
काठमाडौ, २१ जेठ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३६औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ४६ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३६औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
तिमी सानो अनि म ठुलो बुझिराख जात,
भेदभाव अन्त्य भन्नु खाली हो जप्ने बात ।
✍️
वसन्त अनुभव

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
जातपातको मुद्दा बनायौ मागी खाने भाँडो,
कहिलेसम्म झेल्नुपर्ने तिम्रो यो गलगाँडो ।
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[२]
तिमी ठुलाे म सानाे जात समाजले बनायाे,
मानवता छाेडी द्वन्द्वताकाे खाडल खनायाे ।
✍️
ताराप्रसाद चापागाईं
धुनिबेसी, हाल प्रवास
[३]
सानो जातको हो भनी हेला ज्यादती बढायो
समाज अनि गाउँमा टिक्नै नसक्ने बनायो ।
✍️
बेदु न्यौपाने
काठमाडौ
[४]
कुरीति र कुप्रथालाई जसरी नि तोडौँ,
उच-नीच र ठूलो-सानो भन्ने कुरा छोडौँ ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।
[५]
एक भइसके आजभोलि नारी पुरुष जातै,
अङ्ग प्रत्यङ्ग सब साटिने रक्त सबकाे रातै ।
✍️
निरज कोइराला
बेलका १
[६]
बाहिर राम बगलीमा छुरा गर्नेहरू अघि जान्छन्,
जातीयताको कुरा झिकेर निमुखाको टाउको खान्छन् ।
✍️
गंगा खड्का
बूढानीलकण्ठ काठमाडौँ
[७]
नर अनि नारी मानिसको दुई जात,
हुँदैन गर्न अब छुवाछुतको बात।
✍️
बिके मुखिया
सिग्रीमताम बस्ती दार्जीलिङ।
[८]
मानव जातमा एक रेखा थियो कसैले कोरिदिएको,
यो युगमा ती रेखाको काम छैन, दिएको होस् या लिएको।
✍️
म्यामराज राई
भोजपुर
[९]
आखिर सबै हामी मानव हौ खै कसले बनायो जात,
कामको कारण भिन्न सोच्न छाड अब पुरानो भो बात।
✍️
शंकर कार्की
मकवानपुर
[१०]
छुवाछूत जातको समाजले बनाएको खेल,
बाहिर ठिक्क पारेर, भित्र भेदभावको भेल।
✍️
अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[११]
अन्त्य गरौँ जातीय विभेद ठूलो सानाे जात,
खानुपर्छ निर्धक्क उसले पकाएको भात ।
✍️
राज कुमार राजभण्डारी खाेटाङ्ग
भक्तपुर ।
[१२]
रगत सबैको रातो, कसको छ फरक रगत ?
जात भन्नु दुईवटा, ठूलो र सानो भन्नु फगत ।
✍️
बिके माकजु
भक्तपुर ।
[१३]
ठूलो र सानाे यो जातकाे कुरा कसले हाे ल्याएको,
मान्छेको हुन्छ रातै रगत प्रकृतिबाट पाएको ।
✍️
प्रेम कला चापागाईं ( सिटौला )
मेचीनगर -१२ झापा
[१४]
मान्छेको पहिचान पाउन बनाएको जात,
त सानो म ठूलो भन्नु मात्रै नराम्रो हो बात !
✍️
माहादेव भट्ट
दशरथ चन्द नगरपालिका 01गुरुखोला कलौन बैतडी
[१५]
न कोही ठूलो, न कोही सानो, नगरौँ भेदभाव जातको,
ठूलो होस कि सानो सबै छन् यहाँ भारी केवल भातको।
✍️
दीपक ठटाल जलन
खरसाङ।
[१६]
न तिमी ठुलो न म सानै जातको,
मिल्दैन खान सुनैसुन भातको।
✍️
होम प्रसाद न्यौपाने
धरान,सुनसरी ।
[१७]
पहिले त काम बाँड्ने निहुँमा जात छुट्यायो,
अहिले छुवाछूत र भेदभावमा हुत्यायो ।
✍️
जमुना आचार्य
सिन्धुपाल्चोक
[१८]
मान्छेमा नलगाउँ खोट यसरी ठूलो र सानो भनी,
रातै रक्त बहन्छ हेर सबमा उस्तै छ रुप् रङ् पनि !
✍️
बिबस पारदर्शी
भद्रपुर – २ झापा
[१९]
अरूमा भए यस्तो उस्तो भनी उफ्रीदै हिड्छन् बुरुक्क,
आफ्नोमा परे छुपाइ मुख लुक्दै बाटो लाग्छन् लुरुक्क ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[२०]
बनायो सामन्तीले जातको कुराले छुवाछुतमा,
अस्थिरताको जन्म दिई रजाई गर्छन् अकुतमा ।
✍️
प्रेम थापा “मन”
बागलुङ
[२१]
जातीयताको नारा लिएर किन लडाउछौ जनतालाई,
छुवाछूत कुसंस्कार हो भनी किन बुझ्दैनौ र दाजुभाई ।
✍️
बुद्धिमान दनुवार
कनकाई नगरपालिका ४ झापा
[२२]
कति तुच्छ सोच तिम्रो कहिले आउला शुद्धि,
झ्याङ्गिएला भन्दा-भन्दै झनै हराएछ बुद्धि।
✍️
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[२३]
केवल एउटै हो धर्ती, एउटै छ आकाशको छानो,
फेरि कसरी हुनसक्छ मान्छेको जात ठूलो र सानो ?
