीप्रतिको मान्यता जुन डाक्टरबाट रोगको पहिचान भएपछि आँखा खुलेको विषयवस्तु रहेको छ । हरियो बत्तीमा नेपाल र जापानको सडक, ट्राफिक लाइट आदिको तुलनात्मक विषयवस्तु रहेको छ । रेकर्ड लघुकथामा रेकर्ड राख्ने होडबाजीको विषय छ भने जनगायक लघुकथामा कलाकारप्रतिको सम्मान अनि उनीहरूले भोग्ने नियतीको विषयवस्तु व्यक्त भएको छ । साथै पार्टीले मरेपछि झन्डा ओडाएको विषय पनि समावेश भएको छ ।


    ‘हाम्रो बाटो’ लघुकथाङ्ग्रहमा रहेका लघुकथाले कोरेको बाटो
    साहित्य कला, संस्कार, संस्कृति, रीतिरिवाज, भूगोल, समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको अभिव्यक्तिमूलक दस्तावेज हो, जहाँ विविध विषयहरू भावयुक्त तवरले अभिव्यक्त भएका हुन्छन् । हाम्रो बाटो लघुकथासङ्ग्रहमा समावेश भएका लघुकथामा जापानी परिवेशसँग तुलना गर्दै स्वतन्त्रता प्राप्त गर्ने, समाजमा रहेका विकृति, विसङ्गति, शोषण, अन्याय, अत्याचारबाट मुक्त भई सभ्य समाजको निमार्ण हुनुपर्ने बाटो कोरेको छ ।


    सङ्ग्रहमा रहेको आशीर्वाद लघुकथाले धार्मिक तथा सामाजिक परम्परामा आधारित अवस्थालाई चित्रण गरेको छ । जसमा भरियालाई सहयोग गरी कुनै रकम नलिई आर्शीवाद दिन भनेकाले तीन छोरीपछि गर्भमा रहेको सन्तान छोरा भएको छ । उसको आकाङ्क्षा पनि छोरो रहेकाले छोराप्रतिको मोह प्रकट गरिएको छ । यो नेपाली समाज र संस्कृतिको एक ज्वलन्त उदाहरण बनेकाले यो सोचबाट परिष्कृत हुनुपर्ने बाटो अवलम्बन गरेको छ । धोका लघुकथाले राजनीतिक धोकालाई अगाडि सारी राजनीतिज्ञबाट समाज र राष्ट्रका लागि धोका हुनु हुँदैन भन्ने सचेतता प्रदान गर्दै राजनीतिक बाटो परिष्कृत र सभ्य हुनुपर्छ भन्ने बाटो कोरेको छ । म्यानेजर लघुकथाले नेपाली समाजमा हुने विकासका लागि सशक्त भएर लाग्नुपर्ने कुराको सङ्केत गरेको छ । विकसित जापानमा जस्तै यहाँ पनि अब राजनीतिक आचरणमा सुधार गरी विकासतर्फ लम्कनुपर्छ भन्ने बाटो कोर्ने कुरा प्रकट भएको छ । चलाख सिँगारे लघुकथामा कृषि तथा सामाजिक अवस्थाको उद्घाटन गरी सोप्रति सचेत रहनुपर्ने मार्गदर्शन गरिएको छ । आदत लघुकथाले कामको सिलसिलामा गरिबी र अभावले विदेशिनु परेका नागरिकलाई अब स्वदेशमै रोजगारी र विकासको अवस्था सिर्जना हुनुपर्छ भन्ने मार्गदर्शन गरेको छ ।


