टुक्का माथि टुक्काको १९औँ शृङ्खला सम्पन्न; ५४ जना टुक्काकारहरूको सहभागीता

  • १८ माघ २०७८, मंगलवार ००:०० मा प्रकाशित
  • काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १९ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५४ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १९ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    जता धन उतै बग्छ समृद्धिको कुलो,
    संसारमा धन नै हो बुद्धिभन्दा ठुलो।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    बलेकै आगो ताप्छन् रे अरूहरू मत निभेकोलाई बाल्ने गर्छु,
    सबै जना धन धन भनुन् म गरिबलाई साथ दिएर मर्छु ।

    गुणनिधि घिमिरे

    पाँचथर मोरङ हाल अमेरिका

    [२]
    धन भनेपछि महादेवको तेस्रो नेत्र भन्छन्,
    आफैँले बनाएको धनलाई किन धेरै गन्छन् ?

    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [३]
    धनको तुजुक गर्नेले बुद्धिलाई हियाउँछन्,
    धन कमाउन बुद्धिकै चोर दुलो चियाउँछन्।

    दीपक ठटाल जलन
    खरसाङ, दार्जीलिङ।

    [४]
    मुर्खहरूकै पछि लाग्दा विद्वान पनि बन्छ काँचो,
    वास्तवमा धन भन्दा नि बुद्धि विवेक नै हो साँचो!

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा-३,काभ्रे

    [५]
    काे हाे माथि खाेज्दै जाँदा धेरै बिते घडि पला,
    समृद्धिकाे धन मेराे जीवन जिउने कला।

    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [६]
    समृद्धिको धनको जति बगाए नि कुलो,
    मरेपछि जादैन बाचुञ्जेल को हो ठुलो।

    बेदु न्यौपाने
    काठमाडौ

    [७]
    सबैभन्दा जरुरी धन, आफूसँग छैन,
    धन बाहेक सबै भ्रम, अरू केही हैन!

    भूषण जंग
    नेपाल

    [८]
    देश विकासले भरिसक्यो सबै खातापाता,
    उप्काइदिने कसले होला?कुबुद्धिको गाता।

    म्यामराज राई
    भोजपुर

    [९]
    कहाँ बग्यो नेपालमा समृद्धिको कुलो?
    बुद्धि भन्दा कहिले नि धन हुन्न ठूलो।

    माधवी भट्ट
    सुर्नया ३ (बैतडी ) हाल कंचनपुर

    [१०]
    घाम हेरे घामै राम्रो जून हेर्दा जून,
    धन अनि मन दाॅज्दा ठूलो हुन्छ कुन?

    घनश्याम पौडेल
    सृजना चोक, पोखरा

    [११]
    केही चाहिंदैन धन भए सोच्नु हुन्न अरे,
    सम्पन्न हुनेका सन्तानहरू बिग्रिन्छन् भरे ।

    बिके माकजु
    भक्तपुर ।

    [१२]
    जता विद्वान उतै हुन्छ समृद्धिको कुलो,
    धन हैन विद्वान हुन्छ सबैभन्दा ठूलो ।

    सरस्वती वली
    बर्दिया

    [१३]
    कहीँ कतै देख्या छैन समृद्धिकाे कुलाे बगेको,
    जता हेर्छु उतै देख्छु जनता मात्रै पाे ठगेको ।

    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [१४]
    तिम्रो धन मेरो बुद्धि दाजौँ न त दाजै,
    कुन ठुलो कुन सानो थाहा हुन्छ आजै।

    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [१५]
    बुद्धि विवेक गुमाएर एकदम बहकिँदै,
    धनकै पछि दुनियाँ सारा आउँछ नजिकिँदै!

    बिबस पारदर्शी
    धद्रपुर न० पा० २, झापा ।

    [१६]
    धनको कुरा नगर साथी, मर्दा कहाँ लान्छौ,
    मूर्ख छौ र बुद्धि भन्दा तिमी धन ठूलो ठान्छौ ?

