‘छाउगोठमा फूल’ – कविता

  • २२ माघ २०७९, आईतवार ०७:५२ मा प्रकाशित
  • ‘छाउगोठमा फूल’ – कविता
    ——————- – देवकी के.सी.
    सबैको आँखामा सजिएको
    म एक सुन्दर फूल
    आज
    समाजको कुप्रथाले
    गलहत्याएर
    कैद छु छाउगोठमा
    रजस्वला
    म जस्ता फूलको
    प्राकृतिक प्रक्रिया हो
    सृष्टिको आधार हो
    आधुनिक युगमा पनि
    अन्धविश्वासले
    जेलिएका मान्छेहरू
    रजस्वलालाई
    घृणित नजरले हेर्दै
    कैद गर्छन् छाउगोठमा
    अन्धविश्वासको शिकारले
    छाउगोठमा
    म नजरबन्द भएको बेला
    जून तिमी
    रातमा सुस्तरी चियाउन नआउनु
    किनभने
    मैले उज्यालो हेर्नु हुन्न
    झुक्किएर पनि
    बतास छाउगोठमा नपस्नु
    किनकि मैले निस्सासिँदै बाँच्नुपर्छ जङ्गली जनावर
    विषालु गोमन
    भोकाएका लाहुरे भमराहरू
    कुसंस्कारको
    मौकामा चौका हान्न
    रातमा छाउगोठमा नआउनु
    मेरो अस्मिता गिजोल्न
    यतिखेर
    म सुन्दर फूल
    प्रकृतिको नियम पालना गर्दै
    रगतले लपक्क भिजेको छु
    मेरो
    यो रक्ताम्य शरीरलाई
    समाजले अछुतो बनाएको छ
    अझैँ मैले
    केही दिन छाउगोठमा बिताउनु छ उज्यालोको स्पर्शबिना
    हावाको सुवासबिना
    गोमन
    जङ्गली जनावर
    र जङ्गली मानसिकता बोकेर
    फर्केका
    तिर्खालु लाहुरे भमराहरूको
    आहार बनेका
    आफ्ना आमाहरूको
    धमिलो ती विगत सम्झेर
    सुनेको थिए मैले
    सहरमा फूलहरू
    रजस्वला हुँदा
    केक काटेर खुशियाली बाँड्छन रे
    तागतिला भोजन गर्छन् रे
    नुहाएर सफा बन्छन् रे
    आफनै घरको बिस्तारामा सुत्छन् रे
    आमाको
    मैलो फरियाको टालो होइन
    स्यानिटरी प्याड प्रयोग गर्छन रे
    के थाह ?
    सहरिया फूलहरूलाई
    रजस्वला हुँदा
    छाउगोठमा नजरवन्द
    मृत्युसित
    मितेरी गाँसेका
    गाउँले फूलहरुको व्यथा !!

    • देवकी केसी, काठमाडौँ

    Leave a Reply