
साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को छैटौँ भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन हुँदै आएको हो ।
साप्ताहिक पञ्चाङ्ग लेखनको यस शृङ्खलाको प्रशिक्षकमा सविता के.सी. र चन्द्रावती अधिकारी रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार प्रत्येक हप्ताको बिहीबार उक्त शृङ्खला सञ्चालन गरिदै आएको छ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।
यस शृङ्खलाका लागि चित्रको संकलन सुशिला पौडेलले गर्नुभएको थियो भने समायोजन सोमनाथ लुइँटेल ‘रवि पाल्पाली’ ले गर्नुभएको थियो ।
चित्रपट

सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू
पञ्चाङ्ग ०१
मातानै जननी ममताकी खानी हुन् आमा
कहिले नबिझ्ने आँखाको नानी हुन् आमा
दु:ख सहेर लालनपालन गरेकी छौ
अशक्त हुँदा हँसिली सधैंको बानी हुन् आमा
सबैको दर्द पखाली दिने पानी हुन् आमा ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग ०२
आमा संसारको माया दिलायौ तिमीले
र ममतामा अमृत मिसायौ तिमीले
दुध र पसिनाको धारा बिर्सिने छैन
मेरा लागि कैयौं दु:ख उठायौ तिमीले
अविस्मरणीय पल गरायौ तिमीले ।
✍️प्रेम थापा “मन ” बागलुङ
पञ्चाङ्ग ०३
————–
के लेखूँ हजुरआमा नातीको कुरा कुराबुझे
कलाकारको सीपको बयान पूरा कुराबुझे
चित्रकारलाई धेरै धेरै धन्यवाद ज्ञापन
आफ्ना सन्तानप्रतिको माया बबुरा कुराबुझे
पूर्खाको मेहनत नहुने अधुरा कुराबुझे
✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
पञ्चाङ्ग ०४
आहा हजुर आमा मायाकी खानी हुन्
माटाकाे ढिस्काे पनि मायाकी रानी हुन्
चित्रकारकाे बुद्धि जहाँ पनि चित्र
आफू चाउरिएर दयाकी बानी हुन्
घामकाे प्रवाह छैन यिनी पानी हुन् ।
✍️मधुसूदन प्रसाद घिमिरे , काठमाडौं
पञ्चाङ्ग ०५
सहेर लाख कष्ट त्यो जन्मायौ आमा तिमीले
काखमा अमृत धारा पिलायौ आमा तिमीले
सकिन अामा खै सुख दिलाउन मैले कसै
पहिला मायाको पाठ सिकायौ आमा तिमीले
मेरो लागि त्यो जीवन बितायौ आमा तिमीले।
✍️निर्मला सुवेदी,जैमिनी-९, बागलुङ।
पञ्चाङ्ग ०६
सार सहेछ सन्तानको माया ।
ठूलो रहेछ सन्तानको माया ।
कोही कहिले नचिताएर पाप ,
सत्य कहेछ सन्तानको माया ।
भाव बहेछ सन्तानको माया ।
✍️आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ०७
आमा तिम्रो काख मलाई धेरै प्यारो लाग्यो सधैँ
तिमीसँग बिताउ सबै डर जति भाग्यो सधैँ
आमा तिम्रो संस्कार म कहिले पनि बिर्सन्न है
हजार बिन्ती गर्छु छोडी जाउ भन्ने जाग्यो सधैँ
पीडालाई थन्क्याउ परदेशी बाटो नाग्यो सधैँ ।
✍️अम्विका अधिकारी , विर्तामोड झापा
पञ्चाङ्ग ०८
आमाको माया अति काख प्यारो हुन्छ
नपाउनेलाई साच्चै त्यो सारो हुन्छ
कसरी बिर्सुँ आमाको माया ममता
मलाई त माया किन किन चारो हुन्छ
तिमीविना आमा आखाको तारो हुन्छ ।
✍️भवानी घिमिरे , सर्लाही
पञ्चाङ्ग ०९
अामा हुन् जननी सधैँभरि उनी,चिन्ता गरी बस्दछिन्
माया प्रेम समेत स्वच्छ मनमा,भित्रै भरी बस्दछिन्
अाफ्ना बालक जन्मिएपछि सधैँ,सन्तानका खातिर
