‘जलन´ लोकार्पण कार्यक्रम सभ्य रूपमा सम्पन्न ।

  • २८ श्रावण २०८०, आईतवार १७:४६ मा प्रकाशित
  • साधना साहित्य मञ्चद्वारा आयोजना गरिएको सोही संस्थाका संस्थापक तथा अध्यक्ष एवम् कुशल स्रष्टा गणेश खड्का (असन्तुष्ट जलन) द्वारा लिखित पहिलो एकल कृति `जलन´को लोकार्पण साउन २७ गते शनिबारका दिन सर्वनाम थिएटर हलमा सभ्य,शालीन कार्यक्रमका बिच सम्पन्न भएको छ।

    कपुरकोट टिभी,नेपाली साझा मञ्च साउदी अरब र हिमालयन दृष्टि अनलाइन पत्रिकाद्वारा प्रायोजन गरिएको उक्त समारोहको सभापतित्वमा संस्थाकी उपाध्यक्ष अजिता दाहाल `क्रान्ति´ रहनुभएको थियो।  वरिष्ठ कवि,मदन पुरस्कार विजेता,सम्माननीय व्यक्तित्व  डा. नवराज लम्सालज्यूको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको उद्घाटनमा दीप प्रज्वलनगरि राष्ट्रिय गानबाट देश सम्झिँदै मञ्चासीन व्यक्तित्वज्यूहरूले साथ दिनुभएको थियो । विशिष्ट अतिथिहरूको आसनमा वृहत्तर महाकाव्य चन्द्रयुगका महाकाव्यकार तथा दर्जनौं  सफल कृतिकार सम्माननीय व्यक्तित्व चन्द्र प्रसाद न्यौपानेज्यू, वरिष्ठ कवि अर्जुनकुमार न्यौपाने `गोगने´ज्यू,अग्रज मुक्तककार रुद्र अधिकारीज्यू, कवि वीरेन्द्र नेपालज्यू रहनुभएको थियो ।कृतिकार असन्तुष्ट जलनज्यू समेतबाट सुशोभायमान मञ्चलाई संचालन गजलकार आँचल कुमार शर्माज्यूले गर्नुभएको थियोे ।

    कृति प्रकाशनमा अहम् भूमिका खेलेर कृति प्रकाशन गर्नुहुने समीर प्रकाशन एण्ड मिडिया प्रा.लि. का तर्फबाट प्रकाश समीरज्यू, नेपाल गजल प्रतिष्ठानका सचिव अनजान यात्रीज्यू ,नोबेल साहित्य संस्थाका संस्थापक राजनप्रसाद न्यौपानेज्यू, मधुवन गोधूलिको साथीका संस्थापक अध्यक्ष गणेश बाबु अधिकारीज्यू, वरिष्ठ कवि तोयानाथ सुवेदीज्यू,वरिष्ठ कवि गायत्री चापागाईंज्यू, कवि नारायण प्रसाद निरौलाज्यू ,अतिथिको आसनमा रहनुभएको थियो । गजल अभियन्ता सङ्गीता थापाज्यू ,गजलका नक्षत्र वसन्त ओली वसन्तीज्यू, स्रष्टा पवन कार्की, स्रष्टा सुशीला शर्मा ,लगायत विभिन्न साहित्यिक व्यक्तित्वज्यूहरू , मिडियाका साथीहरू पत्रकार मित्रहरूको आतिथ्यले उक्त प्रेक्षालय खचाखच थियो।

    समारोहमा प्रमुख अतिथि , विशिष्ट अतिथिज्यूहरूबाट कृतिकार असन्तुष्ट जलनज्यूले तैयार पार्नुभएको `जलन´ नामक कृतिको घुम्टो उघारिएको थियो अर्थात् कृति विमोचन गरिएको थियो ।अनावरण भएको कृतिमाथि सयपत्री केलाझैँ केलाएर विशिष्ट अतिथि रुद्र अधिकारीज्यूले समीक्षा गर्नुभएको थियो।

    समीर प्रकाशन एण्ड मिडिया प्रा.लि. का तर्फबाट प्रकाश समीरज्यूले सर्जकको हौसला वृद्धि गर्ने उद्देश्यले प्रकाशकको तर्फबाट कृतिकार असन्तुष्ट जलनज्यूलाई सम्मानपत्र द्वारा सम्मान गर्नुभएको थियो भने कृतिकारले विगतदेखि वर्तमानसम्मको साहित्यिक यात्राका स्मरण गर्दै आफ्नो मन्तव्य सहित सङ्ग्रहबाट केही मुक्तक वाचन समेत गर्नुभएको थियो।

    विशिष्ट अतिथि चन्द्रप्रसाद न्यौपानेज्यू र विशिष्ट अतिथि अर्जुनकुमार न्यौपानेज्यूले कृतिमा केन्द्रित रहेर कृतिकारलाई सुझाव,हौसला र मार्गनिर्देश गर्दै आ आफ्ना महत्त्वपूर्ण मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने कृतिकारको सम्मानस्वरूप कृतिभित्रबाट दीक्षा भण्डारी ,गणेश बाबु अधिकारी ,पवन कार्की, रीता दाहाल, वसन्त ओली वसन्तीज्यूहरू वाचक रहेर मुक्तक वाचन गर्नुभएको थियो।

    प्रमुख अतिथिज्यूलाई दोसल्ला ओढाएर कदरपत्रसहित सभापतिज्यूले सम्मान गर्नुभएको थियो।प्रमुख अतिथिज्यूबाट विशिष्ट अतिथिज्यूहरूलाई मायाको चिनो प्रदान गरिएको थियो साथै वाचकहरूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।मायाको चिनो प्रदान गर्ने क्रममा कार्यक्रमलाई सहजीकरणमा भूमिका निर्वाह गर्नुहुने रीता दाहाल र साइमना श्रेष्ठ ,रचिता दाहाल,उमा दाहाल,सिद्ध समर्पणज्यूलाई मायाको चिनो प्रदान गरिएको र कार्यक्रम प्रस्तोता आँचल कुमार शर्माले मायाको चिनो ग्रहण गर्नुभएको थियो।

    साहित्य समाजको दर्पण हो ।साहित्य लेख्दा हृदय फुटाएर लेख्नुपर्छ।चित्रमाथि साहित्य होइन साहित्यले संसारलाई चित्रित गर्ने सामर्थ्य बोक्नुपर्दछ।एक सर्जक साहित्यप्रति इमानदार भएर प्रस्तुत हुनु आवश्यक छ ।दृश्यमा निश्चित वस्तुमात्र समावेश हुन्छ तर अदृश्यमा संसार लुकेको हुन्छ ।सगरमाथाको शिखरमा पुग्ने दौडमा कञ्चजङ्घाको सौन्दर्यलाई ओझेल पार्न नहुने जस्ता अत्यन्त मननयोग्य सुझाव प्रवाह गर्दै कृतिकारलाई बधाई ज्ञापनका साथ प्रमुख अतिथिज्यूले आफ्नो महत्त्वपूर्ण मन्तव्य राख्नुभएको थियो भने सभापतिद्वारा सभा विसर्जन गरिएको थियो।

    Leave a Reply