साताका तीन लघुकथा

  • ५ चैत्र २०७८, शनिबार २२:३२ मा प्रकाशित
  • साताका तीन लघुकथाको नवौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका होली विशेष लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (होली, होली र जीवनको रङ्ग) छनोट गरी प्रकाशन गरिएको छ।

    [१] लघुकथा : होली

    ✍️ डा.कपिल लामिछाने
    उनी बार्दलीमा उभिएर बाहिर हेर्दै थिए । जताततै होलीको उमङ्ग देखिन्थ्यो । श्रीमतीले भनिन्– “फ्रिजमा मासु रै’नछ । तरकारी पनि सकिएछ । आज त झन् होली, मासु नभई भएन ।”

    अह्राउन–पठाउनका लागि कोही नभएकाले उनी आफैँ तयार भए । फेरि रोकिए– कसैले छेप्ने हुन् कि ! कसैले रङ्ग दलिदिने पो हुन् कि ! अनुशासन कसैमा छैन ।

    अनि फेरि सोचे– ‘कसको हिम्मत ∕ कसैले छेपे–दले भने जान्या छु नि मैले पनि !’
    वास्तवमा मानिसहरू उनीसित डराउँथे । धक मान्थे किनकि उनी धाक देखाउँथे । सधैँ त गाडीबाट आउँथे । गाडीबाट जान्थे । आज होली । ठाउँठाउँमा डोरीले बाटो छेकेर पैसा माग्छन् । उनले सोचे र पैदलै निक्ले ।

    देखे, जताततै होलीको धुमधाम छ । बाटामा रङ । दुकानमा रङ्ग । टाउकामा रङ्ग । मुखमा रङ्ग । मान्छे रङ्गीन । मान्छेको मन रङ्गीन । कतै मादलुको पक्धुम् ! कतै जोगिरा सररर … । जताततै उमङ्गै उमङ्ग । रङ्गै रङ्ग । उनी बाहेक कोही चोखो छैन । आफूलाई कसैले रङ्ग नदलेकोमा आफूलाई विजेता महसुस गर्दै अघि बढे ।

    उनी पसलसम्म पुगे । सामान किने । पैसा बुझाएर फर्के । पसलेका अनुहारमा पनि रङ्ग थियो ।
    कसैले उनलाई छेपेन । कसैले उनलाई रङ्ग लगाइदिएन । अहिले भने उनले सारै नमज्जा महसुस गरे । उनले सोचे कि म यस समाजको सदस्य होइन ?

    उनलाई बडो दु:ख लाग्यो कि, यस्तो होलीमा पनि उनलाई कसैले छेपेन । कसैले रङ्ग लगाइदिएन ! कसैले वास्तै गरेन ।
    घर पुगेर एकाएक उनले श्रीमतीलाई रङ्ग पोतिदिए । श्रीमतीले पनि उनलाई त्यसैगरी रङ्ग पोतिदिइन् । अनि उनी रङ्ग बोकेर निक्ले । भेटेजतिलाई रातो, पहेँलो, निलो, हरियो, सेतो रङ्ग पोत्न थाले – धमाधम ! ‘बुरा नमानो होली है !’
    ‘विस्थापन’बाट
    रुपन्देही

    [२] लघुकथा : हाेली

    ✍️ शेखर अर्याल
    पूर्णेका जून टहटह हुँदा प्रह्लाद आनन्द लिन कठिबद्ध देखिन्थे । हिरण्यकशिपुमा भने बेचैन बढेकाे थियाे । सत् चरित्रकाे पूजा गर्नु मूल जड थियाे ।

    “ए प्रह्लाद ! तेराे सङ्घर्षले के गर्याे ? जनताले के सुख पाए हँ ?”
    “बुबा, मेरो सङ्घर्षले अवश्य सुख पाउने छन् ।”
    “अब देख्लास्, नेपाली जनताकाे सङ्घर्ष जस्तै तेराे सङ्घर्ष ।” कशिपु भित्रभित्रै चिढिए।
    कशिपु फकाएर, लाेभ्याएर, डर त्रास देखाएर आफ्नाे पूजा गर्न लगाए । तर उनी त्यसतर्फ लागेनन् ।

