शुक्र मोक्तान

साउदीअरब-रियाद/ नेपाली यूवाहरूको लागी वैदेशिक रोजगारको गन्तव्य मुलुक मध्ये प्रमुख मुलक साउदीअरब पनि एक हो ।१३ वटा प्रान्तीय शासन व्यवस्था रहेको साउदी अधिराज्यको पूर्वी प्रान्त प्रमुख औद्योगिक शहर भएकै कारण पनि त्यस प्रान्तमा अत्यधिक श्रमिक जनघनत्व रहेको छ भने बाँकी अन्य विभिन्न प्रान्तहरूमा कार्यरत छन्। पछिल्लो तथ्यांक अनुसार हाल साउदीअरबमा ४ लाख भन्दा अधिक नेपाली श्रमिकहरू कार्यरत रहेका छन्।
सुखद भविष्यको सपना बुनेर साउदीअरबमा पसिना बेच्न आएका नेपाली श्रमिकहरू मध्ये २०२२ को वर्ष दिनमा मात्रै १ सय ९७ जनाको ईहलिला समाप्त भएका छन्। जस मध्ये रियाद स्थित रहेको नेपाली दूतावासको पहलमा १ सय ७९ जना श्रमिकको शव आफन्तलाई बुझाई सकेको छ।जसमा विभिन्न कारणले अवैध रूपमा काम गरिरहेका ६ जना श्रमिकहरूको पनि शव रहेको जनाएको छ।
स्वदेश पठाईएको शवहरू मध्ये २६ जनाको मृत्यु आत्माहत्याका कारण भएको आधिकारिक स्वास्थ्य संस्थान बाट उपलब्ध गराएको कागजातमा उल्लेख गरिएको छ। स्रोतका अनुसार उक्त १ सय ७९ जनामा ३० जना सडक दूर्घटना, ७ जना सासप्रस्वासमा कठिन हुने गरी गुम्सिएर र ७ जना कार्यक्षेत्रमा दुर्घटनाका कारण मृत्यु भएकाको शवहरू रहेको थियो ।
त्यस्तै हृदयघात, विद्युतिय झट्का, डुवान र उचाई बाट खसेर १/१ जनाको मृत्यु भएको थियो भने २ जनाको हत्या र १२ जनाको मृत्यु कारण पत्ता नलागेको अवस्थाको थियो । अन्य भने प्राकृतिक मृत्यु भएको जनाएको छ ।
स्वदेश पठाउन बाँकी शवहरू मध्ये ४ जनाको शवको लागी नेपाली दूतावास रियादले NOC जारी गरी सकेको छ भने त्यसमा पनि २ जनाको मृत्युको कारण आत्माहत्या रहेको छ र १ को मृत्यु सडक दुर्घटना अनि अर्को १ को कारण नखुले स्रोतले जनाएको छ।
पारिवारिक समजदारीमा ६ जना नेपाली श्रमिकहरूको भने साउदीअरबमै अन्तिम दाहसंस्कार गरिएको छ। जसमा २ जनाएको मृत्यु कोरोना संक्रमणका कारण भएको थियो भने १ जनाको सडक दुर्घटना र १ को मृत्युको कारण नखुलेको जनाएको छ ।
स्रोतका अनुसार बाँकी ८ जनाको भने अनुसन्धानकै प्रक्रियामा रहेको छ जसमा पनि ३ जनाको मृत्यु आत्माहत्याको कारण हुन सक्ने आशंका गरिएको छ । तथापि आधिकारिक पुष्टि भने हुन बाँकी रहेको छ।त्यसै गरी सुखद भविष्यको सपना बोकेर साउदीअरब आएका मध्ये २०२२ मा ४ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
२०२३ को सुरूवाती २ सातामै पनि थप ५ जनाको मृत्यु भई सकेको छ जसमा पनि एक जनाको मृत्यु आत्माहत्या हुन सक्ने आशंका गरिएको छ भने आधिकारिक पुष्टिको लागी अनुसंधानकै क्रममा रहेको स्रोतले जनाएको छ ।
विगतको वर्षहरूको तुलनामा २०२२ मा आत्मा हत्याको संख्यामा धनात्मक भएको छ। आत्मा हत्या जस्तो गम्भीर कदम चाल्नुको पछाडी पारिवारिक समस्याहरू र उच्च महत्वाकांक्षा रहेको अनुमान लगाउन सकिन्छ।त्यसै गरी विभिन्न सामान्य तथा गम्भीर प्रकारको कुलतमा लागेका यूवाहरूलाई सुधार केन्द्रको रूपमा खाडी मुलुकलाई देख्ने परिवारको दृष्टिकोण पनि आत्माहत्याको प्रमुख कारण रहेको आधारहरू प्रशस्त पाईने गरेका छन् भने केही दाम्पत्य जीवनको उतार-चढावलाई थेग्न नसकी आत्माहत्याको बाटो तय गरेको देखिन्छ ।