    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास

    [१७]
    तल पर्छ ज्ञान विवेक यस्को माथि मन,
    जाने भए मर्दासँगै, देउता हुन्थ्यो धन।

    होम प्रसाद
    सुनसरी ।

    [१८]
    धन भए सबै आफ्ना नत्र ती पराया,
    नभएमा टेडो हुन्छ आफ्नै पनि छाँया!

    कमला देवकोटा
    पाल्पा

    [१९]
    पुग्दैन हौ धन सम्पती सार्है लोभी मन,
    कसले लग्यो मर्दा सँगै कुम्ल्याएको धन?

    नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ ।

    [२०]
    धन भन्दै पछिलाग्दा बिग्रेको छ घर,
    बेलैदेखि सोच्यो भने मिल्छ सधैँ भर।

    दुर्गा आचार्य
    मोरङ

    [२१]
    मुर्ख हो भनी ठान्नु , बुद्धिभन्दा ठुलो धन गाउनु,
    मस्तिष्कले काम नगरे धन कहाँबाट आउनु ?

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [२२]
    पुँजीवादले सबैभन्दा शक्तिशाली गरायो धन,
    त्यसैले मान्छेहरूको कतै रहेन दयालु मन।

    सुरेशकुमार पान्डे।
    दाङ घोराही१८

    [२३]
    फूलले पुतलीको जीवन नर्क बनायो,
    नालीभन्दा ज्यादा देशको शासक गनायो ।

    रिजाल विनोद
    मोरङ

    [२४]
    धनले नै गर्छु भन्दै हरेक कुराको ढाकछोप,
    मान्छेको मनबाट हुँदै गयो मानवताको लोप ।

    बी.कुलुङ
    भारत (दार्जिलिङ)

    [२५]
    मान्छेलाई यो धन सम्पत्तिले बिगार्यो ,
    जिन्दगीको खेलदेखि त्यसैले त हार्यो ।

    बिक्रम तिरुवा सलिन
    तिला ३ जुम्ला

    [२६]
    समृद्धिकाे कुलाे हाेला जनता टार्ने खेल,
    कतिदिन चल्छ हाेला जनता मार्ने झेल ।

    निरज कोइराला

    [२७]
    सबैको मन बिग्रियो धनले,
    त्यही नि छोड्न मान्दैन मनले ।

    ललिता अभागी
    सुनकोशी५ सिन्धुली

    [२८]
    ज्याला मजदुरी गरेर आर्जन गरियो धन,
    बिकास समृद्धिको तर्फ नैं अडिग रह्यो मन।

    हरिनारायण चौधरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [२९]
    पाँच कक्षा फेल म त हुन पुगें नेता,
    कालो धन थुपार्दछु नपारेर सेता।

    मनोहरी पौडेल
    गैडाकोट १ नवलपुर

    [३०]
    आफ्नाले त छोडी गए धनको ढुकुटी लिएर,
    परदेशमा बाँचेको छु नसाले मुटु सिएर ।

    अम्बिका अधिकारी

    [३१]
    प्रदेशमा काम गर्छु सारा ब्यथा रोकेर,
    नरोइ बसे माया आउछु धन बोकेर ।

    संझना `कुसुम´
    कास्की गण्डकी प्रदेश

    [३२]
    धनतिर मन दिदा बुद्धि विवेक गुम्याे,
    थुपारेर जायजेथा धनकै बिटो चुम्याे ।

    रामकृष्ण दुवाडी

    [३३]
    संसारमा पुजनिय बनेको छ धनी,
    धन देख्दा तीन नेत्र शिवजीका पनि।

    मित्र उराठी गाैतम
    अमरपुर गुल्मी

    [३४]
    मूर्ख मान्छे सधैँभरि धनकै पछि लाग्छ,
    यस्तै देखी सुख समृद्धि पर-पर भाग्छ।

    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३५]
    धन , धन भनेर अन्तर्मन गुमनाम हुँदैछ,
    यही धनले सदा नै निमुखाको हृदय छुँदैछ ।

