
काठमाडौँ- अभिनेता पल शाहविरुद्ध नवलपरासी पूर्व जिल्ला अदालतमा बलात्कार मुद्दामा बिहीबार अभियोगपत्र दायर भएको छ। तनहुँ प्रहरी कार्यालयले पनि अनुसन्धान गरिरहे पनि नवलपुरस्थित नवलपरासी पूर्व जिल्ला अदालतमा उनीबिरुद्ध मुद्दा दर्ता भएको हो।
१६ वर्षीया नाबालिग किशोरीले दिएको उजुरीका आधारमा गत फागुन १५ गते तनहुँ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। ती किशोरीले फागुन ११ गते अभिनेता शाहबिरुद्ध बलात्कारमा तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। त्यसपछि तिनै किशोरीले उनीबिरुद्ध गैँडाकोट प्रहरीमा पनि बलात्कारमा किटानी जाहेरी दिइन्।
बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर गरेको हो।
नवलपुर प्रहरीका डिएसपी दिलीप गिरीका अनुसार अनुसन्धान प्रतिवेदन सरकारी कार्यालयमा बुझाइएको छ भने सरकारी वकिल कार्यालयले बिहीबार नै मुद्दा दर्ता गरेको छ।
शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दर्ता गरिएको हो। शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । उनलाई अभियोग प्रमाणित भएमा १२ देखि १४ वर्षसम्म कैद सजाय हुन्छ।
अहिले शाह जिल्ला प्रहरी कार्यालय तनहुँकै हिरासतमा छन्। तनहुँ प्रहरीले भने उनीबिरुद्ध मुद्दा दर्ता गरिसकेको छैन।