    पीडा लघुकथामा कामको अभावमा कतार गएको वेला छोरासँग गरेको कुराकानी रहेको छ । त्यहाँ बस्दा कोरोनाले पारेको प्रभावले छोराछोरी र घरपरिवारको चाह पूरा गर्न नसकेको हुनाले स्वदेशमै बसेर काम गर्न पाउनुपर्ने अवस्था सिर्जना हुनुपर्छ भन्ने बाटो कथाले कोरेको छ । अभावको दसैँ लघुकथामा चाडवाडको समय वा आफ्नो संस्कार र संस्कृति मनाउन कोरोनाले पारेको प्रभावले ठुलो समस्या पारेको अवस्थालाई देखाएको छ । यसले नेपाल, नेपाली समाज र नेपालको आर्थिक उन्नतितर्फ लाग्नुपर्छ भन्ने सन्देशात्मक बाटो कोरेको छ । डोरो लघुकथाले कोभिड १९ को महामारीले लिएको भयानक अवस्थालाई चित्रण गरिएको छ । कोरोनाको सन्त्रासबाट बच्ने औषधी छिटो आओस् भन्ने नौलो बाटो कोरेको छ । जीविकोपार्जन लघुकथामा राजनीतिक विकृतिलाई उजागर गर्दै अबको नेपाल नेपाली समाज र राष्ट्रमा स्वच्छ राजनीति हुनुपर्ने बाटो देखाएको छ । त्यस्तै बिर्खे लघुकथाले रोजगारीका लागि विदेशिनु परेको र त्यहाँ गर्नुपरेको कारुणिक अवस्था देखाउँदै विदेशमा गएर होइन स्वदेशमै काम गर्नुपर्ने बाटो देखाएको छ ।


    हाम्रो बाटो लघुकथासङ्ग्रहमा रहेको न्याय लघुकथाले महिलाप्रति हुने बलात्कारको अन्त्य हुनुपर्ने बाटो सशक्त रूपमा देखाएको छ । किनारको मिहिनेत लघुकथाले प्राकृतिक विपत्तिका कारण हुने क्षतिबाट विचलित नभई त्यसको समाधान खोज्नुपर्ने र सचेत बन्नुपर्ने बाटो कोरेको छ भने खड्ग ठाडा मगर लघुकथा साहित्यिक क्षेत्रसँग सम्बन्धित हुनाले भानुभक्तलाई प्रेरणा दिने घाँसीको चर्चा कम भएकाले मुख्य व्यक्ति नै हराएको हो कि ? अब तिनको खोजी गर्नुपर्छ भन्ने ऐतिहासिक खोजको बाटो कोरेको दृखिन्छ । पुरुष लघुकथाले सामाजिक विषयवस्तुलाई आत्मसाथ गर्दै पुरुष र नारीबिच हुने सन्तानकोजन्ममा महिला मात्र दोषी होइन पुरुषको पनि दोष हुन्छ । त्यसलाई समाधान गर्नका लागि एकआपसमा कुराकानी गरी पहिचान गर्दा समाज सभ्य शिष्ट बन्न सक्छ भन्ने बाटो देखाएको छ । त्यस्तै हाम्रो बाटो लघुकथाले जापानमा मनिङवाक गर्दा वा सामाजिक कार्य गर्दा बाटो सफा राख्ने कार्य गर्छन् । बाटो सफा राख्नु सबैको कर्तव्य हो भन्दै नेपालीले बाटो सफा गर्ने समय नछुट्याएकोमा ग्लानी भएको छ । यसले गर्दा नेपाली, नेपाली समाज र राष्ट्रका लागि बाटो सफा गर्न जान्नुपर्छ भन्ने बाटो कोरेको छ ।


    पुन्टे लघुकथाले बालबच्चालाई डर र त्रासले होइन मायाममताबाट सिकाउनुपर्छ भन्ने शैक्षिक बाटो कोरेको छ । गुरुदक्षिणा लघुकथामा गुरुप्रति आस्था, विश्वास र सद्भाव राख्नुपर्ने र गुरुप्रति गर्नुपर्ने व्यवहार कमजोर भएको वा हराएको हुनाले गुरुका अर्ती वा उपदेश र विचारले बनाएको बाटो पुनः जागोस् भन्ने विचारको बाटो देखाएको छ । बिचौलिया लघुकथामा बिचौलिया प्रवृत्ति र सरकारी काम अर्थात् श्रम स्वीकृति लिने काममा सास्ती हुनाले त्यसमा सुधार हुनुपर्ने बाटो कोरेको छ । पोजेटिभ लघुकथामा कोरोना पोजेटिभले समाजमा पारेको प्रभावले त्रास फैलाएको छ । यसमा खास कुरा नबुझी हो का पछाडि लागेर हिँड्दा दुःख वा सास्ती पाइने हुनाले त्यसलाई राम्ररी बुझ्न सक्नुपर्ने बाटो देखाएको छ । त्यस्तै सफलता लघुकथाले कोरोनाको प्रभावले मानवमा आएको हाहाकार र सास्तीले सताएको छ । यसरी मानिसलाई एक रोगले सताउँदा तुरुन्तै ओखती बनाउन नसकेको अवस्थामा विज्ञानको समयमा पनि छिटो औषधी नबनेकाले छिटै औषधी पत्ता लगाउनुपर्ने मार्ग देखाएको छ ।


