
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (३५ औँ) शृङ्खलाका लागि लघुकथाकार यमुना प्रधानाङ्ग ‘मुना’को लघुकथा ‘डर’, लघुकथाकार रोशन पराजुलीको लघुकथा ‘अन्तरङ्ग’ र लघुकथाकार शिव कुमार रेग्मीको लघुकथा ‘पर्याप्त’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१)
लघुकथा : डर

यमुना प्रधानाङ्ग’मुना’
श्याम र हीरा शनिवारका दिन एउटा साहित्य कार्यक्रममा भाग लिन जाँदै थिए ।
श्यामले भने- “हाम्रो देशमा के भइरहेको छ हँ ? दिनहुँजसो एउटा न एउटा घटना भइरहेको छ, बाहिरिइरहेको छ।”
“हो भन्या ! समाचारमा कहिल्यै राम्रो कुरा सुन्न पाइएको होइन ।” हीराले भने ।
“देश समृद्धिको बाटोमा जाने आशामा त्यति धेरै व्यक्तिहरूले ज्यानको आहुति दिए । कतिका सिन्दूर पुछिए । कतिका काख रित्तिए, कति बेघर भए ।” -गफिँदै हिँडिरहेका उनीहरू कार्यक्रम स्थल पुगेको पत्तै पाएनन् ।
कार्यक्रम स्थलमा अगाडि नै पुगिसकेका कवि रमणले ‘नमस्कार साथीहरू !’ भन्दा पो उनीहरू झसङ्ग भए ।
“नमस्कार !” भन्दै दुवै खाली कुर्सी भएतिर लम्किए ।
“हैन साथीहरू ! तपाईँहरू निकै गफिँदै हुनुहुन्थ्यो । मैले टाढैबाट नियालिरहेको थिएँ ।” -रमणले भन्यो ।
“के हुनु नि ! देशको बेथिति, दुरावस्थाका बारेमा कुरा गरेको ।” -हीरा अगाडि बोल्दै गए- “छिमेकी देशले दिएको पीडा आफ्नो ठाउँमा छ । रोटीबेटीको सम्बन्ध भन्दै बेलाबखतमा चिप्लो घस्दै आफ्नो फाइदा उठाइरहेको छ । अहिले त त्यहाँका महान् साहित्यकार भनाउँदा, सञ्चारकर्मी, हुँदाहुँदा कथित धर्मगुरु समेतले पनि उनीहरूको देशबाट हाम्रो देश टुक्रिएको भन्दा हाम्रो मन मान्छ ?”
“हो ! तपाईँहरूले मनासिब कुरा गर्नुभयो । अहिले हामी जनता, नेता, सरोकारवालाहरू वाह्य हस्तक्षेपबाट आफ्नो देशको रक्षा कसरी गर्ने भन्ने बारेमा लाग्नुपर्ने बेलामा देशलाई भित्रभित्रै धमिराले खोक्रो पारिसकेका चाङका चाङ भ्रष्टाचारीहरूको फाइल खोल्नमा अल्झिनुपरेको छ । बलात्कारी, भ्रष्टाचारी, तस्करहरूलाई त फाँसीको सजाय दिएमात्र हाम्रो देश उँभो लाग्ने थियोे ।” -रमणले भन्दै गर्दा कार्यक्रममा आएका सबैले समर्थन जनाउँदै एकै स्वरमा भने- “हो, हो !”
त्यो सबै सुनिरहेको नजिकैको एउटा पाको व्यक्तिले भन्यो- “तपाईँहरूलाई थाहा छ कि छैन कुन्नि ! हाम्रो देशको धेरैजसो भूभागहरू त बेचिसके । भोलि कतै सबै बेच्ने हुन् कि भन्ने पो डर भो !”
“हो, डर भो ! हो, डर भो !” भन्दै श्यामले मस्त निद्राबाट आँखा खोल्दा बिहानीलाई धुम्म बादलले छोपेको थियो ।
वीरगञ्ज, पर्सा
हाल इमाडोल, ललितपुर
२०८०/०४/१२ गते शनिवार
२)
लघुकथा : अन्तरङ्ग

राेशन पराजुली
“उठ्न भन्या उठ् !”
“हैन ! किन बाेल्दैन याे, के भयाे ?”
ऊ अनुत्तरित भावमा शून्यमा हरायाे । छेवैमा मौन शरीर तेर्सिएकाे थियाे । रत्तिभर हलचल थिएन ।
“खै के भयाे ? कसलाई बाेलाउने ?” -ऊ आफैँ असमञ्जसमा पर्यो । छेउछाउमा कसैलाई देखेन । फेरि चिच्याउँदै उसलाई झक्झकायाे तर हलचल भएन । अनायासै अश्रुधारा बहिरह्याे ।
“ए ! उठ्न भन्या, ढिलाे भयाे । हेर, बाआमालाई तर्पण दिनुपर्छ, दुईभाइ भएर ।”
“उठ्न काले ! एकपल्ट बाेल्न ! अनि फिस्स हाँसिदे । मेराे मन पनि हल्का हुन्छ, उठ्न भाइ !” -उसले भाइलाई काखमा राखेर फेरि झक्झकायाे ।
“हँ दाइ ! के भयाे ? हजुर किन चिच्चाएकाे ?” -उसले दाजुलाई प्रतिप्रश्न गर्यो ।
“मलाई त ! बाआमाले बिच बाटोबाटै फर्काउनु भयाे, हजुर चिच्याएकाे सुनेर ।” उसले उठेर दाजुका आँसु पुछिदियाे र भन्याे- “दाइ ! म मरेको छुइनँ ।”
बरगाछी, धरान।
१७/०४/२०८०
३)
लघुकथा : पर्याप्त

शिव कुमार रेग्मी
सीमा क्षेत्रमा लडाइँको स्थिति बनेपछि रेग्मी छुट्टी घटाएर कार्यक्षेत्रमा फर्कनुपर्ने भयो। केही समय भित्रैमा नयाँ जिन्दगीलाई यस संसारमा ल्याउन लागेकी प्रियाको नजिकै पुगेर रेग्मीले चिन्तित स्वरमा भन्यो- “प्रिया ! म जानैपर्ने भयो तर तिमी यस्तो हालतमा एक्लै कसरी बसौली ?”
प्रियाले सान्त्वना दिँदै भनिन्- “नेपाल आमालाई अहिले हजुरको खाँचो छ । यो त एउटा सैनिकको बच्चा हो । म सैनिकको श्रीमती । हामी दुवै योद्धा हौँ । म एक्लै पर्याप्त छु, यस लडाइँलाई जित्न । हजुर जानुस् र विजय भएर आउनुस् ।”
पोखराथोक, पाल्पा