कविता : पैसा

  • २९ फाल्गुन २०७८, आईतवार १२:४१ मा प्रकाशित
  • विनिमयको माध्यम भन्थे त्यो पैसा
    तर मान्छेको जीवन पो बन्यो
    मान्छे पैसा पैसा भन्छ
    पैसा मात्र कमाउन थाल्यो ।

    हुन त नीति पनि त्यस्तै बन्यो
    घरघरमा भकारी गाउँगाउँमा सरकारी
    सहकारी पैसाको खेती गर्ने ठाउँ
    कम पैसा राखेर बढी बनाउने काम ।

    मानिस बाँच्नका लागि मात्र हैन
    जमाउनका लागि पनि पैसा चाहिन्छ
    पैसाकै लागि जीवन खर्चिन्छ र
    पैसाकै लागि जीवन सकिन्छ ।

    मानिसले सुख र खुसीको अनुभूति बिर्सियो
    आफन्तको माया र अपनत्व नै भुल्यो
    मानिसले आफू मानिस हुनुको अर्थ नै जानेन
    केवल पैसा कमाउनु र जमाउनुमा मात्र भुल्यो ।

    खानामा पैसा चाहिने, सुत्न पैसा चाहिने
    खानेकुरा र बिछ्यौनाको त अर्थ नै रहेन
    घटाघटीमा उपचार छैन पैसा चाहिने
    पैसा भए मात्र आफन्त आफ्नो पाइने ।

    शिक्षाको व्यापार चल्यो, पैसाको खेती
    माटोको व्यापार बढ्यो आकाशे खेती
    अक्षर चिनाएर पैसा लुट्छन् यहाँ
    घरबारविहीन बनाएको कमिसन लिन्छन् यहाँ ।

    जीवन बेेच्छन् र पैसा लिन्छन्
    इमानदारीतालाई पैसामा साट्छन्
    भातृत्वको खेल हुन्छ दिनहूँ
    अंशअंश टुक्र्याएर चाट्छन् ।

    लाग्छ पैसाले मात्र बनेको छ संसार
    पैसाले भोट खरिद बिक्री हुन्छ
    मैले एउटालाई हालेको भोट अर्कोलाई जान्छ
    मेरो नामको भत्ता अर्कैले खान्छ ।

    धर्ती बेचे, पानी बेचे, बेचे आमा पनि
    आफू बेचे, इज्जत बेचे, बेचे स्वाभिमान अनि
    पैसाभन्दा ठुलो कुरा आए हुन्थ्यो अब
    पैसा पनि पत्रु हुने दिने आउँथ्यो तब ।

    सविता के.सी. काठमाडौं

    Leave a Reply