    मूल्याङ्कन लघुकथाले कुनै पनि प्रतियोगितामा हुने प्रतिस्पर्धा अस्वस्थ्य होइन स्वस्थ्य हुनुपर्ने असल बाटो कोरेको छ । जसले नेपाली समाजमा हुने विकृतिप्रति कटाक्ष गर्दै सत् प्रतिस्पर्धामा लाग्ने बाटो तय गरेको छ । फस्ट डेटिङ लघुकथाले मूलतः फेसबुकले नेपाली समाजमा पारेको प्रभावलाई उजागर गरेको छ । यही विषयवस्तुलाई देखाएर यसबाट सचेत बन्नुपर्ने बाटो यस कथाले कोरेको छ ।

    सत्मार्गमा लाग्ने प्रेरणा प्रदान गरेको यस कथाले देखाएको बाटो सकारात्मकतातर्फ मोडिएको छ । सिकाइ लघुकथाले वास्तविक सिकाइको विषयलाई आधार बनाएर बालबालिकाले घरपरिवारका सदस्यले गरेको काम वा उपभोगबाट धेरै कुरा सिक्छन् । चाहे त्यो सकारात्मक कार्य होस् या नकारात्मक त्यो सिकाइ बालबच्चामा हुन्छ । त्यसैले बालबच्चाका अगाडि सचेत हुनुपर्ने कुराको सत्मार्ग यस कथाले देखाएको छ । संयोग लघुकथाले समाजमा हुने अन्धविश्वासप्रति सजग हुने र त्यसको पछाडि लाग्न नहुने बाटो देखाएको छ । जसले सचेचतातर्फ उन्मुख गराएको छ । त्यस्तै पार्टी लघुकथाले कुनै खुसियालीमा भोज खुवाउन भन्ने अनि उसैलाई बलत्कारको आरोप लगाउने जुन खराब कार्य छ त्यसप्रति सचेत रहने मार्गदर्शन यस कथाले प्रदान गरेको छ ।
    नुनको सोझो लघुकथा सुधारात्मक सन्देश बोकेको कथा हो । यस कथामा पत्रकारितामा सुधार हुनुपर्ने र नुनको सोझो गर्दा जस्ता काम पनि गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुपर्ने मार्गचित्र देखाएको छ ।

    विश्वासघात लघुकथाले मूलतः नेपाली राजनीति फुटको राजनीति रहेको, चिन्तन र दर्शनबाट स्खलित रहेको हुँदा त्यसप्रति सचेत रहनुपर्ने बाटो देखाएको छ । राजनीतिमा पनि स्वार्थ होइन इमानदारिता रहनुपर्ने बाटो कोरेको छ । अनुहार लघुकथाले नेपाली समाजमा पुरुष भर्तीमा गएपछि केही विशृङ्खलित नारीले यौनचाहना कसरी पूर्ति गर्छन् भन्ने कुराको सङ्केत गरेको छ । जसबाट उत्पन्न विकृति समाजमा हुन नहुने बाटो यस कथाले देखाएको छ । घडेरी लघुकथाले डाका, चोर, फटाहाबाट बच्नुपर्ने, घरजग्गाका नाममा लुट्ने प्रवृत्ति रहेकाले घरजग्गा बिक्री गर्ने तरिका फेर्नुपर्ने बाटो कोरेको छ । त्यस्तै अभियन्ता लघुकथाले मातृभाषाबाट शिक्षा प्रदान गर्नुपर्ने बाटो देखाएको छ ।