जस्तै दुःखहरू खपेर पनि ती,वर्षा झरी बस्दछिन्
खाने अन्न नभै पुगेन छ भने,भाेकै मरी बस्दछिन्
✍️ताेयानाथ सुवेदी
पञ्चाङ्ग १०
आमा तिमी ममताको सागर रित्तिन्न कहिले पनि
सन्तानकै निम्ति दु:ख र कष्ठ उठायौ पहिले पनि
सुक्दैन तिम्रो ममताको सागर रित छ अनौठो यहाँ
ऑखाका ऑसु पिएरै सन्तान बढायौ जहिले पनि
त्यो देह सुक्यो ममताको खानी भरि छ अहिले पनि
✍️इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३ कपिलवस्तु
उपजाति छन्द : पञ्चाङ्ग ११
—————–
आमा धरा हुन् सब भोग्न सक्ने,
सन्सार सारा जग रोक्न सक्ने।
सम्झेर पीडा कति बग्छ धारा,
लुकाई आँखा कन छोप्न सक्ने।
आकाश धर्ती तल बोक्न सक्ने।।
✍️ नारायणप्रसाद निरौला, काठमाडौँ।
पञ्चाङ्ग १२
आमा जगत जननी महान माता हुन्
पसिनाका धारा बगाउने दाता हुन्
परिवार सुखको लागि मरि मेट्ने
सन्तानको सबभन्दा ठूलो छाता हुन्
अविस्मरणीय संसारकी खाता हुन् ।
✍️सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १३
सहेर लाखौँ वेदना जति जन्मायौ तिमीले
काखमा च्यापी चुसाइ दूध समायौ तिमीले
अन्मोल तिम्रो काखमा न्यानो विछ्यौना सिरानी
नखाइ खाइ हँसाइ रुदै डुलायौ तिमीले
बालकै थिए समाइ हात हिडायौ तिमीले
✍️सरिता काफ्ले कोहलपुर बाँके
पञ्चाङ्ग १४
बाँच्नको लागि पनि माया चाहिन्छ आमा
तिम्रो जस्तो ममता काहाँ पाइन्छ आमा
सन्तानको गल्तिलाई माफी गरिदिन्छौ
आमाले पकाएको खाना खाइन्छ आमा
ममताको छाँया सदैव छाइन्छ आमा
✍️चेतना पोखरेल , मोरङ
पञ्चाङ्ग १५
आमाको ममता कहिल्यै भुल्न सक्दिन म।
आमा बाहेक अरुसँगै खुल्न सक्दिन म।
आमा नहुँदाको पीडा भोग्नेलाई थाहा छ,
मेरो दिलमा अरूलाई हुल्न सक्दिन म।
आमासँग झै अरुसँग डुल्न सक्दिन म ।
✍️सुशीला पौडेल , काठमाडौं
पञ्चाङ्ग १६
आमा तिम्रो काख नै प्यारो मलाई चोखो
सहारा दिन्छ्यौ नि जीवन जलाई चोखो
काम गर्दैमा तिम्रो दिन दिनै ढल्कन्छ
सिकाउँछ्यौ कखरा बाली सलाई चोखो
कति दु:ख सहन्छ्यौ तन गलाई चोखो ।
✍️जमुना आचार्य , सिन्धुपाल्चोक
पञ्चाङ्ग १७
आमाको यादले सताएको छ मलाई।
बेला बखतमा झस्काएको छ मलाई।
आमाले दिएको उपदेश भुल्ने छैन,
मध्यरातमा नै तर्साएको छ मलाई।
विगत यादमा फर्काएको छ मलाई।
✍️ह्यारिस ह्यारीसन काठमाडौं
पञ्चाङ १८
उज्यालोमा चम्काउँला तिमीलाई तारा बनेर
तिम्रो दुःख सुखमा रमाउँला सहारा बनेर
छोरी अपमान गर्ने पितृ सतात्मक देशमा
उदाउँछु नारी हकाधिकारका नारा बनेर
सारा नेतृत्व बहन गर्छु अभिभारा बनेर ।
✍️तारा घिमिरे , संखुवासभा
पञ्चाङ्ग १९
साँवाको भन्दा ब्याजको माया भन्छन् सबैले
पुष्प फुलाउन साह्रो बाँझो खन्छन् सबैले
आफ्नो बीज जोगाउन सङ्घर्ष नगर्ने को ?
उसको भन्दा मेरो राम्रो छ गन्छन् सबैले
घाम, पानी, हुरी, बतास सहन्छन् सबैले ।
✍️सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग २०
अरु लाखभन्दा आमा काख जाती
मिठाे प्यार भित्रै साँची राख जाती ।
धर्ती जस्तै पीडा सहने आमा हुन् ,
गर्नुपर्छ अमृत भन्दा चाख जाती ।
अरु काे हाेला र यति साख जाती ?

