
सहभागी मुक्तककारहरू –
[१]
आउँछ दसैँ आउँछ तिहार रुवाएर जान्छ
ऋण काढ्नै हुन्छ मारामार रुवाएर जान्छ
यहाँ दुई छाक टार्नै धौधौ भइरहेको बेला,
बोकाउँछ अझै गह्रुङ्गो भार रुवाएर जान्छ ।
वसन्त अनुभव
दाङ्ग
[२]
गरिबलाई साहुको पाउमा लगाउन
सस्तो सामान महङ्गो भाउमा लगाउन
दसैँ तिहार आउन लागे अब सतर्क हुनु,
लाखौँ पशुको जीवन दाउमा लगाउन ।
श्रीकृष्ण शर्मा पोखरा
[३]
नराम्रो सुन्न नपरोस्, सुन्दर मति थप्ने समय आओस्
विसङ्गति हट्ने मगज चाहे जति थप्ने समय आओस्
यही वर्षको दसैँ तिहारदेखि,नौलो नयाँ ईतिहास लेखी,
निमुखाहरूको मुहारमा प्रगति थप्ने समय आओस् ।
प्रेम थापा “मन”बागलुङ
[४]
परदेशी छोरो आउला भनेर बाटो हेर्दै होलान्
औँलाहरू भाँच्दै दिन गनेर बाटो हेर्दै होलान्
यो दसैँमा विदा पाइएन् निधार रित्तो हुने भो मेरो,
घरमा बा आमा भावुक बनेर बाटो हेर्दै होलान् ।
चेतन खनाल (दाह्रीवाला)
बङ्गलाचुली १ दाङ्ग
यो तिहार पनि पीडा टार्दै बस्नु परेको छ
रित्तो निधारमा हात मुसार्दै बस्नु परेको छ
बहिनीको सयपत्री माला व्यर्थ हुने भो उता,
परदेशमा मैले आँसु झार्दै बस्नु परेको छ ।
चेतन खनाल (दाह्रीवाला)
बंगलाचुली १ दाङ्ग।
[५]
दसैँ आओस् र दशा नलागोस् सबैको
मेला पर्वमा दुःख कष्ट भागोस् सबैको
अखण्ड देश सुन्दर समाज एकतामा,
सधैँ देशभक्ती भावना जागोस् सबैको ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
[६]
दसैँ किन आउँछ गरिबलाई रुवाएर जान्छ
काटमार उस्तै हुन्छ दाजुभाइ रुवाएर जान्छ
रीतिरिवाज चलेकाे हाम्रो देशमा तमास यस्तै,
झुपडीमा दसैँ खाई नखाई रूवाएर जान्छ।
रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि ।
[७]
यो चाडबाडमा मेरो तस्बिर हेरी आँसु झारेर नरुनू
रातो टिका र पहेलो जमरा थालीमा राखेर नरुनू
के गर्छेउ त मेरी आमा मेरै देशले परदेशी बनायो,
दसैँ आउँदा तिहार आउँदा मलाई सम्झेर नरुनू ।
जीवन रोका मगर
बङ्गलाचुली १ दाङ्ग
[८]
दु:ख पीडाहरूलाई मनमा बेरेर दसैँ मनाऔँ
सामान्य भए पनि कपडा फेरेर दसैँ मनाऔँ
प्रत्येक वर्षमा आउने यो महान् चाडपर्वमा,
आफ्नो आर्थिक अवस्था हेरेर दसैँ मनाऔँ
सम्झना थापा मगर
स्याङ्जा
सबैको घर आँगनमा दसैँ आयो, कसरी मनाउने ?
मन भित्रभित्र चिन्ता पो छायो, कसरी मनाउने ?
गरिबहरूलाई रुवाउन किन आउँछ यो चाडपर्व,
आँखाबाट आँसुका ढिका खसायो, कसरी मनाउने ?
सम्झना थापा मगर
स्याङ्जा
[९]
जिन्दगी कर्कलाको पानी भयो
बिना अर्थको नै जिन्दगानी भयो
थाहा छैन के हुने हो, यो जिन्दगी,
आगो नलागी यो मन खरानी भयो ।
सुनिता पाण्डे। घोराही १८
[१०]
उमेर हुँदै तिमी पनि फर्किएर आउनु पर्छ प्रिय
वर्ष दिनमा हर्ष सँगै बडादसैँ मनाउनु पर्छ प्रिय
तिमी एक्लै म पनि एक्लै दैलो कुरी बसेकी छु,
आऊ फर्की खाडी छोडी घरमै रमाउनु पर्छ प्रिय !
कला ढकाल
झापा दमक
[११]
चुहिने छानो झुपडीको बास गर्दागर्दै
परदेशीको फर्कने आस गर्दागर्दै
बितिसक्यो आधाजुनी बुढ्यौलीले छोयो,
आफूसँगै छौ भन्ने आभास गर्दागर्दै ।
सरिता सेढाई धादिङ
[१२]
दसैँको बेला जङ्गलमा लाइन लागेछु हे आमा !
हरायो दिनरात निद्रा मेरो जागेछु हे आमा !
अमेरीका पुग्ने टन्न कमाउने सपना बोकेर,
ज्यान बाजी लगाई मेक्सिको पर्खाल नाघेछु हे आमा!
मोति पोख्रेल
घोराही दाङ्ग।
[१३]
परम्परा नभुलेर गाऔँ नाचौँ महत्व यही
रहोस् सद्भाव आस पनि साँचौँ महत्त्व यही
केही पात्र बद्लिन्छ चाडपर्व कायम रहन्छ,
दिदीबहिनी,साथी विकृति मासौँ महत्व यही।
पृथक प्रकृति ,झापा
चाडपर्व आएपछि त कोही खुसी कोही दुखी मात्र हुन्छन्
कतै हराभरा कतै चाहिँ रुखो उजाड मरुभूमि मात्र हुन्छन्
परिस्थिति एक पात्र अनेक आआफ्नो कथा व्यथा हुनाले,
चाहेर पनि मेट्न नसकिने यो जिन्दगीमा दूरी मात्र हुन्छन्।
पृथक प्रकृति,झापा
[१४]
दसैँ तिहार आउँदा मन उदास भएको छ
सम्झेर गाउँघर झनझन उदास भएको छ
खै कस्तो रहेछ म परदेशीको भाग्य रेखा?
खुसी थोरै सिङ्गो जीवन उदास भएको छ।