    गायन लघुकथाले आर्थिक कारणले गर्दा एउटा चर्पीको चुक्कुलसमेत फेर्न नसकेर गीत गाएर चर्पीमा बस्नु परेको अवस्था देखाई त्यसबाट मुक्त हुनका लागि रोजगारी हुनुपर्ने अर्थात् आर्थिक समस्या समाधान गर्ने बाटो हुनुपर्ने कुरा रहेको छ । बुबाको जन्मदिन लघुकथाले कोरेको बाटो पनि नयाँ छ । जन्मदिन नयाँ शैलीमा गर्नुपर्छ । यस समयमा त सेवा सहयोग गर्नुपर्छ भन्ने बाटो देखाएको छ । सर्जक लघुकथाले कोरेको बाटो कुनै पनि सर्जकले सिर्जना गरेको कृतिमा निष्पक्ष भएर मूल्याङ्कन गरी पुरस्कृत गर्नुपर्छ, आफन्तलाई होइन भन्ने कुरा देखाएको छ । अनुकरण लघुकथाले घरपरिवारमा कोही बिरामी पर्दा आफूले गर्नुपर्ने कर्तव्यलाई सङ्केत गरेको छ । त्यस्तै जिम्मेवारी लघुकथाले आफ्नो कामप्रति जिम्मेवार भएर जिम्मेवारी पूरा गर्नुपर्ने बाटो निमार्ण गरेको छ ।


    आरोप लघुकथाले नेपाली समाजमा घरमा काम गर्ने कामदारप्रति गरिने खराब र दमनात्मक प्रवृत्तिलाई देखाउँदै त्यस्तो कार्य गर्नु अपराध हो भन्ने सन्देश प्रदान गर्ने बाटो कोरेको छ । हड्डी लघुकथाले लोभ देखाएर अरूलाई अप्ठ्यारो पार्न नहुने मार्ग देखाएको छ । स्वभाव लघुकथाले विदेशमा रही काम गर्दा आफ्नी आमासँग पनि कुरा गर्न नसकेको हुनाले त्यसबाट मुक्त हुनुपर्ने सन्देश प्रदान गरेको छ । छुनु र मुनु लघुकथामा बालबालिका प्राकृतिक प्रकोपले आमाबुबाबाट छुट्टिँदा कस्तो पीडा खप्छन् भन्ने विषय देखाई त्यसबाट पर्ने प्रभावलाई देखाइएको छ । त्यस्तै परिस्थिति लघुकथाले स्वदेशमै काम गर्नुपर्छ र गर्ने वातावरण सिर्जना गर्नुपर्छ भन्ने बाटो देखाएको छ ।


    दोष लघुकथाले पुरुष सत्ताबाट नारी सत्ताले खेप्नु परेको झन्झट र दोषमा नयाँ सोच आउनुपर्छ र सही विषय पत्ता लगाउनुपर्छ भन्ने बाटे कोरेको छ । इन्टरनेट सपिङ ले इमान्दार ढङ्गले काम गर्दै गयो भने सही सिकाइ हुने बाटो देखाएको छ । घरबेटी लघुकथाले कुलतमा लाग्नु हुँदैन त्यसमा लाग्दा घरपरिवार र घरजग्गा सबै समाप्त हुने सन्देश प्रदान गरेको छ । पन्चै बाजाले आफ्ना मौलिक बाजाको संरक्षण गर्नुपर्ने बाटो कोरेको छ । गालीले काम गर्दा गाली खाने डर हुने तर त्यसबाट मुक्त हुने बाटो देखाएको छ । प्रवृत्तिमा मानवीय व्यवहार कस्तो हुन्छ भन्ने कुरालाई सङ्केत गरेको छ । त्यसबाट परिष्कृत हुनुपर्ने कुरा पनि देखाएको छ ।


    मन लघुकथाले काम गर्दा ठग्ने प्रवृत्ति हुनुहुँदैन भन्ने बाटो कोरेको छ । इच्छा लघुकथाले शिक्षण कार्यमा रहेका शरद सरले एकल महिलालाई आफू एकल पुरुषबिच सम्बन्ध कायम गरेर नयाँ सहकार्य गर्ने सोच बनाएको बाटो देखाएको छ । राष्ट्रियता लघुकथामा भने आफ्नो देशको सीमा वा राष्ट्रियता बचाउने र त्यसप्रति चनाखो हुनुपर्ने मार्ग देखाएको छ । आमा लघुकथाले हरेक प्राणीमा आमाले छोराछोरीप्रति कस्तो स्नेह खन्याउँछन् र उनको सुरक्षाका लागि आफ्नो ज्यानसमेत जोखिम राख्छन् भन्ने सन्देश प्रदान गरेको छ । उत्कृष्ट शिक्षकले शिक्षक समाजको ऐना हो जसले हरेक कार्यमा साथ दिइएको हुन्छ भन्ने मार्गदर्शन दिइएको छ । त्यस्तै चाहना लघुकथाले सत् राजनीति गर्नुपर्ने बाटो देखाएको छ ।
    मेरो हलले आफ्नो समस्या टर्दैमा समस्याको हल हुँदैन । अरूको समस्याको पनि हल हुनुपर्ने मार्ग देखाएको छ ।

