
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९९ औँ शृङ्खला यही भाद्र २ गते शनिबार सम्पन्न भएको थियो।
अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
सुनेर खबर छोरा जन्मेको, खाडीमा मात्तिएँ,
पाँच वर्षै भो घर नगएको, सम्झिई आत्तिएँ ।
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
दु:ख नै नगरेर फल मिल्यो रहेछौ भाग्यमानी,
खेती कसले गर्यो छोडिदेउ कसले हाल्यो पानी ?
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[२]
बिहान साँझ आमाले भात थालमा दिउञ्जेल,
जानेको केही थिएन मैले दिएको लिउञ्जेल ।
गुणनिधि घिमिरे अमेरिका
[३]
दुखी होइन सदैव खुसी बन सित्तैमा मिल्यो फल,
धन्यवाद देऊ उसैलाई जसले गर्यो मलजल ।
त्रिलाेचन भण्डारी
मेचीनगर,१०, झापा
[४]
पाँच वर्षको चमत्कार जन्म्यो उता एउटा छोरो,
बिना बाबुको भनी सम्झन्छु कस्तो अभागी म मोरो ।
अर्जुन प्रसाद चौलागाई
रामेछाप, सुनापति-१
हाल: अमेरिका,बोस्टन।
[५]
खुसियाली मनाउनु विदेशमा पसेर,
घरमा श्रीमती रुँदैछन् पिडामा बसेर ।
दुर्गा आचार्य
मोरङ
[६]
छैन मेरो अहिलेसम्म मन अन्त गएको,
कति चाँडै बिर्सियौ खै भिडियो कल भएको ।
मन्दिरा सेढाई
मलेखु,धादिङ
[७]
कस्तो जमाना आयो बिना मलजल नै भएछ छोरो,
सपना सबै टुट्यो परदेशमा भयो ऊ एकोहोरो ।
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[८]
सधैँभरि सुखी अनि खुशी हुनु, मलाई छाडी गएपनि,
मन बुझाई बिर्सने प्रयास गर्छु, भाग्यमा रहेछ भनी।
शंकर कार्की
थाहा नगरपालिका ३ मकवानपुर।
[९]
हेर्दाहेर्दै आकाशमा उड्यो उनको विश्वास,
फर्केर आउलान् भन्ने नै मर्यो उनको आस ।
Dinesh Koirala
[१०]
तिम्रो नै अभावमा पराइले मन जितेपछि,
पछुतो बाहेक हात लाग्दैन बेला बितेपछि।
प्रभादेवी पौडेल
चितवन
[११]
मत विदेशिएकाे आजभन्दा दुईचार वर्ष पहिले,
राम्रा नराम्रा खबर सुन्दैछु छाेरो जन्मियाे रे अहिले ।
राज कुमार राजभण्डारी “खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम कालाेनी भक्तपुर
[१२]
चुरो नपुगी सुखमा नमात्तिनू,
हुनु भइगो दु:खमा नआत्तिनू ।
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[१३]
तिमी धन कमाउँदै जाऊ, मैले सन्तान कमाउँला,
केकाे चिन्ता लिन्छाै प्यारा चालिस कटेपछि रमाउँला ।
माधवप्रसाद पाैडेल
अर्घाखाँची
[१४]
छाेराे जन्म्याे न्वारन गर्न बाउकाे ठेगान चाहियाे,
बाउ काे हाे भन छिटाे नबाेली सुख कहाँ पाइयाे?
भवानी पाेखरेल ( बाबू विराज)
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
[१५]
अनौठो यो खबरले म त रन्थनमा
कल्ले छर्यो बीज पानी पार्यौ बन्धनमा ?
कमला देवकोटा, पाल्पा
[१६]
श्रीमान गयो विदेशमा कमाउन धन,
घरमा छोरो जन्मेको सुन्दा बिग्रियो मन ।
बेदु न्यौपाने
काठमाडौँ
[१७]
सोचेजस्तो जिन्दगानी त भएको छ कसको ?
यस्तै हुन्छ पैसा पछाडि कुदेका छन् जसको ।
चन्द्रप्रकाश `कमल´
तिनाउ-१,कचल,पाल्पा।
[१८]
चुरो कुरो बिगारी ठुलो कुरो किन गर्छौ ?
भनेजस्तो नभएपछि किन घृणा भर्छौ ?