✍️
बि.कुलुङ
दार्जिलिङ
[२४]
जातपात उचनिच पुर्खा बनाई आए,
भाँडो बने यी कमाउने मौका छोप्दै गए।
✍️
मनोहरी पौडेल
गैडाकोट १ मिलनटोल
[२५]
शिरदेखि पाउसम्म उनकै सीप लाइन्छ,
उचनिच जात भनेर मुख मुख गाइन्छ।
✍️
दुर्गा आचार्य
मोरङ
[२६]
दलित हुँ भन्छौँ, स्वयम् थिच्चिएर हिड्छौँ मानसिकताले अचम्म,
भेदभाव उस्तै रहन्छ, जातीय व्यवस्था हुन्छ यहाँ जबसम्म।
✍️
अनिल खग्रास
[२७]
कति लाउँछौ नारा तिमी जातभातको,
आउ साथमै खाउँ खाना मेरो हातको ।
✍️
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ हाल- प्रवास
[२८]
सीप हाम्राे धारणदेखि पुजनसम्म चल्छ,
विडम्बना याे समाज देख्दा मुटु मेराे जल्छ ।
✍️
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[२९]
ठूलो र सानो सोचका कुरा प्रमाण बोल्दैन,
रगत रातो सबैको उही हृदय पोल्दैन ।
✍️
त्रिलोचन भण्डारी
मेचीनगर,झापा
[३०]
नसक्नेहरू टालिन्छन् भित्तैमा,
नठग्नेहरू पालिन्छन् सित्तैमा ।
✍️
कृष्ण कुमारी छेत्री
चुङथुङ टी दार्जिलिङ
[३१]
छुवाछुत हटाऊॅ भनि बाहिर भाषण गर्छन्,
दलित अगाडि देखे भने त तिनै पर सर्छन्।
✍️
सरस्वती श्रेष्ठ
[३२]
सीप चल्छ उनको सारा घरभित्र
चलेन मानव यो छ सार्है बिचित्र।
✍️
दुर्गा भट्टराई
मोरङ
[३३]
जितेको हो चुनाव पनि जातै देखाएर,
के पायौ संविधानमा कानुन लेखाएर ?
✍️
कर्ण दयाल
मेलौली नगरपालिका ७, बैतडी
[३४]
बारम्बार किन तिमीले खोपेको पाइन्छ छातीमा छुरा,
मायाप्रेम गर्नेलाई नै मारेका छौँ नगर यस्तो कुरा ।
✍️
बिनिता विश्वकर्मा बिनु
बाजुरा
[३५]
काटे रगत रातो त कुकुरको पनि आउँछ,
त्यही रगत दिएर कसले जीवन पाउँछ ।
✍️
मन्दिरा सेढाई
मलेखु,धादिङ
[३६]
मानिसले मानिसलाई गर्छ पक्षपात,
उदाहरण बुझे हुन्छ ठूलाे सानाे जात ।
✍️
केशवप्रसाद ढकाल `प्रीतबीत´
[३७[
मुखले भन्छन् न्याय कानुन किताबमा लेख्छन्,
व्यवहारले त मान्छेलाई अछुत नै देख्छन् ।
✍️
गुणनिधि घिमिरे
[३८]
प्रकृतिले अरूमा झैँ मान्छेमा पनि पाेथी बनायो,भाले बनायो,
मान्छेले आफैँ जात जातकाे विभेदकाे नियम कस्तो खाले ल्यायो ?
✍️
मित्र `उराठी´गाैतम
अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा २, रुपन्देही
[३९]
पानी चल्दैन तर चल्छ सीपहरू,
कम्मर कसौँ समाज बदल्न बरू।
✍️
सुरेशकुमार पान्डे।
दाङ घोराही१८
[४०]
समाजकाे संरचना विभेदकारी हुँदा ,
छिटाे हाल्नु पर्दछ अरे मानिसले छुँदा ।
✍️
रामकृष्ण दुवाडी
पाेखरा
[४१]
नगरौँ छुवाछूत हटाऔँ जातीय विभेद,
खटौँ संघर्षको मैदानमा जनाउँदै खेद ।
✍️
अम्विका अधिकारी
झापा विर्तामोड
[४२]
व्यवहारमा झेल्नुपर्ने उल्टा सुल्टा गाली,
तलमाथि हात राख्दैमा के बज्ला र ताली ।
✍️
गाेबिन्द लम्साल
धादिङ
[४३]
संसारमै केवल दुई जात नारी पुरुष बोलौँ,
समाजमा बसी सबैले समानताको ढोका खोलौं।
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[४४]
हिजोभन्दा आज विभेद छ कम हुँदै गएको,
छुवाछुत गर्नु हुन्न भन्ने अनुभूति भएको।
✍️
रामप्रसाद बेल्बासे ‘एक्लो यात्री´
शीतगङ्गा ५ ,अर्घाखाँची हाल: बुद्धभूमि -३, दुबिया,कपिलवस्तु
[४५]
छुवाछूत गर्ने त धेरै छन् अशिक्षित जन,
भेदभाव गर्दै हिड्ने बनाई कठोर मन ।
✍️
भगवती दवाडी ,दमक झापा
[४६]
नगरौँ कदापि जातीय विभेद,
छुवाछूत प्रति जनाएर खेद ।
✍️
राज कुमार कार्की
मे न पा १५ , झापा

