
साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार रञ्जुश्री पराजुलीको ‘हतारको निर्णय’, लघुकथाकार खगेन्द्र बश्यालको ‘तीर्थ यात्रा’ र लघुकथाकार होम प्रसाद नेउपानेको ‘शङ्का’ रहेका छन् ।
१.
लघुकथा : हतारको निर्णय

✍️रञ्जुश्री पराजुली
एउटै स्कुल, जाउआउ सँङ्गै एउटै बसमा थियो, निता र राजुको । उनीहरू पाँच कक्षामा पढ्दथे । छुट्टिको बेला टोलका केही अरू साथीसँग अनलाईन गेमहरू खेल्दथे । उनीहरू हुर्कँदै गए । नजानिँदो किसिमले उनीहरू बीच मायाको बीउ पलायो । दैवको लिला अपरम्पार भन्ने उखान चरितार्थ बन्नपुग्यो उनीहरू बीच । दुवैले यु एसमा आई.टी.मा उच्च शिक्षा प्राप्त गर्ने छात्रवृत्ति पाए । अध्ययन पूरा गरे । अभिभावकले स्वदेशमा उनीहरूको अध्ययन र क्षमता अनुसार कतै पनि मुल्याङ्कन नहुने हुनाले समुद्रपारि देशमानै बसेर करियर बनाउँन छुट दिए । दुवैको बाल्यकालदेखिको प्रेमको मुल्याङ्कन गर्दै इन्टरकास्ट नै भएपनि बिहे गर्ने स्वीकृति पनि दिए । उनीहरूले स्वदेशमै भब्य तरिकाले विवाह बन्धनमा बाँधिए । विदेशभन्दा स्वदेशमा नै आफ्नो सीपको आवश्यकता रहेको महसुस गरेर केही वर्ष विदेश बसेर फर्किए ।
दुवैको पढाइको क्षेत्र एउटै थियो । आफ्नो विषयको काम खोज्न व्यस्त भए । निताले एउटा कम्पनीमा राम्रो नोकरी पाइन् । तर राजुलाई काम खोज्दै भौतारिन पर्यो । उसले चित्तबुझ्दो काम पाएन । उसमा नकारात्मक सोचहरू पलाउन थाल्यो । सानो कुरामा पनि उनीहरू बीच झगडा सुरु हुन थाल्यो । उनीहरू सङ्गै नबस्ने निर्णयमा पुगे । पारपाचुकेको लागि निवेदन दिए ।
फैसलाको दिन बोलाएको भन्दा अगाडि नै अफिस पुगे । दुवै हाकिमको प्रतीक्षामा बसे । उनीहरू दुवैको मानसिकता उथपुथल भैरहेको थियो। आफ्नो निर्णय प्रति दुवै कताकता सशंकित भएका देखिन्थे । त्यसैबीच हाकिम आइपुगे । उनले दुवैलाई औल्याउँदै “तपाईंहरूको आखिरी फैसला सम्बन्ध विच्छेद हैन त ?”
दुवैले एक अफसमा मुखामुख गर्दै एउटै स्वरमा “हैन सर ! हामीले हतारमा निर्णय गर्यौँकि जस्तो छ । फेरि सोच्न कोसिस गर्छौँ ।” भन्दै निवेदन फिर्ता लिए ।
२.
लघुकथा : तीर्थ यात्रा

✍️खगेन्द्र बस्याल
हरिले आफ्नो छिमेकी साथी रविलाई सुनाए “म केही दिनपछि एक महिने तीर्थ यात्रामा निस्कदैछु । मेरो घरमा ख्याल पुर्याउनु होला है ।”
रविले भने,- “चारधाम तिर हो कि ?”
उनले भने,- “नेपालमै हो ।”
फेरि जिज्ञासा आयो,- “नेपालका कुन कुन तीर्थ जाँदै हुनुहुन्छ ?”
जवाफ आयो,- “तपाईंको अनुमान विपरीतका तीर्थतिर ।”
उनले भने,- “घरको कुनै चिन्ता नलिनुहोस् । निश्चिन्त रुपले तीर्थ यात्रा गर्नुहोस् । ताकि त्यसको फल सबैलाई प्राप्त होस् । तर त्योभन्दा पहिले यो त बताउनुहोस् । ती पवित्र ठाउँ कुन कुन हुन् ?”
साहित्यकार हरिको भनाइ रह्यो,- “हरेक स्रष्टाका लागि पाठक भगवान् हुन् । उहाँहरूलाई भेट्न जानु नै मेरा लागि तीर्थ यात्रा भएन र ? अनि स्रष्टा र पाठक बीचको अन्तर संवादको फल सवैका लागि फाइदाजनक नहोला त ?”
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।
०७९ पुस २६
३.
लघुकथा : शङ्का

✍️ होम प्र. नेउपाने
बाह्र कक्षा पढ्दै गरेकी छोरी बबिता, विद्यालय र ट्युसन सकेर बेलुकी साँझमा घर फर्किन् । खाना खाएर कोठामा पसिन् ।
एकघण्टा पछि वाक्क वाक्कको आवाज बबिताको आमाले सुन्नुभयो। के भएछ भन्दै आमा बबिताको कोठामा आत्तिँदै पुग्नुभयो।
“के भयो छोरी यस्तो ?” आमाले शङ्कास्पद प्रश्न उठाउनु भो ।
बबिता निःशब्द निरुत्तरित रहिन् ।
आमाको मनमा काला बादलहरू मडारिन थाले । बबिताकी आमा हामफालेर बबिताको बाबाको कोठा पग्नुभयो र घटनाको बेलिबिस्तार लगाउनुभयो। बाबाको मुहार धुरीमा असिना परेजस्तै देखियो । केही बोल्नुभएन ।
बबिताको बा-आमालाई रातभरि निन्द्रा परेन। बिहान दुवैजनाले बबितालाई केरकार गर्न थाल्नुभयो ।
“नढाँटी भन छोरी, कोहीसँग नचाहिँदो सम्बन्ध राख्यौ कि ? तिमीलाई गाली गर्दैनौँ । बरु सम्बन्ध बिस्तार गरौँंला ।” बा-आमाले नम्र शब्दमा प्रश्न राख्नुभयो ।
“मैले त्यस्तो कुनै गल्ती नै गरेको छैन, बाबा, मामु ! ममाथि यस्तो नसचोच्नुस् न हजुरहरूले” विनयपूर्वक बिन्ति बिसाइन् बबिताले।
“त्यसो हो भने हिँड, जाँचगर्न हेल्थपोष्ट जाउँ। दुधको दूध, पानीको पानी भइहाल्छ ।” बाबाले भन्नुभयो बबिता ,बोलिनन्, बा-आमाको पछि लागिन्।
बबिताको सबै जाँचको रिपोर्ट आयो। शङ्का गरेको परिणाम देखिएन । डाक्टरले एउटा औँषधि खान दिनुभयो । बा-आमाको मन भने अझै सङ्लिन सकेको थिएन ।
घरमा आइपुगेपछि फेरि बबिताले वाक्क वाक्क गरेर मुखबाट केही बस्तु निकालिन् ।
बबिताको बा-आमाले उक्त वस्तु कोट्याएर ठम्याउँदा त, कपालको गुजुल्टो पो रहेछ ।
धरान,सुनसरी
०७९/९/२९