    व्यवस्थापन लघुकथाले राम्रो व्यवस्थापन गर्न सक्दा आफ्नो चाहना पूरा गर्न सकिने मार्ग देखाएको छ भने भाइटीकाले देखावटी र भड्किलो चाडवाड मनाउन हुन्न । आफ्नो संस्कार र संस्कृतिलाई आत्मसाथ गर्नुपर्छ भन्ने बाटो देखाएको छ । औषधी लघुकथाले दुव्र्यसनका कारण घरपरिवारमा कलह हुने त्यसको असर सामाजिक संस्था विद्यालयमा पर्ने मार्गचित्र देखाएको छ ।


    खुसी लघुकथाले बुबाआमाले भन्दा छोराछोरीले राम्रो गरे खुसी हुने मार्गदर्शन दिएको छ । बोक्सी लघुकथाले एक्काइसौँ शताब्दीमा पनि बोक्सीको आरोप लाग्ने हुनाले यसबाट मुक्त हुन शिक्षित बन्नुपर्छ भन्ने बाटो कोरेको छ । हरियो बत्तीले हिँड्दा वा बाटो काट्डा सचेत भएर हिँड्नुपर्ने मार्ग देखाएको छ । रेकर्डले रेकर्ड राख्ने होडप्रति कटाक्ष गरेको छ भने जनगायक लघुकथाले गायक कलाकारलाई मर्नुभन्दा अगाडि सम्मान गर्नुपर्छ भन्ने बाटो देखाएको छ ।


    निष्कर्ष
    हाम्रो बाटो लघुकथामा ६१ वटा लघुकथा समावेश भएका छन् । यसमा रहेका लघुकथाको विषयवस्तु सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, पेसासँग सम्बन्धित, पारिवारिक, सांस्कृतिक, धार्मिक, मनोविज्ञान, देशप्रेम, व्यवहारिक ज्ञान रहेको देखिन्छ । कथामा प्रयोग भएको परिवेश राष्ट्रिय र अन्तर्राष्ट्रिय छ । भाषा सरल, सरस र बोधगम्य रहेको छ । पात्रको चयन समय सापेक्ष र कथानको विषयवस्तुअनुसार चयन भएको छ । प्राय ः शीर्षकले आफ्नो अस्तित्व र लघुकथाको धर्म निभाएका छन् । प्रथम लघुकथासङ्ग्रहले यसरी विविध विषयलाई समेट्न सक्नु महानता हो ।

    शब्द चयन, वाक्य गठन अर्थात् शैली वैज्ञानिक ढङ्गबाट हेर्दा पनि लघुकथासङ्ग्रह सफलताको नजिकतिर लम्केको छ । केही वर्णविन्यासगत त्रुटि रहनु र कुनै कथाले स्पस्टता प्रदान गर्न कठिन मान्नु यसमा रहेका केही सीमा हुन सक्छन् । यसतर्फ चनाखो हुन सक्दा लघुकथाको उच्चता बढ्न जान्छ । यस लघुकथासङ्ग्रहले कोरेको बाटो भने अधिक कथामा प्रस्ट देखिन्छ तर रेकर्ड, औषधी, मेरो हल जस्ता केही लघुकथामा भने प्रस्टताको अभाव रहेको छ । जे होस् म्यामराज राईको हाम्रो बाटो लघुकथासङ्ग्रहले ओगटेको विषयवस्तु र यसले कोरेको बाटो सफल रहेको देखिन्छ ।

    One thought on “‘हाम्रो बाटो’ एक समीक्षा

    Leave a Reply