‘हेमन्त’ – कविता

  • ९ पुष २०७८, शुक्रबार ०७:३० मा प्रकाशित
  • चिसाे बाेकेर
    बहेकाे सिरेटाे
    धुम्म लागेकाे
    बादल
    आङ्भरि
    घाम ताप्न
    पर्खाइमा
    बसेका मान्छेहरू
    मानाैँ सूर्यकाे
    दयादृष्टिकाे
    पर्खाइमा छन्
    कतै आँत
    हरहर छ
    तीव्र भाेकमा
    जठराग्नि तीव्र
    भएकाे बेला
    खानपानकाे उचित
    ब्यवस्थापन नभएकाे
    टिठलाग्दाे अवस्था

    कतै विशेष
    व्यवस्था
    गरिष्ठ भाेजन
    पाैष्टिक आहार
    न्याना वस्त्रहरू
    विशेष रमाइलो
    गुलावी जाडाेकाे
    स्वागतका लागि
    आतुर हँसिला
    अनुहारहरू

    कतै
    विवशता
    शीतलहर
    आङ् ढाक्नै धाै धाै
    ओढ्ने ओछ्याउनेकै
    दुख
    सुकेका शरीर
    पट्पटी फुटेका
    अनुहार
    पेटभरि खानकाे रहर
    हेमन्तले सिकिस्त
    पारेकाे अवस्था
    उफ!
    कस्ताे विवशता
    हाे याे
    कति ठुलाे
    खाडल हाे
    हुने खाने
    र हुँदा खाने बिचकाे

    कतै हेमन्त
    रहर बनेकाे छ
    सुक्सुकाउँदाे
    मायालाग्दाे
    कतै
    कहर बनेकाे छ
    भयङ्कर डरलाग्दो
    प्राणघाती
    जहर बनेकाे छ
    के हाे यस्ताे
    विभेद
    र कस्ताे
    हाे याे प्रकृति पनि
    धरा एउटै छ
    गगन एउटै छ
    सूर्य एउटै छ
    तथापि
    मानवहरूबिच
    किन यस्ताे
    विषमता ??

    • सुधा बाँस्कोटा ढकाल
      काठमाडौँ

    One thought on “‘हेमन्त’ – कविता

    1. कविता मर्म स्पर्शी छ, कवियत्रीलाइ धन्यवाद। तेसाे हुनु , मेराे विचारमा, मानिसकै करतुत वा उपजहाे। मानब भएर बाँच्नु पर्ने काेही दानव बनेका छन् त काेही भगवान, त्याे पनि वेलगाम !!

    Leave a Reply