टिकाराम पुन टिपु
सल्यान
[१९]
घर जान नै पाइनँ पाँच वर्षसम्म मालिकको करमा,
म नभए पनि, छोरा पाउन मेरा दाजुभाइ छन् घरमा ।
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- काँडाघारी, काठमाण्डौ
[२०]
परिवारलाई सुख दिउँला भनी म परदेश आएँ,
न पैसा कमाएँ न सँगै बसेँ उल्टै श्रीमती नै गुमाएँ ।
एस वि प्रगति प्यूठान (हाल:पाल्पा)
[२१]
साँझका पाहुना देउता भनी बास दिएँ,
आउँ आफैँ फैसला गर म पनि आत्तिएँ ।
पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[२२]
विडम्बना बिहे गरेकै भोलिपल्ट छोरो परदेश जानु,
बाध्यताको नियति छ बिचरी दुलहीले घर गरी खानु !
बिबस पारदर्शी
[२३]
बुढाले विदेशको धुपमा पसिना बगाउँछ, घर आउँदाखेरि त बुढी अर्काले भगाउँछ ।
बाबुराम पाण्डे
अर्घाखाँची
[२४]
विर्य दान लिएको हो, असत्य हुँदै होइन,
छोरो जन्माउन तिमी नै चाहिन्छौ भन्ने छैन ।
नन्दलाल आचार्य,
सिद्धार्थटोल, उदयपुर ।
[२५]
दुख जिलो गरेर हो कमाएको धन,
घर छैन , घाट छैन , घुम्छु रनबन
नागेन्द्रप्रसाद यादव , दाङ
[२६]
यस्तै यस्तै चमत्कार हुन्छ अब जतासुकै विज्ञानले थालेपछि छाउन,
पहिले नै राखेको भण्डारित स्वस्थ शुक्रकिटले सजिलो भाे छोरा पाउन ।
शुसिला शिखा
काठमाडौं कागेश्वरी मनोहरा २
[२७]
विना परिश्रमकाे फल मिल्यो कस्तो भाग्यमानी,
फुर्सदै थिएन त के गर्नु ? स्वीकार आफ्नै ठानी।
मित्र उराठी गाैतम
तिलाेत्तमा-२,रुपन्देही
[२८]
छोरा विदेशमा बस्दैछ, नाति नेपालमा जन्मेको,
हर्षले मन यो थामेन, विपना मैले के भन्नेको।
एवाइ प्रभात
सहिदभुमि३,छेन्ताङ धनकुटा
[२९]
सफा सुन्दर र प्रिय हुनुपर्ने मान्छेको ज्ञानले भरिएको मन,
मान्छे बस्ने ठाँउ फोहर भयो बरु सफा छ जनावर बस्ने वन !
पवन कुमार बुढाथेाकी
काठमाडौं
[३०]
तिमी गएपछि तिम्रो त्यो सुन्दर सहर,
ओइलिएर मरेका हुन् मनका रहर !
आर्त अकुलीन, कैलाली
[३१]
पसिना बगाउँछौ तरतर सम्झेर आफ्नो घर,
धानेकि छ पियारीले घर बिथोल्ने कुरा नगर ।
ध्रुव श्रेष्ठ, खोटाङ वजार,
हाल नरेफांट,काठमाडौ ।
[३२]
घर भाड्ने छिमेकी वरपर थुप्रै छन् कसैको कुरा नसुन,
मेहनतले काम गर भन्नेले जे जे
भनुन् नछोड है धुन ।
चिरञ्जीवी श्रेष्ठ,
धनकुटा ।
[३३]
लगाएर आएको थिएँ भरोसाको प्याड,
दुस्मनले बिउ छरेछ किचोलेर ब्याड l
बाबुराम गौतम, गुल्मी
[३४]
रहेछ कि हामी दुवैको मायामा खोट,
पाँच वर्ष हराउँदैमा दियौ है चोट ।
सुस्मिता पौडेल अधिकारी , काठमाडौँ
[३५]
म मात्र हो कि मायामा तड्पिने,
तिमी किन हो यसरी भड्किने ?
