
साताको तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (३० औँ) शृङ्खलाका लागि लघुकथाकार गोपालप्रसाद थपलियाको लघुकथा ‘झिँगा’, लघुकथाकार समीर पाख्रीनको लघुकथा ‘अबको कदम’ र लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘योगदान’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१)
लघुकथा : झिँगा

✍️ गोपाल प्रसाद थपलिया
“हजुर जस्तो मान्छे किन चुपचाप बस्नु भो शिव दाइ ?” जीवनले सोधे।
“त्याग र वलिदान हरायो। क्रान्तिकारी मूल्य र मान्यता हरायो । कसरी पैसा कमाउने र चुनाव कसरी जित्ने र मोज गर्ने योजना बाहेक भित्र अरू कुरा केही हुँदैन । बाहिर जनताको सेवा गर्ने भाषण गरेपनि भित्र त कमिसनको लागि बार्गेनिङ चल्छ ।” शिवले भने।
“ठूलाठूला भनिएका मान्छेहरू त देशको विकास र जनताकै कुरा मात्र गर्छन् । तर सही काम केही गर्दैनन् । यसो भन्नु चाहिँ उनीहरूको बाध्यता हो । उनीहरू बच्नु छ नि ।” जीवनले भने ।
“जीवनजी ! तपाई पनि निःस्वार्थ रूपले सामाजिक सेवामा लागेको व्यक्ति, विदुर पनि तपाईसँगै सामाजिक सेवामा लागेको व्यक्ति । आज ऊ कति धनी भयो र तपाई किन धनी बन्नु भएन ? मेरो कुरा यहीनेर हो ।”
“मैले के भन्नुपर्छ र ? मलाई पनि उहाँलाई पनि सबैले देखेकै छ, भोगेकै छ । म आफ्नो उद्देश्य के हो त्यही अनुसार काम गर्छु । मेरो व्यक्तिगत उहाँसँग लिनु दिनु केही छैन । अब सबै कुरा जनताले फैसला गर्ने कुरा हो यो, शिव दाइ ।”
“कुरा त ठीकै हो । तर जनता पनि दुई भागमा विभाजित छन् । स्वार्थी र निस्वार्थी । यो कुराले धेरै समस्या ल्याएको छ, जीवनजी ।”
“शिव दाइ ! हामीले मात्र बुझेर नहुने रहेछ । हामीले त अलिअलि बुझेकै छौ । तर सबैले बुझेको रहेनछ । नबुझेको हो कि बुझेर बुझ पचाएको हो ? त्यो थाहा हुन पनि त पर्खनु सिवाय अरू केही छैन ।”
“मैले त के बुझेको छु भने जीवनजी ! कमिसनको चक्करमा परेकाहरू आफू पनि राम्रो काम गर्दैनन् र अरूले गरेको असल काम पनि सहँदैनन् ! सबै ठाउँका इमानदारहरूको विरोध गर्छन्, यिनीहरू ।”
“शिव दाइ ! आफू सोझो उभिएपछि छायाँ बाङ्गो भएर हामीलाई कसैले केही गर्न सक्तैन । समाजको सकारात्मक परिवर्तन हाम्रो उद्देश्य हो ।”
“तपाईको कुरामा मेरो कुनै आपत्ति नै छैन । तर मैले देखेको गम्भिर समस्या भनेको हामीसंँग शुद्ध मह छ । विदेशबाट यिनीहरू झिँगा मगाउँछन् ।”
२०८०/०२/ २५ गते जेठ बिहीबार, दिनको २ बजे काठमाडौँ।
२)
लघुकथा : अबको कदम

