कविता- मेरा बा

  • २१ श्रावण २०८०, आईतवार ०७:११ मा प्रकाशित
  • बसुन्धरा चौहान सुनिता

    कविता- मेरा बा

    ✍️ बसुन्धरा चौहान सुनिता

    मेरा बा गरिब
    झुत्रे झाम्रे कपडामा
    तर
    मनका असाध्यै धनी हुनुहुन्थ्यो ।

    सबैले झुत्रे बा भन्थे
    फोहोरी डङ्डङ्ग
    पसिना गनायो भन्थे
    मलाई अत्तरको सुगन्ध भन्दा
    बाको पसिनाको गन्ध मन पर्थियो।

    फोहोरी थिएनन्
    मेरा बा
    कसैसँग बेइमान गरेका थिएनन्
    ईमानमा चुक्दैन थिए
    मेरा बा।

    चाडबाड आयोकि
    मेरा बाको
    पैसाको कारण
    टाउको दुख्थ्यो
    बिस्तारै आफै मालिस गर्थे
    चाडबाडमा गाउँको महाजनसँग
    ऋण माग्न जानुहुन्थ्यो
    तर
    निराश भएर फर्कनुहुन्थ्यो!
    जानू बाध्यता थियो
    मेरा बाको
    तर पनि
    जान्थे अनि निरास हुँदै
    खाली हात फर्कन्थे
    बिचरा मेरा बा
    हाम्रो लागि हरेक पटक झुक्थे
    बाको त्यो झुकाइ भित्र
    आत्मग्लानी त छँदै थियो
    अनि बाध्यता पनि!
    ऐले सम्झन्छु
    कठै
    मेरा बा।

    आङका कपड़ा कैले फेरेनन् बाले
    टाल्दा टाल्दा टाल्ने ठाउँ
    सकिएको थियो
    र पनी
    हार मान्दैनथे
    मेरा बा।

    एक दिन बा हराए
    हामी सानै थियौँ
    कहाँ गए-गए
    कयौ महिना हराए बा
    एकदिन
    चाडको मुखैमा पल्लाघरे काकालाई
    पैसा पठाए
    परदेश गएको
    बल्ल थाहा भयो
    साथमा एक चिट्ठी पनि थियो
    छोराछोरीलाई
    राम्रा कपडा किनिदिनु प्यारी लेखेको
    मीठो मसिनो बनाएर खुवाउनु
    छोरा छोरी रोलान
    रुवाउनु हुन्न
    जे जे माग्छ्न किनिदिनु
    म महिनै पिच्छे पैसा पठाउनेछु
    मेरा आँखा रसाएको
    मैले पहिलो पटक
    त्यही दिन जानेकि थिए।

    स्कुल पढ्ने
    हैसियत नभएका हामी
    बोर्डिङ पढ्ने भयौँ
    बा बेचिएका थिए
    हाम्रा सपना किन्न
    खुसी किन्न
    बन्धक भएका थिए
    परदेशमा
    मेरा बा
    चाडबाडमा
    कैले फर्कियेनन्
    बर्सौं बा कापार्सल हेर्दै
    रमाउँदै चाड मनाउँथ्यौ हामी।

    जब काम गर्न सकेनन
    अनि
    एक दिन बा फर्किए
    क्यान्सर उपहार लिएर
    बाको दु:खले हामी खुशी भएको
    बल्ल थाहा भो
    एकदिन बा हिड्दा हिड्दै ढले
    बा थला परे
    न भोकै न निन्द्रा भो
    उपचार कहिं भएन
    धेरै प्रयास गर्‍यौँ
    हामी चुपचाप हुन बाध्य भयौँ
    धेरै गलेका
    मेरा बाको शरीरले आराम चाहन्थ्यो
    मेरा बा चितामा पुगे
    मेरा बा जिउँदो हुँदा गरिबीले घोच्यो
    चितामा बाँसले
    बा बोलेनन बोल्दै बोलेनन
    ऐयासम्म भनेनन् ।

    संस्कार सिकाएका
    हात पकाडेर हिड्न सिकाएका
    मेरा बालाई
    मैले आफ्नै हातले आगो सल्काएकी थिएँ
    कति प्यारी थिए
    बाका लागि म
    तर
    म रुँदा नरोसम्म भनेनन्
    बाले
    निर्दयी भए मेरा बा।

    परदेश हुँदा चिट्ठी
    पैसा खाने कुरा
    पठाउने बा
    सधै फर्किएर आउँलान झैँ लाग्थ्यो
    आउँलान भन्दै
    बाटो दिनहुँ हेरें
    कैले आएनन्
    न चिट्ठी आयो
    न खबर
    बा रिसाएका रहेछन्
    मसँग
    तेसैले त आजसम्म वा फर्किएर आएनन्
    आज बुझें मेरा बा कहिल्यै आउँदैनन्
    कुनै चाडमा आउँने छैनन्
    फेरि छोरी भनेर बोलाउने छैनन्।

    म बाको बेड सुम्सुम्याएर बस्छु
    घच-घच्याउँछु अहँ बा सुन्दैनन्
    म आफै के भए मलाई थाहा छैन
    बालाई दागबत्ती दिएका यि हातले
    बालाइ खोज्नु मेरो मुर्खता थियो
    म भकान्नीए कराए
    ए बा !… ए बा!… ए बाबा !


    गौरादह न पा वार्ड न २ झापा।
    हाल काठमाडौं ।

    Leave a Reply