
काठमाडौ, २८ फागुन । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २४औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ४७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २४ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
नुन खाएपछि नुनको सोझो गर्नैपर्यो हजुर,
मह काढ्नेले हात चाट्छ कहाँनेर भयो कसुर ?
✍️ वसन्त अनुभव