    उनले भने, “हजुर राज्यको मालिक हुनुहुन्छ । नानातरहका वरदान पनि पाउनुभएकाे छ । तर आफ्नै सन्तानमाथि यस्ताे आघात किन ?”
    “आफ्नै कुलमा जन्मेर आफूविरुद्ध लाग्ने सन्तान, सन्तान हाेइन, त्याे त कुलद्राेही हाे, विभिषण जस्तै ।” कशिपुले जवाफ दिए ।

    “जनचाहनालाई दबाएर शासन गरी आफ्नाे स्वार्थ सिद्ध गर्नु राम्राे हाे ? विभिषण त सत्यवादी थिए । त्यसैले पाे विद्राेह गरे होइन र ?” उनकाे थप प्रश्न थियाे ।
    “मेरा आफन्त, सहयाेगी जसले पनि मलाई स्वीकार्दछन् । अन्य मुलुकका नन्दीभृङ्गी मेरै साथमा छन् । तँ जाबाे प्युसोले के गर्न सक्छस् हँ ? हेराैँ न तेराे तागत ?”

    “म त सत् चरित्रको भलो गर्ने असल जनका पुजारीको पूजा गर्छु ।”
    कशिपु सिंहिका बाेलाएर प्रह्लादको अन्त्य गरी आफ्नो अहङ्कार पूरा गर्न खोज्दै थिए, सिंहिका भस्म भइन् । कशिपु वम अणुवमको गुहार माग्दै गर्दा हाेलीले गति लिइसकेकाे थियाे ।
    मदाने ३, सिर्सेनी, लाम्पाटा, गुल्मी
    हाल कीर्तिपुर ढल्पा

    [३] लघुकथा : जीवनको रङ्ग

    ✍️ हिरनमयी आचार्य शर्मा
    होली खेल्नेहरूको टोली देखेर निशा चुपचाप एकै ठाउँमा उभिएको उभियै भइन् । आफ्नो श्रीमानको वार्षिकी सकिएको दुई दिन मात्र बितेको थियो ।

    घरका सबैले होलीको रङ्ग लगाए । त्यो टोलीमा भएका आफ्ना श्रीमानका साथीलाई देखेर निशाको भक्कानो फुटेर आयो । उनी विवाह भएर आएदेखि दुई साथी छुट्टिएको कहिल्यै देखेकि थिइनन् । तर समयसँगै चल्न पर्दो रहेछ ।

    ससुरा बाले निशातिर हेरेर भने -“आऊँ, तिमी पनि ! यो हरियो रङ्ग लगाऊँ । सृष्टिको प्रतीक हो, हरियो रङ्ग । जीवनको रङ्ग । यो संसारमा प्राणी भएर आएपछि जानैपर्छ । म बुढोलाई हेर, मेरो काम सकिएको थियो नि ! तर मलाई लगेनन् । भगवान साँच्चै छन् र ? छैनन् होला जस्तो लाग्छ । फेरि सोच्छु, तिम्रो केही काम लाग्ला भनेरै राखे होलान् मलाई भगवानले ।”

    “छोरी जन्मिएनन् भनेर दु:ख मान्दथेँ, म । त्यो ईच्छा पनि उनैले पुरा गरे । तिमीले समाजको आँखा अगाडि सबै कर्महरू सक्यौ । अब मेरो कर्म रहेको छ, तिम्रो पिता भएर कन्यादान गर्ने । ल ! आज हरियो रङ्ग लगाऊँ । मैले यहीँ जीवनमा केही सत्कर्म गरेको रहेछुँ भने छिट्टै रातो रङ्गले रङ्गीनेछ, तिम्रो जीवन छोरी !” भन्दै निशाका गालामा बाले हरियो रङ्ग घस्नु भयो । बाको गोडा ढोगेर हर्षित् हुँदै बिदा भए होली खेल्न आएका टोलीहरू ।
    गुवाहटी, असम, भारत ।

    Leave a Reply