✍️ समीर पाख्रिन
पारिजात कक्षमा पुरस्कार वितरण कार्यक्रमको भव्य तयारी थियो । प्रसिद्ध लेखक, साहित्यकारहरूको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा ह्वात्तै बढेको थियो । प्रमुख अतिथिको रूपमा शिक्षा तथा संस्कृति मन्त्रीको आगमन लगत्तै कार्यक्रमले गति लियो ।
केही क्षणको औपचारिकतापछि पुरस्कार वितरण कार्यक्रम अघि बढ्यो । लगातार तीनवटा बेग्लाबेग्लै साहित्य विधाका लेखकहरूको नाम उद्घोष भयो । पहिलो र दोश्रो पुरष्कृत स्रष्टाहरूले क्रमश: पचास, पचास हजार राशिको पुरस्कार र सम्मान पत्र ग्रहण गरे । तर तेश्रो पुरस्कृत स्रष्टा भने मञ्चमा भौतिक रूपमा उपस्थित भएनन् । उनको पत्र लिएर एकजना मञ्चमा पुग्यो र सञ्चालकलाई पत्र थमायो । पत्रमा लेखिएको थियो- “मेरो पुरस्कार राशि पचास हजार रूपैयाँ प्रेक्ष्यालयमा उपस्थित कवि तथा निबन्धकार श्री विपन्न जिज्ञासुलाई उनको आर्थिक अभावका कारण अहिलेसम्म प्रकाशित हुन नसकेको निबन्ध सङ्ग्रह ‘आँसुको बाढी’ प्रकाशनार्थ प्रदान गरेको छु ।”
सञ्चालकले पत्र जस्ताको तस्तै पढेर सुनाए र विपन्न जिज्ञासुलाई मञ्चमा आमन्त्रण गरे । उद्घोष सुनेर दङ्गदास उनी मञ्चमा उभिन पुगे । नभन्दै उक्त पुरस्कार राशि प्रमुख अतिथिज्यूले निज जिज्ञासुको हातमा थमाउँदै भने “हामी वर्षेनि लाखौ रूपैयाँको पुरस्कार वितरण गर्छौँ । जुन पुरस्कार जानेमानेका हातमा पर्दै आएका छन् । तर विपन्न जिज्ञासु जस्ता सीमान्तकृत स्रष्टाहरू कृति प्रकाशनबाट वञ्चित रहेछन् । यसैले म यही मञ्चबाट कृति प्रकाशन कोष स्थापनार्थ आयोजक संस्थालाई अनुरोध गर्दै पच्चीस लाख राशिको अक्षय कोष गठनार्थ रकमान्तर गर्ने घोषणा गर्दछु ।”
तालीको गडगडाहटले सभाहल लामो समयसम्म गुञ्जयमान भइरह्यो ।
२०८०/२/२४
३)
लघुकथा : योगदान

✍️ प्रभादेवी पौडेल
“हाकिम साहेब ! मेरो पनि उमेदवारी दर्ता गर्नुहोस् । सधैँ बुढो गोरुले ठाउँ ओगटे झैँ कुर्सी ओगट्ने ?” रातोदिन उनै नेताको झोला बोकेर हिँडेको चक्रेले हिम्मत गर्यो यसपालि ।
यो सुनेर दुवैका सामु उल्टै निर्वाचन कार्यालयका हाकिमले प्रश्न गरे,-“कस्तो कुरा गर्नुहुन्छ तपाईं ? ल भन्नुहोस् आजसम्म पार्टीको लागि के के काम गर्नुभयो ? र कतिपटक जेल जानुभयो ? “
“मसँग केहीवर्ष सँगै हिँड्दाको अनुभव छ, र यसैको आधारमा बनाएको नयाँ भिजन र मिशन छ ।”
“यसपालि त गरिदिन्छु भनेकै थिएँ । मात लागेछ । बरु धरौटीनै जफत होला नि ?”
“भए होस् ! जनता पनि अब चुप लागेर बस्दैनन् ।”
जसरी हुन्छ, कार्यकर्ताले पनि मासुभातको ज्याला त तिर्नै पर्यो। तै चुप मै चुप, पुरानै नेता सत्तामा पुगे । चक्रेले हारे पनि मनलाई शान्ति गरायो। प्रतिनिधि सभाको पहिलो बैठक चलिरहेको बेला एकजना व्यक्ति आएर जरुरी काम छ भनी नेतालाई बाहिर बोलायो । उनले जङ्गिँदै सोधे,- “म बैठकमा छु, भन्ने थाहा छैन ?”
“हो त्यही थाहा भएर त बोलाएको। डराउनु पर्दैन । पुरानो केस होइन । अर्को नयाँ केस आएको छ । उनीहरूले त झन् प्रमाणसहित हजुरले ज्यान मारेको मुद्धा दायर गरेका छन्।”
भरतपुर ९ , चितवन
२०८० / ०२ / २४