Krishna Ghimire
[३६]
तिमीलाई भनी साँचेको माया मेटौँ कि सङ्गालौँ,
अर्काको नासो त गलाको पासो किन पो अङ्गालौँ ।
अनमोल चन्द्र राई
दार्जीलिङ
[३७]
किलो दाम्लो छोड्या छैन पाखा भित्ता चरेको,
पाँच वर्षमा घर आउँदा छक्कै परेको ।
पद्मा पाण्डे
पथरी मोरङ
[३८]
समयमा घर पुगेनौ, गल्ती ठुलो भयो,
मुख देखाउनै लाज भो, इज्जत नै गयो ।
बिके मुखिया
दार्जीलिङ, भारत।
[३९]
बुढेसकालमा हाम्रो पनि काँध थाम्ने छोरा भयो खुसीले छौँ गदगद,
चार महिनाको हुँदा छोडेर आइयो अब त ठुलो भैसके छन् सायद।
कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[४०]
मैले सम्झाएकी थिएँ तिमीलाई राम्रो घर गर,
तिमीले मानेनौ बाबु बेगर छाेरा पाउन डर ।
कल्पना भण्डारी
सिन्धुपाल्चोक , हाल काठमाडौँ
[४१]
घर सम्झँदै, विदेश मै बस्छु रोई,
देश र आमाको माया आँसुले धोई।
होम प्रसाद नेउपाने
धरान,सुनसरी।
[४२]
पसिनाकाे कमाइ सम्झिँदै परदेशमा रमाइयाे,
सुनेर खबर साताे उडाउने पुर्पुराे समाइयाे ।
ताराप्रसाद चापागाई
धुनिबेसी ।
[४३]
विकृति आयो समाजमा पैसाले धेरै मात्तिएर,
के गर्नु र हुने कुरा भइसकेपछि आत्तिएर ।
बूढानीलकण्ठ , काठमाडौँ
[४४]
छाडी तिमी विदेश गयौ, मेरो बेहाल भयो,
सावाँसँग ब्याज मिल्यो भन तिम्रो खै के गयो ।
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[४५]
घर बसौँ खान्कि छैन चुहुने छ
छानो,
खाडी हिँड्यो बुढो कसरी जुटाऊ मानो ?
चुडामणी देबकोटा
चनपा १३ काठमाडौ
[४६]
वर्षौं बितिसकेछ खाडीमै स्वर्णिम सपना बुनेर,
खुशीसँगै तर्सिएँ सुत्केरी बुढीको खबर सुनेर ।
राजेन्द्र प्रधान ‘पासा’, दार्जीलिङ ।
[४७]
सबै कुरा थाहा पाई बुझ पचाउने,
कुरा सानै त हो किन ठुलाे बनाउने ?
भाेला मान बर्देवा धरान ८ सुनसरि
[४८]
देखेको थिएँ खेतबारी गोड्न खेताला लाएको,
म छु विदेशमा कसरी प्यारी त्यो छोरो पाएको ?
नवशिला,
बेलबारी-२,लालभित्ती,मोरङ।
[४९]
लाग्छ साह्रै घर परिवार अनि ती साना छाेराछाेरीकाे नै पिर,
कस्तो रहेछ बरै के गर्ने मेराे याे अभागी कर्महारा तक्दिर।
सहयात्री शाेभा अर्याल
बुटवल रुपन्देही नेपाल
[५०]
खै कुन्नी कुन बीउ पुगेछ ?
सम्झी ल्याउँदा शिर नुगेछ ।
प्रेम थापा “मन”बागलुङ
[५१]
छिट्टै आउँनेछु धन ल्याउँछु प्रिया घर सम्हाल,
मन र घर थाम खेताला खाेजी इज्जत नफाल ।
रामकृष्ण रिजाल
बागलुङ
[५२]
बाध्यताले ठेलेर हुत्याउँदा खाडीमा पति,
स्वास्नीले छोरो पाई घरमा निको छैन गति ।
अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[५३]
जहाँ जादा पनि सन्तानको हुने पिर,
बस्छु विदेशमा तर मन छैन थिर।
दुर्गा भट्टराई
मोरङ
[५४]
सबका छोरा विदेश गए धन कमाउन मेरो अलि सानै भयो,
देख्छु सबै चालीस कटेपछी रमाएको मेरो इच्छा बेकार गयो ।
यामनाथ आचार्य, पर्वत
[५५]
विदेशमा श्रीमान गएका पैसा कमाउन,
श्रीमतीले थालिन् छाेराे जन्माएर रमाउन ।
शोभा आचार्य गौतम
काठमाडौँ