    प्रेम थापा “मन ” बागलुङ

    [३६]
    धन भए पनि शान्ति कहिल्यै भएन,
    उसकाे कठाेरपन कहिल्यै गएन ।

    भावना मञ्जु
    माेरङ

    [३७]
    पैसाकै बन्यो सिरक डसना पैसाकै बन्यो चिहान,
    यी गद्दार नेताहरूलाई कहिले नआओस् बिहान।

    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [३८]
    धन विना बल्दैन अचेल यहाँ जनताको चुलो,
    फालाफाल भो बुद्धि बजारभरि धनै भयो ठुलो।

    शम्भु लाल श्रेष्ठ
    बेसीशहर, लमजुङ, हाल रानीवन, काठमाडौं।

    [३९]
    धनसँग सम्बन्ध छ जिन्दगीको सेरोफेरो,
    मरेपछि कोही हुन्न बाचुन्जेल तेरो मेरो ।

    जि कुमार गौतम
    भद्रपुर-१ (पृथ्विनगर) झापा

    [४०]
    धनको दुरुपयोग मात्र समृद्धिको नाम बग्ने सितको थोपा,
    भाषणमा समृद्धि खोक्ने चुसी खान पल्किएका घुसियाँको छोपा ।

    राम कुमारी खडका
    तुल्सिपुर उ न पा १९ दाङ्ग ।

    [४१]
    समृद्धिको भाषण बाँडेर हिड्दैछन् , खोइ कता कता ,
    बिकासको बजेट जति , सबै नेताको पोल्टामा यता ।

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [४२]
    पैसा पैसा जताततै पैसाकै छ चल्ती,
    काम गर्नु अघि हेर छाम्नुपर्छ खल्ती!

    बलराम सुवेदी
    वीरगन्ज, पर्सा

    [४३]
    बुद्धि सुद्धी जहाँ जाओस् धनकै बिटा गन्छन्
    धन देख्दा महादेवको त्रिनेत्र पो भन्छन् ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा

    [४४]
    ब्याज माधि ब्याजको हिसाब गरेकै हो हेर,
    पानी छोडि महमा पौडे कमाई हुन्न खेर ।

    अच्युत घिमिरे-भुटान

    [४५]
    धनभन्दा विद्या ठूलो भन्ने गर्थें नामी,
    विद्या लिई काम छैन धन हुने दामी।

    भगवती दवाडी

    [४६]
    कुरो अनि कुलो जता लगायो उतै जान्छ,
    गोजीमा पैसा हुने आफू बुद्धिमान ठान्छ ।

    धर्मराज पोख्रेल

    [४७]
    भ्रष्ट नीति लिई, लुकिछिपी कमाएको धन,
    नोकरचाकर राख्दा पनि शान्ति छैन मन ।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४८]
    धनले ल्याउँछ मानिसमा सधैँ फाटाे,
    नमेटिने दाग लाग्छ जीवनमा खाटाे।

    तारा घिमिरे संखुवासभा

    [४९]
    ठुलाे दरबार बनाउँदैमा धन सम्पत्तिकाे घमण्ड नगर साथी,
    तिम्रो महल भन्दा पनि गरिबकाे झुपडी नै ठुलाे हुन्छ धेरै माथि ।

    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [५०]
    धनको मोहमा फस्यो मान्छे बिर्सेर मानवता,
    भुल्यो सारा नातागोता रहेन रत्ती नैतिकता ।

    सुर्य मणि रेग्मी
    चितवन

    [५१]
    जता धन उतै उर्लिएका छन् सारा जन ,
    त्यता हुन्छ कमिसनको खेल टनाटन ।

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [५२]
    भ्रष्टाचार गरि कमाएको कालो धन,
    पैसाको ओछ्यानमा सन्तोष हुन्न झन ।

    दुर्गा भट्टराई
    मोरङ

    [५३]
    धनले गर्दा उक्लिएको ओरालिनु पर्छ,
    सधैँ बुद्धिले अघि बढे दुःख सबै टर्छ ।

    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ० ४ बिगारे जुम्ला

    [५४]
    धन भए सबै काम बन्दो रहेछ अहिले,
    बुद्धिमानले धेरै नाम पाउँदथे पहिले ।

    रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    जय टुक्का ! जय साहित्य !!

    Leave a Reply